साइबर अपराध सम्बन्धी सचेतना सामग्री

संस्था कथा – पुरस्कार व्यथा

आखिर ब्रह्माण्डका यावत् कुरा बसेर पसेर त साहित्य असल साहित्य बन्छ ! हैन त ? साहित्य समयसापेक्ष हुनु पर्दैन ? प्रभाव त पर्छ पर्छ । लिकेज पाइपको पानी पचाउने नेपाली साहित्यकारहरूले विश्वसमिपीकरणको एजेन्सी कमिशन, प्रतिनिधित्व चन्दा झन्डा ठण्डा सबै पचाउन सक्नुपर्दछ ।

Nepal Telecom ad

युवराज मैनाली :

आन्दोलनको बेलामा दोलन निकै हल्लियो भनेर पीर मान्नु हुन्न, डर मान्नु पर्दैन । जब समय नै आन्दोलनको छ भने विचलनले केही लछार्दैन । विचलनवालालाई हुत्याएर आन्दोलन बढ्याबढ्यै हुन्छ । मय र भय छोडेर अरू सय भए आफू सवा सय बन्ने खुबीले नै टुप्पी ठडिन्छ । वर्षात्को बेला सडक गल्लीमा पानी घुँडासम्म पनि नडुब्दैमा जग जलमय भयो जलाम्य भयो भनेर चिच्याउँदा कोही पत्याउँदा पनि पत्याउन्न । जब बाढी आउँछ, पानी मौलिन्छ भएभरको छेउछाउको सोहोरेर बगेको हुन्छ, यस्तोमा गुनासा पीर पोखेर समय खेर फाल्नु बुद्धिमानको लागि सुहाउँदो कुरा त हुँदै होइन ।

आन्दोलनको रेल जब चल्छ यात्रुको भेल त्यसै त्यसै उर्लिन्छ । भेल भनेकै मिसावट हो, भेलमा सङ्लोको कुरा सपनामा सिद्ध हुँदो हो । यथार्थमा भरमैलो बाक्लोबाक्लो मिसिएर नै भेलको अस्तित्व र पहिचान बन्दछ । भेलको अर्को विशेषता हो शान्त भएर यो उलिंदैन, हल्लाखल्ला गरेर यताउता च्यापेर, फोडेर, निलेर बिगारेर, भत्काएर हल्ली हल्ली यो उर्लिन्छ । यस स्वरूपमा नियाल्दा सक्कलबमोजिम नक्कल ठीक दुरुस्त छ भन्ने कुरा यसले मान्दै मान्दैन । यसको अक्कल नै असन्तोषी बनेर आफ्नो वरिपरिका पुराना मैलो सोहोरेर आफ्नो दुर्वलतामा कतै उतै छाड्ने बानी यसको भइरहेको हुन्छ ।

यस उसले दाँजोमा दाँज्दा, स्याहारमा स्याहार्दा, खास खास मान्छेहरूले जनै फेर्दाको हेक्का हुन्छ। जनैपूणर्िमाका दिन तागाधारीले जनै नफेरी बस्न पनि सक्दैनन् । पुरानो फाल्ने नयाँ लाउने पर्व हामीसँग यही यौटा मात्र होइन, लुतो फाल्नेदेखि नयाँ लुगा लगाउने, जतिसुकै नहुनेले पनि मीठो-मीठो खाने सम्मको बडादशैँ आदि बढेचढेको छँदै छ । यी ती पर्व तिथि- मितिहरूले अरूलाई भन्दा हामीलाई बढी सुसंस्कृत र पठित भनेर चिनाएकै छ । बेला/ मौसमको कुराले हामीलाई संस्कारितै तुल्याएको छ भन्दिइहालूँ । अरू लम्बे चौडे कुरा नै किन ?

सर्जक त झन् सतर्क र बेजोड चलायमान जीव हुन् – परिवर्तनका त सम्वाहकै । यस्ताका कदमबारे के भनूँ ? सडकपेटीको बाटोमा बसेर तातो झुरिलो बदामलाई छोडाउने मात्र हैन आफ्नै खप्परसमेत तताइरहनुको प्रयोजन बुझिनसक्नु नै छ । भुटेको बदाम हो, मीठो हुन्छ, सबैले जानेकै छ- बदाम खान बोक्रा छोडाउने चलन भर्खर चलेको हुँदै होइन । यसैले यो पनि सबैलाई थाहा छ, बदाम खाँदा पहिले बोक्रा उछिट्याउनुपर्छ । कोही बाहिरी पत्रमात्र उछिट्याएर खान रुचाउँछन् त कोही त्यसभित्रको रातो फिरफिरे माडेर फुक्दै उडाउँदै नाङ्गो सेताम्य पारेर चपाउन रुचाउँछन् । यी दुवै फरक रुचिले बदामको स्वादमा भिन्नता ल्याउन्न । हो, बदाम खुवाइबाट चउर, पार्क, सडकपेटीचँ फोहोर हुन्छ, आफ्नै लुगा पनि टक्टक्याउनुपर्छ ।

