चिरञ्जीवी दाहालक्षमा पाउँ प्रभु
हो त रहेछ, भगवान नभएको भए यिनले चोरे पनि छुट, बलात्कार गरे पनि छुट, मान्छे गिँडे पनि छुट । सुन ओसारे पनि छुट, नुन ओसारे पनि छुट हुन्थ्यो ?

चिरञ्जीवी दाहाल :
केही मान्छेहरू प्रायः बेहोसीमा जिउने गर्छन् । अधिकांश समय म पनि होसमा हुन्न । मेरो होस र बेहोस घाम र छायाँ जस्तो हुने गरेको छ । म कहिलेकाहीं पूणर् रुपमा बेहोसी हुन्छु भने कुनै बेला होस पनि आउँछ ।
बेहोसी शब्दको प्रयोग यसकारण गरेको छु, हरेक कार्यमा मेरो कुनैपनि पूर्व योजना हुँदैन । के सही के गलत म फिटिक्कै छुट्याउन सक्दिनँ । जतिबेला जे मनमा आउँछ, म त्यही गर्छु । मलाई जतिबेला होस आउँछ, अनि मात्र काम बिग्रिएको थाहा पाउँछु । नतिजा म सधैँ असफल मात्र हुन्छु । त्यतिबेला बल्ल थाहा पाउँछु , फलानो काम बित्यो, बिग्रियो,बरबाद भयो, त्यतिबेला समय घर्किसकेको हुन्छ।
बेहोसीमा म सुन र लसुनको पहिचान गर्न पनि सक्दिनँ । दानव र मानव, गुनी र बैगुनी छुट्याउन सक्दिनँ भने भगवान र हैवान के छुट्याउन सक्नु ? कुरै गर्ने हो भने यो बेहोसीपनले मैले निकै नोक्सानी बेहोर्नुपरेको छ ।
जब म बेहोसीमा हुन्छु, नानाथरी सपना देख्छु । खेती, व्यावसाय, उद्योगधन्दा, व्यापार बिजनेसको सपना । जुन कहिल्यै पनि पुरा हुन सक्दैन। जब होसमा आउँछु, अन्य मान्छेले जस्तै म पनि छरछिमेक, नेता र शासक विरुद्ध विषवमनमा समय व्यतीत गर्नेगर्छु । म अभ्यस्त भइसकेको छु । यसरी गरिएको विषवमनले छुट्टै प्रकारको आनन्द दिन्छ । यो नै अचेल देशमा मनोरन्जनको मुख्य साधन बन्ने गरेको छ । यतिमात्र होइन यसबाट मान्छेको विशेषज्ञता पनि झल्किन्छ । जसले बढी विषवमन गरिरहेको हुन्छ उही महान् बुद्धिजीवी ठहरिन्छ, उही लोकप्रिय हुन्छ ।
फेरि आफू इनेगिनेको मान्छे हूँ भनेर समाजलाई पनि त देखाउनु छ । आफू निकै विद्वान छु, सर्वगुणी छु भनेर प्रदर्शन गर्नु पनि त पर्यो नि ! यसरी फुर्ति देखाउन र क्रान्तिकारी बन्न पहिले पहिले जस्तो चिया पसलको बेन्ची कुर्नु पनि पर्दैन । यसरी गुड्डी हाँक्ने काम अचेल पार्टी कार्यालयतिर सरेको छ । यस्ता पार्टी कार्यालयहरू पहिले जस्तो गाउँमा दुई तीनवटा मात्र होइनन्, अचेल त कम्तिमा पनि डेढ दुई दर्जन जति पुगेका छन् । मेरो कुरा जसले ध्यान दिएर सुन्छ, म त्यतैतिर लाग्छु । यसरी डुल्ने क्रममा मैले एक दर्जन जति राजनीतिक पार्टीको सदस्यता समेत लिइसकेको छु । यतातिर पनि मेरो कुरा नसुनिए, बल्ल म सडकमा पुग्छु, स्वतन्त्र बनेर ।
असन्तुष्ट र अबुझ मान्छेहरू बेकारमा देशमा विकास भएन भन्दै उफ्रन्छन् । विकास नभएको भए यतिका पार्टी कार्यालय किन खुल्छन् त ? अझै आर्थिक विकासको कुरा गर्ने हो भने पहिले पहिले तोलामा कारोवार हुने सुन आजभोलि ग्राम र के.जी.मा मात्र होइन, क्विन्टलमा हुन थालेको छ । आशा गरौँ सुनको कारोबार अब छिट्टै मेट्रिक टनमा परिणत भएको देख्न पाइनेछ । देश तीव्र गतिमा विकसित भएको सबैभन्दा दह्रो प्रमाण यही होइन ? यसरी देशले सुन व्यापारमा उच्च छलाङ मार्न थालेपछि जाबो कृषि व्यवसाय, पर्यटन व्यवसाय, पशुपालनतिर किन ध्यान दिनु पर्यो ? यसरी महत्वपूणर् धातु सुन अहिले एक्कासि क्विन्टलमा कारोवार हुनु सानोतिनो प्रगति हुँदै होइन । उता नयाँ महाशक्ति राष्ट्र भयौँ भन्ने भारतमा समेत सुनको कारोवार जाबो ग्राममा हुनेगरेको छ ।
