साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धरमपुरको झोडीमा लुकेर नवरङ्ग गर्ने डम्बर घिमिरे…

फेरि प्रेसमा गयो भन्दै नौ महिनासम्म मलाई ढाँटिरहने ? ढाँटिरहने ? अझै प्रेसमा गएको छैन ? यस्ता ढाँटको निमित्त कुनै आर्टिकल लेख्ने छैन । म यहीँ व्यस्त छु, मेरो कुनै आश नगर्नू ।’

Nepal Telecom ad

डा. गोविन्दराज भट्टराई :

डम्बर घिमिरेले मसँग एउटा रचना मागेको धेरै भयो । उनले विषय पनि तोके— हास्यव्यङ्ग्य । मैले मनमनै ठानेँ डम्बरलाई एकपल्ट हास्य नसके पनि व्यङ्ग्य पठाइदिनु पर्‍यो अनि भन्दिएँ— ‘भइहाल्छ डम्बर सर, कहिलेलाई चाहियो ?’

‘एक महिनाभित्र भए हुन्छ, सबै कम्प्युटर भइसक्यो, तर मैले प्रकाशकलाई भन्दिएँ काठमाडौँबाट गोविन्द सरको रचना नआएसम्म यो ब्रह्माण्ड उल्टिए पनि यो नवरङ्ग प्रेसमा जाने छैन ।’

मलाई थाहा भयो यसबेला डम्बरले पक्कै ढाँटे । अघि पनि मलाई यिनले कम्तीमा १३ पल्ट ढाँटिसकेका छन् । त्यसैले मैले पनि सार मिलाइदिएँ, ‘तपाईँ पीर नगर्नोस, एउटा रचना ता तयारै छ, साफी गर्नु मात्रै, सात दिनमा तयार हुन्छ, आठौँ दिनमा तपाईंको हात लाग्नेछ ।’

‘लौ सर, यो ता नवरङ्गको अहोभाग्य हो ।’
यसरी एकरङ्ग त्यो साँझ पूरा भयो ।

विराटनगरको ट्रङ्कल, मैले अनुमान गरेँ, डम्बरले १२ मिनेट जति बोले होलान् । झट्ट अर्को मनमा लाग्यो, आठ बार बहुत् अनिष्ट हुन्छ भन्छन् । आजको १२ ले पिर्ने पो हो कि ? बरु पिर्‍यो भने मलाई पिर्ला कि डम्बरलाई ? म ठूलो चिन्तामा परिरहेँ ।

गर्दागर्दै एक महिना बित्यो, दुई महिना बित्यो । तीन महिना पुगेपछि फेरि अर्को फोन आयो ‘सर नवरङ्गको लागि रचना तयार भएन ?’

मैले झस्केझैँ गरेँ, अनि अलिकति रिसाउँदै बोलेँ ‘डम्बरजी यसरी धोका दिने ? काठमाडौँको व्यस्त साहित्यकार धरमपुरमा घुमेर नवरङ्ग चलाउने मामुली व्यक्ति होइन । तपाईंले भनेअनुसार मैले सातदिनमा लेख तयार पारेँ, आठदिन पर्खेँ, नौ दिन पर्खेँ, दश दिन पर्खेँ, एघारौँको दिन लाग्यो; म्याद गुज्रेको चार दिन भयो अनि सम्झेँ अतिचार भनेको यही हो । अब ता पत्रिका छापियो होला भन्ठानी मैले अन्यत्रै दिएँ । मलाई प्रकाशकको खाँचो छैन ।’

मेरो गर्जना सुनेर डम्बरजी निकै तर्सिए, उनी डरले कामे, टेलिफोनमा उनको आवाज कामेको सुनेँ । त्यसैले होला विस्तारै विनयशील हुँदै उनले थपे, ‘सर, तराई बन्दको कारणले गर्दा आर्टिकल भेला गर्न सकिएन । अबका सातै दिनमा प्रेसमा जान्छ । तर सरको रचना नआई यो प्रेसमा नलाने निणर्य गरेका छौँ । तपाईंले आफ्नो रचना फित्कौलीका नरनाथ लुइँटेललाई हात लगाइदिनु होला ।’

