साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सञ्जाल

सूचना र मनोरञ्जनका साधन अब विकृति र विसङ्गतिका माध्यम नबनून् भनेर सावधान सरकारभन्दा दरकारवाला नै हुनुपर्छ । नत्र समयक्रममा यसले हामीलाई र हाम्रो मौलिक जीवनपद्धतिलाई अलिकति फुस्से खरानीमा बदलिदिन सक्छ ।

Nepal Telecom ad

डा. भीम खतिवडा :

विकासका लागि चेतनाको आधारशिविरबाट चार पाइला अगाडि बढ्नासाथ हामीलाई आधुनिक प्रविधिको उल्का प्राप्तिले झिलिमिली बनायो । भड्खालो र ढिस्को छुट्ट्याउन नसक्दा हामी प्रगतिपथमा कछुवागतिका भयौ। हो, सञ्जालको गाथा बनेर जीवनभित्रका कथा उनिन्छन् हरदिन हरपल अब । मान्छे स्वयं उपकरणको दास बनेर बिन्दास छ । भ्रम यस्तो कि मुत्रको न्यानोपनको क्षणिकता पनि विवेकमा पस्दैन ।

मेरो दिमागमा सञ्जालको गन्जागोल नाचिरहेकै बखत छिमेकीका घरमा प्रयोगात्मक कक्षा देखियो ः

चुप, तैले भनेर हुन्छ ?
म मरिसकेँ र ?
हो, तिमी अब मरेकै बराबर भयौ ।
सिउँदो छाम् । धर्म सम्झी ।
तिमी पनि मुटु छाम । कर्म सम्झ । मदेखि हैन, समाजदेखि त डराऊ ।
अबदेखि मान्छु नि त !
बिर्सिदे न यो पाला चाहि ।

अब यो दुनियाँ बिर्सन मात्र बाँकी छ । शिक्षित परिवारका जागिरे दम्पतिको यो शिष्ट संवाद सुनेर मैले सामाजिक सञ्जालको कमाल कसरी बिर्सन्थे र !

आँखामा गाजल छ, ओठमा अलिकति मुस्कान छ र गालामा झर्झराउँदो बैँसका ससाना खाल्टा छन् । केशमा, अनुहारमा र देखिएका अङ्गदेशमा परेपछि आँखा राम वनवास गएकै बाटो लाग्छन् एकान्ततिर ।

पुरुष हुनुको ढोडे सान प्रायः ममा जब सवार हुन्छ, उमेर लुक्छ र जिउ फुक्छ । अनि आँखाले आनन्दको पथ ढुक्छ ।

महिला पनि हूँ म । मलाई घरका सुसे धन्दाभन्दा सिनिक्क परेका दोहोरी गाउदै मच्चिने संगीहरूको ठट्टा र हाउभाउमा हावादार बनेर मुखै छोप्ने जगटाप्रतिको तिर्खा हुन्न र ?

नानीहरूका आँखा छलेर फेसबुकमा नानीहरू जन्मिनुअघिको जवानीको इन्द्रेणी हेर्न मन लाग्छ । कताकता सात रङहरूबाट छ रङ उडेर फुस्रिएको अनुहार देखाउने ऐनासँग रिस उठ्छ । लोग्नेको अनुहारमा राजेश र आमिर खोज्छु, अहं निराशा मात्र देखाउँछ समयको छायाँले ।

हो, उनी निष्पाप मनकी छन् म जान्दछु तर, सामाजिक सञ्जालमा दिनभरि दिनभरि मस्किँदै, हाँस्दै केटासाथीहरूका बंगालमा समय बिताएको मलाई पटक्कै मन परेको छैन । जुन दिन म्यासेन्जरमा परिचित पुरुषले पढाएको गुलाबको फूलसहितको गुडमर्निङ देखेँ नि, मैले अघिल्लो शनिवार उनीहरूको फोनमा कुरा भएको पनि सम्झिहालेँ । हैन, नानीबाबुहरू आफूजत्रे हुन लाग्दासम्म पनि एउटा लोग्नेमा मन अड्याउन नसक्ने यो आइमाइको कस्तो जात है ? कन्सिरी तातेपछि मैले उनलाई प्रेमको तानाबानाबारे तिखै प्रश्न गरेँ । पहिले ठट्टा मानेर बोलेकी उनी मलाई निकै गम्भीर पाएपछि उल्टै रिसाइन् र बित्थाको शङ्का नगर्न उल्टै चेतावनी दिइन् । मेरो मनमा भने शङ्काको आगो दन्किन थालिसकेको थियो ।

