नगिता लेप्चा राईरोटेपिङे कला
यसैलाई भनिन्छ रोटेपिङ कला । तिमी एउटा मोमो हौ । क्या बात... सरकारी मोमो । भित्रबाट आत्मसम्मानको किमा निकालेर त्यसमा हालिएको छ भ्रष्टाचारको किमा । यो रोटेपिङे कलामा तपाईं निपुण हुनुहुन्छ होला सायद तर म यो रोटेपिङे कलादेखि दस गज टाढ़ो छु ।

नगिता लेप्चा राई :
हिजोआज रक्तदान शिविर वा ब्लड डोनेशन क्याम्प आयोजन गर्ने फेसनै भएको छ । ब्लड डोनेट गर्नु राम्रो हो । यसले कसैको जीवन फिर्ता हुन्छ भने ब्लड डनरलाई पनि स्वास्थ्यमा फायदा नै हुन्छ । तर विभिन्न सामाजिक सञ्जालबाट सुन्न पाइन्छ, डोनेशन गरिएको ब्लड ठिक ठाउँमा नपुगी त्यो बिच बाटामै किनबेच गरिन्छ । ब्लड डोनेसनको सिम कार्ड यूज गरेर जीवन धान्नेहरू पनि नदेखिने होइन ।
जे होस्, हाम्रो गाउँमा ब्लड डोनेशन क्याम्प बसेको छ । गाउँमा किन भन्नु हाम्रै क्लबमा । समाजसेवकहरूको रमिता छ । ब्लड डनरहरूको ताँती । एकजना रावण साइजका मान्छे खाटमा उत्तानु चित परेर सुतेका छन् । उनलाई गाउँकैहरूले फुर्काउनुसम्म फुर्काएर खाँटी समाजसेवकको पगरी लाइदिएका छन् । उनको जीउको साइज यति विशाल छ, यसो हेर्दा यूरियाले भेटेको बैगुन जस्तै देखिन्छ । अनुहार गम्भीर । नाड़ीमा सुनको चेन भएको लोभलाग्दो रिष्ट वाच । त्यो घड़ी घण्टा घण्टामा बास्छ । उनको ड्रेस उस्तै दामी । सबै ब्राण्डेड । लार्ज साइजको ग्लोबजस्तो बड़ेमाको भुँड़ी । जिउभरि फरेन परफ्यूमको सेण्ट । उनको परफ्यूमले धुलाबारीको परफ्यूमलाई चित पार्छ ।
आधा बोतल जति व्लड तानेर बन्द गरियो । बोतलमा ब्लड होइन ह्विस्की पो आयो । खाँटी स्कच । उनको भेनमा रगत होइन ह्विस्की मात्रै प्रवाहित हुँदोरहेछ । ह्वाइट हर्स, म्याकडुवेल । यिनी हुन् कुनै एउटा कम्पनीका जीएम अर्थात् जेनरल म्यानेजर । मासिक वेतन र एकस्ट्रा इन्कम गर्दा महिनामा नभएको पनि लाखलाई पनि नाँघ्छ भनिन्छ । स्टाफहरू उनलाई जीएम होइन एचएम भन्छन् । हेड म्यानेजर वा हेड माष्टर होइन हाम माष्टर । एच एम वा हाम माष्टरबारे मैले यहाँ एक्सपाल्नेशन दिइ रहनु नपर्ला । हाम माष्टर नाम नै इनफ् । जी एम ता उनको देखाउने दाँत मात्रै हो । असली दाँत त भ्रष्टाचारी । चेलीबेटी बेचविखनमा एक नम्बर । तर महिला समितिलाई लाखौं लाख रुपियाँ प्रतिवर्ष अऩुदान दिएर नारीप्रतिको भक्ति देखाउँछन् ।
