चिरञ्जीवी दाहालमूर्ख बनौँ
जिन्दगी छोटो छ अतः सानदार जिन्दगी जिउन, जतिसक्दो चाँडो सबैले मूर्ख बन्ने कोशिस गरौं । अन्यथा, मूर्ख बन्न नसके मूर्खको आदेशलाई स्वीकार गरौं । मुर्खको आदेश स्वीकार गर्न नसके आफै मूर्ख बनौं ।

चिरञ्जीवी दाहाल :
कुनै जमानामा, ‘मान्छेले मूर्खको सङ्गत गरेर उँभो लाग्छु भन्नु र फलामको डुङ्गामा बसेर नदी पार गर्छु भन्नु उस्तै मात्र होइन तिनीहरू पनि मूर्ख हुन् ‘ भनिन्थ्यो ।
त्यसताका सुनिन्थ्यो, मूर्खहरूको आफ्नो छुट्टै विचार हुँदैन तर उनीहरूको आचारविचार र व्यवहार आम मान्छेको भन्दा फरक हुन्छ । मूर्खलाई जति भलाइ गरे पनि उसले कुभलो गरेको सम्झन्छ । मूर्खसँग कस्सिएर छलफल गर्न थाल्ने हो भने तपाइँ पनि मूर्ख नै मानिनुहुन्छ । मूर्खहरू आफू पनि जान्दैनन् र अरूले भनेको पनि मान्दैनन् । अन्त्यमा उसले अर्कालाई पनि आफू जस्तै मूर्ख बनाउँछ । त्यसैले मान्छेहरू भन्ने गर्थे, मूर्खसँग नजिक नपरेकै जात्ती ।
त्यसताका यतिले मात्र पनि मूर्खको परिभाषा पुरा हुँदैन थियो । केही मान्छेहरू काम त गरिरहन्थे , तर आफूलाई नोक्सान र फाइदा भने अरुलाई हुन्थ्यो । यसरी काम गर्ने मान्छेलाई पनि त्यसबेला समाजले मूर्ख नै भन्ने गरेको थियो । यिनीहरू रिसाउनु पर्ने ठाउँमा रिसाउँदैन थिए, नरिसाउनु पर्ने ठाउँमा रिसाइ दिन्थे । बोल्नु पर्दा नबोल्ने ,नबोल्नु पर्ने ठाउँमा प्वाक्क बोलिदिने । यसैले यस्ता मान्छेलाई पनि ‘मूर्ख’ नै भन्ने चलन थियो ।
सबैले भनेपछि मान्नै पर्यो, पत्याउनै पर्यो । कम बुद्धि, मूर्खहरूलाई सजिलै विश्वास गरिहाल्ने भएकोले र अरुलाई मात्र फाइदा पुग्ने काम गर्ने गरेकोले मलाई पनि सबैले मूर्ख भन्ने गरेका थिए । विभिन्न घटनाहरूबाट प्रमाणित भइसकेको थियो, भगवानले मलाई मूर्खको रूपमा सृष्टि गर्नुभएको कुरा पक्का थियो । अन्यथा घर परिवारका सबै सदस्यले मलाई मूर्ख नभन्नु पर्ने । घरकाले त भने भने, जब गाउँलेहरूले समेत मलाई मूर्ख भन्न लागेपछि अब म पक्का मूर्ख हूँ भन्ने कुरामा दुईमत थिएन । त्यसपछि मैले पनि ठोकुवा गरेको थिएँ, म मूर्ख नै हो । म मूर्ख भन्ने बुझेर केहीले मलाई ठाउँ न कुठाउँ प्रयोग गर्ने गर्थे । म सजिलै प्रयोग भइदिन्थें, किनकि म मूर्ख थिएँ !
