शेषराज भट्टराईमेरी सल्लाहकार स्वास्नी
हाम्रो पत्र विचार अबदेखि पत्रु विचार भयो । यत्रो वय त्यसै खेर गयो । हामी केही समय मौका मिलाएर प्रत्यक्ष संवाद र वार्ताद्वारा निष्कर्षमा पुग्ने प्रयत्न गर्ने छौँ र दुवैको सहमति भएमा विमति नराखी बेहुला बेहुलीको उपाधिले विभूषित हुने छौँ

शेषराज भट्टराई :

बुद्धि विवेकले भुत्ते भएपछि मान्छेले सल्लाहकार राख्नै पर्छ । विवेकका मामलामा म पनि असाध्यै भुत्ते छु । त्यसैले मेरी प्रियसीले पाखुरा सुर्किँदै फुर्किँदै बारम्बार मलाई अर्जाप्ने गर्छिन् र म काम चलाउ भएको छु । कैयौँ पटक मुख मालिसदेखि लिएर उनकै हातले खुराक र सल्यानी पानी खुवाएको दुनियाँले देखेका छन् । मानौँ म हरिलट्ठक, बोधो, भएर नै स्वास्नीले सास्ती व्यहोरी रहेकी छन् । उनी हर्दम दाराकिटेर रिसले बर्बराइ रहेकी हुन्थिन् । यसो गर्नु त्यसो नगर्नु, यहाँ जानु त्यहाँ नजानु, यो गर्नु त्यो नगर्नु, यो खानु त्यो नखानु, यो लगाउनु त्यो नलगाउनु, यसरी सुत्नु त्यसरी नसुत्नु, यसरी चढ्नु त्यसरी नचढ्नु, यसरी उठ्नु त्यसरी नउठ्नु, यसरी बोल्नु त्यसरी नबोल्नु, यसरी हिँड्नु त्यसरी नहिँड्नु, यस्तो हुनु त्यस्तो नहुनु, आदि अनेक पाच्य अपाच्य अर्ती उपदेशले गर्दा मेरो बोधो बुद्धि झन झन बोधो भइरहेको छ । स्वविवेकले चलेपो त्यसको प्राकृतिक रफ्तार थाहा हुन्थ्यो बुद्धि तिखारिन्थ्यो । धकेलेर ठेलेर अर्काको बलले पृथ्वी परिक्रमा गर्न कहाँ सकिन्छ ? वनको काँटो दरो र तिखो कसले बनायो ? उचालेको कुकुरले मृग मार्दैन भनेझैँ भएको छ यो सिंगो सक्कल । न प्रगति आक्कल झुक्कल न छ कसैको नक्कल । सल्लाहकारले बिगारेको सक्कल । नेताहरु यस्तै सल्लाहकारको भर परेर नै हरेक मामलामा उत्तानो टाङ लगाउने गर्छन् ।
प्रियसीसँग जहिलेदेखि वानटुवान देखादेख र मुखामुख भयो तहिलेदेखि नै अर्ती खानामा भर्ती भएझै लाग्यो । उनले सुरुमा मेरो तन मन चोर्ने उद्देश्यले प्रश्न सोधिन् “बिहे गर्ने विचार छ कि छैन ?”
मैले मेरो मनको पोको खोल्दै भने “भर्खर उमेर चढ्दै छ दारी जुँगा बढ्दै छ केको हतार ? एक्काइस पुगेर बाइसमै विवाह गरिहाल्ने ? पुरै पढिसकेर विवाह बन्धनमा दनदन जल्नु पर्छ । त्यसका लागि करिब बयालिस वर्ष भएपछि घरजम गर्नुपर्छ । पढ्ने बेलामा घरजम गरेर मर्ने बेलामा पढ्ने ? यसरी नै सड्ने ? अगाडि नबढ्ने ?
