वासुदेव गुरागाईंअनामिका आमासँग अन्तरसंवाद
म एउटा बटुवा थिएँ । आमाले मेरो नाम सोध्न भुल्नुभयो । आमाले आफ्नो नाम नबताएपछि मैले पनि मेरो नाम सम्झेर पनि बताइनँ । म पनि आमाले भने जस्तै पछिल्लो पुस्ताको प्रतिनिधि पात्र ।

वासुदेव गुरागाईं :
नमस्ते आमा ।
नमस्ते ।
के गर्दै हुनुहुन्छ ? बाख्रा चराउँदै ?
के गर्नु त बाबू ? आफूले जाफ्नैाे सिप र गर्नसक्ने काम यही हो । इः, यिनै चार माउपाठा छन् । यिनलाई दिनैपिच्छे चराउने र फुर्सदका बेलामा बसेको समय साँझबिहानको पूजाआरतीका लागि बत्ती कात्ने काम त हो मेरो । सकुन्जेल त गर्नै पर्यो नि, परेन र ?
अनि, दिनभरि यस्ता अनकन्टार ठाउँमा एक्लै बस्न डर लाग्दैन आमालाई ?
केको डर ? न गोजीमा दाम छ न कानमा सुन ? न लोभलाग्दो रूप छ न भर्भराउँदो उमेर ? यिनै चार माउपाठा मेरा साथी छन् । कसले के गर्छ मलाई ? त्यसमाथि यहाँका ढुङ्गा माटा सबैले मलाई चिनेका छन् । मलाई केही अप्ठ्यारो परिहाल्यो भने यिनैले सघाउँछन् । यिनैले बचाउँछन् । बाबू, माटोभन्दा ठुलो वस्तु अरू केही छैन यस संसारमा ।
आमाको कुरा गर्ने शैलीले मलाई चटक्क तान्यो । मैले उहाँको नाम सोधेँ, बताउन चाहनु भएन । बरू उल्टै मलाई सम्झाउँदै भन्नुभयो – मेरो नामको के अर्थ छ र यहाँ ? फेरि अर्को कुरा नाम बताउँदा म एक्लीको मात्र कुरो आउँछ, मेरो मात्र पहिचान बन्छ । बताइन भने म जस्ता सबैको कुरो आउँछ । म जस्ता सबैको सामूहिक पहिचान बन्छ । किनकि, म त समाजकी सबैकी प्रतिनिधि पात्र । म देख्नमा व्यक्ति भए पनि यथार्थमा समाज हुँ । सार्वजनिक चिनारी हुँ । कि कसो बाबू ?
आमाका कुरा सुनेपछि त्यसको प्रत्युत्तरमा मैले केही बोल्न सकिनँ । बरु अन्यत्र प्रसङ्ग मोड्ने नियतले ती अनामिका आमालाई प्रश्न गरेँ – कति भो र हजुरको उमेर ?
चार बिसलाई चार कम । आमाले नअड्किईकन जबाफ फर्काउनु भयो । मैले ती अनामिका आमाको उमेर पक्का गर्न फेरि सोधेँ – उसो भए हजुरको उमेर छयहत्तर वर्ष ?