विद्यालयका कक्षाहरूमा म जहिले पनि अन्तिम नम्वरमा उत्तीर्ण हुने गरेको थिएँ । सँधै अन्तिम भयो भनेर एकपटक मलाई ट्यूसन पढ्न पठाइयो । जब म ट्यूसन पढ्न गएँ, त्यस वर्ष म अनुत्तीर्ण भएँ । ट्यूसन पढ्दा झनै अनुत्तीर्ण भएपछि म घर र गाउँमा मात्र होइन विद्यालयमा समेत मूर्ख भनेर कहलिएँ । म निकै निरुत्साहित थिएँ । प्रायः मेरो जीवनमा एउटै गुनासो हुन्थ्यो, म मूर्ख हूँ, जीवनभर केहि पनि गर्न सक्दिन । परिपक्व मूर्खहरूलाई यति कुरा पनि थाहा हुँदैन थियो तर म कनिष्ठ मूर्ख भएकोले यति भने मैले राम्रोसँग बुझेको थिएँ।
कक्षाका अन्य मेधावी विद्यार्थी साथी देख्दा मलाई ईर्ष्या लाग्थ्यो । किन भगवानले तिनीहरूलाई बुद्धि विवेक भएको बनाए र मलाई मूर्ख बनाए । एकदिन मैले यस कुराको गोप्य रूपमा अनुसन्धान गर्ने निधो गरेँ । सकिन्छ उनीहरू जस्तै बन्छु , नसके तिनीहरूलाई पनि मूर्ख बनाउँछु ।
त्यस दिनदेखि म तिनीहरूको आनीबानी, चालचलन र खानपिनमा ध्यान दिन थालेँ, ताकि म तिनीहरूको नक्कल गर्न सकूँ। जब मैले देखें, मेरा साथीहरू माछा, मासु र दूध घिउ जस्ता पौष्टिक खाना खानेरहेछन् । मलाई माछा, मासु र दुध, घिउ मनपर्ने भएकोले तिनीहरू जस्तै बुद्धिमान बन्न मैले पनि सोही प्रकारका खाना प्रसस्त खान सुरु गरेँ । यसरी खाएँ कि सधैं मेरो पेट गडबड हुन लाग्यो । मलाई पखाला र झाडावान्ताले सताउन थाल्यो । बुझ्नु भो नि ! म त्यसै मूर्ख भएको हो र ? मूर्खहरूलाई कति बेला खाने, कसरी खाने, कहाँको खाने, के खाने ? खान मिल्छ वा मिल्दैन भन्ने पनि थाहा नहुने रहेछ, त्यसैबेला थाहा पाएँ ।
एउटा निकै चलनचल्तीको भनाइ छ । ”कुनै कुनै विद्वानहरू मूर्ख हुन्छन् भने कुनै मूर्खहरू विद्वान पनि हुन्छन् ।” यस्ता भनाइहरू हावाको भरमा भनिने होइन रहेछ भन्ने बलियो प्रमाण छ मसँग । किन भने यो भनाइलाई कुस्त पुष्ट्याइँ गर्ने प्रसस्त उदाहरणहरू हाम्रो आँखा वरिपरी छ्यापछ्याप्ती देख्न पाइन्छ ।
कहिलेकाहीं निकै बुद्धिमान हूँ भन्नेहरूले पनि ईर्ष्या, घृणा, घमण्ड,लोभ जस्ता निकृष्ट व्यवहार देखाउने गर्छन्। त्यही दोषका कारण उनीहरूले अन्य व्यक्तिलाई अन्यायपूर्ण व्यवहार गरिरहेका हुन्छन् । त्यसैले यिनीहरूलाई मूर्ख होइन, ‘दुष्ट’ भन्ने गरिन्थ्यो । ख्याल गर्नुपर्थ्यो मूर्ख मानिस भन्दा दुष्ट मानिस झनै खतरनाक मानिन्थे ।
संयोग मात्र होइन यो यथार्थ थियो, मैले जे काम गर्नेगरेको थिएँ , परिश्रम मेरो र फाइदा अरुलाई पुग्ने गरेको थियो । म मूर्खको श्रेणीमा पर्नुपर्ने मूल कारण पनि यही थियो । यस्तो भवितव्य मजस्तो सामान्य मूर्खलाई मात्र होइन, विशिष्ट श्रेणीका मूर्खहरूलाई पनि हुने गरेको छ । बेलाबखत निकै चर्चामा आइरहने केही राष्ट्रिय स्तरका घटनाक्रम त सबैले सुन्ने गरिएकै छ ।
