राम आचार्य ‘पुष्पप्रेमी’घात प्रतिघात
अनेकौँ मातृत्वको व्यथाका आहालमा नुहाएर मुस्कुराउँछ, अन्तर वेदनाका परिभाषाहरुमा स्वार्थका रङ्ग घोलेर चुपचाप सुनिरहन्छ मौनताका मुस्कान छरिरहन्छ ।

राम आचार्य ‘पुष्पप्रेमी’ :
सन्नाटाको साम्राज्यभित्र
देश छ स्वदेश छैन,
हेर्दा सबथोक छ तर
छाम्दा केही छैन
अन्योलपूर्ण वर्तमान छ इतिहास छैन,
इतिहासको दर्पणमा
अन्धकारको दागले होला
म आफ्नै अनुहार ठम्याउन छाडेको छु,
परिवर्तनको घात प्रतिघातको
धुमिल विम्बमा
अदृश्य ऐनाभित्र मेरो इतिहास
चिच्याइरहे झैँ लाग्छ ।
म जन्मेको माटोको धरातलमा
आमाका ममताहरू
रक्ताम्मे भएर मुछिएका छन,
दासत्वको खुल्ला मैदानमा
आमाको चिरहरण भइरहँदा
बाले काँधमा बोकेर जोगाएको
युगका कयौं कथाहरू पुरिँदैछन ।
दिनदहाडै आमाको काखमै
हाम्रो वात्सल्यता लुटिदैछ,
आशाका बस्तिहरूबाट
अन्योलको भुँवरीले
मेरा सपनाहरू उडाउँदैछ ।
देशले खोजेका युवाहरू
परदेशको मरुभूमिमा भौंतारिन्छन
दुरदेशबाट उनीहरू
मातृभूतिमा आफ्नो सपनाको महल खोज्छन,
अङ्गालोभरि देशभक्ति बोकेर
मायाँ पोख्न होइन
मन पखाल्न मात्र आउँछन्,
जुनी काट्न भन्दा
सम्झना फेर्न आइपुग्छन् ।
तर ऊ
नैपत्थ्यबाट च्याउँछ
मौनतामा मुस्कुराउँछ,
मेरी आमाको दर्दनाक आब्रुक
देखेर ऊ आनन्द लिन्छ,
कसैका श्रीमतीको चीत्कार र
कसैका बावुको वेदनाले
उसको ओठ काम्दैन
मन दुख्दैन ।
अनेकौँ मातृत्वको व्यथाका
आहालमा नुहाएर मुस्कुराउँछ,
अन्तर वेदनाका परिभाषाहरुमा
स्वार्थका रङ्ग घोलेर
चुपचाप सुनिरहन्छ
मौनताका मुस्कान छरिरहन्छ ।
०००
बुद्धशान्ति -१, झापा
Subscribe
Login
0 Comments
Oldest







