यस जिज्ञासामा पनि आमाको प्रस्ट उत्तर थियो – खोइ ! त्यस्तो छयहत्तर सयहत्तर म जान्दिन । चार बिसलाई चार कम । म त्यत्ति मात्र जान्दछु । हाम्रा पालामा गाउँघरमा स्कुल थिएन । भए पनि छोरी मान्छेलाई कसले पढाउँथ्यो र ! यत्ति पनि यसो उसो गरेर कुराकानीकै भरमा सिकेकी हुँ । अरू कुरा जान्दिन बा म । मैले अहिले पनि कुनै अक्षर पढेकी छैन । तर घर व्यवहार सबै पढेकी छु । समाज पढेकी छु । समाजभित्रका पिर व्यथा र सुख दुःखका कुरा पढेकी छु । मानिसका आनीबानी र आचरण पढेकी छु । समाजको सोच र नारीप्रति तिनले हेर्ने दृष्टिकोण पढेकी छु । सारमा भन्ने हो भने मेरो युगको युग पढेकी मान्छे हुँ म ।
मैले मनमनै सोचेँ – अहो ! आफ्नो युगको युग पढेकी मान्छे । आमाको सिकाइ कडा हो । महिनाको हजारौँ रुपैयाँ खर्च गरेर अङ्ग्रेजी विद्यालय धाउने अहिलेका विद्यार्थीले न छयहत्तर जानेका छन् न चार बिस भनेको बुझेका छन् ! चार बिस त अझ कता हो कता परको कुरा ! छयहत्तर भन्यो भने पनि अङ्ग्रेजीमा त्यसलाई के भन्छन् भनेर सोध्छन् अहिलेका हाम्रा इङ्लिसे विद्यार्थी । न यिनले अनामिका आमा जस्तो घर व्यवहार र समाज नै पढेका छन् । अहिलेका यिनले मात्र अक्षर पढेका छन्, घर व्यवहार र समाज पटक्कै पढेका छैनन् । यस्तो अवस्थामा आमाको यो सिकाइ त कता हो कता महान लाग्यो मलाई ।
अब मैले आमालाई धेरै प्रश्न गर्ने आँट गरिनँ । बाटामा भेटिएकी यी आमालाई अब एउटै प्रश्न गर्छु र यिनका कुरा सुन्छु भन्ने लाग्यो मलाई । यही सोचका साथ कुरो अघि बढाएँ र भनेँ – आमा, हजुर धेरै चलाख हुनुहुँदो रहेछ कुरा गर्न । हजुरको कुरा गर्ने शैली पनि मजा लाग्यो मलाई । मलाई हजुरको विगत जान्ने इच्छा जाग्यो । हजुरका विगतका कुरा सुनेपछि हजुर जस्ता अरूका पनि मोटामोटी कुरो बुझिने । सुनाउनुस् न आमा हजुरका विगतका छोटामिठा कहानी । म एकछिन यही चौतारीमा बसेर हजुरका कुरा सुन्छु । अहिले त यस्तो दुःख गरिरहनु भएको छ भने पहिला त अझ कति दुःख गर्नुभो होला आमाले ?
तिमीलाई हतार छैन भने बस न त म सम्झेसम्मका मेरा विगतका कुरा कोट्ट्याउँछु । गाउँघरका अरू आमा, हजुरआमा र दिदीबहिनीका कुरा पनि मेरै जस्ता हुन् । फरक परे पनि तोलामा फरक पर्लान् त्यसभन्दा बढी पर्दैनन् । समाज उही त हो नि । उस्तै त हो नि ।
मैले उत्सुकतापूर्वक उज्यालो अनुहार बनाएर मुन्टो हल्लाएँ आमाका कुरा सुन्नका लागि ।