कुराको चुरा अन्तै मोडियो। अहिलेलाई बाँकी बदामलाई गोजीमा थन्क्याउनुभन्दा पहिले यो पनि भन्दिइहालेँ धेरै खायो भने बदाम पनि ’लाग्छ’ । काँचो बदामले रिङ्ग्याएर फनफनी खन्चुवालाई घुमाउँदछ। यी सब जान्दाजान्दै पनि मलाई अहिले रिङ्ग्यायो रिङ्ग्यायोजस्तो लागिरहेछ । साहित्यकै बारेमा फतफताउन पुगेको छ ।

आन्दोलनको रेला अर्थात् ख्यालठट्टामा साहित्यिक प्रतिष्ठानहरू ओइरिन बकैनाको रुखमा गुलाफ फुल्नु होइन । मात्र दुई भाइ साहित्यको हल्ला चल्नु र हल्लैहल्लामा मदन पुरस्कार गुठी र प्रज्ञाप्रतिष्ठानको आसमा झुण्डिएका आँखा कसरत गर्न नपाई कति ट्वाँ परेर रहिरहनु । बाटोमा फालेको टालोको पनि दिन आउँछ भने साहित्यजीवी साहित्यप्रेमीहरूको दिन मात्र नआउन् त ? हो, आउनुपर्थ्यो आयो । कसैलाई लछार्याे, कसैलाई पछार्यो, यहाँचाहिँ खाली नेता, नेताको पछाडि चम्चा, चम्चापछाडि अनगिन्ती चाचाहरू चाहिने जो बाह्र वर्ष भयो शिशु प्रजातन्त्र हुर्केर प्रजातन्त्र भने चाको बा छ, याने कि नेवारी शब्दमा बागचा अनि सिकुटे तर प्रजातन्त्रका सुसारेचाहिँ मोटाघाटा चिल्ला ।

परिवर्तनका सारा मल खन्याई यै पाटोमा मात्र ओइरिएछ कि क्या हो ? व्यापारीको व्यापार, उद्योगीको उद्योग, कर्मचारीको जीवन सब भरभराउँदा छन् भने यही पाटो जो नै जोगी आए पनि उस्ताको उस्तै । अरू पाटो भने हर्लक्क सर्लक्क, बुर्लुक्क, साहित्यक्षेत्र त लत्रक्क, फुरुक्क, तुरुक्क झन् थचक्क यस्तो अवस्थामा कोही कम्मर कसेर सेवा गर्छु भनेर अगाडि आएको छ भने डाहा किन ? छलप्रपञ्च किन ?? खुट्टा तान्ने किन ??? उनीहरू मिलेर पुरस्कार घोषणा गर्दिए । विचराहरू त्यो पुरस्कारको राशी जुटाउन खुट्टाको जुत्ताको तलुवा कति खियाए, असिना पसिनाले भिजेर बीस चालीस ठाउँमा हात फैलाएर दश-बीस हजार लाख दुई लाख जुटाई भाग छुट्याई साहित्यिकमा ससम्मान बाँड्छन् त रडाको पो चल्छ बा । निष्पक्ष भएन, मूल्याङ्कन भएन, आ-आफ्नो मान्छेलाई पारे आदि-इत्यादि ।

