सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

भात, भातमारा, भाते र भतुवा

भतुवा, भाते, भातमारा जसो भनेपनि कुरो एउटै हो, अलिकती भनाइमा मात्र फरक । कसैको घरमा बसेर बिना तलव, भात खाएको भरमा काम गरिदिनेहरूलाई भतुवा भन्ने प्रचलन छ ।

Nepal Telecom ad

चिरञ्जीवी दाहाल :

“मङ्सिरमा भात र भदौमा गोरस त मागेको भरमा पनि खाइन्छ । खुबी भए, साउनमा भात र चैतमा गोरस खान सक्नुपर्छ, अनि पत्याइन्छ एकमानाको बन्दोवस्त भएछ भन्ने ।” यो उहिलेको उखान अचेल खुइलेर गयो । साउनमा भात खान अचेल त्यति कठिन छैन । विदेशको कमाइ र छिमेकको चामललाई आफ्ना घरको सामल बनाएर भातमा परिणत गर्न त्यतिकै सहज भएको भने होइन । देशमा रोजगारीका अवसरहरू छैनन् । रोजगारी नभएपनि भात त खानै पर्‍यो, अनि त बाध्य भएर काम खोज्न विदेश जानै पर्‍यो । विकसित मुलुकमा हाम्रो देशका उच्च पदस्थ अधिकारीको भन्दा कामदारको ज्याला दोब्बर, तेब्बर बढी हुने भएपछि एक तिहाइ जनसङ्ख्या उतै लागे, बाँकी जाने सुर गरिरहेको बुझिन्छ । उता जानेले पैसा पठाएपछि यता बस्नेलाई भातै खान किन मुस्किल हुन्थ्यो ।

शहर त के कुरा अचेल गाउँको पसलमा समेत रोजी र छाडि चामल किन्न पाइन्छ । उबेला एउटा घरमा छ सात जना जहान हुन्थे । संयुक्त परिवार महान मानिन्थ्यो । अहिले प्रायः एउटा घरमा एक जोडी बुढाबुढी मात्र हुन्छन् । संयुक्त परिवार आहान मानिन्छ । त्यसैले अचेल बोराको चामल किन्नु पर्दैन । प्लास्टिकको झोलामा किनेपनि एक सातासम्मलाई भात फालाफाल हुन्छ ।
नेपालीको प्रमुख भोजन भातसँग जोडिएका अनेक उखानसँगै भातलाई साक्षी राखेर नारी खैंचने र भातको बखान गर्ने परम्परा पनि नयाँ र नौलो पक्कै नहुनु पर्छ । किनकि नेपालमा मुख्य भोजन भात मान्न थालेको निकै वर्ष भएको अनुमान गर्न सकिन्छ ।

वर्षा मासमा एउटाले खेत रोप्न आफ्ना खेतमा सोझ्याएको कुलो अर्कैले अन्यत्र लगाओस् त, नोकझोंक सुरु भइहाल्छ ।
“तिमीहरूले मात्र रहेछ भात खानु पर्ने ! हामी त घाँस खाने मान्छे ! यति मात्र हो र ? स्कूल, कलेज, अड्डा अदालत, सचिवालय छुट्टी हुनासाथ गिलाँसभित्र खुशी खोज्न पल्केकाहरू समेत बसेको ठाउँबाट उठ्न नसक्ने हुँदासम्म, भन्न छुटाउँदैनन् “घरमा गएर दुई गाँस भात नखाने हो भने … ।” हामीले प्रत्येक दिन बोल्ने गरेका शब्दहरूमा सबैभन्दा बढी शब्द भात नै हुनुपर्छ ।

कुनै इष्टमित्र भेट होस् त उसले पनि भातको प्रसङ्ग जोड्दै भन्न भ्याइहाल्छ । “भात खाने बन्दोबस्त राम्रै छ हजुर । ऊ त्यो ! पँधेरा वरिपरिको सबै खेत हाम्रो हो ।” प्रायः हामीले बोल्ने हरेक शब्द शब्दमा भात मिसिएको हुन्छ । कसैले केही पोख्यो भने भातकै नामको उखान बोल्ने गरिन्छ । “भात खाएको ठाउँमा दुईचार सिता पोखिन्छ त ।” धेरै दिनमा भेट भएको पुरानो साथीसँग मान्छेहरूले भन्छन्, “जसोतसो भात खाइएकै छ यार । एउटा छोरो साउदीमा छ, अर्को कतारमा । यता कान्छो लाई भर्खर डिभी परेको छ ।”