बाटो छेउछाउमा आएका बाख्रालाई माथितिर लखेटेर आमा कथात्मक रूपमा आफ्नो विगत ओकल्न थाल्नु भयो । वक्तव्यका क्रममा आमा कतिखेर म भनेर व्यक्तिनुहुन्थ्यो कतिखेर हामी । म वा हामी जे सम्बोधनमा व्यक्तिए पनि उहाँ समाज पढेकी समाजकी प्रतिनिधि पात्र बनेर व्यक्तिइरहनु भएको थियो । संवादको क्रममा उहाँको भनाइ थियो – म मेरी जेठानीभन्दा दुई वर्ष ढिलो उमेरमा विवाह भएकी । मेरी जेठानी सात वर्षकी उमेरमा बिहे भएर हाम्रो घर आउनुभएकी रे, मचाहिँ नौ वर्षकी उमेरमा । नौ वर्षकी मात्र हुँदा पनि वरपरका अरूहरू केटी अलिक बुढी नै रैछ भन्थे । समय त्यस्तो थियो । मेरा दुलहा दश वर्षका । त्यतिखेर केका दुलहादुलही, केका लोग्नेस्वास्नी ! साथीसाथी जस्ता थियौँ हामी । आपसमा खेल्थ्यौँ । कहिले लुकामारी कहिले के ? कहिले सानोतिनो झगडा पनि हुन्थ्यो, कहिले मिलन । आपसमा बोल्यो भने अरूले गिज्याउँथे । त्यस्तो गिज्याइले हामीलाई केही अर्थ राख्दैनथ्यो । कुरो बुझे पो अर्थ राख्नु । जसले गिज्याए पनि खिज्याए पनि गाईगङ्गा बराबर । केही मतलबै हुँदैनथ्यो हामीलाई । अलिक कुरो बुझ्ने भएपछि चाहिँ पहिलाका कुरा सम्झेर बेलाबेलामा मुख छोपीछोपी हाँस्थ्यौँ हामी ।
बिहे गरेपछिको दुई वर्षसम्म धेरैजसो म माइतै बसेँ । त्यतिखेरको चलन त्यस्तै थियो । त्यसपछि घर आइयो । घर गएपछि यसो गर्नुपर्छ, उसो गर्नुपर्छ भनेर हजुरआमाले भेटे हजुरआमाले सिकाउनुहुन्थ्यो, आमाले भेटे आमाले सिकाउनुहुन्थ्यो । फुपूले भेटे फुपूले दिदीले भेटे दिदीले । उहाँहरूले के के गर्नुभो थाहा छैन, तर हामीलाई चाहिँ सिकाएको सिकायै गर्नुहुन्थ्यो । त्यस सिकाइको पाठ बुझाउने भनेको चाहिँ व्यवहारमा हो, लेखाइमा होइन । घरमा पनि त्यत्तिकै । बुहारी भएर आएपछि यस्तो गर्नुपर्छ, उस्तो गर्नुपर्छ भन्नेहरू पाइला पाइलामा भेटिन्थे । त्यस्तो अचम्मको थियो त्यतिखेरको समय र चलन । अहिलेका भुराभुरीलाई ती कुरा सुनाउँदा बनावटी कथा जस्तो । कसैले पत्याए मारिदिनू । कसले पत्याउने यस्ता कुरा अहिले ! उहिलेका कुरा खुइले ।
बिहान उज्यालो नखस्दै उठ्नुपर्थ्याे । चोटाकोठा, मझेरी, पिँढी, आँगन सबै बढारबुँढार गरेर लिपपोत गर्नुपर्ने । छेउछाउका जङ्गल र खेतबारीका आलीकान्ला उहिलेका पाइखाना । रातसाँझ जानआउन पनि डर लाग्ने । बाध्यता परेपछि नगई पनि भएन । सातो जान्थ्यो । धेरैबेर लगाए ‘कहाँ गएकी थिइस् ?’ भनेर घरकाले सातो लिन्थे । मुख लाग्न हुँदैनथ्यो । सुनेको नसुन्यै गरेर टार्नुपर्थ्याे । कत्ति न ठुलो अपराधी जस्तो गरेर निहुरिनु पर्थ्याे । कस्तो कडा थियो त्यतिखेरको अनुशासन । बोल्न केही नपाइने । अहिले जस्तो नारी पुरुष सबै बराबर भन्ने समय त्यतिखेर भइदिएको भए हामी पनि कामले माखो मार्न नसके पनि पुरुषहरूको सातो लिने गरी कुर्लन त सक्थ्यौँ होला नि । के गर्नू समय त्यस्तै थियो । एकपक्षीय समय थियो । त्यो पनि पुरुषपक्षीय । हाम्रा कुराको सुनुवाइ कसले गर्ने ? अनि सकिएन कुरो !
