डा. गोविन्दराज भट्टराईहजुर्का कुख्याति यहाँ क्यान खोल्थेँ (१)
भैरव अर्याल नेपाली हास्यव्यङ्ग्य निबन्ध साहित्यका एक होनहार व्यक्तित्व हुन् । आजसम्मै पनि उनका पाइला पछ्याउँदै अघि बढ्ने व्यङ्ग्यकारहरूको ठूलो पङ्क्ति हाम्रा सामु छ । कवितामा पनि उनको शक्ति त्यसरी नै देखिएको छ ।

डा. गोविन्दराज भट्टराई :
एक छिमेकीले एक दिन लक्ष्मण गाम्नागे बिस्तारै एउटा कुलततिर आकृष्ट हुँदै छन् भन्ने सुनाए । त्यो थाहा पाएपछि म निकै आत्तिएँ र एक दिन उनलाई सम्झाउने विचार गरेँ । उनलाई फकाउँदै बिस्तारै पाइखानापर्तिरको बकाइनाको बोटमुनि बसालें र भनें- हेर साइँला भाइ तिमी यो हास्यव्यङ्ग्यपट्टि लहसिंदै छौ भन्ने कुरा केही बैरीबाट सुनें । छोड, यो कुबाटो छोड । बरु बुधबारे हाटको दिन एउटा नयाँ जाँघे किन्दिउँला अथवा गौरादह बजारका ताता समोसा नभए चिसा रसवरी किनेर अघाउन्जेल ख्वाउँला ।
मैले अलिकति खर्च पनि गरेँ तर पनि उनको बानी सुधेनछ । बिस्तारै हास्यव्यङ्ग्यका प्रोग्रामतिर पल्के, कविता कथामै सल्के । कहिले रेडियोमा, कहिले छापामा, कहिले पश्चिमको कोहलपुर कहिले पूर्वको झापामा । गर्दागर्दै पुस्तकै निकाल्न थालेपछि म बहुत डराएँ । लठैतहरूले भाइको अपहरण गर्ने हुन् कि हल्का दुई-चार मुड्की अथवा एउटा कडा धम्कीपछि छोडिदिए हुन्थ्यो तर त्योभन्दा कडा भौतिक कारवाही नै चखाउने हुन् कि । अझ पञ्चायतका मान्छेहरू कति कडा थिए कति सशक्त देशभक्त थिए । मैले किनिदएको जाँघे लगाएरै तिनीहरूतिर फर्केर हास्यव्यङ्ग्य देखाउनु भनेको कति भयावह कुरा हो, ठूलाबडाको कत्रो अपमान हो । म डरले डगडगी कामेर बस्न थालें । एकपल्ट एकदमै कडा मान्छेहरू आए, मन्त्रीकै साला हौं भन्थे, मलाई एउटा चुनौती पनि राखे- लक्ष्मण गाम्नागे तपाईंको भाइ हो कि होइन ? हो भने हो भन्नोस्, होइन भने होइन भन्नोस्, त्यसपछि यहाँ सहीछाप गर्नोस् ।
त्यस्तो धर्मसङ्कटमा परेको घरी फ्याट्टै मेरो मनमा आयो र बोलें- उनले भाइ अंश खाइसके, नयाँ जाँघे पनि लाइसके । त्यसपछि पो उनीहरू नाज्वाप भए ।
यस्ता अटेरी गाम्नागे भाइले एक दिन ममाथि ठिङ्ग्रा मुङ्ग्रा खन्याउने भए भन्ने निश्चय हुन थाल्यो । त्यसको कारण के हो भने नेपाली हास्यव्यङ्ग्य कविताको भूमिका लेखिमाग्न भनी उनी एक दिन कीर्तिपुरै आइपुगे । नलेखौं भाइसँग फाटो पर्ने भो, लेखौं आफ्नै मुटुमा गाँठो पर्ने भो । गाँठो पर्ने अनेक कारण छन्- सर्वप्रथम के छ भने उनी मैले भनेको नमान्ने भएर निस्किए अनि मैले माइल्स ड्याभिडलाई सम्झें- मैले भनेको प्रत्येक कुरा बुझ्दा हौ त तिमी म नै भइहाल्थ्यौ । (If you understood everything I say, you would be me. –Miles David)
हो नै मेरो कुरा नमानेर नबुझेर नै उनी यस्ता एकोहोरा भएका छन् ।
कति समय लगाएर कति दुःख गरेर स्वयम् भानुभक्त आचार्यदेखि यताका ३८ जना मानिसलाई फकाएर गोलबद्ध गरेछन् र मन नपर्ने काम कुरा मानिसविरुद्ध ठोक्न लगाएछन् । यो ठोकाइ पनि अति कडा छ, परानै खुस्काउने खालको । बन्दुक गाम्नागेको तर काँध अरूका ।
