छविलाल आचार्यदशैँको शुभकामना
आयूद्रोणसुते भनौँ कति भनौँ, बड्दोछ सङ्क्रामक । सत्रूको क्षय होस् भनौँ कति भनौँ, मिल्दैन हाम्रो हक ।। कुन्तीका न त पुत्र भेट्छु कहिल्यै, बाँणी झुटा छन् हदै । हाम्रो यो शुभकामना बिगतझैँ, भो भो नलागोस् कतै ।।

छविलाल आचार्य :
बाँडेथेँ शुभकामना विगतमा, झन् भ्रस्ट बड्दै गए ।
शिष्टाचार गुम्यो र दम्भ पनका, झन् प्रस्ट बन्दै गए ।।
जाली भ्रस्ट र क्रूर नीच पनका, देख्यौँ जता हो ततै ।
हाम्रो यो शुभकामना विगत झैँ, भो भो नलागोस् कतै ।।१।।
मिच्दै कानुन क्वै बसे महलमा, सोझा सधैं थर्थरी ।
हाम्रा ती शुभकामना सँगसँगै, आँसू झ-यो बर्बरी ।।
बड्दो रावणको छ बिग्बिग यहाँ, देख्यौँ जता हो ततै ।
हाम्रो यो शुभकामना विगतझैँ, भो भो नलागोस् कतै ।।२।।
कल्पेको न त पुग्छ यी झुपडीमा खाना र नानाहरु ।
तिम्रा आसिकले यी जिर्ण घरका टल्किन्न छानाहरु ।।
के को चाड मनाउँ खै म कसरी बेचैनमा छन् अझै ।
हाम्रो यो शुभकामना बिगतझैँ भो भो नलागोस् कतै ।।३।।
दुर्गा छिन् किन हो ? बलात्कृत स्वयम्, पुज्थ्यौँ लिदै आशिष ।
लक्ष्मी बास बसुन् र सत्रु क्षय हुन्, भन्दा झनै दासी छ ।।
सानाको पसिना चुसेर चुसुवा, हाँस्दै छ रे गद् गदै ।
हाम्रो यो शुभकामना बिगतझैँ , भो भो नलागोस् कतै ।।४।।
आयूद्रोणसुते भनौँ कति भनौँ, बड्दोछ सङ्क्रामक ।
सत्रूको क्षय होस् भनौँ कति भनौँ, मिल्दैन हाम्रो हक ।।
कुन्तीका न त पुत्र भेट्छु कहिल्यै, बाँणी झुटा छन् हदै ।
हाम्रो यो शुभकामना बिगतझैँ, भो भो नलागोस् कतै ।।५।।
हाम्रा जोस र होसका बिदुर ती, पर्देशमै भासिए ।
वैलाए जमरा समान मन यी, वैलाएरै मासिए ।।
ऐस्वर्यम् नहुसे भनौँ कति भनौँ, पिल्सन्छ सानो छँदै ।
हाम्रो यो शुभकामना विगतझैँ, भो भो नलागोस् कतै ।।६।।
०००
पोखरा १६ ,कास्की
Subscribe
Login
0 Comments
Oldest










































