लक्ष्मी रिजालझट्केलो छोरो
पच्चीस हजारको बिटो बखतबहादुरतिर हुइँक्याइदियो र भन्यो- एक समय दुई गाँस खान दियौ । मेरी आमाको पोइ बन्यौ । आजदेखि हिसाब चुक्ता !

लक्ष्मी रिजाल :
“दस वर्षपछि पनि कुच्चिएको अनुहार देखाउन रित्तो हात के आएको त ?” बखतबहादुरले पहिलेकै रवाफ दोहोर्यायो तर यस पटक भने मतानेले गहभरि आँसु पारेन । बरु उसको मन बखतबहादुरको टिठलाग्दो अवस्था देखेर मुस्कुरायो ।
“निर्लज्ज भतुवा; अर्धनग्न शरीरमा गाग्रो फुटाएर भागिथिस् । त्यस्तै रूपमा फेरि के बिगार गर्न आइस् ?“ बखतबहादुरले अर्को वाण चलाउँदा पनि मताने मूर्ति भइरह्यो ।
“नैनसिंह पुलामी संसारलाई खुशी तुल्याउने छोरो जन्माएँ भनेर नाक घोक्य्राउँथ्यो । ऊ त बेला नपुगीकनै मास छर्न गयो । तेरी आमालाई गृहलक्ष्मी बनाएथेँ । तैंले सुइँकुच्चा ठोकेपछि तेरै नाम जप्दै पागल भएकी कता गएर मरी !” विगत सम्झँदै बखतबहादुरले इतिवृति बताउँदा भने मतानेका आँखा रसाए ।
“आमा नै नभएपछि कुन मुखले यस सिकुवामा टुसुक्क बस्छ ए भातका काल । जुन बाटो आएको थिइस्, त्यही बाटो मुन्टी !” बखतबहादुरले तल्लो स्तरमा उत्रेर शब्द छादेको सुनेर मताने रातोपिरो भयो ।
तत्कालै मताने शरीरका थोत्रा कपडा फुकालेर नाङ्गेझार भयो । थोत्रे बोराबाट नयाँ झोला निकाल्यो र सुटबुट लगायो । अब ऊ राजकुमारजस्तो देखियो । पच्चीस हजारको बिटो बखतबहादुरतिर हुइँक्याइदियो र भन्यो- एक समय दुई गाँस खान दियौ । मेरी आमाको पोइ बन्यौ । आजदेखि हिसाब चुक्ता !”
मतानेले सिठी बजायो । चिल्लो कार देखा पर्यो । मताने कारभित्र पस्यो ।
“छोरा, दबाई गरेर मलाई निको पारिस् । अब तेरो सौतेनी बाउसँग पुनर्मिलन गराइदे । तँलाई धर्म हुने छ बाबू ।” आमाको आँखामा छचल्किएका आँसुले मतानेको क्रोधाग्नि शान्त हुँदै गयो ।
०००
२०८०-०४-०५
कञ्चनरूप १२, रूपनगर, सप्तरी
Subscribe
Login
0 Comments
Oldest








































