साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गाईजात्रे पिरलो !

भागबन्डामा अलिकति तलमाथि परेदेखि ङ्यारङ्यार ङुरङुर गर्दै डुक्रनेहरूको गाईजात्रे तमासा हेर्न हामी बाध्य छौँ अनि फेरि पनि पक्ष विपक्षमा लागेर समय बर्बाद गरिरहन्छौँ ।

Nepal Telecom ad

ह्यारी – ८० :

हामीले इन्द्रजात्रा, घोडेजात्रा, बिस्केट जात्रा आदि देखेसुनेका छौँ । त्यस्तै जात्राको नाममा बनेका उखान पनि सुनेका छौँ । एउटा उखानको उठान गर्न मन लागेको छ, कहीँ नभएको जात्रा हाँडीगाउँमा । तर अब यो आहान उल्टिएको छ भन्दा फरक नपर्ला । हाँडीगाउँलेको जात्राप्रति सम्मान गर्दै अब यो विस्तार भएर नेपालभरि फिँजिएको जात्राको नालीबेली सन्न मन लागेको छ । हाँडीगाउँको जात्रा हेर्न दुःख कष्ट गरेर त्यहाँसम्म पुग्नै पर्दैन भन्ने कुराको पुष्टि भएको छ अब । आफ्नै स्थानीय निकायलाई हेरे हुन्छ । गाउँ होस् या सहर उल्टो योजना बनाएर जताततै डोजरको आतङ्क मच्चिएको छ । डाँडाको तलतल कपेर बाटोको नाममा पहाडको जग भत्काउने असारका ठेकेदारहरूले गर्दा पहिरोको निमन्त्रणा दिएपछि गाउँबस्तीमा पहिरो नखसे आकाश खस्छ त ?

स्थानीय करको त झन् कुरै नगरौँ । नियम एकातिर गराइ अर्कैतिर । भ्रष्ट हो भन्ने जान्दाजान्दै पनि कानुन कार्यान्वयन गर्नेले केही नगरेपछि अनि जो रक्षक उही भक्षक भएपछि जति भने पनि लुरुक्क परेर जनताले कर तिनुपरेकै छ क्यारे । अझ ज्यादा करकर गरिरहे भनेर एकपटक कर तिरिदिऊँ न भनेर यसो बुझाउनुपर्छ, छोएपछि छुत लागिहाल्छ वर्षैपिच्छे बढ्दो दरको कर तिर्नै पर्छ । कर कहिल्यै तिर्दिनँ भनेर नतिर्नेले आजसम्म खोइ तिरेकै छैनन्, केही भएको छ र ? कर तिर्ने करदातालाई कुनै राहत दिए पो, आहत मात्र त छ । तिर्न नसक्नेलाई त कर गलाको पासो भएको छ, गाईजात्रै भएको छ ।

हुन त गाईजात्रा भन्नेबित्तिकै भाद्रकृष्ण प्रतिपदाका दिन मनाइने जात्रा अर्थात् परिवारका कुनै सदस्यको मृत्यु भएका वर्ष मृतकको मुक्तिका उद्देश्यले गाईलाई वा मान्छेलाई सिँगारेर सहर परिक्रमा गराइने जात्रा हो, गोयात्रा हो । तर हिजोआज घरको कन्तविजोग देख्ता त के भन्नु, गाईजात्रे कहानी जस्तै छ । पाँच जनाको परिवारमा पाँचतिर फर्केर मोबाइल चलाएर बसेका हुन्छन्, कसैको कसैलाई पर्वाह हुँदैन । उसै त कुन नाकमा सुन भनेझैँ परिवार विखण्डन हुँदै एकलवादतर्फ जाँदै छ । वैदेशिक रोजगारका नाममा होस् वा पढ्न वा यस्तै श्रीमान् एकातिर श्रीमती अर्कैतिर छोराछोरी कतातिर भएकाले वणर्न गरी साध्यै छैन । गाईजात्रा त परिवारभित्र, समाजभित्र अझ भनौँ देशैभरि घुस्रिइसकेको छ ।

हिजो गाईजात्रे प्रहसन सुरु गर्न कति सङ्घर्ष गर्नुपर्‍यो, अहिले देशैभरि गाईजात्रा प्रहसन निर्बाध चलिरहेछ । केही नेपाली बिदेसिएकाले धन्न सबै नेपालीले यो जात्रा हेर्न परेको छैन । सडकदेखि सदनसम्म चलेको गाईजात्रामा सिँगारिएका नेता चढेर वैतरणी तर्न लाग्दा झोलेहरू आफू पनि नरकमा डुबिरहेछन् र जनतालाई पनि डुबाइरहेछन् । जलहरी काण्ड, सय किलो सुन काण्ड, ललिता निवास काण्ड, नक्कली सर्टिफिकेट काण्ड, गिरिबन्धु काण्ड, ओम्नी काण्ड, वाइडबडी काण्ड, क्यान्टनमेन्ट काण्ड, निर्मला हत्याकाण्ड, के के काण्ड के के, सबका सबको गाईजात्रा वर्षैभरि हेर्न पाएका जनताले मुख्य गाईजात्रा कहिले र किन मनाइन्छ भन्ने कुरा बिर्सेर ओझेलमा पर्लान् भन्ने पिरलो फतुरे काकालाई पो भएको छ ।