ए बाबा ! त्यो पुरस्कार लेख्दै नलेख्यालाई बाँड्या छैन क्यारे । क्याविन रेष्टुरेन्टमा भन्या छैन क्यारे । आखिर कसको हातमा पर्‍यो तपाईं नै भन्नोस् । आखिर साहित्यकारको हातमा त पर्‍यो । एउटा साहित्यकारको सम्मानमा अर्कोलाई पिरलो किन ? वर्गविभेद नीति किन ? राजनीति काङ्ग्रेस, कम्युनिष्टको घरचर्काइ किन ? साँच्चै यसको प्रभाव त होइन ? नत्र एउटा वर्ग जो बुद्धि खियाएर कोरा कागजमा अक्षर भरेर त्यस्ता नेता अभिनेता तयार पार्ने क्रान्ति परिवर्तनका लागि जनतालाई जुरुक्क उचाल्ने अगुवा यी नेताहरूको ङ्यारङ्यारको पछुवा किन हुन खोजेको हो ? कुन्नि केरे साहित्यमा माफिया घुस्यो भन्छन् के के पस्यो भन्छन् ।

आखिर ब्रह्माण्डका यावत् कुरा बसेर पसेर त साहित्य असल साहित्य बन्छ ! हैन त ? साहित्य समयसापेक्ष हुनु पर्दैन ? प्रभाव त पर्छ पर्छ । लिकेज पाइपको पानी पचाउने नेपाली साहित्यकारहरूले विश्वसमिपीकरणको एजेन्सी कमिशन, प्रतिनिधित्व चन्दा झन्डा ठण्डा सबै पचाउन सक्नुपर्दछ । शेक्सपियरको प्रभाव पर्न हुन्छ, गोर्की चेखव आदिको प्रभाव पर्न हुन्छ त अरू अरू मात्र घाँस खाने हैनन् क्यारे । त्यसको पनि प्रवेश र प्रभाव पर्न हुन्छ । होइन भन्नुहुन्छ भने कमिशन खाने, घुस खाने नेताको हातबाट आफ्नो पवित्र कृतिको विमोचन गराएर बलियो प्रचारप्रसार खान पनि मिल्दैन । प्रतिष्ठित कविले पुरस्कार भ्याएको देखेर बढी नै भयो भन्ने र साहित्यकारलाई पाखुरा सुर्केर उसको अनुपस्थितिमा ललकार्ने अर्को साहित्यकार पनि माफियाभन्दा कम भन्न सकिन्न ।

सात सालपछि नेपालमा कति पुस्तकालयहरू खुले ? जनस्तरबाट आज वाचनालयसम्म पनि भेट्टाउन हम्मे छ । राजधानीमै फुटपाथलाई घेरेर पखेटा फिँजाएर अखबार पढ्ने पत्रपत्रिकामा थुचुक्क बसेर नुहाउने खुल्ला म्युजियमका हामी पात्र, पाँच सय पुस्तक विकाउन वर्षों धैर्यधारण गर्ने वाध्यताका पात्र, वर्गीय एकीकरणको निम्ति सहिष्णुताको साटो च्याताच्यात गर्छौँ त अरूले थपडी बजाउनेबाहेक अरू के गर्छन्, एकै जनालाई पुरस्कार दिइरहने होइन क्यारे पालो आउँछ, आफ्नो पनि भनेर धैर्य गर्नु पो पर्छ हैन र ?

परार साल राष्ट्रिय प्रतिभा पुरस्कार पाउने त पन्छिए भने एक रुपैयाँ पुरस्कार लिएर दङ्ग पर्ने पनि देखिए । हुने जो हुँदै गर्छ मेटिने मेटिएर जान्छ, अडिने अडिएरै रहन्छ । अड्डी लिनेले गद्दी लिएर पनि ठुस्स परेकै देखिएको छ । यसैले त म भन्छु हेर्दै जाऊँ संसार चाल्नो हो । चाली चाली छान्ने काम धान्ने पो हिम्मत चाहिन्छ । संस्था बढोस् फलोस्, फुलोस् सम्मान पुरस्कार जोसुकैले पाओस्, दिनेको पनि जय होस्, लिनेको पनि जय होस् ।

०००
भ्रष्टाचारको भाङ (२०६५)

इलस्ट्रेसन : नागरिक न्युज

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहासन र अनुहार

सिंहासन र अनुहार

युवराज मैनाली
गर्जन

गर्जन

युवराज मैनाली
पतन

पतन

युवराज मैनाली
चक्रवर्ती सम्राट

चक्रवर्ती सम्राट

युवराज मैनाली
ब्वाँसोको राज्य

ब्वाँसोको राज्य

युवराज मैनाली
अनन्त शून्य

अनन्त शून्य

डा. टीकाराम पोखरेल
न–याँ

न–याँ

ईरानराई
अपाङ्ग-दिवस

अपाङ्ग-दिवस

केशवराज आमोदी
पूजापाठ

पूजापाठ

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x