ह्यारी- ८०उक्लेपछि !
दुई तीन वर्षपछि देश विकासशील राष्ट्रमा उक्लिएपछि अवश्यमेव दशैँ मान्न सकिएला नि भन्ने कल्पिएर बसेँ । त्यही बेला एक जनाले सोधे, “दशैँ कस्तो भयो ?” फतुरे काकाले सुइइयँ सुस्केरा हाल्दै भने यसपालि दशैँ ठिकै भयो ।

ह्यारी – ८० :
बिदा भयो यसपालिको बडादशैँ पनि । कतिले माने कतिले मानेनन् होला यसपालिको दशैँ । बडादशैँको रमझमको कुरा गरेर साध्यै पनि छैन । कसैको त कनीकुथी गरेर दशैँले बिदा लियो । कसैको भने दशैँ सबथोकले छ्यालब्याल भयो होला ।
दशैँका नाममा पशुलाई बलिका नाममा छ्याछ्याक पार्दै तड्पाई तड्पाई मारेको दृश्यले मन नै अमिलो भएको भाइरल नै भएको देखिन्छ । मासु खानु नै छ त आफ्नो किसिमले सदाझैँ खाएकै भए हुन्थ्यो । नखानेले पनि किन विरोधका पङ्क्तिमा उभिनु ? छाडा हुनुको पनि मजा हुने होला कोही कोहीलाई । कसैलाई फल मासु, कसैलाई टाउको, कसैलाई खुट्टा, कसैलाई बोसो, कसैलाई हड्डीको सुप, हे दैव नेताले देशका अङ्ग अङ्ग चबाए जसरी खानुपर्ने यी पशुका अङ्ग पनि । कस्तो दशैँ रै’छ बा । पिङमा मच्चिएको देखाउनुपर्ने टीका लगायौँ है भन्दै मुहार पत्रिकामा ट्यास्स ट्यास्स फोटा टाँस्नैपर्ने । टीका एकतिर लगाउनुपर्ने अर्कैतिर टाँसिन पुग्दा पनि पर्वाह नहुने रै’छ क्यामराका अगाडि । पावन अवसरको दशैँ पापादितिर ढल्कँदै गएको दशैँजात्रा पनि कति हेर्नु दर्शकले भन्या ।
मुलासनको एउटाले टीका लाइदिने भनेर विज्ञापन गर्दै ट्रकका ट्रक मान्छे ओसारेर टिभी र रेडियोतिर विज्ञापन गर्दै नौटङ्की गरेको हेर्नुपर्यो । अर्कातिर सुतेर बिउँझेकाले त्यस्तै गरेको पाइयो । दशैँ जनताका लागि दशा बन्यो कि बनेन भनेर हेर्ने सूचकाङ्क फतुरे काकाले खोज्दै गए । भेडाच्याङ्ग्रा नबिकेर भाउ घटाएको रे त्यही पनि बिकेन भनेर व्यापारीको कोकोहोलो सुनिन्छ । कुहिएका खाद्यान्न बिकेन भनेर अर्कातिर त्यस्तै छ । मिठो खाने र राम्रो लाउने चाडको खिसीट्युरी गर्दै मिठा खानाका कुनै पनि आइटम नबिकेको अवस्थामा जनता जनार्दनले दशैँमा के र कति खाए होलान् कुन्नि ? अर्कातिर राम्रो लाउने भन्ने यो चाडमा कतिले नयाँ कपडा पहिरिए भन्ने कुरा सपिङ मलमा बिक्री हुँदै नभएर जिल्लिएको बाट पनि प्रस्टै हुन्छ । यसो फुटपाथमा राखिएका जडौरी बिव्रmी भएका बाहेक दशैँ दशा बनेकै हो भनेर ठोकुवा गर्ने आधार यी भन्दा अरू कुन चिनाटिपन दिनु पर्ला र !