हुन पनि नेपालीलाई सारै गारो छ रे, मरीमरी काम गरेर औँठी, बाला वा फुली जे बनाए पनि लगाउनलाई ल्याउने त हो नि भन्छन् बा ! दुई चार तोला सुन पनि के ल्याएका होलान्, त्यति थोरै ल्याएपछि समाउँदैनन् त ? भरिया नै लगाएर भए पनि सुन त क्विन्टलका क्विन्टल पो ओसानुपर्छ । भन्सारले केही गर्न पनि आँटै नपुगोस् न । यसो बाटातिर परिवारलाई बोकाएर पठाए सुरक्षित भइहाल्छ । यो सुन जोख्न चाहिँ उतै जोख्नु नि । यताको तराजु पनि विश्वासिलो छैन है, नत्र नापजाँच गर्दा सय किलोमा चालिस किलो घट्छ, यता हाम्रा देशाँ त जर्ती जान्छ त । जोख्ता सुन त घट्ने तुलो अरू जोख्ता के होला ? दूरदराजको विकासको बजेट चुहाउँदै जाँदा उहाँ पुग्दा त योजना त कागजको खोस्टो मात्र पुग्ने तर बजेट नपुग्ने असाध्ये रोग झैँ हुन्छ यो सुन पनि । यो त चार पाँच ठाउँमा तौलँदै जाने हो भने अन्तिम प्रतियोगितासम्म त शून्य किलो वा एक तोला वा एक लाल मात्रै हुन्छ होला । तैपनि जोख्न चाहिँ छोड्न हुन्न है । हामी नेपालीको द्रव्यदान, वस्त्रदान, भूमिदान जस्तै स्वणर्दान दिने चलन पनि त छ, त्यति सुन पनि दान गर्न नमिल्ने कानुन बनाएर हुन्छ त ? सुत्केरी भत्ता खाने पुरुष सांसद्, महिनौँ संसद् अवरुद्ध गरेर भत्ता चाटिरहने विधायक, खेताला शिक्षक राखेर वा पढाउनै नगई तलब खाने मास्टर, कामभन्दा कुरा बढी गर्ने र कार्यालयभन्दा नेताको तलुवा चाट्न जाने कर्मचारीहरू गाईजात्रा प्रहसनका जीवन्त कलाकार हुन् भन्दा अत्युक्ति नहोला । यस्तो गाईजात्रा कहीँ छ भने यहीँ मात्र छ ।

बेबी पाउनेहरूले बेबी सावर देखाएझैँ गाईजात्राको प्रत्यक्ष प्रसारणमा देखिने अर्को जात्रा हो भागवण्डामा राजनीतिक नियुक्ति । विश्वविद्यालयमा विद्यार्थी सुक्तै गए पनि झोले नियुक्ति मौलाएकै छ । अड्डा अदालत, सङ्घसंस्था, आयोग नियोग, राजदूतदेखि करारसम्म, पक्रेकादेखि फरारसम्म सबैलाई यिनै पोसित गाईजात्रे नेताले एकापसमा अंश छुट्याएसरह तँलाई यति मलाई यति भनेर कोटा निर्धारण गरेका छन् । भागबन्डामा अलिकति तलमाथि परेदेखि ङ्यारङ्यार ङुरङुर गर्दै डुक्रनेहरूको गाईजात्रे तमासा हेर्न हामी बाध्य छौँ अनि फेरि पनि पक्ष विपक्षमा लागेर समय बर्बाद गरिरहन्छौँ । भ्रष्टाचारीहरू खेलमैदानमा जग्गा, घर, पैसाका लागि प्रतिस्पर्धा गरिरहँदा हामी भोकापेटेहरू टुलुटुलु हेर्दै ऋण गरीगरी कर तिरिरहेका छौँ यिनको गाईजात्रे कार्यक्रमका लागि । व्यवस्था ल्यायौँ तर बेवास्ता गर्नेलाई केही ल्याएनौँ । भ्रष्टाचारीगणलाई गणतन्त्र आयो तर सदाचारीजनका लागि जनतन्त्र आएन । गाईजात्रा त कति आयो कति तर गाईलाई सिँगार्ने जात्रा चाहिँ कता लोप हुँदै गयो कता ?

घरकालाई लखेटेर र बेचेर छिमेकीलाई रजगज गर्न दिने अभिभावकको गाईजात्रे पाराले कठैबरा बनेका हामीले अब पात्रोमा गाईजात्रा कहिले पर्छ भनेर हेर्नुपर्दैन, टिभी खोलेर समाचार सुन्दा हुन्छ । संसद्भवनतिर आँखा कुदाए हुन्छ, स्कुल, अस्पताल, कार्यालय, टिकटक, फेसबुक, इन्स्टाग्राम अनलाइन समाचार, दलका कार्यालय यस्तै यस्तै हेरे हुन्छ । गाईजात्रा त्यहाँ त्यहाँ भइरहेको छ जहाँ रोजी रोजी मन्त्रालय छानिन्छन् । विदेशमा छिरेकाहरूको गाईजात्रा हुँदा पनि उनीहरूले बचाएको रेमिट्यान्स खाने यी जुकाहरूले अपच भई फुलाएका भुँडीहरूको गाईजात्रा हेर्न अनि आउरेबाउरे लम्पसारहरूको प्रत्यक्ष प्रसारण हेर्नका लागि प्रत्येक दिन एकछिन समय दिने गरौँ । पातकीहरूको पूर्ण चर्तिकला हेर्न नसके पनि, मन्थराको कुटिल चाल थाहा सबै नपाए पनि एकछिन गाईजात्रे समाचार हेर्न समय छुट्याऔँ । अन्त्यमा, जाँदाजाँदै मेरो मनको देशमा बाह्रमासे गाईजात्रा होइन, वर्षको एकपटक देखाइने सांस्कृतिक पर्व गाईजात्रा मात्र देख्न पाइयोस् । सबैलाई जदौ !

०००
जोरपाटी, गोकर्णेश्वर- ५, काठमाडौँ ।
२०८० साल भाद्र १ गते ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x