फेरि टाढा विदेशतिर सम्झेर मैले अलिकति चित्त बुझाएँ- देशमा मात्र होइन विश्वसाहित्यमै अनेक स्रष्टाले एउटा यस्तो वर्गको विरुद्ध प्रहार गरेका छन् जुन वर्गले नयाँनयाँ वस्त्र धारण गर्छ तर पनि नित्य नाङ्गो देखिन्छ, अत्यन्तै मिठा व्यञ्जनहरूको सेवन गर्छ तथापि भोकै देखिन्छ, रातदिन वरिपरि गङ्गाजलसँग बसेको हुन्छ फेरि पनि काकाकुल तिर्खाले व्याकुल देखिन्छ । हेर्दा ता यो वर्ग मानिसै लाग्छ, तर वास्तवमा होइन त्यो एक प्रकारको उपमानिस हो, मानिसकै वृक्षमा टाँसिएको पलाएको ऐंजेरु । अघि ग्रिसेली प्लेटोले हाने, एरिस्टोटलले हाने, पछि फ्रान्सेली अनातोलेले, मोलिएरले अनि बेलायती ड्राइडन, पोप, एडिसनले कसैले केहीले पनि ढाल्न लडाउन नसक्ने वर्ग, जलाउन पोल्न नसकिने वर्ग कस्तो होला ! हाम्रा आदिकवि पनि यही वर्गविरुद्ध खनिएका थिए- बडो विनय भावले । वास्तवमा परोक्ष रूपले भानुभक्तले सङ्केत गरेका थिए- भविष्यको प्रत्येक कवि लेखक स्रष्टाले यो राष्ट्रिय रोगविरुद्ध नित्य खनिनू, यो ऐँजेरु उखेल्नू र समाजलाई सञ्चले सास फेर्ने वातावरण जन्माउनू !
मानिसको मूर्खताविरुद्ध, उसका कुकर्म, आडम्बरविरुद्ध बोलीले हानेर उसलाई थला पार्ने वा सच्याउने प्रयत्न गर्नु एउटा आदिम जुक्ति हो । त्यसरी प्रहार गर्दा कहिले सिधै हान्नु कहिले हाँसेर उडाउनु अर्थात् अरूलाई हाँस्न लगाउनु अरू उपाय रहेछन् । त्यसकारण कहिले शब्द र कर्मले व्यङ्ग्य उत्पन्न गरिन्छ कहिले पेच पर्ने हाँसो निकालिन्छ । चार्ली च्याप्लिन भन्थे- हाँसोविना एकदिन बित्छ भने त्यो दिन व्यर्थमा खेर गयो भन्ने ठान्नू । (A day without Laughter is a day wasted.)
यहाँ स्रष्टाले कवितालाई हतियार ठानेका छन् । नलागे पनि हानौँ बोलीले भनीकन हानेका छन् । आज मलाई धेरै पेच परेको छ भोलिसम्ममा समाज सड्लेला कि मान्छेको मति फिर्ला कि भनेर हानेका हुन् । कुनै मट्याङ्ग्रा, कुनै घुएंत्रा, कुनै गोबरका गुइँठा, लोहोरा, सिलौटा, घाउ नलाग्ने छर्रा अथवा पानी फोहरा हान्ने कुरा धेरै छन् । मानिस ताकेर हानिरहेका छन् । त्यसो त लाठा खुकुरी पनि छन् ।
प्रस्तुत ग्रन्थमा भानुभक्त आचार्यदेखि टंक आचार्यसम्म, भैरव अर्यालदेखि गायत्री लम्साल (परिरोशनी) सम्मका दुई सय वर्षका हातहतियार सङ्कलन गरेर लक्ष्मण गाम्नागेले बोकी हिँडेका रहेछन् । अघिअघि सिर्कना खानेहरूले संसार छोड्दै गए र मात्रै भय कम्ती हुँदै छ, तिनीहरूका मृतात्मा पनि फर्केर यो नरचोला धारण गर्न नपाउने खालका भएर मात्रै भय घटतो छ नत्र भने ती गोदाइ खानेहरूले अथवा ती भुत्ल्याइमाग्नेहरूले यति गोलीगठ्ठा बोकेर हिँड्ने लक्ष्मण गाम्नागेलाई भेटेका भए उनको बातो बसाउँथे होला । धन्य कसैले भेटेनछ त्यसैले म डराएको हुँ, र नै यस्तो देशद्रोही कर्म गर्दिन भनेको हुँ । नगर भाइ भनी फकाएको हुँ ।