गह्रौँ हुँदै मैले भनेँ, ‘हेर्नोस् डम्बरजी, तपाईंको विश्वास रहेन, सबै कुरा प्रेसमा पुग्यो भनेको तीन महिना अघि; आज भन्नुहुन्छ, अझै सात दिन समय बाँकी छ । भैगो, दश पन्ध्र दिनमा पठाइदिउँला ।’

तर ती दिनमा भरखर लोकतन्त्र अवतरण भएको थियो । सम्पूणर् राष्ट्र पुनरसंरचनाको भुङ्ग्रोमा प्रवेश गरेको थियो । यता काठमाडौँका हामी सबैलाई ठूलो चपेटा थियो, धावा थियो । म पनि त्यसैमा थिएँ ।

म नयाँ राष्ट्रको निर्माणमा गहन जिम्मेवारी लिन चाहन्थेँ । देशमा एकैचौटि हजारभन्दा बढी पदहरू रिक्त भएका थिए— कति संवैधानिक, राजनैतिक, विभागीय र अन्य । शहरमा हल्ला चल्यो अब यो मन्त्रालय माओवादीको भागभन्डामा पर्‍यो ।

त्यसको तीनदिन भित्रै सबै ठाउँ ठेगाना पत्ता लगाएँ र म महानायक प्रचण्ड र डा. बाबुरामलाई भेट्न उडेँ । थोप्ले ज्याकेट र प्यान्टमा, त्यस्तै जुत्ता, त्यस्तै बिर्के टोपी लगाएँ, एउटा तारामार रुमाल घाँटीमा भिरेर म त्यहाँ प्रस्तुत भएँ । एकैछिनको भलाकुसारी पछि भनेँ ‘अब त मलाई भाइसचान्सलर चाहियो, नत्र राजदूत, कम्तीमा पनि एउटा जाबो जिएम त कसो नहोला । हाम्रो जनयुद्धमा म मरेर बाँचेको व्यक्ति हुँ । एक्काईस दिनसम्म मैले काम्रेडहरूलाई गोप्यरूपले पालेँ ।’

‘के प्रमाण छ त्यसको ?’ छेउमा उभिएको बन्दुकधारी मतिर फर्केर बोल्यो । (त्यसबेला मलाई अलिकति रिस पनि उठ्यो, काम्रेड बोल्नुपर्नेमा पीए मुखमुखै लाग्छ तर सहेँ) । अनि भित्री गोजीबाट एउटा तारामार रुमाल फुत्त झिकेर मैले भने, ‘हेर्नोस्, हाम्रो एरिया कमाण्डरले हिँड्ने दिन मेरो सेवाको कदर गर्दै मलाई दिएको चिनु ।’ (म मनमनै कामिरहेँ, त्यो रुमाल रत्नपार्कको आकाशेमपूलमाथि किनेको हो भन्ने थाहा पाए भने के होला ! तर म गम्भीर भएँ) ।

जुरुक्क उठेर प्रचण्ड काम्रेड बाथरुमतिर पसे । त्यसैबेला डा. बाबुरामको नजिकै ढल्केर बोलेँ ‘दादा, तपाईंका ड्याडि र मेरो डयाडि तीनपुस्ते भित्रै पर्छन् अरे । यो कुरा हजुरहरूलाई थाहा छ कि नाइँ ? बुढाहरू हजुरको गोर्खाबाटै उता ताप्लेजुङतिर उडेका रहेछन् । यस मौकामा सिद्धान्तले मात्र होइन, पारिवारिक नाताले पनि नजिक हामी भट्टराईले केही जमाउनु परेन त दादा ?’ उनले केही भन्न खोजे जसरी जुँगा उचालेका मात्र थिए, प्रचण्ड काम्रेड फर्केर आइहाले । अनि हामी दाजुभाइ चूप लाग्यौँ ।

अन्त्यमा स्वयम् प्रचण्ड काम्रेडले एउटा प्रश्न गरे ‘तपाईसँग अरू कुनै प्रमाण छ जनताको महान् युद्धमा हामीलाई सघाएको ?’