यतिखेर जस्तो त्यतिखेर न चिया पिउने चलन थियो, न बिहानको अरू खाजा पानी । वस्तुभाउ दुह्यो थन्क्यायो । ततायो ठेकीमा खन्यायो । भकारो सोहोर्यो हुत्यायो । वस्तुभाउलाई चिसोबाट बचाउन कि सुकेका सोतर ओछ्यायो, कि हरिया स्याउला । वस्तुभाउलाई घाँसपात गर्यो । कुँडो दिनेलाई कुँडो, घाँस दिनेलाई घाँस । अनि, हतार हतार गरेर भोकभोकै डोको बोक्यो दौड्यो । अनि, घाँस काटेर ल्याउनुपर्छ कि, दाउरा बोकेर ल्याउनुपर्छ कि, घट्ट गएर आउनुपर्छ कि, बाँदर लखेट्न खेतबारीमा कुद्नु पर्छ कि जे काम आइलाग्यो त्यही काम गर्नुपर्थ्याे। घाँस दाउराका लागि पनि वरपर हो र ? कहिलेकाहीँ त कता हो कता उः त्यो डाँडापारि जानुपर्थ्याे । कम भुक्तमान थिएन । घरका जुनसुकै अप्ठ्यारा काम गर्नमा पहिलो प्राथमिकता हामी बुहारीले पाउँथ्यौँ, अरू सुख सुबिधा र खानपानमा पुरुषलाई प्राथमिकता । ओछ्यान परेका अवस्थामा बाहेक केही कुरामा प्रतिकार गर्न नपाइने । पुरुषले जे भने पनि ठिक, जे गरे पनि ठिक । महिलाले जे भने पनि बेठिक, जे गरे पनि बेठिक । बेसोमती । मुखाले । छाडा । कुल घरान नभएकी । जङ्गली । कति हो कति विशेषण ! त्यो पनि चुपचाप सबै स्वीकार्नुपर्ने । बुझ्यौ त बाबू ?
घर आयो घरको बाँकी काम सबै हाम्रै जिम्मा । कम्मरमा गाग्री च्याप्यो र दश कान्ला मुनिबाट खानेपानी बोक्यो, गाग्री घ्याम्पा भर्यो । तरकारी केलाइकुलाइ गर्यो, भात ढिँडो जे पकाउने हो पकायो । अरू सबैलाई खुवाइपियाई गरिसकेपछि अनि हामी बुहारीहरूको पालो आउँथ्यो । तरकारी बिरालोको नाकजस्तो चिसो हुन्थ्यो, ढिँडाको सिङ पुच्छर उम्रिसकेको हुन्थ्यो । तैपनि ननिली सुख थिएन । खाइन्थ्यो । त्यो पनि खुसीसाथ । बानी परेपछि सबै कुरा सहज हुँदोरहेछ । अहिलेका छोरी बुहारीलाई यस्ता कुरा सुनायो भने ‘उँ’ गरेर अर्कातिर मुन्टो बटार्छन् । जुन कुरो आफूले भोगेर आइयो, त्यही कुरो अरूलाई सुनाउँदा सुन्नसम्म पनि तयार हुँदैनन् । सम्झँदा पनि गजब लाग्छ कहिलेकाहीँ त मलाई ।
मेलापात पर्ममा चल्थ्यो त्यतिखेर । आफ्नो होस् कि अर्काको । मेला गएपछि दिनभर टाउको उठाउन नपाइने । काममा ठगठाग गर्न जानिदैनथ्यो । एउटा काममा लागेपछि जोतिएको छ, जोतिएको छ । जतिखेर पनि काम सम्झिइन्थ्यो, जिउ होइन । उहिले चाल पाउनुपर्ने कुरो अहिले बुढेसकाल लागेपछि चाल पाइयो । कुन्नि के गरिसकेपछि दैलो देख्यो भनेजस्ता कुरा । जिउ बिग्रिसकेपछि अहिले चाल पाएर के गर्नू ? भाग्यमा जे लेखेको छ त्यही कुरो भोग्नुपर्ने । हैन त बाबू ?