जागिर नभएका, कुदालो खनी दुःखले जीवन चलाउने आदिकविलाई ती डिट्ठा विचारीले भोलिभोलि भन्दै झुलाएर जुन कष्टको बीजारोपण गरे, यो बढेर आज बटवृक्षसरी झांगिएको छ- प्रत्येक अड्डामा, अदालतमा कार्यालयमा मानिसलाई झन्झन् झुलाएका छन्, रुवाएका छन्, अबोधहरूलाई झन् चुसेका छन्, जाल थापेर मान्छे तान्ने, आङ्कुशे सिउरेर पर्खिनेहरू छन्, प्रश्न गर्दा उत्तर दिन्छन्-
साक्षी किनाराका उमेर र आयु नमिल्दा यस्तो हुनेछ
तिम्रै गल्ती छ बाजे, मुद्दाले छिट्टै नै किनारा छुनेछ
पुरानो प्रतिवादी पनि जागेकाले अलिकति खर्चले छुन्छ
नछोडी अझै आइरहनू बाजे, गणतन्त्रमा ता यस्तै हुन्छ ।
पछि प्रजातन्त्रको उदयकालमा विकृति विसङ्गति यति उर्लिएर आए- महाकविले नवीनताको नाममा बहुलाउन थालेको विकृति लेखेका छन् । गद्यमा पनि कविराजको च्याङ्ग्रे खच्चर जस्ता भयङ्कर व्यङ्ग्य लेख्ने महाकविको एउटा श्लोक ‘जमिन्दारका पुत्र छन् साम्यवादी’ अधिक उद्धृत, त्यस कालको विकृति चित्र हो । यो सबै त ‘जवाना’ नौलो आएर उल्टापाल्टी भएपछिको असह्य स्थितिचित्र । तर यसमा पनि माथिको ’नेता’ माथिकै जेताले यो अभियानलाई चरम स्थितिमा पुयाउने नेतृत्व लिएका छन् ।
‘तितौरा मस्यौरा’ नेपाली हास्यव्यङ्ग्यको एक ‘मास्टरपिस’ हो । त्यसको शैली र सारांश भीमनिधिका दुई कविताले दिन्छ- उही राजनीति गर्ने केही चतुरहरूको आकाङ्क्षा । पार्टीभित्र पसेर भ्रष्टाचार गर्न पाइने, लुटपाट र आतङ्कका सूचीहरू यहाँ सधैं यस्तै छन् । प्रत्येकपल्ट नयाँ पार्टी खोल्दै, जनसेवा गर्दै, भिज्दै फकाउदै हर्काउदै सर्वव्यापी हुने- खासगरी मानिसको परिवर्तनशील, छली, स्वार्थी र दुश्चरित्रताको खोलभित्र हुर्केका छन् । यस्ता प्रत्येक खोलभित्र लुकेका अनेक व्यक्ति हुन्छन्, तिनीहरूले एउटा दल, पार्टी, समूह अर्थात् कुनै निर्दोष भीडलाई अघि लाउँछन् । आज पनि यही छ, जब काठमाडौंमा पार्टीका शक्ति प्रदर्शन हुन्छन्, त्यही इतिहास दोहोरिन्छ । यस संग्रहभित्रका थुप्रै कविताले त्यसको पुष्टि गरेका छन् ।
लेखकहरू समाजका अन्तर्चक्षु हुन्, बोल्न नसके पनि देख्न सक्छन्, एक दिन अवश्य न्याय होला भनी हरेक अन्यायविरुद्ध लेख्न सक्छन् । समाजका विकृतिहरू निर्मूल पार्न उनीहरू आँखा चिम्लेर पनि समयसमयमा आइलाग्ने दशाहरू खप्ने आंट गर्छन् । विपथगामी, छली वा दमनकारी, शोषणप्रेमी वा अत्याचारीका टाउका ताकेर गुलेली मट्याङ्ग्रा हानिरहेका हुन्छन् । कहिले सिस्नाका झ्याम्टा सेउली बोकेर एकखुट्टे धामीसरी काम्दै उफ्रिन्छन् । चिल्ला निधारमा मट्याङ्ग्रा खानेहरू सरकारी आसनधारी, ढोंगी, राजनीतिकारी, दुष्ट, सामन्त, छली, उत्ताउलिएर समाज धमिल्याउनेहरू, लुकेर दलाली गर्नेहरू उपियाँ उडुस जनसाधारण चुस्नेहरू हुन्छन् । यसमा आडम्बरी अन्यायी विपथगामी हुन्छन् । यस्ताको आडम्बरलाई व्यङ्ग्यपितामह वासुदेव लुइँटेलले निर्भीक मुड्की हिर्काएका छन्-
देश-सेवाको मखुण्डो भिर्ने
बलियो देखे टाङमुनि छिर्ने
स्याललाई सिंह मान्दिनँ
म लामो कुरा जान्दिनँ ।
सबैलाई अन्धा बनाउने तत्त्व शक्ति र सत्ता नै रहेछ, यो भ्रष्टाचारी र दुश्चरित्र रहेछ । सबै स्रष्टा दुःखीको पक्षमा, छोपिएका, उपेक्षित र आवाजहीनका पक्षमा थिए, छन् र हुनेछन् । तर सत्ता र शक्ति सधैँ दलन, शोषण र भ्रष्टाचारको पक्षमा थियो र हुनेछ ।
