सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

साहुको जय होस् !

लुट्नसम्म लुट, खाऊ साट्टसुट्ट । साहुको मुली नै यसो भन्छ रे ! साहुका पनि धेरै दर्जा भएको पाइयो । राष्ट्रसाहु, प्रधानसाहु, मन्त्रीसाहु, प्रदेशसाहु, पालिकासाहु, वडासाहु, मोटेसाहु छोटेसाहु गरी पैँतिसदेखि सैँतिस हजार साहुको अवतार...

Nepal Telecom ad

ह्यारी ८० :

यो माटोमा अधिकांश आसामी रहेछौँ । ऊ जुनीको पाप भने पनि भयो, जन्मँदा नै ऋणको भारले थिचिएकाहरू कहिले उत्रने हो, कसैेले अनुमान गरेका छैनन् र गर्न कुनै पनि माइकललाल आजसम्म देखिएको छैन । राजा विक्रमादित्य तथा शङ्खधर साख्ख्वाको नाम जस्तै यसो नाम राख्नका लागि यो धर्तीमा कोही आए पनि त आफू आसामी बन्नु पर्दैनथ्यो । यिनीहरू अरूलाई चुसेर आफू धनी बनेका हुन् । यिनले लिन जाने तर दिन कहिल्यै जानेनन् । त्यस्ता मख्खीचुसहरू यो देशको बिचौलिया बनेर मोलतोल गरिरहेका छन् । हामीबाट सित्तैमा माटो लिएर आफ्ना सन्ततिका लागि राष्ट्रिय भूखण्ड अंश बेचेझैँ बेचिरहेछन् मूलासनेहरूले । हामी चाहिँ बेच्ने साहुहरूको भक्ति गर्दा गर्दा आज आफैँ हरिकङ्गाल भएको कुरा जगजाहेर नै छ ।

ऋणको भार टाउकामा राखी राखी भिखारी नेताहरू पाल्ने सक्ने हामी आसामी कति भाग्यमानी छौँ हँ ! हाम्रा नाममा तमसुक लेखाएर ऋण बोकाई ओठमुख सुकाइदिएर आफैँ हजम गरिरहेछन् आम्दानी सबै । सालीपट्टिका दस पुस्तासम्म, ससुरालीका नसनातादेखि घरतिरका पाँचौँ पुस्ताका लागि कुम्लोकुटुरो ठिक पारिसकेका साहु महोदयको हर्कत हेर्ने हो भने यातायात कार्यालयमा लाइसेन्स नवीकरण गर्न गएका अनि अस्पतालमा टिकट काट्न पङ्क्तिबद्ध भएर बस्नेहरूलाई सोध्नुपर्छ कि यिनले कति सुविधा दिएका छन् अरूलाई भनेर । क्विन्टलका क्विन्टल सुन ओसार्नेहरूले लङ्काको दरवार सुवणर्मय बनाउलान्, नन्दन वागमा केही छिन रमाउलान् तर सुदामाहरू अझै आसामी बनेर साहुको सेवा गरिरहने कहिलेसम्म ? कृष्णको आगमन भएदेखि त सुदामा आफैँ अतिथिको सेवा गर्न के चुक्लान् र ?

गाईजात्रा मनाउनेहरूले रोपाईँजात्रा मनाउनै पर्छ भन्ने छैन । जातभात, छुवाछुत, वणर् धर्मका नाममा लडिरहन मन नभए पनि खसीबोकालाई घाँस देखाउँदै लगेर मौका परेपछि मार हान्न पल्केका साहुलाई माया गर्नु हाम्रै नादानी हो । कृषिप्रधानमुलुकमा युरियालगायतका मल आयात गर्ने, धान, गहुँ, मकै सबै बिउ बीजन आयात गर्ने, करोडौँ मूल्यको चुइगम आयात गर्ने, विलासिताका सामान ल्याउने, कौडीका भाउमा जडीबुटी बेचेर महँगो औषधी आयात गर्ने हाम्रा साहुहरूले कमिसन खाँदा खाँदा हामीलाई अन्तिममा ऋण थोपरिदिएका छन् र त हामी आसामीहरू आज निचोरिएका कागती जस्ता भएका छौँ ।

