राम आचार्य ‘पुष्पप्रेमी’तीज संस्कृति : संस्मरण
यो पर्व नारी अनुशासन र हिन्दु संस्कृतिको अनुपम जड मानिन्थ्यो । चेली माइती बीचको आत्मीय मायाको प्रतीक, नारी सौभाग्यको उपमा र लोक संस्कृतिको अलौकिक बिम्ब बनेर एक वर्षको लागि बिदा हुन्थ्यो ।

राम आचार्य ‘पुष्पप्रेमी’ :
म सानो हुँदा दिदीहरू ठूलै थिए, केही त विवाह गरेर आ-आफ्नो घर गइसकेका थिए । ढिकीमा चम्पासरी धानको घान हालेर बा र आमाको गफ गर्दै चामल बनाउनु हुन्थ्यो । तीज आउन हप्ता दिन अघि देखि छोरी चेली डाक्ने सर-सल्लाह हुन थाल्थ्यो बा र आमाको । कतै दाजुहरू दिदी बहिनीलाई लिन पठाउँथे त कतै बा आफै जान्थे छोरी लिन । नजिकै छरछिमेक नाताले चेली पर्ने कसैलाई नछोडी आमाले दर खान डाक्नु हुन्थ्यो । बोलाए जति कसैले पनि अनादर गर्दैनथे सबै आउँथे पनि । बेलुका निकै ठूलो जमघट हुन्थ्यो घरमा ।
जम्मा भएका चेली जति खुशी हुन्थे त्यो भन्दा खुशी बा आमा देखिन्थे । हामी पनि खुशीले नाच्थ्यौँ । बेलुका आमाले आफै पकाएर दाल, भात, घ्यु, सब्जी, काँक्राको खल्पी, सिलामको धुले अचार तयार पार्नु हुन्थ्यो । चेलीबेटीलाई दुःख दिनु हुँदैन, चेलीले होइन हामी (माइती) ले पकाएर ख्वाउनु पर्छ भन्नू हुन्थ्यो । बाले ग्वालीबाट लाल्मु गाई दुहेर काठको दुँधेरोमा भरी दूध ल्याउनु हुन्थ्यो त्यसपछि चौैंरे भैंसी दुहेर अर्को दुँधेरो दूध ल्याएर ठूलो किटको कराईमा खन्याएर तताउन थाल्नु हुन्थ्यो । आमा भने सबैलाई बेलुकाको खान ख्वाउन व्यस्त देखिनुहुन्थ्यो । बाले दूध तातो भए पछि त्यहि कुँडेमा नाङ्लोले छोपेर राख्नु हुन्थ्यो राती उठेर दर खान । अनि सबैजनासँग बा र आमा दुख सुखका कुरा गर्न थाल्नु हुन्थ्यो झण्डै आधा रात बित्थ्यो । दिदी बहिनीहरू गत गाउने, नाच्ने, संगेनी खेल्ने गर्थे, हामीलाई न भूत न भविष्य सबै बिर्सिएर रमाउथ्यौँ । ओछ्यानबाट बा कराउन थाल्नु हुन्थ्यो, अब सुत है… नानीहरू ! नत्र भरे राति दर खान उठ्न सक्दैनौ नि । हामी सबै भुईंमा ओछ्यान लाएर सुत्थ्यौँ । शिवजीको व्रत बस्ने भएकोले मासु मंसको कुनै गुञ्जाइस थिएन। विशुद्ध निरामिस खाना फलफूल मात्र खान्थे ।
राति भाले बास्नु अगावै आमा मात्र उठेर कसैले थाहा नै नपाई चुलामा खत्र्याङ खुत्रुङ गर्नु हुन्थ्यो । खिर ढकने, सब्जी अचार पकेर तयार भए पछि सबैलाई बिछ्याउनामा गएर दर खान उठ भनेर कराउँदा पो हामी पनि ब्युझिन्थ्यौँ । आँखा मिँच्दै दिदीबहिनी, फुपुहरूसँग बसेर दर खाइन्थ्यो । पल्लो घर, माथ्लो घर सबैतिर धिप् धिप् बत्तीको उज्यालो देखिन्थ्यो, चेली माइतीको खुशीमा गाउँ नै गुन्गुनाउँथ्यो । अनुपम आनन्द महशुस हुन्थ्यो ।
उज्यालो भए पछि पानी पनि नखाई निराहार व्रत बस्नु पर्ने गहकिलो मान्यता स्थापित थियो । आज भोलि जस्तो मासुको दर खाएर मन्दिरमा गएर डिस्को नाच्ने कल्पनामा पनि थिएन । अनुशासन र मर्यादा प्रति सबै कटिबद्ध हुन्थे । पिँडीबाट हजुरआमा कराउनु हुन्थ्यो- साँझ नपरि तीजको पुजा लाउनु हुँदैन है भुरा हो ! न भन्दै घाम डुब्न लाग्दा पण्डित आइपुग्थे । कसैले फूलपाती खोज्थे, कसैले फलफूल चाना माटेर प्रसाद बनाउँथे, कोहि बेला पत्ता, वरपिपलको पात, जरैसँगको उखु, केराको थाम, सामा, पलाँसको पात जम्मा पारेर गोधँुली छिप्पिँदै गए पछि पूजा शुरु हुन्थ्यो ।
बेलुका ७-८ बजेतिर पुजा सकिन्थ्यो, प्रसाद पञ्चामृत खाए पछि पनि अन्न (भात) खानु हुँदैन भन्ने मान्यता शिरोपर गर्ने गर्थे । कतिले फर्सी उसिनेर त कतिले फापर जाँतोमा पिसेर रोटी बनाएर खान्थे । यो पर्व नारी अनुशासन र हिन्दु संस्कृतिको अनुपम जड मानिन्थ्यो । चेली माइती बीचको आत्मीय मायाको प्रतीक, नारी सौभाग्यको उपमा र लोक संस्कृतिको अलौकिक बिम्ब बनेर एक वर्षको लागि बिदा हुन्थ्यो । चेलीहरू पनि रुन्चे हाँसो हाँस्दै बिदा हुन्थे, टाढा हुनेलाई पुनः माइती पुर्याउन जान्थे । यस्तो नेपाली हिन्दु नारीको सौभ्याग्य, धैर्यता, दृढता र प्रेमको भावनात्मक नाता बोकेर बर्सेनि आउने/जाने गर्छ तीज पर्व ।
०००
झापा ।
Subscribe
Login
0 Comments
Oldest








