उता एकजना पुरेतकी अर्धाङ्गिनी पँधेरामा गाग्री च्यापेर गफ लगाउँदै हुन्छिन् । “दुई छाक भात खान र यसो नुन तेल किन्न हर्जा हुँदैन हो ! त्यसरी हेप्नु पर्दैन । हामीलाई त पण्डितजीले ल्याउने सिधा नै काफी हुन्छ ।” भातको प्रसङ्ग नआउने सायदै कुनैकुरा पनि छैन होला । एकजना वृद्धले आफ्नी अर्धाङ्गिनीसँग भन्दै थिए, “बुहारीसँग जथाभावी थुतुनो नचला है बुढी, जे भए पनि यिनीहरूले अहिलेसम्म मसिनो चामलको भात खुवाएर पालेका छन् । के थाहा अरु छोराले के पो गर्छन् ?”

कुनै दाजुभाइ आफन्त धेरै वर्ष विदेश बसेर नेपाल आएको होस्, उसका आफ्ना मान्छेहरूले भनिहाल्छन् । “होइन कहिलेकाहीं त हाम्रा घरतिर पनि यसो भात खाने मेसो मिलाए त हुने नि !” यता स्वदेशकै आफन्त र दाजुभाइ पुगे भने भन्छन््,“ऊ फलानो भात खाएर आइसक्यो, हाम्रा घरमा भने अझैं भात खाने सुर गर्दैनन् ।” अघि सरेर, होइन मैले भात खाएको छैन कसरी भन्नु ? अन्यथा कुरा गराइको हिसाबले भात खान नदिने काइदा अपनाइ सके । त्यसपछि त उसलाई पनि भातकै चिन्ताले सताउन थाल्छ । कस्तो रहेछ त्यो भात भन्ने वस्तु ! भात खुवाउन परे पनि चिन्ता, भात खान नपाए पनि चिन्ता !

कुनै साथी, नातेदार, छिमेकी बिरामी परेर अस्पताल लगेको बेला, बिरामीलाई कस्तो छ भनेर सोध्नुस्, बिरामीका कुरुवा आफन्तले तुरुन्त जवाफ दिन्छन् “हिजो दुई गास भात मिठोसँग खानु भयो । अब त निको हुन्छ कि जस्तो छ ।” मानौं भात भनेको रामवाण नै हो । औषधी हो, हाम्रो सबै कुरा भातमा छ । भात खाएपछि त असाध्यै रोग पनि सुइँकुच्चा ठोकिहाल्छ ।

“जहाँ जाला जोगी भातै खाला” भन्ने उखान त पक्कै सुन्नु भएकै होला । जोगीको थैलामा मागेकै भएपनि चामल हुन्छ । चामल भएपछि भात बनिहाल्यो । भात भएपछि अरु के चाहियो ? त्रिपन्न चउन्न सालताका घरमा बन्दुक बोकेका पाहुना आउँथे र भन्थे २०/२५ जनालाई भात खुवाउने व्यबस्था मिलाउनुस् । होइन भने… । चाहिने सबैलाई भात नै रहेछ । ढोगी, जोगी, रोगी, निरोगी सबै भातको भोगी भएपछि आफू मात्र अलग बस्ने कुरापनि त भएन । तरपनि संसारै भातको पछि रहेछ भनौं भने लाहुर गएर बस्नेहरूले पाउरोटी र पिज्जाको बयान गरेको सुनिन्छ । त्यसैले हाम्रो रैथाने संसार भनेको भात नै रहेछ । भुँडी चर्किनेगरि भात खान पाए, हामीलाई केही पनि चाहिन्न ।

एकताका मार्सी चामलको भातले खुबै बजार पिटेको थियो। घरमा भोजखान गएका पाहुनाले खाएको मार्सी भातको चर्चा आजसम्म पनि धेरैले नबिर्सिएको हुनुपर्छ । त्यो ऐतिहासिक महत्त्व पाएको मार्सी भात काण्डपछि त्यो भन्दा ठूलो भात काण्ड आजसम्म सुनिएको छैन । यो भात काण्ड बारे हाम्रा नाति, पनाति पुस्ताले पढ्ने इतिहासको पुस्तकमा मार्सी भातको उल्लेख भयो भने पनि आश्चर्य नमाने हुन्छ ।