परम्परा धान्ने व्रmममा हजुरबा, हजुरआमा एकतिर बाबुआमा अर्कातिर अनि छोरा छोरी कोही खाडी मुलुक कोही अस्ट्रेलिया र कोही अमेरिकातिर । दशैँको टीकामा टिको टाँस्दा भन्ने मन्त्र न सन्त्र टिकटकका धुनमा लागेपछि दशैँ परम्परागत भन्दा पनि समयानुसार आधुनिकतातिर ढल्केको आभास भएको छ । पुराना लुगा पहिरेर नयाँ टीका टाँस्ने बग्रेल्ती रहेको यसपालिको सन्धानले देखाएको छ । औँलामा गन्न सक्ने केही नवधनाढ्य भ्रस्ट हुन् भन्ने प्रस्ट देख्न सकिनेहरूको दशैँ तामझामका साथ सम्पन्न भएको कुरा फतुरेले पत्ता नलगाएको होइन । यो सङ्ख्या नगन्य नै देखिन्छ ।
सन् २०२६ सालतिर हो कि क्या हो नेपाल अति विकसित मुलुकबाट विकासशिल राष्ट्रको सिँढी चढेर माथि उक्लँदै छ रे । खुसीको कुरा हो कि होइन कुन्नि, त्यसबेलासम्म अब मुठीभरका धनाढ्यहरू बढेर अँजुलीभरि हुने भए होलान् । त्यसपछि एक स्थानीय निकायमा मजाको दशैँ मनाउने एक परिवार हुने नै छ भन्ने फतुरे काकाको दाबी छ ।
दशैँको फुर्सदमा समाचारतिर कान थाप्नेले सरकार र सम्बन्धित निकायले भुसुक्कै बिर्सेको तर मारमा परेका जनताजनार्दनले तड्पिनु परेको एउटा विषय के छ भने सवारी चालक अनुमति लिएका र नलिएकाको बिगबिगी पक्कै सुने । सवारी चालक अनुमतिको परीक्षणमा उत्तीर्ण हुने साँढे बाह्र लाख सफल चालकले स्मार्ट कार्ड नपाएको तथ्याङ्क सुनेपछि अचेत भए फतुरे काका । यति धेरैलाई स्मार्ट कार्ड बाँड्न नसक्ने हुतीहारा प्रशासनले के मुख देखाएर बस्नु ? बरु मिनरल वाटरको बोतलमा डुबेर मर्नु नि भन्थ्यो एउटा । बन्देज लगाएको पटाका दशैँ नआई पड्काएको सुनेर चेत खुलेकाले धन्न फतुरे काकालाई अस्पताल लैजानुपरेन रे ।
राजस्व तिरेको बिल देखाएर जसले पनि त्यो बोक्दै हिँड्दा विचरा ट्राफिक प्रहरी अक्क न बक्क बनेका छन् । उसै त के निहुँ पाऊँ भनेर बसेका ट्राफिक प्रहरी रक्सी नै नखाई मुख गनाएका फोहोरी चालकलाई मापसेमा पार्ने अनि रक्सी धोकेकालाई जानुस् जानुस् भनेको सुन्ने फतुरे काका जहाँ गए पनि यस्तै हो नेपाल भनेर चित्त बुझाउँदा रहेछन् । होइन सडकमा चेक जाँच गर्न बस्ने सबै ट्राफिकलाई मापसे चेक गर्ने यन्त्र एक दिन घुस खाएको पैसाले यसो किन्दे हुँदैन भन्या एउटा माइकललालले ।
महानगरतिरको कुरो बेग्लै छ फेरि । एउटा दारी बबुराले के गर्न खोज्दै थिए, जबर्जस्ती भत्काइदिए रे खै के हो पुरेका थिए रे । भत्काए तर बनाउन दिएनन् ।होइन बनाउँछु भन्दा बनाउन पनि दिँदा रहेनछन् । कस्ता शासिन्दा हुन् यी कलि युगका ?
जागिर खाइन्जेल, सत्तामा भइन्जेल विकास गर्छु भन्ने अनि विकास त अवकास भएपछि गर्नै दिएनन् भन्ने भोलिवादीको भिडमा युवाहरूबाट अलिअलि ाम गर्ने छनक त देखिएको आभास हुन्छ तर यस्तालाई केही नगर्नेहरूले सत्रतिरबाट दनक दिएको देख्दा फतुरे काकाको कहिलेकाहीँ मन मरेर आउँदो रहेछ । अनि यसो पानी छम्केर झल्याँस्स भई दशैँ कस्तो भयो त भनी नारदले नियाले झैँ बजार चहारे । बजारमा रौनक देखिएन । व्यापारीहरू सामान नबिकेर ओठमुख सुकाइरहेका, खुलेका सर्टर धमाधम खाली हुँदै गएका सधैँ भिडभाड हुने सपिङ मल प्रायः रित्तै बनेका, उपभोक्ता ठगिएका, लामो समयपछि दशैँ मान्न घरतिर लम्केकाहरूको झोला रोटी फुले झैँ फुल्नुपर्ने तर कागती निचोरे जस्तै निचोरिएका देखिनाले फतुरे काकालाई दशैँ कस्तो भएछ भन्ने अनुमान गर्न कुनै कठिनाइ भएन ।
हुन त दशैँमा खेल्नेहरूले खेले, लुछ्नेहरूले लुछे, पिउनेहरूले पिए, मच्चिनेहरू मच्चिए विरोधमा उत्रनेहरू उत्रिए, खोइ जाबो पाँच अर्बका सवारी साधनका लागि कर्मचारीलाई दिएको खर्चबाहेक ! कठै पशुहरू छ्याकछ्याक छप्काइए तर पनि दशैँ नुन नपुगेको खल्लो तरकारी जस्तो भयो । दशैँमा जनताका लागि नाना र खानाको समाचार आउनुपर्ने हो तर फतुरे काका ट्वाँ परेर इजरायलबाट विद्यार्थीको लास आएको, सहुलियत पसलका नाममा खुलेका रित्ता पसलमा सामान नभएको, महँगीले आकाश छोएको, खसी बोका च्याङ्ग्राको भाउ बढेर किन्नै नसकी बिक्री नभएको समाचार सुनिरहे ।
यसपालि साहूले ऋण नपत्याएकाले दशैँ दशा बनेन बरु दशैँ यसै बित्यो त्यसै बित्यो । दुई तीन वर्षपछि देश विकासशील राष्ट्रमा उक्लिएपछि अवश्यमेव दशैँ मान्न सकिएला नि भन्ने कल्पिएर बसेँ । त्यही बेला एक जनाले सोधे, “दशैँ कस्तो भयो ?” फतुरे काकाले सुइइयँ सुस्केरा हाल्दै भने यसपालि दशैँ ठिकै भयो ।
०००
गोकर्णेश्वर- ५, काठमाडौँ
२०८०/०७/१२
Subscribe
Login
0 Comments
Oldest












