श्रीमतीको दिनरातको कचकचकै कारणले यिनी समाज सेवामा ओर्लेका हुन् । नत्र यिनी यति तल झर्ने क्यारेक्टरका मान्छे हुँदै होइनन् । यिनकी श्रीमतीको तर्क छ, तिम्रो कमाइ आँखा लाग्ने खालको छ । तिम्रो कमाइले स्वीङ गर्दैछ । कुनै पनि दिन जनता वा ईडीले तिम्रो भ्रष्टाचारको वीकेट बोल्ड गर्नेछन् । जनतालाई लाटा नसम्झ । स्यालले जस्तो दाउ छोपेर हेरिबसेका छन् । कुन दिन मौका पायो कि छक्का हार्नु बेर लाउँदैन । सबैभन्दा बुद्धिमानी कुरो तिमी समाजसेवक भएर पब्लिक, पुलिसको आँखामा धूलो हाल । त्यसपछि जति तिम्रै समाजको चेलीबेटी बेच्छौ बेच । तर नारीहरूले आयोजन गरेको कार्यक्रममा जीउ ज्यान लाएर खट्नुमात्र होइन चिताएको भन्दा धेर डोनेसन देऊ । साँप पनि मर्ने लट्ठी पनि नभाँचिने । स्वतन्त्रता सङ्ग्रामको निम्ति ब्लड त के एक थोपा पनि अहिलेसम्म पसिना बगाएका छैनौ । अब इन्कम र समाजमा घिनलाग्दो कामबाट जोगिनु कम्तिको पनि वर्षमा एकपल्ट ब्लड डोनेट गर ।
जीएमको के छैन । ब्ल़ड छैन । आँखाको लोती छैन । हृदय छैन । मगज छैन । तर उनको जीउभरि सुरा छ अनि आँखामा आफ्नै समाजका युवतीहरू । पद छ, मान मर्यादा छ । उनको टार्गेट छ वर्षमा दुइदेखि तीन लाख त कमाउनै पर्छ ।
वाशरुम पसेको बेला एक्लै फतफतिन्छ जीएम साहेब । म जीएम… जेनरल म्यानेजर । स्पेशल ब्रीड । मैले समाजको सबै गमरक्याइ सकेको छु । तर समाजलाई बियोण्ड दि क्यापासिटी दिएको छु । विशेष चेलीबेटीहरूको जीवन यात्राको स्तर पैसाको ज्याक लाएर माथि पुर्याइदिएको छु ।
टार्गेट ? दुइदेखि तीन । क्म्प्यूटरको फिगर छैन । तेरो सह स्टाफले तँलाई उछिन्न सक्छ अब ।
एकदिन उनको हितैषी साथीले सोध्यो- किन जीएम साहेब आज अनुहार निन्याउरो देख्दैछु । श्रीमती भर्खरे बितेको उनको । स्वास्नीको यादले साह्रै सतायो कि क्या हो ?
हलुका पाराले बोल्यो जीएम- स्वास्नी मर्दा हामी जस्तो मान्छेलाई सुर्ता हुँदैन । पुरानो स्वास्नी, पुरानो गाड़ी दुवै सेम टु सेम । एक्सपेन्सिभ ।
ठिकै छ तर तिमी अफशोचमै चै किन ?
