चूडामणि रेग्मीकठिन काम, सजिलो काम र गाली-फ्याक्ट्री
गफडीका छेउछाउका अनेकौ असत्यहरू छन्। ती अनेकौं असत्यहरूले चौधान्त बदमासी, छलकपट, कूटनीति, राजनीति, शोषकनीति, फुटनीति र लुटनीति गरेको देख्दा यो गफडी जिब्रो टोक्छ ।

चूडामणि रेग्मी :
अहिले पूर्वका मोतीराम भनेर चिनिनु भएका चूडामणि रेग्मी ‘युगज्ञान’ कालमा निकै रौसिएर हास्यव्यङ्ग्य लेख्नु हुन्थ्यो । ‘गजवाष्टक’ आठश्लोके व्यङ्ग्य कविताको सङ्ग्रह र ‘गफडीका गफ’ त्यही कालखण्डका दसी हुन् । ‘युगज्ञान’ मा छापिने ‘गजवाष्टक’ वा ‘गफडीका गफ’, ‘मि. झप्पुसिं’, विवेचनामा छापिने ‘एैँसेलुको झाङमुनि’ जस्ता स्तम्भले पञ्चायतकालीन विद्रूपताको लेथ्नु काडेका थिए । मोराश (मि.झप्पुसिं डबल एम.ए.) नकुल काजी (सत्यवाद केशरी), व्यङ्ग्य ऋषि (चूडामणि रेग्मी), होम सुवेदी, अनिकाले ओझा, माधव भँडारीहरूले त्यो बेला उचालेको हास्यव्यङ्ग्यको झण्डा झापातिर अझै फरफराइरहेको छ । त्यसैले अहिले पनि कोमल पोखरेल, होम सुवेदी, चूडामणि वशिष्ठ, गङ्गाप्रसाद अधिकारी, विनोद खनाल हुँदै पछिल्लो पुस्ताका खगेन्द्र नेउपानेसमेत पङ्क्तिबद्ध भएर लेथ्नु काड्ने कार्यमा सरिक छन् । अघिल्लो पुस्ताका अगुवा चूडामणि रेग्मी अर्थात ‘व्यङ्ग्य ऋषि’का तात्कालीन व्यङ्ग्यको स्वाद नवपुस्तालाई दिने गरी ‘गफडीका गफ’बाट केही बान्की फित्कौलीले उठाउने सोच बनाएको छ । नकुल काजी लगायत नयाँ पुराना सबै झापाली हास्यव्यङ्ग्यकारहरूलाई फित्कौलीमा जोड्ने प्रयत्न जारी छ । – सम्पादक ।
कठिन काम
हलो जोत्न सजिलो कि पढ्न ? भनी एउटी आमाले जाँच गर्दा पढ्ने छोराका छातीमा राति चामल राख्दा विहान भात भएछ रे र हलीका छातीमा चामल राख्दा चामलको चामलै भएछ रे ! भन्ने एउटा कथा सुनेथेँ । लेखक बन्न पनि लुच्चोचाहिँ लेखक बन्न सजिलो र’छ र इमान्दार बन्नचाहिँ गाह्रो । यो कुरा अनुभवले बतायो, किन भन्नुहोला भने, गफै सही ! लुच्चा-लफङ्गा लेखक भए तथानाम गाली गरेर ‘हिट’ फिल्म जस्तो रौनक ल्याउन सक्छ, इमान्दारको साधु भाषा कौन पुछे खेसडीका दाल । यसैले जुन दिन आमाले कपुरी ‘क’ भनिन्, त्यस दिन कठिन काम सिकिएछ, भन्छु ।
सजिलो काम
हिजो आज कल-कारखानाको जुग रे ! त्यसैले धेरै मान्छे कल गर्छन् । टेलिफोनमा ‘कल’ गर्छन्, झगडाको कल गर्छन् र ब्ल्याकमेलिङको कल गर्छन् । कलकारखानामा कलको कमाइभन्दा जिल्लाका दुई-चार जना मिलेर एउटा अखवार हात लिएर, एउटा इमानदारलाई तथानाम गाली गरेपछि कलकारखानाको उत्पादनभन्दा बेसी उत्पादन हुँदो रहेछ ! लाटो गफडी यस्ता कुरा भर्खर बुझ्दै छ । जेमराजले कल गर्ने वेलामा यस्ता कल गफडी के जानोस् ? कुरोसम्म गरेको हो गफडीले ।
गाली-फ्याक्ट्री
गफडीका गफ सुन्नोस् । थरीथरीका फ्याक्ट्री कलकारखाना हुने यस जुगमा यहाँ ठाउँ-ठाउँमा गालीफ्याक्ट्री पनि खुलेका रहेछन् । गफडीले भर्खर थाहा पाउँदैछ । गालीफ्याक्ट्रीमा यस्ता यस्ता गाली उत्पादन हुँदा रहेछन्-बस् ! त्यहाँ साधु चोर हुन्छ र चोर साधु । निर्लज्ज व्यक्तिहरू यस फ्याक्ट्रीका प्रमुख हुँदारहेछन् । यसबाट हुने आम्दानी अन्य फ्याक्ट्रीको तुलनामा कैयौँ गुना ठुलो हुँदोरहेछ ! लाटो गफडी भर्खर यस्तो फ्याक्ट्रीको महत्व बुझ्दैछ !
पातमा पात ! बातमा बात !
सत्य जुगदेखि आजसम्म पनि अँध्याराले उज्यालालाई ङ्याकेकै छ । रावण वा दैत्यले देवताहरूलाई पिरोलिरहेका छन् । असत्यले सत्यमाथि सदा आक्रमण गर्दछ । शोषकले शोषितलाई पिर्दछ । यो चक्र सदा कालको छ । यसैले जहाँ जसले जति निर्लज्ज काम गर्दछ उति-उति ऊ अघि बढ्दछ । गफडीका छेउछाउका अनेकौ असत्यहरू छन्। ती अनेकौं असत्यहरूले चौधान्त बदमासी, छलकपट, कूटनीति, राजनीति, शोषकनीति, फुटनीति र लुटनीति गरेको देख्दा यो गफडी जिब्रो टोक्छ । कुराका लागि अनेकौं थरीका विषय हातो-हात छन् । यस्ता कुराहरूका बारेमा पनि पातमा पात भए झै बातमा बात भए । यसै हुने भएकाले केही मात्र भए पनि यसो- उसोको गफ-सफ गरेको मात्र हुँ। गफडीलाई गफ-सफ गर्न केको भद्रो हेरिरहनुपर्छ र ? तर गफै गर्नु पनि कति मात्र । आजलाई विदा दिनुहोस् । आगे फेरि ।
०००
झर्रो नेपाली घर, चन्द्रगढी
गफडीका गफ (२०६३)
Subscribe
Login
0 Comments
Oldest






































