डा. भीम खतिवडासञ्जाल
सूचना र मनोरञ्जनका साधन अब विकृति र विसङ्गतिका माध्यम नबनून् भनेर सावधान सरकारभन्दा दरकारवाला नै हुनुपर्छ । नत्र समयक्रममा यसले हामीलाई र हाम्रो मौलिक जीवनपद्धतिलाई अलिकति फुस्से खरानीमा बदलिदिन सक्छ ।

डा. भीम खतिवडा :
विकासका लागि चेतनाको आधारशिविरबाट चार पाइला अगाडि बढ्नासाथ हामीलाई आधुनिक प्रविधिको उल्का प्राप्तिले झिलिमिली बनायो । भड्खालो र ढिस्को छुट्ट्याउन नसक्दा हामी प्रगतिपथमा कछुवागतिका भयौ। हो, सञ्जालको गाथा बनेर जीवनभित्रका कथा उनिन्छन् हरदिन हरपल अब । मान्छे स्वयं उपकरणको दास बनेर बिन्दास छ । भ्रम यस्तो कि मुत्रको न्यानोपनको क्षणिकता पनि विवेकमा पस्दैन ।
मेरो दिमागमा सञ्जालको गन्जागोल नाचिरहेकै बखत छिमेकीका घरमा प्रयोगात्मक कक्षा देखियो ः
चुप, तैले भनेर हुन्छ ?
म मरिसकेँ र ?
हो, तिमी अब मरेकै बराबर भयौ ।
सिउँदो छाम् । धर्म सम्झी ।
तिमी पनि मुटु छाम । कर्म सम्झ । मदेखि हैन, समाजदेखि त डराऊ ।
अबदेखि मान्छु नि त !
बिर्सिदे न यो पाला चाहि ।
अब यो दुनियाँ बिर्सन मात्र बाँकी छ । शिक्षित परिवारका जागिरे दम्पतिको यो शिष्ट संवाद सुनेर मैले सामाजिक सञ्जालको कमाल कसरी बिर्सन्थे र !
आँखामा गाजल छ, ओठमा अलिकति मुस्कान छ र गालामा झर्झराउँदो बैँसका ससाना खाल्टा छन् । केशमा, अनुहारमा र देखिएका अङ्गदेशमा परेपछि आँखा राम वनवास गएकै बाटो लाग्छन् एकान्ततिर ।
पुरुष हुनुको ढोडे सान प्रायः ममा जब सवार हुन्छ, उमेर लुक्छ र जिउ फुक्छ । अनि आँखाले आनन्दको पथ ढुक्छ ।
महिला पनि हूँ म । मलाई घरका सुसे धन्दाभन्दा सिनिक्क परेका दोहोरी गाउदै मच्चिने संगीहरूको ठट्टा र हाउभाउमा हावादार बनेर मुखै छोप्ने जगटाप्रतिको तिर्खा हुन्न र ?
नानीहरूका आँखा छलेर फेसबुकमा नानीहरू जन्मिनुअघिको जवानीको इन्द्रेणी हेर्न मन लाग्छ । कताकता सात रङहरूबाट छ रङ उडेर फुस्रिएको अनुहार देखाउने ऐनासँग रिस उठ्छ । लोग्नेको अनुहारमा राजेश र आमिर खोज्छु, अहं निराशा मात्र देखाउँछ समयको छायाँले ।
हो, उनी निष्पाप मनकी छन् म जान्दछु तर, सामाजिक सञ्जालमा दिनभरि दिनभरि मस्किँदै, हाँस्दै केटासाथीहरूका बंगालमा समय बिताएको मलाई पटक्कै मन परेको छैन । जुन दिन म्यासेन्जरमा परिचित पुरुषले पढाएको गुलाबको फूलसहितको गुडमर्निङ देखेँ नि, मैले अघिल्लो शनिवार उनीहरूको फोनमा कुरा भएको पनि सम्झिहालेँ । हैन, नानीबाबुहरू आफूजत्रे हुन लाग्दासम्म पनि एउटा लोग्नेमा मन अड्याउन नसक्ने यो आइमाइको कस्तो जात है ? कन्सिरी तातेपछि मैले उनलाई प्रेमको तानाबानाबारे तिखै प्रश्न गरेँ । पहिले ठट्टा मानेर बोलेकी उनी मलाई निकै गम्भीर पाएपछि उल्टै रिसाइन् र बित्थाको शङ्का नगर्न उल्टै चेतावनी दिइन् । मेरो मनमा भने शङ्काको आगो दन्किन थालिसकेको थियो ।
आधा रातमा उनी मस्त निद्रामा रहेकै बेला उनको मोबाइलमा आँखा र मन टासिए । च्याप्प मोबाइल बोकेर म बाथरुम पसेँ र सबै कुरा पढ्न लागेँ । आँखाको आगो हृदयको पश्चात्ताप पग्लिएर निभायो । नानीबाबुको अनलाइन कक्षाको प्रबन्धका लागि सरहरूसँग कुरा गर्दिरहिछिन् । साहुसँग भाइलाई विदेश पठाउँदाको ऋणको थमौतीका लागि अनुनयविनय गर्दिरहिछिन् । नानीहरूको विद्यालय-शुल्क ढिला हुँदाको पत्र म्यासेन्जरमा आएछ, उनले सुनका चुरा र टप बेच्नुअघिको फोटो खिचेर चिनो राखेकी रहिछिन् । थपक्क फर्केर कोठामा आए र विश्वासका आँखा र मनको मायाले उनलाई हेरिरहेँ । शङ्के बानीले झन्डै बिताएको नि घर नै !