तत्काल उत्तर दिएँ— मैले अनेकौँ सदरमुकाममा आक्रमण हुँदा खाडल खन्ने काम गरेँ । मलाई लाग्छ, सबैभन्दा महत्वपूणर् त्याग र सेवाको प्रमाण त्यही होला । मैले खनेका खाडलको सङ्ख्या पन्ध्रसय सत्तरी पुगेको छ । तीमध्ये एउटा खाडलमा मेरो कस्तो स्थिति थियो हेर्नोस् ।’

मैले खल्तीबाट एउटा तस्वीर निकालेर देखाएँ; त्यसमा अनुहारभरि लेदो पोतिएर चिन्नै नसकिने व्यक्ति देखिन्थ्यो । ऊ खाडलभित्रबाट माथितिर हेर्दै हात उचालिरहेको थियो । वास्तवमा त्यो फोटो मेरो एउटा साथीको थियो ।

काठमाडौँको सडकमा हिँड्दाहिँड्दै ऊ म्यानहोलभित्र खसेको थियो । मैले उसको त्यो तस्वीर खिचिदिएको थिएँ । त्यतिले पनि नपुग्ला जस्तो भएर थपेँ, ‘अझ सुरुसुरुमा ता डोका पनि बुनेँ— मान्छे ओसार्ने डोका । यी मैले डोको बुनको तस्वीर ।’

यति भन्दै मैले डोको बुन्दै गरेको एउटा तस्वीर पनि देखाएँ । तस्वीर हेरेर दादाले प्रश्न गरे, ‘तपाईंलाई यसरी डोकोनाम्लो बुन्न पनि आउँछ र ?’
मैले भनेँ ‘यही त छ त हजुर मेरो विशेषता । हुँ प्रोफेसर तर जन्मिदा हाल्ने कोक्रोदेखि लिएर मर्दा थाप्ने डोकोसम्म सारामा निपूणर् छु । नत्र कसरी सेवा गर्न सक्थेँ हाम्रो पार्टीको ?’

मेरा तीनवटा प्रमाण हेरे र काम्रेडहरूले भने ‘तपाईँ ऐले जानोस्, अनुसन्धान गरौँला ।’ नभन्दै तीनपुस्ते टिपाएर म त्यहाँबाट उडेँ । मलाईँ त्यो रातभर सन्देह भयो । भोलिपल्ट गाईंगुईं सुने— माओवादीमा केही पाइने छैन किनभने अब हावा पनि फेरियो; नेपाली काङ्ग्रेसको नाम चल्न थाल्यो । त्यसको पर्सिपल्ट म फेरि उडेँ । मैले सम्झेँ— नेपाली काङ्ग्रेस, आफ्नो मातृसंस्था । बीचमा दसआठ वर्ष मण्डले भएँ, भिजिलान्ते भएँ त के मेरो जिन्दगी समाप्त भएको छ ? म जीवनको जुनसुकै मोडमा पनि डेमोक्रेट बन्न सक्छु । त्यो मेरो अधिकार हो, चाहना हो र कला पनि ।

यस्तो सोच्तै मैले एउटा पुरानो चन्द्रगढी महासम्मेलनको वृक्षछाप झोला भिरेँ । त्यसमा वीपीका, सीकेका कितापहरू भरेँ र गिरीजाबाबुकहाँ पुगेँ ।

त्यहाँ पस्नै गारो । तैपनि सुजाता म्याडमलाई देख्ने बित्तिकै भक्कानिएर बोलेँ— ‘जै नेपाल दिज्यू, म तपाईंकै चुनाव क्षेत्रको नेकाको भोटर र सक्रिय कार्यकर्ता पनि ।
‘तपाईको कहाँ पर्‍यो ?’
‘गिरीजाबाबुलाई जिताउने मै हुँ भनौँ न ।’
‘म त्यो जिल्लाकै सबैभन्दा पुराना सदस्यमध्ये एक हुँ । गिरिजाबाबुकै क्षेत्र, मोरङ ।’
‘सान्दाइका आफ्नै हातले रसिद काटेर दिनु भएको मलाई । म उसबेलाको चाराने सदस्य हुँ । हेर्नुस् म्याडम् ।’

