सञ्जय साह मित्रगधा जिन्दावाद !
‘हामी जित्यौँ । हामी राम्रो भएकोले जित्यौँ । हामीसित कोही प्रतिस्पर्धा गर्न सकेन । हामी सर्वश्रेष्ठ हौँ’ गधाहरूले नारा जुलुस गरे । दौडमा सबैभन्दा श्रेष्ठ भएको दाबीसहित घोडाहरूले पनि नारा सुने - ‘गधा जिन्दावाद !’

सञ्जय साह मित्र :
घोडाहरूको दौड थियो ।
गधाहरू रमिता हेर्न गए । उत्साहको पहर थियो । घोडा दाजुको दौडबाट दौड्ने तरिका र दाउ सिकिने रहर थियो ।
घोडाहरू पनि आए । हेर्दैमा खाइलाग्दा, बलिया, अग्ला घोडा । एकसे एक राम्रा घोडाहरू । गधाहरूको भीडमा अनुमानको वर्षा भयो । अग्लोले जित्ला, सेतोलाई कसैले हराउन सक्दैन, पातलो धेरै खिरिलो छ, त्यो गज्जब बलियो, यो साहै्र बेस, बिचको चाहिँ उत्तम । हामी गधाहरू भने खत्तम ।
प्रतिस्पर्धाको समय आयो । घोडाहरू जहाँको तहीँ बसे । चौरमा कोही पनि आएन ।
आयोजकले अन्तिम घोषणा गर्यो – जो भए पनि सहभागी हुनुस् नत्र प्रतिस्पर्धा स्थगित हुन्छ र घोडाभन्दा तीव्र दौड्ने कुत्तालाई विजयी बनाइन्छ ।
कुनै पनि घोडाले केही पनि बोलेन । गधाहरूले भने विरोध गर्यो – घोडा र गधा हामी एक जातका छौँ । कुकुरभन्दा गधा ठूलो हो । हाम्रो घोडा र गधाको राजा कुत्ता हुन सक्दैन … ।
उत्सुक गधाहरूलाई इसाराले बोलायो आयोजकले । प्रतिस्पर्धा भयो । गधाहरूमा उत्साह थियो । एकले अर्कोसित मित्रवत प्रतिस्पर्धा गर्यो । ‘गधाहरू गधासित लड्दैनन्, स्वस्थ प्रतिस्पर्धा गर्छन्’ भन्ने कुरा साबित गरे । एउटा गधाले जित्यो । सबैले बधाई दिए ।
‘हामी जित्यौँ । हामी राम्रो भएकोले जित्यौँ । हामीसित कोही प्रतिस्पर्धा गर्न सकेन । हामी सर्वश्रेष्ठ हौँ’ गधाहरूले नारा जुलुस गरे ।
दौडमा सबैभन्दा श्रेष्ठ भएको दाबीसहित घोडाहरूले पनि नारा सुने – ‘गधा जिन्दावाद !’
०००
रौतहट
Subscribe
Login
0 Comments
Oldest






































