साइबर अपराध सम्बन्धी सचेतना सामग्री

क्षमा पाउँ प्रभु

हो त रहेछ, भगवान नभएको भए यिनले चोरे पनि छुट, बलात्कार गरे पनि छुट, मान्छे गिँडे पनि छुट । सुन ओसारे पनि छुट, नुन ओसारे पनि छुट हुन्थ्यो ?

Nepal Telecom ad

चिरञ्जीवी दाहाल :

केही मान्छेहरू प्रायः बेहोसीमा जिउने गर्छन् । अधिकांश समय म पनि होसमा हुन्न । मेरो होस र बेहोस घाम र छायाँ जस्तो हुने गरेको छ । म कहिलेकाहीं पूणर् रुपमा बेहोसी हुन्छु भने कुनै बेला होस पनि आउँछ ।
बेहोसी शब्दको प्रयोग यसकारण गरेको छु, हरेक कार्यमा मेरो कुनैपनि पूर्व योजना हुँदैन । के सही के गलत म फिटिक्कै छुट्याउन सक्दिनँ । जतिबेला जे मनमा आउँछ, म त्यही गर्छु । मलाई जतिबेला होस आउँछ, अनि मात्र काम बिग्रिएको थाहा पाउँछु । नतिजा म सधैँ असफल मात्र हुन्छु । त्यतिबेला बल्ल थाहा पाउँछु , फलानो काम बित्यो, बिग्रियो,बरबाद भयो, त्यतिबेला समय घर्किसकेको हुन्छ।

बेहोसीमा म सुन र लसुनको पहिचान गर्न पनि सक्दिनँ । दानव र मानव, गुनी र बैगुनी छुट्याउन सक्दिनँ भने भगवान र हैवान के छुट्याउन सक्नु ? कुरै गर्ने हो भने यो बेहोसीपनले मैले निकै नोक्सानी बेहोर्नुपरेको छ ।
जब म बेहोसीमा हुन्छु, नानाथरी सपना देख्छु । खेती, व्यावसाय, उद्योगधन्दा, व्यापार बिजनेसको सपना । जुन कहिल्यै पनि पुरा हुन सक्दैन। जब होसमा आउँछु, अन्य मान्छेले जस्तै म पनि छरछिमेक, नेता र शासक विरुद्ध विषवमनमा समय व्यतीत गर्नेगर्छु । म अभ्यस्त भइसकेको छु । यसरी गरिएको विषवमनले छुट्टै प्रकारको आनन्द दिन्छ । यो नै अचेल देशमा मनोरन्जनको मुख्य साधन बन्ने गरेको छ । यतिमात्र होइन यसबाट मान्छेको विशेषज्ञता पनि झल्किन्छ । जसले बढी विषवमन गरिरहेको हुन्छ उही महान् बुद्धिजीवी ठहरिन्छ, उही लोकप्रिय हुन्छ ।

फेरि आफू इनेगिनेको मान्छे हूँ भनेर समाजलाई पनि त देखाउनु छ । आफू निकै विद्वान छु, सर्वगुणी छु भनेर प्रदर्शन गर्नु पनि त पर्यो नि ! यसरी फुर्ति देखाउन र क्रान्तिकारी बन्न पहिले पहिले जस्तो चिया पसलको बेन्ची कुर्नु पनि पर्दैन । यसरी गुड्डी हाँक्ने काम अचेल पार्टी कार्यालयतिर सरेको छ । यस्ता पार्टी कार्यालयहरू पहिले जस्तो गाउँमा दुई तीनवटा मात्र होइनन्, अचेल त कम्तिमा पनि डेढ दुई दर्जन जति पुगेका छन् । मेरो कुरा जसले ध्यान दिएर सुन्छ, म त्यतैतिर लाग्छु । यसरी डुल्ने क्रममा मैले एक दर्जन जति राजनीतिक पार्टीको सदस्यता समेत लिइसकेको छु । यतातिर पनि मेरो कुरा नसुनिए, बल्ल म सडकमा पुग्छु, स्वतन्त्र बनेर ।