एउटा ससानो, घामपानीले ढुट्टिएजस्तो चिर्कटो झिकेर म्याडमलाई देखाएँ, त्यसपछि गिरीजा पनि अलिकति आकर्षित भए र मेरो चाराने रसिद हेरे— त्यहाँ २०३० साल विराटनगर, लेखिएको थियो अनि त्यस मुन्तिर वीपीको हस्ताक्षर ।

तर टिकट हेरेपछि बा अधिक कड्किए ‘म भन्छु, तपाईंले एउटा फेक टिकट ल्याउनु भो, माने जाली । ती दिनमा सान्दाजु र म नेपाल थिएनौँ भनेदेखि कसरी तपाईंले यो टिकट पाउनु भयो ? लौ भन्नोस ।’

म खङ्ग्रङ्गै भएँ, छाँगाबाट खसेँ र काम्न थाले । मनमनै सम्झिएँ— ग्यारेन्टि लिएर त्यतिका पैसा तिरेर गोपीको प्रेसमा छापेको रसिद ! यो ता नक्कली नोट चलाएभन्दा कठोर भो, अब मार्छन् होला ।’

घरमा फर्केर एक दुई दिन निराश हुँदै प्रतीक्षामा बसेँ । मन्त्रालय न माओवादीले पाउन सक्यो, न काङ्ग्रेसले । अब ता वाम्पन्थी (एमाले) को हात पुग्ने निश्चित भयो । त्यसपछि मैले फेरि नयाँ जुक्ति निकालेँ ।

कोटमा माक्र्स, लेनिन र मनमोहनका बिल्ला भिरेँ । गोर्की र लु सुनका कृति किनेँ, माओत्सेतुङ्ग र माक्र्सका ग्रन्थमा अलिकति लगानी गरेँ । अनि विश्वका मजदूर एक हौँ छाप भएको झोला भिरेर बल्खु दर्बार छिरेँ । त्यहाँ चारपाँचजना मात्रै वरिष्ट थिए । झुस्स दारी, पातला कमेज सुरुवाल, चेखवको जस्तो चेस्मा— म निक्खर बामपन्थी देखिन्थेँ । त्यहाँ पुग्ने बित्तिकै दास क्यापिटल पल्टाएर टेबलमा पढ्न थालेँ । एकछिन पछि नजिकै आएर ‘यहाँलाई चिनिन ।’ माकुनेले शिष्टतापूर्वक सोधे । ‘के चिन्नु र कति भइसक्यो भूमिगत भएको’ मैले भने ।

हामीले भूमिगत छाडेको २० वर्ष भो, तपाईँ किन अझै त्यो स्वाँग गर्नुहुन्छ ? अब त खुला समाज, वहुदलीय प्रतिष्पर्धा र लोकप्रिय जनवाद ।’ बेफ्वाँकमा माकुने पड्किए ।

मेरो वस्त्र किताब र अन्य ढाँचाले प्रस्टै चिनाउथ्यो, म एक महान् व्यक्ति हुँ । त्यसैले निडर हुँदै बोलेँ, ‘अब त मलाई पनि एउटा पोस्ट चाहियो नि । कि भीसी, कि राजदूत, कि जिएम । काम्रेडहरूको यत्रो सेवा गरियो, अझै पनि हामी पाखाको पाखा ? जनआन्दोलमा पुलिसको गोलीको छिर्काले यो छातीमा छोएको भए २०६३ साल बैसाख ८ गतेकै दिन मैले यो धर्ती छोडिसकेको हुन्थेँ । वास्तवमा मलाई ताकेको गोली सगुनलाई लागेको थियो । हेर्नोस्— मैले देब्रे कान देखाएँ । सानैमा लडेर अलिकति लोती चिरिएको थियो । मैले भनेँ— त्यो दिनको यो घाउ बल्ल ओभायो ।

यसरी बलिदान दिने कार्यकर्तासँग पनि काम्रेडहरू मेरो परिचय माग्ने ?
म अझै चर्किएँ— दरबारमार्गमा अघि बढिरहेको पुलिसलाई ढुङ्गा हान्ने हात यिनै हुन्— गोजीबाट झिकेर ढुङ्गा ताकिरहेको फोटो देखाएँ ।

