सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

‘छठ पर्वको आदिभूमि’मा छठमय समाज

समूहमा मनाउने, एकले अर्कालाई सहयोग गर्ने, पूर्ण शाकाहारी तथा अहिंसात्मक पर्व छठले नदी तथा जलाशयलाई सफा पार्नुपर्ने र सजाइनुपर्ने सन्देश दिन्छ ।

Nepal Telecom ad

सञ्जय साह मित्र :

 

“समनपुरमा उत्पत्ति भएर विश्वभर विस्तार भइसकेको छठ पबनीको आदिभूमि समनपुर छठघाटमा सम्पूर्ण व्रतालु, श्रद्धालु र आगन्तुकलाई स्वागत गर्दै सबैको मनकामना पूरा होओस् भन्ने शुभकामना व्यक्त गर्दछौँ ।” रौतहटको गढीमाई नगरपालिका २ समनपुरमा अवस्थित बागमती नदी किनारको छठघाटमा निर्माण गरिएको जागरण मञ्चमा झुन्ड्याइएको ब्यानरमा बज्जिका भाषामा यही लेखिएको छ ।

पहिलोचोटि छठको सुरुआत यहीबाट भएको हो भन्ने मान्यता रहेको छ । यहीबाट छठको सुरुआत भएर कालान्तरमा विश्वभर विस्तार भएको छठको रौनक देश र विदेशमा पनि उत्तिकै रहेको छ ।

छठ कुनै शास्त्रीय पर्व होइन । कुनै पनि वेद, पुराण तथा धार्मिक ग्रन्थमा छठ व्रतबारे स्पष्ट रुपमा केही पनि लेखिएको छैन । यसैले यो लोकपर्व हो भन्ने मान्यता पनि स्थापित छ । लोकपर्व छठको उत्पत्ति वा चलन कसरी भयो ? यस विषयमा पनि किंवदन्ती रहेको छ ।

भनिन्छ, महाभारतकालमा बाह्र वर्षको वनबास र एक वर्षको अज्ञातबासको शर्तसहित द्रोपदीसहित पाण्डव देशनिकाला भएका थिए । यस क्रममा धेरै समय वर्तमान नेपालको विभिन्न भागमा बिताएका थिए । महाभारत पर्वत र हेटौँडाको जंगल क्षेत्रका साथै चुरेभन्दा तलको मैदानी भागमा पनि पाण्डवहरुले विचरण गरेका थिए ।
हेटौँडाको नामकरण पनि पाण्डवमध्ये भीमसेनकी पत्नी हिडिम्बिकाबाट भएको हो । हिडिम्बिकाको अर्को नाम हेडम्बा हो । भीमसेन र हेडम्बाको विवाहपश्चात् जन्मेको छोरो घटोत्कच हो । हिडिम्बिकाको मूल बसोबास क्षेत्र नै कालान्तरमा हेटौँडा कहलिन गएको हो ।

बाह्र वर्षको वनबास सकिन लाग्दा अज्ञातबासको सफलताको चिन्ता हुन थालेको थियो पाण्डवलाई । वन गमन गर्दै पाण्डव परिवार वर्तमान रौतहटको समनपुर पुग्छन् । द्रौपदीलाई झन् बढी चिन्ता हुन्छ । एक दिन कुनै बूढीआमाले छठव्रत गर्ने सल्लाह दिन्छिन् । बागमती किनारमा छठीमाईको निष्ठापूर्वक कठिन उपासना गरेर अज्ञातबास सुरु गरे पूणर्तया सफल हुने उपाय बताइन् । ती उपाय बताउने बूढीआमा छठीमाई नै थिइन् । द्रोपदीले छठ व्रत गरिन् । त्यसपछि धेरैको सपनामा छठव्रत गर्ने बारेमा उपायहरु आउन थाले र छठ पबनीको सुरुआत हुन पुग्यो ।

पहिलोचोटि छठव्रत गरिएको बागमतीको किनारको त्यो ठाउँ समनपुर हो । समनपुर ऐतिहासिक दृष्टिले पनि महत्वपूणर् रहेको छ । यस ठाउँमा एउटा महादेव मन्दिर छ जसको सम्बन्ध महाभारतकालसित रहेको मान्यता छ ।
बजारमा रहेको महादेव मन्दिरमा रहेको शिवलिंगमाथि जति धेरै जलार्पण गरे पनि धरतीभित्र जाने गरेको छ । भनिन्छ, शिवलिंग मानिएको ढुंगोले एउटा सुरुङलाई छोपेको छ । त्यसैले जति पानी हाले पनि जमिनभित्रै जान्छ । जब द्रोपदी छठव्रत गर्दै थिइन् तब पाण्डवले गोप्य रुपमा सुरुङको निर्माण गरिरहेका थिए । कौरवको नजरबाट जोगिँदै पाण्डवले सुरुङको निर्माण पूरा गरे । छठ पर्वको समापन भएपछि उपयुक्त अवसर देखेर पाण्डवहरु द्रोपदीसहित सुरुङमा प्रवेश गरे । आफू भित्र पूदै सुरुङको मुखमा एउटा ठुलो ढुंगा भीमसेनले राखिदिए । त्यही ढुंगाको पूजा आजसम्म भीमेश्वर महादेवको नामबाट भइरहेको छ ।

