चापागाईंको ‘बुर्कुसी’ माथि थोरै विचरण
सरस, सरल र सहज अभिव्यञ्जनाका निम्ति निबन्धजस्तै छोटा-मीठा वाक्यको बुनोट, प्रसङ्ग मिल्ने कथात्मक टिपोट र छोटोमै सन्दर्भहरूको ताजा रिपोट बस् हाँसो सिर्जनाको स्रोत अनि व्यङ्ग्यको बाँसुरी । बेरोकटोक बजेको छ, बजेको छ ।
नरनाथ लुइँटेल :
मुलुक अहिले भाँडभैलोमय छ । लगाम कसैको हातमा छैन । सवारबिनाको घोडा छार्तोस ठोकेर दौडिरहेको छ । समय भिड्की सक्यो, ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर ।’ ’जो अगुवा, उही बाटो.. यहाँभन्दा बढी नभनौँ । ‘कुन्नि के गर्नेलाई भन्दा देख्नेलाई लाज’ भनेझैँ भइसक्यो । राति सुतेको म अब म नै रहन्छु कि भोलि बिहान सखारै उठ्ता अर्कै भइसकेको हुनेछु । आफैँदेखि शङ्का लागिरहेको छ । यसरी ‘लथालिङ्ग देशको भताभुङ्ग चाला’ त इतिहासमा कहिल्यै भएको थिएन शायद । भएको भए त लेखिन्थ्यो होला नि । अनि लेखेको भए आज पनि देखिन्थ्यो पक्कै । कतै ‘लखनौ लुट’ चलिरहेको छ, कतै रातलाई दिन बताउने झुट बलिरहेको छ । कतै फेरि एकपटक गल्ला खुल्ने भो भन्ने हल्ला चल्दै छ, कतै ढिँडोको डल्ला कोपर्न नपाएर मरन्च्याँसे चल्ला थोत्रो झल्लामा ट्याँट्याँ गर्दै छन् । यस्तो बेसोमतीको विसङ्तिबीच सङ्गति खोज्ने हास्यव्यङ्ग््यकर्मीहरू भने आनन्दसँग व्यङ्ग्यका बन्दुक र हाँस्यका छर्रा बोकेर ‘बुर्कसी’ मारिरहेछन् ।
हुन पनि मुलुकमा जति धेरै बेथिति बढ्छ उति बढ्ता हास्यव्यङ्ग्यलेखन मौलाउँदै जान्छ भन्थे भैरव अर्याल । बेथितिको पुर्पुरोमा टुटिल्को, उठिञ्जेल व्यङ्ग्यको मट्याङ्ग्र्राले हिर्काउने नेपाली हास्यव्यङ्ग्यको निकै लामो परम्परा कायम छ । यतातिरको पङ्क्ति तन्किँदो छ । यही पङ्क्तिमा एउटा अर्को नयाँ नाम थपिएको छ देवीप्रसाद चापागाईं । ‘बुर्कुसी’ उनको पहिलो हास्यव्यङ्ग्य कृतिको सिङ्गो प्रति बिजुली हुलाकको बाटो हुँदै मेरो टेबिलको कम्प्युटरमा लुसुक्क देखा पर्यो । लगत्तै प्रकाशित हुन लागेको ‘बुर्कुसी’ लाई ओल्टाइपल्टाई हेरिदिने र दुई-चार शब्द केरिदिने आग्रह गर्दै अपरिचित एउटा आवाज मोबाइल नामक फुसफुसे यन्त्रको बाटो हुँदै मेरा कानसम्म खुसुक्क आइपुग्यो । त्यो अपरिचित आवाज थियो ‘बुकुर्सी’ का स्रष्टा चापागाइँको । अहिले यी पङ्क्ति