आधा रातमा उनी मस्त निद्रामा रहेकै बेला उनको मोबाइलमा आँखा र मन टासिए । च्याप्प मोबाइल बोकेर म बाथरुम पसेँ र सबै कुरा पढ्न लागेँ । आँखाको आगो हृदयको पश्चात्ताप पग्लिएर निभायो । नानीबाबुको अनलाइन कक्षाको प्रबन्धका लागि सरहरूसँग कुरा गर्दिरहिछिन् । साहुसँग भाइलाई विदेश पठाउँदाको ऋणको थमौतीका लागि अनुनयविनय गर्दिरहिछिन् । नानीहरूको विद्यालय-शुल्क ढिला हुँदाको पत्र म्यासेन्जरमा आएछ, उनले सुनका चुरा र टप बेच्नुअघिको फोटो खिचेर चिनो राखेकी रहिछिन् । थपक्क फर्केर कोठामा आए र विश्वासका आँखा र मनको मायाले उनलाई हेरिरहेँ । शङ्के बानीले झन्डै बिताएको नि घर नै !

मलाई पुरुष साथीहरूमाथि अविश्वास लाग्दैन, तर हार्दिकता र प्रेमिल पक्षमा विवाहपछि वहाँबाहेक कसैसँग न मन गयो न आखा । प्रविधिले शून्य समय बिताउन साथ पनि दिएको छ । सचेत भएर प्रयोग गर्दा फाइदै भइरहेको पनि छ । महामारीका बीच नानीहरूको पढाइमा, सूचनामा, सिलाइबुनाइको कति उपयोग गरेँ । लोग्नेमान्छेहरू आफ बिनानियन्त्रण हजार ठाउँ जाने र कलामा र खानाका परिकारमा जूम र युट्युभजस्ता माध्यम जिउ छाडने अनि घरमा आएर अनेक शङ्का उपशङ्का मात्र गर्ने नि ।

कपडा धुन पाइन्ट लादा भिक्न बिर्सेछन् मोबाइल । हो, त्यो दिन उनका अश्लील हर्कत, केटीसाथीहरूसँगका छाडा संवाद र अनावश्यक लाजमर्दा फोटाका बीचमा आफूले देवता मानेको मानिस देखेर त रिसले आँखा नै बन्द भए मेरा । मैले साँझ उनी कोठामा आउनासाथ सातो टिपे । फत्त गोजीबाट मोबाइल झिकेर देखाए । हेर्नासाथ तत्काल फोन गरेर पुलिसलाई जानकारी गराएको देख्दा र सुन्दा अचम्म त लागिरहेथ्यो । सहकर्मी साथीले आर्थिक लेनदेनमा खटपट परेपछि चरित्रहत्या गर्नलाई पो त्यो सब गरेको रहेछ । अफसोच मान्दै किचनतिर लागेँ ।

दृष्टान्तहरू आफैमा घटाउनुस् न साथी । पानीमाथि ओभानु किन बन्नुहुन्छ ? सञ्जालको दुरुपयोगबाट यहाँ नानीहरू बिग्रिए भन्ने आमाबाबुहरूचाहिँ कहाँ चोखा छन् र ? विद्यार्थी, शिक्षक, मजदुर, वकिल, व्यावसायी, धर्मात्मा, प्रवाचक, पठित, अपठित, आफन्तनिफन्त, कालागोग छोरीछोरा, बुहारी, सासु, नन्द, जेठान, ज्वाईं सबैसबै डामिएके छन् यसका रापमा । सूचना र मनोरञ्जनका साधन अब विकृति र विसङ्गतिका माध्यम नबनून् भनेर सावधान सरकारभन्दा दरकारवाला नै हुनुपर्छ । नत्र समयक्रममा यसले हामीलाई र हाम्रो मौलिक जीवनपद्धतिलाई अलिकति फुस्से खरानीमा बदलिदिन सक्छ ।

म, अर्थात् आजको पुरुष । म, अर्थात् आजकी महिला । आजको प्रविधिको सञ्जाल । आजको समयको जञ्जाल । थाहा पाउनु भो के त, निबन्ध भनेर कथा सुनाएँ नि !

०००
धरान, सुनसरी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मलाई मनपर्ने दलको दाल

मलाई मनपर्ने दलको दाल

रामप्रसाद अर्याल ‘अविराम’
माथिको आदेश

माथिको आदेश

राजेन्द्र पुडासैनी
दादागिरी

दादागिरी

विश्व विनोद
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
0
Would love your thoughts, please comment.x
()
x