असन्तुष्ट र अबुझ मान्छेहरू बेकारमा देशमा विकास भएन भन्दै उफ्रन्छन् । विकास नभएको भए यतिका पार्टी कार्यालय किन खुल्छन् त ? अझै आर्थिक विकासको कुरा गर्ने हो भने पहिले पहिले तोलामा कारोवार हुने सुन आजभोलि ग्राम र के.जी.मा मात्र होइन, क्विन्टलमा हुन थालेको छ । आशा गरौँ सुनको कारोबार अब छिट्टै मेट्रिक टनमा परिणत भएको देख्न पाइनेछ । देश तीव्र गतिमा विकसित भएको सबैभन्दा दह्रो प्रमाण यही होइन ? यसरी देशले सुन व्यापारमा उच्च छलाङ मार्न थालेपछि जाबो कृषि व्यवसाय, पर्यटन व्यवसाय, पशुपालनतिर किन ध्यान दिनु पर्यो ? यसरी महत्वपूणर् धातु सुन अहिले एक्कासि क्विन्टलमा कारोवार हुनु सानोतिनो प्रगति हुँदै होइन । उता नयाँ महाशक्ति राष्ट्र भयौँ भन्ने भारतमा समेत सुनको कारोवार जाबो ग्राममा हुनेगरेको छ ।

आजभोलि मेरो अधिकांश समय पार्टी कार्यालय र सामाजिक सञ्जालमा बित्ने गरेको छ । आखिर फुर्ती लगाउन, कुरा कट्न, कसैप्रति षड्यन्त्र रच्न, समय बिताउन र कमाइको सुत्र सिक्न सबैभन्दा उपयुक्त थलो तिनै पार्टी कार्यालय र सामाजिक सञ्जाल त हुन् नि । फेरि देशले यसरी रातारात उन्नति गर्न सक्नुमा यिनै राजनीतिक दलहरुको मुख्य देन पनि त छ ! यिनीहरूबाट कसरी अलग रहन सकिन्छ ?

जब मैले बेहोसीमा सपनाहरू देख्छु , ती सधैँ अधुरो हुने गरेका छन् । सपना पुरा गर् , धेरै मान्छेले भगवानलाई विश्वास गरेको देखेर म पनि भगवानमा अकूत भरोसा गर्छु । सानादेखि ठूला खुशीहरूमा भगवानलाई प्रसाद चढाउँछु । कुनै दुःख आइपर्दा वा सानातिना समस्या आए उनैको सामुन्ने बसेर आँसु बहाउँछु तर कुनै गलत कार्यमा मन जाँदा भगवान छन् अथवा छैनन् , मलाई पटक्कै ख्याल हुँदैन । जसरी हत्या, हिंसा, बलात्कार, घुसखोरी, अत्याचार र भ्रष्टाचार जस्ता अनैतिक कार्य गर्दा ठूला ठूला केही मान्छेले भगवानलाई सम्झदैनन् । यदि यस्तो बेला भगवान सम्झिएर उनैसँग अनुमति लिनुपर्ने भए भगवानले पक्कै पनि अनुमति दिने थिएनन् होला । लौ भगवानलाई त विश्वास गरियो गरियो, क्यै भएन । सबैले जस्तै म पनि भगवानलाई जस्तै सरकार र नेतालाई पनि आँखा चिम्लिएर विश्वास गर्छु । उनीहरूले जे भनेपनि सजिलै पत्याइदिन्छु । नपत्याउने कुरा पनि भएन । जे छ राजनीतिमा छ ।

जब म यस्तै सोच्दै थिएँ,एक्कासि आकासवाणी भएजस्तो लाग्यो । “मनुवा ! तैँले आजसम्म भगवानको पहिचान गर्न सकिनस् हगी ! म तँलाई एउटा सङ्केत दिन्छु । भगवान को रहेछन् , आफै चिन्नु ।” म झसङ्ग भएँ । अब भने म सङ्केतको प्रतीक्षामा थिएँ । “सत्ययुगमा इन्द्र कुन पदमा विराजमान थिए ?” मैले ढिलो नगरि उत्तर दिएँ । “स्वर्गको शासक ।” अनि त्रेतायुगमा राम के थिए ? “अयोध्याको शासक ।”

अब बुझिस् ? “भगवान को हुन् ?“
मैले भने “बुझेँ प्रभु, जतिपनि शासक भए ती सबै भगवान रहेछन् ।” हत्तेरी, उमेरले नेटो काट्ने बेलासम्म कलियुगको भगवान को रहेछ पटक्कै चिन्न सकिएन छ । धिक्कार छ मलाई ! आजसम्म जतिपनि सत्तामा गए, तिनीहरू त सबै भगवान पो रहेछन् । यतिन्जेलसम्म भगवान र साधारण मान्छे छुट्याउन नसकेकोमा मलाई निकै पश्चाताप लाग्यो । आफैसँग रिस उठ्यो।