भोक लाग्दा कम्मरको पटुका अझै कसेर पानीले आँत भिजाउने र सुत्दा हातको सिरानी लगाउनुपर्ने व्यथा मिटर ब्याज असुल्ने खुकुरीहरूलाई अचानाको सदाको पिरलो के थाहा ? बत्तीमुनि अँध्यारो पारेर सधैँ उज्यालोको सपना बाँड्ने धुन्डकारीहरूले हामीलाई साहुमारा देखेर प्रपञ्च रचिरहे । गोराको अराजकताको मुक्तिका लागि नेल्सन मन्डेलाले जस्तै गरे कसो हुन्थ्यो होला ? खै, गरिबीको दुष्चक्र बढावाका लागि त होला, धनी साहुलाई जताततै छुटतन्त्र, लुटतन्त्र अनि गरिबलाई निरीह भई निमुखा बनिरहनुपर्ने व्यवस्था जगमगाएको छ । धनी भए पशुपतिमा पनि लाइन बस्नुपर्दैन सिधै दर्शन गर्न पाइन्छ । कति दिन लाग्ने राहदानी पैसा टन्न भए तुरुन्तै बन्छ । धन भए आजको आजै ठाउँको ठाउँ सबै काम बन्छ अनि आफ्नो मान्छे भए जुन काम पनि सहजै र सरल तरिकाले बन्छ भन्ने भएपछि आसामीले पनि साहूलाई चिढ्याउन सकेको पाइन्न । हुन पनि हो धन भए महादेवका पनि तीन नेत्र खुल्छन् रे ! आखिर साहु त्यो वृक्ष हो जो गरिबरूपी श्रमको जरामा टेकेर मौलाइरहेको छ । सखरखण्ड खान पल्केको दुम्सी झैँ बारीमा आउने बाटो भेटाएपछि यिनीहरू टेबुलमाथि र मुनिबाट हाकाहाकी कमिसन हसुर्छन् । मिटरब्याज पीडित कराए, बेपत्ता पारिएकाहरूका परिवार कराए, निःशुल्क शिक्षाका लागि विद्यार्थी कराए, बेरोजगारीहरू रोजगारका लागि कराए, किसानहरूले मल र बिउबीजनका लागि आवाज उठाए तर कानमा तेल हालेर बसेका साहुहरू काग कराउँदै गर्छ पिना सुक्दै गर्छ भनेझैँ आफैँ पीडितका नक्कली कागजात बनाएर शरणार्थी बनाउने नाटकमा सहभागी भए । सुनका, खुनका, नुनका त के कुरा गर्नु र !

मिलिजुली भागबन्डा गर्दै सत्ता, भत्ता र लत्ता खाने यी औँलामा गन्न सकिने साहुहरूले छोडेका लादी खान पल्केका बिचौलिया अनि पीडाको भारीले थिचिएर रमिता हेर्ने गोठाले आसामीको यो गाईजात्रे नाटकको अन्त्य कहिलेसम्म हु ने हो कुन्नि ? हुन पनि खान पनि, सक्न पनि कति सकेका हुन् गाँठे ? जे आए पनि यिनै साहुको सत्र छ बा ! यिनले नै भएभरको हाँडी घोप्ट्याए, बैङ्क खोले, बेचे खाए, कोरोनाको औषधी खाए, सरकारी जग्गा बेचेर कमिसन खाए, ठेकदार किने बजेट खाए, योजना किने अर्थमन्त्रालयको बाढी आफ्नैतिर सिञ्चन गरे । जिल्लैपिच्छे घरैघर जग्गै जग्गा, लेखाजोखै छैन । कति श्रीमती बटुले, कति श्रीमान् बिगारे, अरूको घरबार बिगारेर आफ्नो दरबार बनाउन पल्केकाहरूको कुरा गर्न यो फतुरे काकाको बलबुताले के भ्याउँथ्यो र !