आजभोलि मेरो अधिकांश समय पार्टी कार्यालय र सामाजिक सञ्जालमा बित्ने गरेको छ । आखिर फुर्ती लगाउन, कुरा कट्न, कसैप्रति षड्यन्त्र रच्न, समय बिताउन र कमाइको सुत्र सिक्न सबैभन्दा उपयुक्त थलो तिनै पार्टी कार्यालय र सामाजिक सञ्जाल त हुन् नि । फेरि देशले यसरी रातारात उन्नति गर्न सक्नुमा यिनै राजनीतिक दलहरुको मुख्य देन पनि त छ ! यिनीहरूबाट कसरी अलग रहन सकिन्छ ?
जब मैले बेहोसीमा सपनाहरू देख्छु , ती सधैँ अधुरो हुने गरेका छन् । सपना पुरा गर् , धेरै मान्छेले भगवानलाई विश्वास गरेको देखेर म पनि भगवानमा अकूत भरोसा गर्छु । सानादेखि ठूला खुशीहरूमा भगवानलाई प्रसाद चढाउँछु । कुनै दुःख आइपर्दा वा सानातिना समस्या आए उनैको सामुन्ने बसेर आँसु बहाउँछु तर कुनै गलत कार्यमा मन जाँदा भगवान छन् अथवा छैनन् , मलाई पटक्कै ख्याल हुँदैन । जसरी हत्या, हिंसा, बलात्कार, घुसखोरी, अत्याचार र भ्रष्टाचार जस्ता अनैतिक कार्य गर्दा ठूला ठूला केही मान्छेले भगवानलाई सम्झदैनन् । यदि यस्तो बेला भगवान सम्झिएर उनैसँग अनुमति लिनुपर्ने भए भगवानले पक्कै पनि अनुमति दिने थिएनन् होला । लौ भगवानलाई त विश्वास गरियो गरियो, क्यै भएन । सबैले जस्तै म पनि भगवानलाई जस्तै सरकार र नेतालाई पनि आँखा चिम्लिएर विश्वास गर्छु । उनीहरूले जे भनेपनि सजिलै पत्याइदिन्छु । नपत्याउने कुरा पनि भएन । जे छ राजनीतिमा छ ।
जब म यस्तै सोच्दै थिएँ,एक्कासि आकासवाणी भएजस्तो लाग्यो । “मनुवा ! तैँले आजसम्म भगवानको पहिचान गर्न सकिनस् हगी ! म तँलाई एउटा सङ्केत दिन्छु । भगवान को रहेछन् , आफै चिन्नु ।” म झसङ्ग भएँ । अब भने म सङ्केतको प्रतीक्षामा थिएँ । “सत्ययुगमा इन्द्र कुन पदमा विराजमान थिए ?” मैले ढिलो नगरि उत्तर दिएँ । “स्वर्गको शासक ।” अनि त्रेतायुगमा राम के थिए ? “अयोध्याको शासक ।”
अब बुझिस् ? “भगवान को हुन् ?“
मैले भने “बुझेँ प्रभु, जतिपनि शासक भए ती सबै भगवान रहेछन् ।” हत्तेरी, उमेरले नेटो काट्ने बेलासम्म कलियुगको भगवान को रहेछ पटक्कै चिन्न सकिएन छ । धिक्कार छ मलाई ! आजसम्म जतिपनि सत्तामा गए, तिनीहरू त सबै भगवान पो रहेछन् । यतिन्जेलसम्म भगवान र साधारण मान्छे छुट्याउन नसकेकोमा मलाई निकै पश्चाताप लाग्यो । आफैसँग रिस उठ्यो।
हो त रहेछ, भगवान नभएको भए यिनले चोरे पनि छुट, बलात्कार गरे पनि छुट, मान्छे गिँडेपनि छुट । सुन ओसारे पनि छुट, नुन ओसारे पनि छुट हुन्थ्यो ? भगवान कृष्णले दही, मखन चोर्दा कसले समात्न सक्यो ! बिष्णु भगवानले जालन्धर पत्नी वृन्दाको इज्जत लुट्दा तिनलाई कार्बाही भयो ? तिनै भगवानले दैत्य र राक्षस भन्दै कतिलाई मुला काटे जसरी काटे कसैले औंला उठाउने प्रयास गर्न सक्यो ? रामले रावणको हत्या गर्दा जेल बस्नु परेको थियो ? भगवानलाई कारबाही गर्न, छ कसैसँग तागत ? भगवानलाई पनि जाबो मान्छेले बनाएको कानुन लाग्छ र ?