हो त रहेछ, भगवान नभएको भए यिनले चोरे पनि छुट, बलात्कार गरे पनि छुट, मान्छे गिँडेपनि छुट । सुन ओसारे पनि छुट, नुन ओसारे पनि छुट हुन्थ्यो ? भगवान कृष्णले दही, मखन चोर्दा कसले समात्न सक्यो ! बिष्णु भगवानले जालन्धर पत्नी वृन्दाको इज्जत लुट्दा तिनलाई कार्बाही भयो ? तिनै भगवानले दैत्य र राक्षस भन्दै कतिलाई मुला काटे जसरी काटे कसैले औंला उठाउने प्रयास गर्न सक्यो ? रामले रावणको हत्या गर्दा जेल बस्नु परेको थियो ? भगवानलाई कारबाही गर्न, छ कसैसँग तागत ? भगवानलाई पनि जाबो मान्छेले बनाएको कानुन लाग्छ र ?

संसारमा यस्तो छुट भगवानलाई बाहेक कसलाई हुन्छ ? भगवानले जसो गरे पनि छुट हुनुपर्छ । त्यसैले भगवानका विरुद्ध कसैले पनि औंला उठाउन मिल्दै मिल्दैन । भगवानको मन हो, चोर्न मन लागे चोर्छन् । बलात्कार गर्न मनलागे गर्छन् । भ्रष्टाचार गर्न मनलाग्यो भने पनि निर्धक्कसँग गर्छन् । भगवान हुन् जसो गर्न मनलाग्यो त्यसै गर्न पाउनुपर्छ । कसैले टाउको ठोकाउँदैमा हुन्छ ? यो त उनीहरूको नैसर्गिक अधिकार हो। कसैले यी कलियुगे भगवानका विरुद्धमा एक शब्द पनि नबोलियोस्, मेरो आग्रह छ । हुन त पापको डर नहुने केही मान्छेहरू यिनै आधुनिक भगवानको विरुद्ध विष वमन गरिरहेका हुन्छन् । राम ! राम !! थोरै भए पनि पापको डर मान्नु नि !

भगवानका विरुद्ध सामजिक सन्जालमा के विधि लेख्न सकेका ? सामान्य मान्छेहरूलाई यसरी तथानाम लेखेको भए दोहोरो भिडन्त भइसक्थ्यो होला । भगवानहरू त जाबो मान्छेले लेखेको कुरामा, च्याँठ्ठिदै र नारी खैंचदै हिँड्ने कुरा पनि त भएन नि ! अनि अर्को महत्वपूणर् कुरा, भगवानकी पत्नी भगवती हुन्, भगवान पुत्र मिनी भगवान भए । सबैले ख्याल गर्नुपर्छ । उहाँहरु उपर समेत कसैले कर्के नजरले हेर्न मिल्दैन । शिवजीलाई भगवान मान्नेले पार्वती र गणेशजी भगवान होइनन् भन्न मिल्छ ?

भगवानको भक्ति गर्नुपर्नेमा उल्टै भगवानलाई सत्तोसराप गर्दै हिँड्न पाइन्छ ? कहिँ नभएको जात्रा हाँडीगाउँमा भएन ? सके तिनै भगवानको भक्तिमा ध्यान दिनु, विधिपूर्वक पूजा आराधना गर्नु, दह्रो दक्षिणा चढाउनु । जेलमा बसेको ज्यानमारा भए उनै भगवानले मुक्ति दिन्छन् । भ्रष्टाचारमा मुछिएको भएपनि छुट दिलाउँछन् । अनेकौं कष्ट र सङ्कटबाट पार लगाइदिन्छन् । भगवानले गर्न नसक्ने के छ यो दुनियाँमा ? बेकारमा भगवानलाई गाली गरेर के पाइन्छ ? प्रभु, जान अन्जानमा सबैले बकबक गरेको देखेर आफूले पनि नानाभाँती अपशब्द निकालियो होला, त्यसका लागि क्षमा पाउँ प्रभु !

०००
चितवन ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुन कागती र गोजी कागती

सुन कागती र गोजी...

चिरञ्जीवी दाहाल
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
जिब्रो

जिब्रो

चिरञ्जीवी दाहाल
ताली पर्व सधैँ आइरहोस्

ताली पर्व सधैँ आइरहोस्

चिरञ्जीवी दाहाल
धूपको धुवाँ र चुरोटको धुवाँ

धूपको धुवाँ र चुरोटको...

चिरञ्जीवी दाहाल
ज्ञानको उल्टी

ज्ञानको उल्टी

चिरञ्जीवी दाहाल
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x