आश्चर्य भयो, गजबसँग समय परिवर्तन भयो । हेर्दाहेर्दै मूर्खको सङ्गतले फलिफाप हुनथाल्यो । उँभो लाग्ने हो भने मूर्खकै सङ्गत चाहिने भयो । मूर्खको सङ्गत गरे मात्र ठूलो पदमा पुग्न सकिने भयो । धनाड्य बन्न मूर्खकै सङ्गत चाहिन थाल्यो । मूर्खसँगको सहकार्यले मात्र इज्जतदार बन्न पाइने भयो । मूर्ख हुन सकेकोमा मान्छेले गौरव गर्न लागे । मूर्ख बन्नैका लागि मान्छेहरू तँछाडमछाड गर्न लागे । समग्रमा मूर्खको सङ्गत नगरि नहुने वातावरण सिर्जना भयो ।
यसै बिच गण्डकी, कोशी र महाकाली नदीमा धेरै पानी बग्यो । देशमा आमूल परिवर्तन भयो । राणा शासन, पञ्चायती शासन हुँदै मुलुकमा गणतान्त्रिक व्यवस्था कायम गरियो । प्रायः राजनीति गर्ने र राज्य सत्तामा पुगेका अधिकांश मान्छेहरूको समुहमा मूर्खहरूको बाहुल्यता हुन थाल्यो । त्यसपछि राजनीतिमा मात्र होइन हरेक क्षेत्रमा मूर्खहरूको मानसम्मान गरिने क्रम बढ्दै गयो । हरेक क्षेत्रमा मूर्खहरू नै अगुवा बन्न थाले । चारैतिर उनीहरूकै बोलबाला हुन थाल्यो । देखिएकै छ, मूर्ख बाहेकका मान्छेहरू मान्छे नै होइनन् भन्नेसम्मको छाप जताततै परेको छ।
समयको परिवर्तनसँगै राजनीतिमा प्रवेश गर्न निकै अघि दलको साधारण सदस्यता लिए जस्तै आजभोलि अघोषित रुपमा मूर्खताको सदस्य लिनु पर्ने प्राबधान राखिदै छ । खुशीको कुरा यसबाट हामी पुराना मूर्खहरूको योग्यता क्रममा स्वत: बढोत्तरी भयो । यो स्थिति कायम रहिरहे अब हामीपनि छिट्टै मूर्खसेना, मूर्खेश्वर, मूर्खाधिराज हुँदै मूर्खाधिपतिको पदमा पुग्ने छौं । यो पद्धति अत्यन्त वैज्ञानिक पाराको छ । यसमा लामो समयसम्म एउटै व्यक्ति मात्र मूर्खाधिपति भइरहने परिपाटीको अन्त्य हुनेछ । एकपटक पालैपालो सबै मूर्खाधिपतिको पदमा पुग्ने छौं ।
भनिन्छ, सामान्य मूर्खले आफ्नै अहित हुने काम मात्र गर्छन् तर मूर्खाधिराज र मूर्खाधिपति बनेपछि भने गाउँ समाज र देशको मात्र अहित हुने काम गरे पुग्छ । हुन त यिनले मूर्ख्याइँ गर्दा राष्ट्रलाई नोक्सान भएपनि व्यक्तिगत तवरमा उनीहरू आफूलाई भने अत्यन्त फाइदा हुन्छ । मूर्खाधिराज र मूर्खाधिपति भएपछि देश र जनताको विषयमा सोच विचार गर्न समय दिइरहनु पर्दैन । छोरा, छोरी, परिवारको विषयमा मात्र सोचे पुग्छ । मुलुकले कसरी खर्च धान्ने, कसरी पुर्याउने भन्ने पनि सोच्नु पर्दैन । मूर्ख्याइँ बुद्धिको प्रयोग गरेर कमाउने र रमाउने कुरा मात्र सोचे पुग्छ । यो प्रथा कायम रहिरहे केही सालपछि देशमा एकजना