धनीकै छ चैन, गरिबको क्यै छैन,
कस्तो बनेको ऐन, त्यसैले म गएँ ।
भरतराज पन्तले देखे भोगेको यी कुरा नै आजका पनि मानक हुन् । मानिस शक्ति प्राप्त नगरिन्जेल चमेरो हुन्छ, पाएपछि हनाहा राँगो । छेउमा जान सकिँदैन । त्यसै चरित्रको छ यहाँ भण्डाफोर :
फटाहा र गुन्डा लगाएर घेरा
पिई जाड रक्सी बनेका चमेरा
पुगेँ माथि टेर्दै नटेर्ने भएँ म
कसैलाई हेर्दै नहेर्ने भएँ म ।
श्रीधर खनालले त्यही देखे, लक्ष्मण लोहनीले त्यही लेखे । अख्तियारको नामले आज पनि मानिस कामेकै छन् । हिजो लक्ष्मण लोहनीले लेखे :
गजब हुँदोरहेछ अख्तियारको चमत्कार
हजारबाट जिरो वाट
जोनिवाकारबाट लोकल ट्वाँट ।
(अख्तियारको चमत्कार)
मैले केके देखेंमा पनि देश चलाउने भ्रष्टहरू उत्तेजित भई शोषणमा झुन्डिएका छन् । भूपी शेरचनको ‘चोक’ जगत्ले कण्ठ पारेको कविता हो । यसमा नित्य खुम्चिरहेको देशको स्वाभिमान छ । उनको अर्को कविता पनि उतिकै प्रचलित कविता हो ।
भैरव अर्याल नेपाली हास्यव्यङ्ग्य निबन्ध साहित्यका एक होनहार व्यक्तित्व हुन् । आजसम्मै पनि उनका पाइला पछ्याउँदै अघि बढ्ने व्यङ्ग्यकारहरूको ठूलो पङ्क्ति हाम्रा सामु छ । कवितामा पनि उनको शक्ति त्यसरी नै देखिएको छ । यस संग्रहमा समेटिएका उनका कविताहरूले हाम्रो समाजको भ्रष्ट प्रवृत्ति र विश्वका शक्ति राष्ट्रहरूको दादागिरीमाथि पनि झटारो हानेको छ ।
कालीप्रसाद रिजालको त्यो अचुक प्रहार छ कवितामा, जसमा देशका सारा बिमारहरू, अस्वस्थताहरू, सारा अकर्मण्यता र आडम्बर हरूको सहज और स्वाभाविक चित्र छ । उनको ‘के सम्झेर मलाई नेता भने’को शीर्षक रचनाले देखाउँछ देशका राजनीति-चालकप्रति कत्रो वितृष्णा र आक्रोश छ । त्यही लहरमा उभिएका लावण्य सापकोटा, रमेश खकुरेल, यादव खरेल सबै निर्भीक भई बोलेका छन् । सारा अन्याय, उपहास र व्यङ्ग्य जनतामाथि छ तर जनता कहिल्यै नचेत्ने रहेछ- सात साल होस् कि सतहत्तर :
जनता भनेको एउटा हूल हो
नेताले उफारेको
शासकले लछारेको
जनता त ‘अनाम’ हो
स्वदेशको पहिचानका लागि
सधैँ इतिहासले अनुहार तछारेको ।
(जनता, यादव खरेल)
कोमल पोखरेल यस क्षेत्रमा निकै पछि उदाएका हुन् तर एकपल्ट अम्रिका पुगेर आएपछि उनको नयाँ ब्रह्म खुलेको देख्ता बडा आनन्द लाग्छ । उनको म फर्केर आएँ युएस्से पुगेर’ शीर्षक रचना पाश्चात्य समाजप्रतिको व्यङ्ग्य छ परन्तु यसमा हास्यकै प्रचूरता छ यद्यपि कति ठाउँमा नेपालका डरलाग्दा रोगसितको तुलना छ । यो बेजोड गेय छन्दमा-
यहाँ देख्न पाइन्न मान्छे हिँडेको
जथाभाबी संसाँझ टाउको गिँडेको
यहाँ धुलो सुँघ्न पाइन्न लेस
म फर्केर आएँ त्यसैले स्वदेश ।
क्रमशः… (बाँकी अंश प्रतिक्षा गरौँ)
०००
२०७५ वैशाख १
भैरव पुरस्कार गुठीबाट वि.सं. २०७५ मा प्रकाशित ‘नेपाली हास्यव्यङ्ग्य कविता’ भूमिका ।
Subscribe
Login
0 Comments
Oldest








