सीबीआईले भेटेको छ ।
यस्ता मानिसहरू समाजका किटाणु हुन् । त्यस्ताहरू न परिवारका हुन् न समाजका । तर त्यही समाजलाई ढाल बनाएर आफ्नो भकारी भरिरहेका हुन्छन् । सरकारी अफिसरका नाममा कलङ्क हुन् । राजमहलजस्तो भव्य बिल्डिङ । लाखौं रुपियाँको बाथरुम । पित्तलको टब । टबमाथि गमलामा मनिप्लाण्ट ।
बाहिर बरण्डामा बसी सिगर तान्दै न्यूजपेपर पढ़ेजस्तो गर्छन् । ब्रोकन इङ्गलिस बोलेर छक्कै पार्छन् । नेपाली आमाको गर्भबाट भूमिष्ठ भएका यी जीएम साहेब । तर नेपाली भाषा बोल्न सक्दिनँ, मनपर्दैन भन्छन् ।
तीस हजारे खाटमा चालिस हजारे ओछ्यान । तर पनि निद्रा छैन । निद्राको निम्ति बोतल वा स्लिपङ्ग पिल्सको शरण नपरी हुँदैन । नब्बे लाखे डाइनिङ टेबलमा सात-आठ किसिमका धुलाबारीका क्रोकरिज तर जिब्रामा जस्तै मिठो, स्वादिष्ट चौरासी व्यञ्जन पनि विरसिलो लाग्छ विचारा जीएम साहेबलाई । पैसाको खोलमा बाँचिरहेको छ । खोलभित्र मान्छेको पूणर्ाङ्ग जीउ मात्रै, भित्र पूर्जाहरू सबै वेल्डिङ । आवश्यकता भन्दा धेर कमाउने ध्याउन्न । समाजको आँखा छल्ने षड़यन्त्रमा रातदिन तड़पिरहेको हुन्छ । समाज केही दिने मन छैन तर बाँच्नुलाई पनि केही दिइबस्छन् । मन मरेका मान्छे । यिनको आँखामा सबै ननसेन्स् । सबै ब्लाडी बास्टर्ड । यिनको समाज अर्कै छ । मिलनस्थान अर्कै । बात गराइ अर्कै । ल्वाइ ख्वाइ अर्कै ।
मध्य रातमा मेरो विशाल सहरको तातो सामान्य कम्ति हुँदैछ । निलो आकाशमा चमेराहरू निष्फिक्री विचरण गरिरहेछन् । फूटपाथका मानिसहरू भाते निद्रामा मस्त छन् । समाजविरोधी तत्त्वहरू, दिउँसो भद्र कहलाइनेहरू यौन व्याभिचारीको मुखुण्डो ओड़ेर घुमिरहेछन् । सहरका ठाउँ ठाउँमा उभिएका सालिकहरू रमिता हेर्नमा व्यस्त देखिन्छन् । सलवार कुर्ता, सिल्क सिफन वा जिन्स र टप्समा लपेटिएका पासपोर्ट हराएका मेमहरू यौनको सोकेश बोकेर मौन गाहकी रुङिरहेका छन् । आफ्नो आब्रुहरूलाई यौनको बजारमा मनिपर्समा बन्दी बनाएर रातभरि पासपोर्ट हराएका मेमहरू निर्वस्त्र यौनको विमान चढ़ेर, बोतलको सागरमा डुबेर स्खलन हुने गर्छन् मेरो विशाल भव्य र सभ्य शहरमा । अहङ्कारको प्रोपोगाण्डा । अदमित कामवासनाको आर्तनाद । सबै नै जीएम साहेबको करामति ।
यसरी नै रात बित्ने गर्छ यहाँ । असङ्ख्य रित्ता बोतलहरू खातेहरूको बोरामा भरिन्छन् । कोही फुटछ्न कोही किलोका भाउमा बिक्री हुन्छन् । हामी सबै रित्ता बोतलहरू हौं । तर यी ब्यूक्रेटस जति सबै सुनका टुक्राहरू हुन् । आगोमा जति हाले पनि चङ्गाको चङ्गै ।
यसैलाई भनिन्छ रोटेपिङ कला । तिमी एउटा मोमो हौ । क्या बात… सरकारी मोमो । भित्रबाट आत्मसम्मानको किमा निकालेर त्यसमा हालिएको छ भ्रष्टाचारको किमा ।
यो रोटेपिङे कलामा तपाईं निपुण हुनुहुन्छ होला सायद तर म यो रोटेपिङे कलादेखि दस गज टाढ़ो छु ।
०००
खोलाचन्द फाप्री, सिलगड़ी, भारत
Subscribe
Login
0 Comments
Oldest







