संसारमा यस्तो छुट भगवानलाई बाहेक कसलाई हुन्छ ? भगवानले जसो गरे पनि छुट हुनुपर्छ । त्यसैले भगवानका विरुद्ध कसैले पनि औंला उठाउन मिल्दै मिल्दैन । भगवानको मन हो, चोर्न मन लागे चोर्छन् । बलात्कार गर्न मनलागे गर्छन् । भ्रष्टाचार गर्न मनलाग्यो भने पनि निर्धक्कसँग गर्छन् । भगवान हुन् जसो गर्न मनलाग्यो त्यसै गर्न पाउनुपर्छ । कसैले टाउको ठोकाउँदैमा हुन्छ ? यो त उनीहरूको नैसर्गिक अधिकार हो। कसैले यी कलियुगे भगवानका विरुद्धमा एक शब्द पनि नबोलियोस्, मेरो आग्रह छ । हुन त पापको डर नहुने केही मान्छेहरू यिनै आधुनिक भगवानको विरुद्ध विष वमन गरिरहेका हुन्छन् । राम ! राम !! थोरै भए पनि पापको डर मान्नु नि !
भगवानका विरुद्ध सामजिक सन्जालमा के विधि लेख्न सकेका ? सामान्य मान्छेहरूलाई यसरी तथानाम लेखेको भए दोहोरो भिडन्त भइसक्थ्यो होला । भगवानहरू त जाबो मान्छेले लेखेको कुरामा, च्याँठ्ठिदै र नारी खैंचदै हिँड्ने कुरा पनि त भएन नि ! अनि अर्को महत्वपूणर् कुरा, भगवानकी पत्नी भगवती हुन्, भगवान पुत्र मिनी भगवान भए । सबैले ख्याल गर्नुपर्छ । उहाँहरु उपर समेत कसैले कर्के नजरले हेर्न मिल्दैन । शिवजीलाई भगवान मान्नेले पार्वती र गणेशजी भगवान होइनन् भन्न मिल्छ ?
भगवानको भक्ति गर्नुपर्नेमा उल्टै भगवानलाई सत्तोसराप गर्दै हिँड्न पाइन्छ ? कहिँ नभएको जात्रा हाँडीगाउँमा भएन ? सके तिनै भगवानको भक्तिमा ध्यान दिनु, विधिपूर्वक पूजा आराधना गर्नु, दह्रो दक्षिणा चढाउनु । जेलमा बसेको ज्यानमारा भए उनै भगवानले मुक्ति दिन्छन् । भ्रष्टाचारमा मुछिएको भएपनि छुट दिलाउँछन् । अनेकौं कष्ट र सङ्कटबाट पार लगाइदिन्छन् । भगवानले गर्न नसक्ने के छ यो दुनियाँमा ? बेकारमा भगवानलाई गाली गरेर के पाइन्छ ? प्रभु, जान अन्जानमा सबैले बकबक गरेको देखेर आफूले पनि नानाभाँती अपशब्द निकालियो होला, त्यसका लागि क्षमा पाउँ प्रभु !
०००
चितवन ।
Subscribe
Login
0 Comments
Oldest







