मलाई पुरुष साथीहरूमाथि अविश्वास लाग्दैन, तर हार्दिकता र प्रेमिल पक्षमा विवाहपछि वहाँबाहेक कसैसँग न मन गयो न आखा । प्रविधिले शून्य समय बिताउन साथ पनि दिएको छ । सचेत भएर प्रयोग गर्दा फाइदै भइरहेको पनि छ । महामारीका बीच नानीहरूको पढाइमा, सूचनामा, सिलाइबुनाइको कति उपयोग गरेँ । लोग्नेमान्छेहरू आफ बिनानियन्त्रण हजार ठाउँ जाने र कलामा र खानाका परिकारमा जूम र युट्युभजस्ता माध्यम जिउ छाडने अनि घरमा आएर अनेक शङ्का उपशङ्का मात्र गर्ने नि ।
कपडा धुन पाइन्ट लादा भिक्न बिर्सेछन् मोबाइल । हो, त्यो दिन उनका अश्लील हर्कत, केटीसाथीहरूसँगका छाडा संवाद र अनावश्यक लाजमर्दा फोटाका बीचमा आफूले देवता मानेको मानिस देखेर त रिसले आँखा नै बन्द भए मेरा । मैले साँझ उनी कोठामा आउनासाथ सातो टिपे । फत्त गोजीबाट मोबाइल झिकेर देखाए । हेर्नासाथ तत्काल फोन गरेर पुलिसलाई जानकारी गराएको देख्दा र सुन्दा अचम्म त लागिरहेथ्यो । सहकर्मी साथीले आर्थिक लेनदेनमा खटपट परेपछि चरित्रहत्या गर्नलाई पो त्यो सब गरेको रहेछ । अफसोच मान्दै किचनतिर लागेँ ।
दृष्टान्तहरू आफैमा घटाउनुस् न साथी । पानीमाथि ओभानु किन बन्नुहुन्छ ? सञ्जालको दुरुपयोगबाट यहाँ नानीहरू बिग्रिए भन्ने आमाबाबुहरूचाहिँ कहाँ चोखा छन् र ? विद्यार्थी, शिक्षक, मजदुर, वकिल, व्यावसायी, धर्मात्मा, प्रवाचक, पठित, अपठित, आफन्तनिफन्त, कालागोग छोरीछोरा, बुहारी, सासु, नन्द, जेठान, ज्वाईं सबैसबै डामिएके छन् यसका रापमा । सूचना र मनोरञ्जनका साधन अब विकृति र विसङ्गतिका माध्यम नबनून् भनेर सावधान सरकारभन्दा दरकारवाला नै हुनुपर्छ । नत्र समयक्रममा यसले हामीलाई र हाम्रो मौलिक जीवनपद्धतिलाई अलिकति फुस्से खरानीमा बदलिदिन सक्छ ।
म, अर्थात् आजको पुरुष । म, अर्थात् आजकी महिला । आजको प्रविधिको सञ्जाल । आजको समयको जञ्जाल । थाहा पाउनु भो के त, निबन्ध भनेर कथा सुनाएँ नि !
०००
धरान, सुनसरी
Subscribe
Login
0 Comments
Oldest







