कुनै समय समनपुर निकै ठुलो व्यापारिक केन्द्र वा व्यापारीहरुको आवतजावतको केन्द्र थियो । कान्तिपुर र पाटलीपुत्र (पटना) बिच हुने आवतजावतको मूल मार्ग बागमती किनार रहेको तथा बागमतीको किनार हुँदै गंगासम्म र गंगाबाट बंगालदेखि पश्चिमसम्मको आवागमन भइरहन्थ्यो । कहिलेकाही कान्तिपुरसम्म आएका चिनियाँ व्यापारी, पर्यटक तथा तीर्थयात्रीहरु भारतसम्म जानको लागि यही मार्गको उपयोग गर्दथे । सन् १८१४-१६ को नेपाल-अंग्रेज युद्धको क्रममा समनपुरका स्थानीयबासीले अंग्रेजहरुलाई बिना हतियार लखेट्दै पटना (वैशाली जिल्लाको सदरमुकाम हाजीपुरस्थित नारायणी नदीको कोनहाराघाट) सम्म पुर्‍याएको इतिहास छ । नेपाली सेनाले समनपुरमा शिलालेखसहितको युद्धस्मारक पनि निर्माण गरेको छ ।

यसरी युगौँयुगदेखि यस क्षेत्रबाट मानिसहरुको आवागमन भइरहेको सन्दर्भमा छठ व्रतको विस्तार हुन पुगेको विश्वास रहेको छ । छठ पवनीको विस्तार भाषा र संस्कृति मिलेको ठाउँमा पहिले बागमतीको किनार हुँदै गंगासम्म र गंगाको किनार हुँदै पश्चिम तथा पूर्वको भूगोलमा फैलिँदै विश्व विस्तार हुन पुगेको विश्वास रहेको छ ।

छठ पबनी अहिले सबैको साझा भइसकेको छ । पछिल्लो दुई दशकमा छठ पबनीको विस्तार अत्यन्त तीव्र गतिमा भएको छ । पहिले मधेशी हिन्दु समुदायको मात्र मान्ने गरिएको छठ पबनीमा अन्य धर्मावलम्बी तथा समुदायले पनि उस्तै आस्था र निष्ठासाथ मनाउन तथा मान्न थालेका छन् ।

छठ पबनीको पहिलो दिन सराप्ने अर्थात् गोधन कुट्ने काम हुन्छ जुन गोवर्धनपूजाको साथ गरिन्छ । यस दिन व्रतालुहरुले व्रतको संकल्प लिन्छन् । एक दिन खाली हुन्छ जसलाई आँतरजाएके भनिन्छ । अर्को दिन नहाखाएके हुन्छ । त्यसपछि पञ्चमीको दिन मूल पर्व खरना हो । खरना नगर्नेले घाटमा अर्घ दिने गरी व्रत बस्न पाउँदैनन् तर विशेष कारणवश खरनामात्र गरे पनि छठव्रत भंग हुँदैन । खरनाको रातमा छठीमाईको पूजा हुन्छ । षष्ठीको दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ र राती फेरि छठीमाईको पूजा हुन्छ । कोसियामा छठीमाईको पूजा हुन्छ । घाटमा श्रीसप्ताको पूजा हुन्छ वेदीमा । यसै गरी सप्तमीको बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि व्रतको समापन हुन्छ ।

व्रतको समापनसँगै व्रतालुहरुले एकापसमा शुभकामना आदानप्रदान गर्दछन् । कोसेली साटासाट गर्दछन् । अनि यस दिन आफ्ना दिदी बहिनी कहाँ छठको कोसेली लैजाने चलन रहेको छ ।

समूहमा मनाउने, एकले अर्कालाई सहयोग गर्ने, पूर्ण शाकाहारी तथा अहिंसात्मक पर्व छठले नदी तथा जलाशयलाई सफा पार्नुपर्ने र सजाइनुपर्ने सन्देश दिन्छ । यस पर्वमा स्थानीय कृषि उपजको अत्यधिक प्रयोग हुने भएकोले यो कृषकहरुको नै पर्व हो भन्ने पनि संकेत गर्दछ । यसरी यस पर्वले समाजको सबै वर्ग तथा पेसा र व्यवसायलाई जोड्ने काम गर्दछ । यो लोकपर्व भएकोले यसमा कुनै पण्डित पुरोहितको आवश्यकता पर्दैन र कुनै वेद वा मन्त्रको पनि आवश्यकता पर्दैन ।

०००
रौतहट

Fitkauli Publication Books comming soon
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
असल संस्कृति

असल संस्कृति

सञ्जय साह मित्र
सापटी श्रीमती

सापटी श्रीमती

सञ्जय साह मित्र
मच्छर दिवस

मच्छर दिवस

सञ्जय साह मित्र
नाकार्षण

नाकार्षण

सञ्जय साह मित्र
उब्रेको भाषण

उब्रेको भाषण

सञ्जय साह मित्र
उत्तरआधुनिक दशैँं

उत्तरआधुनिक दशैँं

रामप्रसाद पन्थी
ङिच्चपुराण

ङिच्चपुराण

रमेश समर्थन
खुकुरीः अहिंसा र टोपी

खुकुरीः अहिंसा र टोपी

गाेपेन्द्रप्रसाद रिजाल
मान्छे महान्

मान्छे महान्

रेहित सैजु
0
Would love your thoughts, please comment.x
()
x