म गम्भीर भएर अकस्मात् चौतारोमा भेटिएकी अनामिका आमाको कुरा उत्सुकतापूर्वक सुनिरहेछु । आमाका कुराले कता कता मेरा आँखा पनि रसाउने तरखर गर्न लागिरहेछन् । तैपनि, भोग्नेका आँखा त रसाएका छैनन् भने सुन्नेका आँखा किन रसाउनू ? भनेर म मेरा दुवै आँखालाई थुम्थुम्याइरहेको छु । मेरो ठम्याइमा आमाको जीवन कथामा त्यतिखेरको नेपाली समाज बोलिरहेछ । त्यतिखेरको नारी उत्पीडन र बुहार्तन बोलिरहेछ । अबुझ समाजको आन्द्रा भुँडी उत्रिरहेछ । आमाका कुरामा कुनै कृतिमता छैन । जे जस्तो कुरा आइरहेछ त्यो यथार्थमा आधारित छ । अहिलेको चलनचल्तीका भाषामा अनामिका आमाका सबै कुरा अर्ग्यानिक । त्यसैले ‘अनि आमा ?’ भनेर आमातिर आफ्ना आँखा र कानलाई पूर्ववत् एकाग्र गरेँ ।
अनामिका आमा भन्दै हुनुहुन्थ्यो – दिनभरको थकाइ । खेतबारी वा पायक पर्ने ठाउँबाट के ल्याउनु छ सकिनसकी त्यसैको भारी बोक्यो, घरमा ल्यायो । झमक्क साँझ परेपछि घर छिर्यो । छोराछोरीको च्याँ च्याँ र खैलाबैलापछि सुकेको लाम्टो चुसायो । अनि फेरि उही गोठका काम । उही भात भान्छाको काम । पूर्ववत् सबै उही । हरेक कामको पुनरावृत्ति । जुठा भाँडा थन्क्याएर सुत्न पाइन्नथ्यो । पकाएखाएका सबै भाँडा धोइपखाली गर्यो, थन्क्यायो । केटाकेटीलाई तेल घस्यो । सासूका हात गोडामा तेल नलगाई उनलाई निद्रा पर्दैनथ्यो । दैनिक मालिस गरिदिनै पर्थ्याे । उता आफ्ना बुढा पनि आसिएर बसेका हुन्थे । तिनका गोडा पनि छामिदिनै पर्यो । रात पर्यो भनेर भो त ? नदेखिने काम त कति हो कति ! यति मात्र हो र ?
ती अनामिका आमाको कुरा सुन्दै गएपछि मैले उहाँको सम्मानमा त्यही भएर त हजुरहरू जस्ता नारीलाई घरकी लक्ष्मी भनिएको होला नि, हैन ? भनेर शालीनतापूर्वक आफ्ना कुरा राखेँ । आमाले हौसिँदै भन्नुभयो – बाबू, हामी नारी भनेको घरकी लक्ष्मी मात्र हैनौँ, सरस्वती पनि हौँ । घरका गहना हौँ । घर सबै नारीको जिम्मा हो । हामी नारीको जिम्मेवारी रथका दुई पाङ्ग्रा जस्तो भनेर त समाजले पनि स्वीकारेकै छ । तर मलाई सोध्ने हो भने घर चलाउने कुरामा नारी रथका तीन पाङ्ग्रा हुन् भने पुरुष एक पाङ्ग्रा मात्रै । किन भन्नु होला भने – नारी घरकी समग्र व्यवस्थापक हो । घरकी राखनधरन हो । खजाञ्ची हो । प्रबन्धक हो । पालनकर्ता हो । सल्लाहकार हो । शिक्षिका हो । अधिष्ठात्री हो । हरकुराकी सुरक्षा गार्ड हो ।
आमाका यी गडिता कुराले म मन्त्रमुग्ध भएको छु । आमाका कुनै कुरामा मैले शङ्का उठाएर औँलो ठड्याउन सकिरहेको छैन । तैपनि, लक्ष्मी त हुनुभयो भयो सबैले स्वीकारेकै कुरा हो तर सरस्वती चाहिँ कसरी नि ? भनेर मैले आमालाई सम्झाएँ । मेरो जिज्ञासाले आमाको अनुहार प्रफुल्ल बनायो । आमा हाँस्नुभयो र भन्न थाल्नुभयो – बाबू, हामी नारीले घरका सबै काम धन्दा नभ्याइदिएको भए हाम्रा पुरुष पात्रले कसरी पढ्न पाउँथे ? कसरी कतिखेर विद्यालय जान पाउँथे ? कसरी पढाइमा ध्यान