अदब गर्नुपर्ने कुरा त के छ भने फतुरे काका कहिलेकाहीँ यी आसामीसँग पनि क्रोधित मुद्रामा हुन्छन् बा ! वास्तवमा भन्ने हो भने बडेमानका यी साहुहरूलाई पनि कम्ताको पिरलो छ र ! सुन कता लुकाउनु, अख्तियारका, वकिलका, प्रहरीका, सिआईबीका कतिका मुखमा बुजो लाउनुपर्छ, कालो धनलाई सेतो बनाउन कति ठाउँमा सेटिङ मिलाई रासायनिक प्रतिक्रिया गराउनुपर्छ, कति ठाउँमा सुन, भनसुन, मान्छेसान्छे सबै गाल्ने कारखाना खोल्नुपर्छ, झुटो बोल्न कति रियर्सल गर्नुपर्छ अनि जेलनेल हालेर, जरिवाना अर्कैलाई तिराएर, बाँडचुँडमा रातभरि जाग्राम बस्दै साम, दाम, दण्डभेद अपनाउनुपर्छ भन्ने यी सोझा आसामीलाई के थाहा ? गारो छ भन्या, गफ मात्रै चुटेर सबैको भाग आफैँ मात्र लुँड्याउन कम्ती गारो छ । कति लक्ष्मीलाई पूजा गर्नुपर्छ धनरानीलाई भित्र्‍याउन हगि साहुबा !

राजनीति जसरी हुन्छ खानीति भएपछि साहुबाले पनि खाउबा नभएर के गरुन् त । अरू साहुले खाएपछि आफूले नखाएर भयो त, आफूले नखाए अर्को साहुले खाइहाल्छ, त्यही भएर जसको शक्ति उसको भक्ति । लुट्नसम्म लुट, खाऊ साट्टसुट्ट । साहुको मुली नै यसो भन्छ रे ! साहुका पनि धेरै दर्जा भएको पाइयो । राष्ट्रसाहु, प्रधानसाहु, मन्त्रीसाहु, प्रदेशसाहु, पालिकासाहु, वडासाहु, मोटेसाहु छोटेसाहु गरी पैँतिसदेखि सैँतिस हजार साहुको अवतार भएकाले यी एकापसमा चिथोराचिथोर गरिरहेछन् आसामीको पसिनाको मोल लुट्नका लागि । विश्वका ठूला भनिएका साहुहरू हामी तिम्रा समस्या समाधान गरिदिन्छौँ भन्दै जात, धर्म र पक्ष विपक्षको भाँजो हाल्दै हामीलाई लडाएर मुठीमा पारिरहेछन् र नेमुनिको माटो कोतरेर खाइरहेछन् शनैः शनैः र भजिरहेछन्, “आसामी निर्मूल भए मात्र साहुको जय हुन्छ !!” हुन पनि यिनीहरूको सोच छ कि साहु भनेका सज्जन, भद्र, भलादमी र सभ्य हुन्छन् अनि आसामी गँवार, पाखे, असभ्य, मगन्ते र परनिर्भर हुन्छन् । त्यसैले साहु बन्ने लहडमा फतुरे काका पनि प्रातःकालदेखि नै पूजा गर्दै जप्न थालेका छन्, “साहुको जय होस् !”

०००
जोरपाटी, काठमाडौं ।

Fitkauli Publication Books comming soon
Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सापटी श्रीमती

सापटी श्रीमती

सञ्जय साह मित्र
परिवर्तन

परिवर्तन

रामकृष्ण ढकाल
कुर्सी, कमिसन र प्रशासन

कुर्सी, कमिसन र प्रशासन

घिमिरे ‘मैदेली’
नेतृवन्दन

नेतृवन्दन

रमेश समर्थन
टोयलेट मोड- ४

टोयलेट मोड- ४

कृष्ण प्रधान
0
Would love your thoughts, please comment.x
()
x