घिमिरे ‘मैदेली’चमेरे ‘च’ को चङ्गुलले चेताउला !
चिल्लो चप्काएर चर्चित बन्ने नै चलाखी ‘च’ हो । चरिचुच्चे ‘च’ त कागचुच्चे र गिद्धचुच्चे व्यवहारको हारमा पर्दछ । चरीचुच्चे देखिएर सबै निर्धा र निमुखा चराका चबाट चिप्लेर छलछामको छमा पुगिसक्यो चमेरे ‘च’ ।

घिमिरे मैदेली :
तपाइँले ‘क’ देखि ‘ज्ञ’ सम्मका सबै अक्षर नजाने पनि गन्दा ‘छ’ र भन्दा ‘च’ भनेर चिनिने चरिचुच्चे ‘च’ लाई चाहिँ नचिनी सुखै पाउनुहुन्न । नत्र भने चेपारे ‘च’ को च्याम्पटीमा चर्खा बन्नुहोला ।
चेप्टिएर चरिचुच्चेका चङ्गुलमा चौपट पर्नुहोला है ! चलाखी च ले चल्ने चानस पायोभने चरो, चौपाय, चमेरो जेपनि बन्न सक्छ । ‘च’ कै चलनचल्तीले गर्दा चन्चलाश्री च्यापेर चकचकाएका चम्चे, चोसे र चेपारेका चङ्गुलमा चुत्थो परेर चेपिनु होला । चेतना चनाखो पार्नोस् । ‘च’ ले च्यापुमा च्याप्न पायोभने चुसेर चाउर्याइदिन सक्छ । चमत्कारीले चलनमा चलाएको ‘च’ चिन्नसक्नु भएन भने, तपाइँका लागि एक चुस्को चिया, एक चिम्टी चना, एक चुस्को चुस्की र एक चिम्टी चिनीसम्म पनि कसैबाट आश नगरे हुन्छ ।
चोसो चुचो पार्नेलाई पनि चुस्कीको चटनी चटाएर च्याप्प समाउन सजिलो हुने चलनमा ‘च’ कै चमक चम्केको छ । ‘च’ चिन्नोस् सचेत हुनोस् ।
हेर्नोस् त चलानी फाँटका चतुर्भुजका चलाखीले चर्खार्झैँ चलाएर चेत्या मान्छेहरू त तपाइँलाई चिनाइरहन परोइन । चिप्ले ‘च’ बाट चिप्लनु होला चेपारे चलाई चिन्नोस् । चिन्तन गर्नोस् तर चको च्याम्पटीमा परेर पछि चुक्चुकाउन र चिन्ता गर्न चाहिँ चटक्कै छोड्नोस् । चुडेको चप्पल लगाएर चउर र चौतारातिर चहारिरहनेहरू चकै चलखेल चिनेर चञ्चलाश्रीको चयन गरेर चकित पारिसके ।
बच्चाबच्ची जस्ता चिचिला र चिरपरिचित चिन्तकहरूलाई समेत चिमोट्ने र चिथोर्ने चिम्टाहरू पनि चमेरे चकै चलन र छलनबाट चमचमाइरहेका छन् । चुस्ने चेपारो घस्ने, चिल्लीबिल्ली पार्ने, चेप्नेदेखि चुम्चेसम्म बनेर चाकरीमा चम्किनेका चालचलनका चौेतर्फी चमक चकित पर्नु छ ।
त्यसै ‘च लाई चरिचुच्चे भनिएको हो र ! हुन त यस्ता च भनेको चमेरे ‘च’ नै हो । चलखेलका चल्तीमा चल्नु पर्दा ‘च’ भन्ने त्यही चुचे चमेरो चुस्न पाउँदा चौपाया र चतुरे चरो जे पनि बनिदिन्छ । ‘च’ को चर्तिकला त चिन्नै पर्छ । यो ‘च’ को चाकडी चाप्लुसी चर्तिकला चिन्न नसकेकालाई ‘च’ को चेपारोले चकित पारिदिन्छ ।
अझ चपकी चालेर चुलीमा पुर्याई चलखेलबाट चौखुर्याएर चपरीमुनि पार्नुलाई चरितार्थ ठान्ने चमत्कारी ‘च’ को चतुर्याइँ र बतुर्याइँको चङ्गुलले चारैदिशा चकित छ ।
चतुरे, चटकी, चुसाहा चमेरे ‘च’लाई चड्कन चखाउन नसकेर त होनि सबै चाकडी र चाप्लुसीमा चटारिएका । चभोगी चङ्खे चाम्रालाई च्यापचुप पारेर चिलिम पार्न सक्या भए को मात्र चाकडीमा चमचम परेर चाकडीचिन्तन गर्दो हो ? चमत्कारी चुच्चेबाट चटनी चाख्न चम्केका चिप्लेकीरा जस्ता चुत्थाहरू पनि ‘च’ कै चेपारो घसेर चरम सीमामा चढिसके । चमत्कारको चुनाब देखाएर चुनिएर चुलीमा पुगेका चलाखहरू पनि चुत्था चभोगी बन्न पुगे ।
चमत्कारी बनेर चमत्कार चम्काउन चुत्थै पनि चतुर भैसके । ‘च’ देखि चेतेर बेलैमा चस्कन र झस्कन सक्नु भएन भने ‘च’ ले चौपट पार्छ ।
यो चमेरे ‘च’ ले अझै चमत्कारपूर्ण चर्तिकला देखाउन पायो भने तपाइँलाई तताउन, मताउन, सताउन, छकाउन, छल्न, दल्न बदल्न जे पनि सक्छ । ‘च’ लाई चिन्न सक्नुभएन भने चुलै चट, चौपट हुन सक्छ ।
‘च’ को कामै चिमोट्ने र चिथोर्ने पाराले चिप्लो बनेर चोरेर भएपनि चिटिक्क पर्ने नै हो । चतुरे चले चरणमा चाख्ने भनेकोनै चिया, चुरोट, चक्लेट, चिनी, चाउचाउ हो । चिल्लो चप्काएर चर्चित बन्ने नै चलाखी ‘च’ हो । चरिचुच्चे ‘च’ त कागचुच्चे र गिद्धचुच्चे व्यवहारको हारमा पर्दछ । चरीचुच्चे देखिएर सबै निर्धा र निमुखा चराका चबाट चिप्लेर छलछामको छमा पुगिसक्यो चमेरे ‘च’ ।
‘
च’ को खेती गर्नेले चिया, अलैँची, चुत्रो, च्याउ, चनाजस्ता चानेचुने खेती त गर्नै पर्दैन । ‘च’ को चोर्ने चमत्कारी खेती त चकित पार्ने खालको छ । यस्तै चुत्था चको चलन चलेर त हो नि चिन्तन गर्नेले चिन्तित हुनु परेको ! चमेरे च को चङ्गुलपछि चेत्नुभन्दा समयमै सचेत होऔँ । चको चपेटामा पर्नेलाई चेतना भया ।
०००
Subscribe
Login
0 Comments
Oldest







