लेखिरहँदासम्म पनि चापागाईंको अनुहार कस्तो छ देख्ने अवसर प्राप्त भएको छैन । तथापि ‘बुर्कुसीमाथि केही लेख्ने अवसर पाएकोमा म आफैँ छक्क परेको छु, कताकति मख्ख पनि परेको छु । यस्तो अवसरको तरतम्य मिल्नु अलिकति प्रविधिको ‘खेल’ पनि हो, अनि अलिकति साथीभाइको ‘फेल’ पनि हो र अलिकति हास्यव्यङ्ग््यतिरको मेरो ‘हेलमेल’ पनि हो भन्ने मलाई लागिरहेको छ ।
जब मैले ‘माउस’ हातमा लिएर कम्प्युटरको ‘कि बोर्ड’मा औँला फित्रिकफित्रिक पार्दै ‘बुकुर्सी’ का पाना पल्टाउँदै गएँ, तब चालै नपाई चापागाइँको हास्यव्यङ्ग्य मपाइँ सर्लक्क ओर्लन थाल्यो । छरितो आकारका २५ वटा हास्यव्यङ्ग्य निबन्धको विटो क्रमैसँग फुकाएँ र एक-एक गर्दै हेर्दै गएँ । चापागाइँको मापाको अनुहार क्रमैसँग देखा पर्दै गयो । हाम्रो समाजका अड्बाङ्गे, पुङमाङे, अमिल्दा, बेसोमतिका, असुहाउँदिला, छाँट र काँट नमिलेका अनेकन दृश्य, घटना, संवाद, प्रसङ्ग र यावत् प्रवृत्तिहरूको उरूड लाइदिएका छन् उनले ‘बुर्कुसी’ नाम दिएर । मानौँ यो एउटा कुन्युँ हो जहाँ विसङ्गतिरुपी परालका मुठमुठा चाङ लगाएर चुल्याइएको छ । अनि चापागाइँ चाहिँ त्यो कुन्यूँको टुप्पामा उपरखुट्टी लगाई मुसुमुसु हाँस्दै बसेका छन् । उनको मुसमुसे हाँसो गज्जबको काउकुती बनेर हाम्रो शरीरतिर कुतकुती लाउन थाल्छ अनि हामी भने पेट मिचिमिची हाँस्न थाल्छौं । ‘बुर्कुसी’ पढिरहेको बेला मलाई यस्तै अनुभूति हुँदै गयो ।
नेपाली हास्यव्यङ्ग्यले सहरी सभ्यता, सहरिया प्रवृत्ति, सहरिया पेलमपेल र ठेलमठेल, राजधानी र यतै ओरपरको विसङ्गत पर्यावरणलाई औधी पर्गेलेको छ । हाम्रो हास्यव्यङ्ग्यले ग्रामीण जनजीवनतिर फर्किएर त्यतातिर पन्पिएको सामाजिक दुस्प्रवृत्तिलाई भने कमै मात्र कोट्याएका थियो जस्तो लाग्छ । अहिले आएर जोदाहा चापागाईंको बाङ्गो कलम बेजोडसँग यतातिर दौडिएका देख्दा भने अब कुनकाप्चाका विद्रूप स्थिति पनि नेपाली हास्यव्यङ्ग्यमा नाङ्गेझार हुँदै लम्पसार पर्ने भए भनेर विश्वास, आशा र भरोषाको पालुवा पलायो । केको पलाउनु मात्रै मौलाएरै हलक्क हुन पुग्यो । बधाई छ चापागाईंलाई । यसो भनेर मैले चेप्र्याईं पारेको होइन र चेपारो घस्या पनि होइन, चाप्लुसी गर्न त झन् के खाँचो थियो र ? कि कसो ?