हाम्रो संस्कारमा मान्छे जन्मिए देखि मरेपछि पनि, भातलाई अलग्गै राखेर हेर्न मिल्दैन । बच्चा जन्मिएको छ महिनामा भात खुवाइ गर्नुपर्छ । मान्छे मरेको ठाउँमा पण्डितजी क्रियापुत्रीलाई भात खुवाउन पँधेरामा जानुपर्छ । हामीलाई पाइला पाइलामा भातसँग ठोकिन परेपछि दिवङ्गत भइसकेका पितृहरूलाई समेत भात चढाउने प्रचलन छ । श्राद्धमा पितृलाई दान दिइने गरेको पिण्ड भनिने प्रसाद पनि घ्यू, मह, दुध, दही, केरा र तील मिसाएको स्वादिष्ट भात नै पो हो त ।

गाउँमा विहे व्रतबन्ध हुँदा, ठूला ठूला तामाका ताउलोमा भात पकाइन्थ्यो । भन्नलाई भतेर भनिएपनि भातको सबैभन्दा ठूलो रूप हो भतेर । बारीका गह्रामा थपक्क बसेर पलेँटी कसेर भतेरको भात खानुको मज्जा छुट्टै हुन्थ्यो । अचेल त्यो परम्परा ओझेलमा परेको छ । उसो भए भातको सानो रूप चाँही कुन हो त भन्नु होला ? केटाकेटी र बिरामीलाई एकमुठी चामलमा अलि बढ्तै पानी राखेर माटोको खोतलोमा बनाइने जाउलो नामको परिकार, भातको सबैभन्दा सानो रूप हुनसक्छ ।
जब म भात महिमा लेखिरहेको थिएँ, भित्रबाट भात खाने आदेश आउँछ “कति लेख्न सकेको ? भात खानु पर्दैन ?” भित्र पसेर थालमा हेर्छु, एक कचौरा दाल र दुईवटा रोटी ! हुँदाहुँदा बिहान बेलुकी जे खाए पनि हाम्रो थुतुनोले सबै खाने वस्तुलाई भात नै बोल्न थालेको छ । कोदोको ढिँडोलाई र मकैको च्याँख्लालाई पनि हाम्रो बोलीले कोदोको भात र मकैको भात भन्ने गरेको सबैलाई थाहा छ । पुलाउ, बिरयानी, जाउलो, खिर, खिचडी जे भन्नुस्,चामलबाट बनेका सबै परिकार भात नै हुन् ।

एकताका यस्तो जमाना थियो, अलि हुने खानेहरूले भदौताका भाते खेताला हालेर धानको गोडमेल गर्थे । एकछिन धानगोडेको भरमा भुँडी चर्किने गरि दही केरा र भात खान पाइन्थ्यो । मैले स्कूल छोडेर, दही केरा र भातको लोभमा खेत गोड्न गएको कुरो त्यसताका कसैले सुइँको पनि पाउँदैन थियो । यतातिर सुखमा हुर्केका केटाकेटीलाई “दुध चुस्दै भात उकेल्दै हुर्किएका” भन्ने उखान पनि भातबाट बनेको प्रचलित उखान हो । कुनै बेला भात बहादुर र साग बहादुरको विज्ञापन पोष्टर देख्नासाथ झसङ्ग हुँदै धेरैले आफ्नो भुँडी छाम्ने गरेका थिए । यो पोष्टरले कतिको भुँडी घटायो त्यो त सम्बन्धित निकायलाई थाहा होला ।

भात फारो गर्न एकजना सासुले आफ्नी बुहारीलाई सुनाउने गरेको यो सूत्रात्मक अर्ती पनि कम्ति गजबको हुन्थेन ।

मङ्सिरमा फारो वर्षदिन फारो
असारमा फारो जहान मर्‍यो
ख्याल गर्नु बुहारी सासुको बात
चाडवाडमा पनि त खुवाउनु छ भात !

भात खुवाइमा पहिलो पटक भात खाए पनि म ‘भाते’ भएको भने छ सात वर्षको उमेर तिर हुनुपर्छ । जब म स्कूलमा पढ्न गएँ, क, ख सिकाउने गुरुले जति घोकाए पनि कण्ठ पार्न नसकेपछि भनेका थिए “यस्ता भातेले पनि पढ्छन् !” घरमा भने पटकपटक हजुरबा, बा र काकाहरूको भाते बनियो, त्यसको लेखाजोखा नै छैन । “भाते ठूलो मान्छे हुन्छ ।” भनेको त सबैले सुनेकै हुनुपर्छ ।