वास्तवमा यो दमनकारी पुलिससँग लागेर म आफैँले भिजिलान्ते खेलेको तस्वीर थियो ।
माकुने बोले ‘हेर्नोस् मित्र, यस्तो प्रमाणले पुग्दैन ।’

‘विगतको जनआन्दोलनमा दरबारलाई सघाउनेहरू को थिए, हाम्रो आन्दोलनलाई सघाउने को थिए, हामी हेर्छौँ । राजाको प्रत्यक्ष शासनको पक्षमा को थिए, तिनीहरूले कहाँकहाँ भाषण गरे, कहाँ सही गरे, कस्तो वक्तव्य दिए, त्यो सबै हेर्छौँ । तपाईं अहिलेलाई जानोस् ।’
म फेरि फुस्रो हुँदै गएँ; एकैछिन अनकनाएर बाहिर निस्केँ ।

त्यहाँबाट निस्केपछि म निकै गलेँ । एक ता मन्त्रालय देउबा काङ्ग्रेसकोमा जाने हो कि जस्तो हल्ला चल्न थाल्यो । त्योभन्दा डरलाग्दो कुरा मैले सम्झेँ— अब प्रज्ञाप्रतिष्ठानको उपकुलपति राजा हुनुपर्छ भनी सही गर्नेहरूमध्ये मै एक थिएँ, राजाको माघ १९ जस्ता सारा कदमको हार्दिक स्वागत छ भनी विश्वविद्यालयको तर्फबाट कुर्लिँदै सही गर्नेमध्ये पनि मै थिएँ । धेरै ठाउँमा रेडियो, टेलिभिजन र पत्रपत्रिकामा बोलेको थिएँ, कुर्लेको थिएँ । एक मन लाग्यो— ती सारा कुरा आज मेटिए हुन्थ्यो, अरूले थाहा नपाए हुन्थ्यो ।
अरू सबै मेटिएला, ती हस्ताक्षर र वक्तव्य ! म मनमनै डराउन थालेँ ।
यस्तो दौडधूपमा लाग्दालाग्दै तीन महिना बित्यो ।

अन्त्यमा एक रात फेरि डम्बरको फोन आयो ‘सर अबचाहिँ नवरङ्ग साँच्चै प्रेसमा जाने भो, सरको आर्टिकल फित्कौली मार्फत पाऊँ ।’

मैले भने, ‘हे डम्बर तिमी ता धरमपुरको झोडीमा लुकेर तीन वर्षमा एउटा नवरङ्ग गरेँ भन्ठान्छौ, तर वास्तवमा भन्ने हो भने काठमाडौँमा बस्ने धेरैलाई चाहिँ एकै वर्षभित्र धेरै नवरङ्ग खेल्नु परिरहेको छ । फेरि प्रेसमा गयो भन्दै नौ महिनासम्म मलाई ढाँटिरहने ? ढाँटिरहने ? अझै प्रेसमा गएको छैन ? यस्ता ढाँटको निमित्त कुनै आर्टिकल लेख्ने छैन । म यहीँ व्यस्त छु, मेरो कुनै आश नगर्नू ।’

०००

कीर्तिपुर
२०६४-१-१८
‘धुम्रलोचन शर्मा उर्फ द टियर पोएट फ्रम द इष्ट’नामले ‘नवरङ्ग’ हास्यव्यङ्ग्य विशेषाङ्क २०६४ मा प्रकाशित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
गणतन्त्रले दुइटा दिने भो

गणतन्त्रले दुइटा दिने भो

डा. गोविन्दराज भट्टराई
एक टपरी मेरा इच्छाहरू

एक टपरी मेरा इच्छाहरू

डा. गोविन्दराज भट्टराई
क्याम्पस चिफ हुँदाको सम्झौटो (२)

क्याम्पस चिफ हुँदाको सम्झौटो...

डा. गोविन्दराज भट्टराई
क्याम्पस चिफ हुँदाको सम्झौटो (१)

क्याम्पस चिफ हुँदाको सम्झौटो...

डा. गोविन्दराज भट्टराई
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x