पनि गरिब रहनु पर्दैन । छिट्टै आलोपालो पद्धतिमा सबैजना मूर्खाधिराज र मूर्खाधिपति हुन पाइने छ । जब मूर्खाधिराज र मूर्खाधिपति बनिने छ पैसाको खोलो लाग्नेछ । यसपछि सोच विचार गर्नु पर्दैन, लाज शरम त फिटिक्कै लाग्दैन । सामान्यतया उच्चरक्तचाप र सोचाइका कारण हुने मानसिक तनावबाट पनि जोगिन सकिन्छ । जब मूर्खाधिराज, मूर्खाधिपति बनिन्छ, फाइदा त कति हो कति । अचेल मलाई आफू पनि मूर्ख हुन पाएकोमा अत्यन्त गौरव लाग्ने गरेको छ । सम्झिंदा पनि मनमा निकै आनन्द आउँछ, मन हलुका हुन्छ ।
बरु अलिकति भाग्यले साथ दिएन कि के हो, कसैगरे पनि म भने यति लामो समय मूर्ख भइसक्दा पनि मूर्खाधिराज बन्न सकेको छैन । म चवन्नी मूर्ख मात्र रहिरहें । मूर्खाधिराजको तुलनामा सामान्य चवन्नी मूर्खहरू रुखा सुखा देखिन्छन् । च्याँसे र ख्याउटे हुन्छन् । भन्छन्, समाजमा यस्ता मूर्ख हुनु र नहुनुको खासै अर्थ हुँदैन । अलिकति चित्त नबुझेको कुरा यहीनेर हो ।
जवानीको त्यत्रो उर्वर समय मैले बेकारमा गुमाएछु । म त अज्ञानतावश सकेसम्म मूर्खता पखाल्ने कोशिसमा पो लागेको थिएँ । धत्तेरी ! त्यसबेला म मूर्ख नबनेर विवेकशील मात्र भएको भए बरवाद हुन्थ्यो । जीवनमा मूर्ख हुनुभन्दा आनन्द अरु केहीमा पनि छैन । न पिर, न चिन्ता, न कार्य बोझ, न दायित्व निर्वाह गरिरहनु पर्ने । यतिमात्र होइन घर, गाउँ, देश रित्तिए पनि चिन्ता लाग्दैन । महङ्गीले आकाश छोए पनि चिन्ता लाग्दैन् । हुँदा खाँदाको पूर्खाको छातीमा पराइले कुल्चिएर पनि चिन्ता लाग्दैन। चारैतिर अस्तव्यस्त होस् तर चिन्ता नास्ति । चिन्ता जस्तो जटिल रोगबाट मुक्त भएपछि भएन त आनन्द ! चवन्नी मूर्खहरूमा मूर्खता जन्मजात आएको हुन्छ भने वरिष्ठ मूर्खहरू अर्थात् मूर्खाधिराजमा विकशित मूर्खता राजनीति, साहित्य, जागिर र धनसम्पत्तिबाट प्राप्त हुन्छ ।
यद्यपि, मैले निकै अध्ययन गरेपछि बल्ल यो निचोडमा पुगेँ, जिन्दगीमा मान सम्मान पाउनु छ, ठाडो शिर गरेर हिंड्नु छ, मौरीको रानु जस्तै ठूलै समुहबाट घेरिनु छ, चिन्ता मुक्त बन्नु छ र लाज घिन नमानी चर्चित हुनु छ भने, म मात्र किन, सबै मान्छेहरू मूर्ख बन्नु पर्छ तर लक्ष भने मूर्खाधिराज र मूर्खाधिपतिकै लिनुपर्छ । जिन्दगी छोटो छ अतः सानदार जिन्दगी जिउन, जतिसक्दो चाँडो सबैले मूर्ख बन्ने कोशिस गरौं । अन्यथा, मूर्ख बन्न नसके मूर्खको आदेशलाई स्वीकार गरौं । मुर्खको आदेश स्वीकार गर्न नसके आफै मूर्ख बनौं । यो भन्दा बाहेक मान्छेसँग दोस्रो विकल्प छैन।
०००
कालिका चितवन ।
Subscribe
Login
0 Comments
Oldest







