नढाँटी भन्ने हो भने भाते मात्र होइन कैंयौं पटक त म भातमारा पनि बनेको छु । आफूँ त यसै पनि भातमारा बनियो बनियो । कसै कसैलाई त आफूले पनि भातमारा भनियो होला, हत्तेरी ! खासमा भातमारा भनेको चाँही बिहान बेलुका पलेँटी कसेर भात हसुर्ने तर काम भने ढलेको सिन्को पनि नउठाउनेलाई भातमारा भन्ने गरिन्छ । उहिले उहिले यस्ता भातमाराहरू कमै हुन्थे र यिनीहरूलाई भातमारा भन्दा लाजले भुतुक्कै हुन्थेँ । अनि त केही न केही आनीबानीमा सुधार पनि गरिहाल्थे रे । भातमाराको वास्तविक परिभाषा यही हो भने अचेल धेरैलाई भातमारा भन्नु पर्ने हुनसक्छ । जता गएपनि भातमारै भातमारा देख्न पाइन्छ । घरमा भातमारा, गाउँमा भातमारा, अड्डा अदालतमा भातमारा, दलका अड्डामा भातमारा, सिंहदरवारमा भातमारा । जताततै भातमारा भएपछि कतिलाई पो भातमारा भनेर सक्नु !

सगरमाथाको देश, गौतमबुद्धको देश, पशुपतिनाथको देश, हिमालयको देश भनेर प्रचार प्रसार गरेर पर्यटक भित्र्र्‍याउने हुति नभएपछि बरु भातमाराहरूको देश भन्ने हो भने, भातमाराको अध्ययन अनुसन्धान गर्न विदेशी विशेषज्ञ र पर्यटकको घुइँचो लाग्न सक्थ्यो होला । “ज्ञानगुन शून्य सबै मान्यगुन्य” भएको देश हो हाम्रो । अनि भातमाराहरूको सङ्ख्या नबढे कसको बढ्छ त !

हुन त भतुवा, भाते र भातमारा शब्द एउटै आमाका जुम्ल्याहा सन्तान जस्तै हुन्, सबै भातबाट जन्मिएका । भतुवा, भाते, भातमारा जसो भनेपनि कुरो एउटै हो, अलिकती भनाइमा मात्र फरक । कसैको घरमा बसेर बिना तलव, भात खाएको भरमा काम गरिदिनेहरूलाई भतुवा भन्ने प्रचलन छ । हामी केटाकेटी हुँदा साथीसँग झगडा परे भन्ने गथ्र्यौँ, “हामी कसैको घरमा भतुवा लाग्न गएको छ र ! त्यसरी भन्छस् ?” भतुवा लाग्न जाने प्रथा पनि हराएको छैन । समयको परिवर्तनसँगै भतुवा प्रथामा केही परिवर्तन भने भएको छ । उहिले जस्तो कुममा छाता सिउरेर भोटो सुरुवालमा चिटिक्क परेर आफन्तका घरमा होइन, भतुवा लाग्न जानेहरू अचेल मालिकका निवासतिर बस, गाडी र जेट चढेर जान्छन् । यता भतुवा लाग्न जानेलाई सामाजिक सञ्जालमा नानाभाँती भन्छन्, तर पनि सुनेको नसुन्यै गर्ने प्रचलन छ, कतिलाई उत्तर दिएर सक्नु भनेर होला । हुनपनि कसैको घरमा भतुवा लाग्न जानु भन्दा निच काम केही पनि हुँदैन । त्यसरी बेफ्वाँकमा कसैलाई पनि भतुवा लाग्न जानु नपरोस्, कोही पनि भतुवा बन्न नपरोस् ।

०००
चितवन ।

Fitkauli Publication Books comming soon
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
उदरभरण पुराण

उदरभरण पुराण

चिरञ्जीवी दाहाल
ढाडे बिरालो

ढाडे बिरालो

चिरञ्जीवी दाहाल
मितप्रथा जिन्दावाद

मितप्रथा जिन्दावाद

चिरञ्जीवी दाहाल
मान्छे जुधाउँदाको मजा

मान्छे जुधाउँदाको मजा

चिरञ्जीवी दाहाल
चोर बिरालो

चोर बिरालो

चिरञ्जीवी दाहाल
टेलिफोन

टेलिफोन

हरिशंकर परसाईं
आकस्मिक बैठक

आकस्मिक बैठक

भाेज अर्याल
चस्मा

चस्मा

लाेकेन्द्रबहादुर चन्द
गाँड

गाँड

तिलक राई
0
Would love your thoughts, please comment.x
()
x