‘बुकुसी’ भित्र सङ्कलित निबन्धमा एउटा बेग्लै खालको छनक पाइन्छ । त्यो छनक वर्तमानमा हास्यव्यङ्य भनेर लेखिँदैआएका कतिपय समकालीन निबन्धमा भन्दा सर्वथा भिन्न छ । तार्किक र बौद्धिकताको बोझले थिचिएका, हास्य हराएर खाली व्यङ्ग्यले ढाड मर्काएका रचना पढ्दापढ्दा रूचि नै बदलिन लागेका पाठकहरूको निम्ति नयाँ उमङ्ग उमार्न खोज्छ ‘बुर्कुसी’ले । यो नै चापागाईंको विशेषता हो । आजका मैं हुँ भन्ने थुप्रै हास्यव्यङ्ग््यकारका हास्यव्यग्य रचनाले हँसाउन नसकिरहेको बेला ‘कुर्सी’ मार्ने चापागाई फेला परेका छन् । यो फेला पराई नेपाली हास्यव्यङ्ग्यका निम्ति महकलाग्दो प्राप्ति हो भन्दा अत्युक्ति हुनेछैन ।
चापागाईंको यस सङ्ग्रहभित्रका निबन्धमा मैले पहिल्याएका अरू पनि केही कुरा छन्- झर्रा नेपाली शब्दहरूले पर्रा खेलेका छन् यहाँ, कथ्य बोलीमा लोली मिलाई मिलाई हानिएका गोली छन् यहाँ । कथ्य नेपालीको यति सुन्दर र मनोहर प्रयोग नेपाली हास्यव्यङ्ग्यमा कमै भएको रहेछ भन्ने कुराको भेउ पाइन्छ ‘बुर्कुसी’ पढेपछि । प्रसङ्गको पेटारोअनुसार थुप्रै नेपाली उखान-टुक्काहरूले रमाइलोसँग रुप फेरेको देख्न पाइन्छ यहाँ । भाव, स्वभाव र प्रभावअनुसार गाउँ, ठाउँ र मान्छेका नाउँहरूको बेलिबिस्तार नै लगाइदिएका छन् चापागाईंले । बेहोरा, चरित्र तथा प्रवृत्तिअनुसारका नामनामेसी देखेर पनि हामीलाई हाँसो उठ्छ । छोटा छरिता निबन्ध व्यङ्ग्य विषयान्तरमा बाँधिएका छन्, हाँसोको लेप लगाएर व्यङ्ग्य खाँदिएका छन् । सरस, सरल र सहज अभिव्यञ्जनाका निम्ति निबन्धजस्तै छोटा-मीठा वाक्यको बुनोट, प्रसङ्ग मिल्ने कथात्मक टिपोट र छोटोमै सन्दर्भहरूको ताजा रिपोट बस् हाँसो सिर्जनाको स्रोत अनि व्यङ्ग्यको बाँसुरी । बेरोकटोक बजेको छ, बजेको छ । यसरी हास्य र व्यङ्ग्यको साझा सङ्गम बन्न पुगेको छ ‘बुर्कुसी’ ।
केलाएर हेर्दा कमजोरीका कनिका र बियाँ नदेखिने हैनन् । क्रमैसँग र मसिनो गरी टिप्नुपर्छ, टिप्दै गरिएला । कनिका र बियाँ टिप्ने कार्य समीक्षकहरूको हो, समीक्षा समालोचनाको हो । ‘बुर्कुसी’ सार्वजनिक भएपछि यो काम पनि हुँदै जाला । तर मलाई के कुरामा खसखस लागिरहेको छ भने काठमाडौँबाट नजिकै रहेको भए पनि सिन्धुपाल्चोकको त्यस्तो कुन चेपोमा चेपिएर बस्न बाध्य भएका हुन् यी चापागाईं ? त्यो चेपोबाट अलिकति फुक्का भएर बाहिर निस्कन र यो मै हुँ भन्ने राजधानीसँग जिस्कन म हार्दिक आग्रह गर्छु चापागाईंलाई । उनीसँग एउटा गज्जबको हतियार छ, त्यसलाई अझ अर्जाप्दै र पाइन चढाउँदै गए, हास्यव्यङ्ग्यसम्बन्धी युद्धकलालाई अझ निखार्दै गए उनीभित्रका कमजोर पक्षहरू आफसेआफ नासिँदै र मासिँदै जाने छन् ।
संसार पारखीको होइन पौरखीको हो । पौरखले प्रतिभामा निखार ल्याउँछ । चापागाईंको पौरखी प्रतिभाबाट नेपाली हास्यव्यङ्ग्यले प्रशस्त मलजल पाउने सम्भावनाको दसी बनेर आएको छ ‘बुर्कुसी’ । हास्यव्यङ्यमा एउटा अर्को सगोत्रीय थपिएकोमा म भने ‘हिपहिप हुर्रा’ भन्दछु । केवल ओठे र कोठे होइन, छाती फुकाएर म ‘बुर्कुसी मार्ने बन्धुलाई हार्दिक बधाई ज्ञापन गर्दछु ।
०००
कलङ्की, काठमाडौँ
देवीप्रसाद चापागाइंको ‘बुर्कुसी’ हास्यव्यङ्ग्य सङ्ग्रह (२०६६)
Subscribe
Login
0 Comments
Oldest