शिव सस्मितनातिबाजेका कुरा
इमानदारिता र नैतिकताका धरोहर मेरा हजुरबाका मुखबाट यस्ता कुरा सुन्दा म खङ्ग्रङ्ग पर्थे । किन यसो भने होलान् बुढाले भनेर घन्टौँ घोरिन्थेँ तर गुदी फेला पार्न सक्दिनथेँ । हजुरबा सकिएर गए तर पनि उहाँका यस्ता गफ मेरो मानसपटलबाट कहिल्यै सकिएनन् ।

शिव सस्मित :
हजुरबा भन्ने गर्नुहुन्थ्यो- “साँवाभन्दा ब्याजको बढी मया लाउँछ ।” बुझ्नुभएन ? छोराको भन्दा नातिको माया बढ्ता रे । त्यसैले नातिहरूलाई भाग्यमानी मान्नुपर्छ । संसारकै त के भनम् ? अरूको पनि नभनम् । मजस्तो नेपाली नातिलाई भने हजुरबा रहुञ्जेल माया र अर्ती उपदेश खोज्न अर्को गाउँ लतारिन परेन, अर्को देश भौतारिन परेन । त्यतिमात्र हो र ? हजुरबाले बेला बेलामा खल्तीमा चलनचल्तीका दामहरू खुसुक्क हालिदिँदा लुसुक्क फिल्म हल छिर्नेलगायतका कत्रा कत्रा काम पनि बनेकै हुन् ।
हजुरबा वृद्ध हुँदै जाँदा घरमा भएका नाति नै उहाँका वास्तविक साथी हुँदारहेछन् । नाति हरबखत नजिक आइदिए हुन्थ्यो, आफूले ड्ड दिएको नरिवल र मिश्रीका दुकुरा खाइदिए हुन्थ्यो, आफ्ना कुरा सुनिदिए हुन्थ्यो, मनमनै गुनिदिए हुन्थ्यो भन्ने लाग्दो हो सायद हजुरबालाई ।
यसरी आफ्नो नातिसँग बसेर घाँटीबाट कफ निकाल्दै भाँतिभाँतिका गफ गर्ने हजुरबालाई पनि कसले भुल्न सक्थ्यो र ? अझ कतै डुल्न गएका बेलामा होस् या डल्ला फोर्ने मेलामा होस् यै नाति चल्लालाई उहाँको यादले सताइरहन्थ्यो ।
चिलिममा कङ्कट भरेर हातमा नङ्कट खेलाउँदै जस्तै सङ्कटका बेलामा पनि पिँढीको डिलमा बसेर नातिसँग गफ गर्ने त हाम्रा हजुरबाको इलिम नै थियो । हजुरबाले नातिसँग गरेका गफ आफ्नै किसिमका हुन्थे, कति कुराले त मुटुको बीच भागमै गएर छुन्थे । हजुरबाले तमाखु तान्दै गफक गसा हान्दै गर्नुहुन्थ्यो ।
म उहाँको नाति, कति जाती । उहाँ कुरा गर्नुहुन्थ्यो, म हातले आफ्नै चेपु समाएर, कुरैकुरामा रमाएर उहाँको अगाडि बसिरहेको हुन्थे, बीचबीचमा नेतालाई कार्जेकर्ताल, हाकिमलाई कर्मचारीले चिप्लो घसेजस्तै गरी ज्यू हजुर घसिरहेको हुन्थे । बुढाका कुरामा समय र परिस्थितिका चुरा बज्दथे, जमानाका छुरा चल्दथे, एकैचोटि पानी र आगो बल्दथे। मैले टाउको हल्लाएर एक पाउको सही थाप्दा मेरो बाउको केही जाने थिएन, हो म त्यसै गर्थे ।
हजुरबा भन्नुहुन्थ्यो- “हेर बाबै । यो कुरा तँलाई भन्न त नहुने हो, तर भएको कुरा भन्नैपर्छ । जमाना अर्को छ, हाम्रा पालाको भन्दा चर्को छ । सानालाई ठुलैको थर्को छ, मान्छे न घाटको न घरको छ । अहिले त सोझो औँलाले घिउ आउँदैन । अब घिउ नै नआएपछि र घिउ खान नपाएपछि त जीउ लाग्ने कुरै भएन, अझ कुरैकुराको बीउ रोप्न पनि नसकिने भो । बरु सोझो औँलालाई बङ्ग्याएर, करङ देखिने गरी अरूलाई नङ्ग्याएर भए पनि घिउ त आफ्नै भागमा हाल्नुपर्छ अनि आफ्नै पेट र जहान परिवार पाल्नुपर्छ । कलियुगको बेला न हो यहाँ जाली फटाहाहरूको खेला बढी हुन्छ । यस्तो बेलाँ त आफू आफ्नै लागि मात्र बाँच्न सिक्नुपर्छ, अरूका लागि बाँच्नु त कुकुरको पुच्छर जस्तै कहिल्यै नसोझिने गरी आफ्नै ढाड भाँच्नु हो, नआउने काललाई साँच्नु हो । जो होचो उसैका मुखाँ घोचो भन्ने उखान त सुनेकै होलास् । त्यही भएर बाँसको टुसोजस्तै लुसो भएर चोसो पसारेर बस्नुभन्दा बरु थुतुनाभरि मोसो दलेर भए पनि नक्कली रूप बनाएर, सक्कलीलाई लुकाएर काम गरेपछि नाम, दाम र माम सबै पाइन्छ बाबै । हेर नाति ! आफ्नो फाइदाका लागि सधैँ काइदाको उपाय मात्र लगाउनुपर्छ । जस्तै मूल्य चुकाउनु परे पनि सत्यतालाई लुकाउनु परे पनि पछि नपरे हुन्छ, कसैलाई दया नगरे हुन्छ । बाहिर सबैलाई हँसाउनुपर्छ त भित्रभित्र सोझासाझालाई फसाउनुपर्छ । यसो नगरीकन यो स्वार्थी दुनियाँमा बाँच्न गाह्रो छ, सबैको यही व्यथा साहो छ ।”
इमानदारिता र नैतिकताका धरोहर मेरा हजुरबाका मुखबाट यस्ता कुरा सुन्दा म खङ्ग्रङ्ग पर्थे । किन यसो भने होलान् बुढाले भनेर घन्टौँ घोरिन्थेँ तर गुदी फेला पार्न सक्दिनथेँ । हजुरबा सकिएर गए तर पनि उहाँका यस्ता गफ मेरो मानसपटलबाट कहिल्यै सकिएनन् । आखिर हजुरबाले नाति केटालाई छट्टु बनाउन जति गफ छाँटे पनि, गाँठी कुरा ढाँटे पनि, गफैगफका जति डोरी बाटे पनि आफ्नै कट्टु फुस्केको थाहा नपाउने नाति कहिल्यै सुध्रिएन, बरू ऊ त बाह्र वर्षे पुरानो चोलीझैँ उध्रिएको उधियै छ, अरूका लागि बाँच्दाबाँच्दै ।
०००
कुरैकुराको खेती (२०८०)
Subscribe
Login
0 Comments
Oldest










































