आनन्द श्रेष्ठकुकुरको पुच्छर
आजकल बाङ्गो पुच्छर लिएका, दोबाटो चौबाटोमा एकार्कासँग झगडा गर्दै रमिता देखाउँदै तँभन्दा मै ठूलो भन्ने अहंकार बोकेका कुकुरहरू ठाउँठाउँमा देखिन्छन्।

आनन्द श्रेष्ठ :
बाङ्गो पुच्छरका कारण आफ्नो पहिचान समाजमा हेपिएको महसुस गरेर एकदिन कुकुर भगवान सामु पुग्छन् र पुच्छर सोझो बनाई पाउँ भनेर वरदान मागेछन्।
हे प्रभु ! सन्तान दरसन्तान हाम्रा पुच्छर बाङ्गो हुँदै गएको छ। सिधा हिंड्दा पनि पुच्छर बाङ्गो लाग्छ प्रभु ! कसैले सर्जरी नै गरे तर पनि बाङ्गै भयो। हामी जस्तै स्यालको पुच्छर सिधा, गैंडाको पुच्छर सिधा, गाईगोरूका पुच्छर सिधा तर किन हाम्रो मात्र बाङ्गो प्रभु ! सही जुक्ति लगाएर हाम्रो पुच्छर पनि सिधा गराई पाउँ प्रभु !
यति सुनेपछि भगवानले – ल आजबाट अरू जनावर झैं सिधा पुच्छर लिएर बॉच्नू, काम सकिएपछि चुपचाप आफ्नो बाटो लाग्नू,रमिता नदेखाउनू, मेरो वरदान भयो।
यति वरदान पाएर फर्किएका कुकुरलाई स्याल जस्तै छट्टु भनेर समाजले तिरस्कार गर्न थाले। स्यालको जस्तै पुच्छर भएपछि कुकुर र स्यालमा के फरक भयो र ? भन्न थाले। तिमीहरूलाई तिमीहरूले दोबाटो चौबाटोमा देखाउने झगडा र रमिताले त कुकुर भनेर चिन्छौं, रमिता नै नदेखाउने भए तिमीहरूको चिनारी मेटियो। तिमीहरू सिध्दियौ।
यस्ता अनेक घोचपेच भएपछि कुकुरले आफ्नो अस्तित्व समाप्त हुन नदिन फेरि आ-आफ्ना भगवान समक्ष इतिवृत्तान्त सुनाएर पुच्छर बाङ्गै राखी पाउँ प्रभु ! भन्दै वरदान लिएर आए।
आजकल बाङ्गो पुच्छर लिएका, दोबाटो चौबाटोमा एकार्कासँग झगडा गर्दै रमिता देखाउँदै तँभन्दा मै ठूलो भन्ने अहंकार बोकेका कुकुरहरू ठाउँठाउँमा देखिन्छन्।
०००
Subscribe
Login
0 Comments
Oldest








