केन्द्रित गर्न पाउँथे ? कसरी घर छाडेर कता कता दूर दराजमा अध्ययनका लागि दौडिन पाउँथे ? भन त । हामी सरस्वती भयौँ र त तिनका पढाइमा हामीले सहयोग गर्न सक्यौँ । किताबका अक्षर पढ्ने काम पो तिनले गरे त, पढाउने काम त हामीले गर्यौँ नि । त्यो अवसर दिने र वातावरण मिलाइदिने काम कसले गर्यो तिनलाई ? हामीले दियौँ । हामीले गर्यौँ । त्यसैले हामी नारी भनेका लक्ष्मी मात्र नभएर सरस्वती पनि हौँ बाबू ।
आमा अगाडि भन्दै हुनुहुन्थ्यो – त्यतिखेर त्यस्तो जीवन भोगेर आएकी मलाई यतिखेर यति जाबो बाख्रा चराउने र बत्ती कात्ने काम गर्नु भनेको त केही पनि होइन । विगतको तुलनामा कता हा्े कता सुखी काम । मैले त्यति दुःख गरेकी थिएँ र त अहिले पढेलेखेका छोराबुहारी दुवै अफिस जान्छन् । सजिलोसँग दाम कमाउँछन् । नातिनातिना सबै स्कुल जान्छन् । पढ्छन् । लेख्छन् । बुढा चार बिसलाई तीन कम उमेरका हुनुहुन्छ । उहाँ घर कुर्नुहुन्छ । बनाइतुल्याई गरेर राखिदिएको झिकेर खान सकिहाल्नुहुन्छ । नपुग्दो के छ र बाबू ? भगवानले सबै कुरो पुर्याइदिएका छन् । यति हुँदा पनि असन्ताेष किन मान्नुपर्यो र ? सबै कुरा सन्तोष हो बाबू, सन्तोष । कुरो बुझ्यौ त ? बरू, मेरा कुरा कस्ता लागे तिमीलाई ? सुन्दा पनि दिक्क लाग्यो होला ? तिमी पनि अहिलेको पछिल्लो पुस्ता र समाजको मान्छे । यस्ता कथाव्यथा नजिकबाट पढ्ने अवसर तिमीले पनि पाएका छैनौ । त्यसैले तिमीलाई पनि कथा जस्तै लागे होलान् मेरा कुरा । तर, यो यथार्थ हो बाबू । तिमीलाई ढाँटेर न मेरो आयु बढ्छ, न अरू कुनै धन दौलत । सबै कुरा भन्ने हो भने त यस्ता कुरा कति छन् कति ! यो छोटो बसाइमा मैले सम्झेसम्मका सार कुरा यिनै हुन् बाबू ।
म एउटा बटुवा थिएँ । आमाले मेरो नाम सोध्न भुल्नुभयो । आमाले आफ्नो नाम नबताएपछि मैले पनि मेरो नाम सम्झेर पनि बताइनँ । म पनि आमाले भने जस्तै पछिल्लो पुस्ताको प्रतिनिधि पात्र । तैपनि मलाई लाग्यो – अक्षर नपढ्दा त यस्ता गहकिला कुरा गर्ने आमा ! यिनले अहिलेको जस्तो अक्षर पनि पढ्न पाएकी भए अझ कस्ती हुन्थिन् होला ? जे होस् यी अनामिका आमाका महान विचारप्रति मैले सम्मान भाव व्यक्त गर्दै उहाँसँग विदा हुनुअघि आमाले पन्छाउँदा पन्छाउँदै पनि उहाँका चरणकमलमा छोएर ढोग गरेँ र विदा भएँ ।
अहिले पनि म त्यो बाटो भएर कहिलेकाहीँ यताउता गर्दा आफूलाई पुरानो पुस्ताको प्रतिनिधि मानेर आफ्नो नाम बताउन नचाहने ती ज्ञानी आमा यतै कतै बसेर बाख्रा चराइरहेकी छिन् कि भनेर नियाल्छु, तर मेरा आँखाले ती कुनै दृश्य पाउँदैनन् । तैपनि म ती अनामिका आमासँग भएका गहकिला अन्तरसंवाद सम्झेर ती आमाप्रति शिर झुकाउँदै त्यस चौतारोमा निहुरेर अगाडि बढ्ने गर्छु । र, साथमा भन्ने गर्छु यस्ता खुला हृदयका सबै महान आमाहरूको सदैव जय होस् ।
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest








