हातले परि लगाउँदै परीले भनिन् “यो जमानामा किताब पढ्ने होइन मान्छेको मन पढेर लभलेटर पढ्नुपर्छ । किताबमा भन्दा लभलेटरमा कैयौँ गुणा ज्ञानगुनका कुरा हुन्छन् । म एउटा लभलेटर लेखेर दिन्छु त्यसको रसास्वादन गरेर त विचार गर्नुहोस् ।”
म लोभी चिम्से सोझो बाहुन फाइदा हुन्छ भनेपछि ल हुन्छ के भनेको थिएँ जाँच अगाडि आइ लभ यु भनेको लम्बेतान लभलेटर आइलाग्यो । म पाठ्यक्रम पढ्न छोडेर अपाठ्यक्रम पढ्न थालेँ । माछाका लोभले कुरमा हात हाले । आखिरी माछो माछो भन्दा भन्दै भ्यागुतो हात लाग्यो । दुःख पाइस मङ्गले आफ्नो ढङ्गले भने झै मेरो दुइटै हातले पुर्पुरो छोडेकै छैन । रसिलो, भरिलो, चोटिलो, पोटिलो, लभलेटरका अगाडि औपचारिक शिक्षा पनि धर्मराउँदो रहेछ । शत्रुका अगाडि घुँडा टेकेर लत्रिँदोरहेछ । लभ लेटरको प्रगति भएर ठूलो ग्रन्थ तयार हुने बेला भइसक्यो तर औपचारिक शिक्षा कछुवा गतिभन्दा अगाडि बढ्न सकेन । कक्षागत पठनपाठन भन्दा लभलेटरकै चाङ टाङ मुनि राखेर पढिराखु जस्तो कस्तो कस्तो हुन थाल्यो । अनि कलेजमा हिरो बन्ने लोभमा आलु, जिरो र पिरो त कति खाइयो कति । फेल भए बापत सरकारलाई कर बुझाउनु पथ्र्यो भने म नै प्रमुख करदाता बन्ने थिएँ । धन्न कर बुझाउनु पर्दैन र टन्न फेल हुन पाइएको छ ।
सल्लाहकारलाई नभेटु भन्यो भेट्न मन लागि हाल्छ । नबोलु भन्यो बोल्न मन लागि हाल्छ । नदेखु भन्यो देख्न मन लागि हाल्छ । त्यही भएर होला वर्तमान नेपालका राष्ट्रपतिले एक्काइस बाइस जना सल्लाहकार राखेका । धेरै सल्लाहकार भएपछि धेरै किसिमको सल्लाह हात लाग्छ । नेपालका ठूला नेताहरुलाई पनि मलाई जस्तै सल्लाहकारको पिछा छोड्नै मन लाग्दैन होला हगि ? जे होस् तन मन धनले समेत एक तमासले सल्लाहकार खोजिरहन्छ । मरि लानु गरि खानु के छ र ? सेतो त सेतो भैहाल्यो कालोलाई सेतो भनिदिने सल्लाहकारको सधैँ सधैँ खाँचो खट्की रहन्छ भन्दै म झन नजिकिएँ । फेरि अर्ती उपदेशको बाढी नै आयो ।
उनको सुरिलो कण्ठले दारा किट्दै सल्लाह दिन थालिन् “मोइ खान आउँछ ?” मैले भने गाइ वस्तु पशुको नोकर नहुनेले पनि दुध मोइ खान त जानि हाल्छ नि ? मेरो कुरालाई उडाउँदै उनले थपिन् “गाई बस्तु पाल्न सिक्नु पर्छ । बेलैमा घरजम गर्नुपर्छ । चालिस बयालिस काटेपछि त नातिनातिना हेर्नुपर्छ । चार धाम गर्नुपर्छ । कानले कुरा टिप्दैन, आँखाले बाटो चिन्दैन । खुट्टाले सिंगो कद बोकेर हिँड्न गारो मान्छ । त्यसैले बेलैमा बुद्धि पुर्याएर बाली नाली बस्तु भाउ पाल्नुपर्छ । मौकामा चौका नहाने पछुताउनु पर्छ । सोझो अर्थमा अहिले सिन्को नभाँचेका बेलामा बिहाबारी गरिहाल्नु पर्छ । पढि गुनी के काम हलो जोते मामै माम ।”
ससुरालीको विश्वास पात्र मेरो भर पर्दो विश्वासिलो सल्लाहकारको विशिष्ट श्रेणीको सल्लाहले मेरो मन्द बन्द अक्कल खुल्यो र घोषणा गरिदिएँ “ल हुन्छ । हाम्रो पत्र विचार अबदेखि पत्रु विचार भयो । यत्रो वय त्यसै खेर गयो । हामी केही समय मौका मिलाएर प्रत्यक्ष संवाद र वार्ताद्वारा निष्कर्षमा पुग्ने प्रयत्न गर्ने छौँ र दुवैको सहमति भएमा विमति नराखी बेहुला बेहुलीको उपाधिले विभूषित हुने छौँ र कालान्तरमा सन्तान दर सन्तानले छपक्क छोपिने छौँ ।”
उनले खुसीले कानको जाली फुट्ने गरी ताली बजाइन् । मैले भोको पेट अन्नपानीसँग कहिले होला भेट भन्दै रित्तो थाली बजाएँ र सल्लाहकार मायालाई दयाले सजाएँ । उनले सल्लाह थप्दै भनिन् दोस्रो विवाह सिंगो सक्कलको लागि हानीकारक हुन्छ भन्ने थाहा छ कि छैन ? मैले सल्लाहकारसँग हार खाएर सिंगो सक्कलसँगै आत्म समर्पण गरेँ ।
०००
फूलबारी-११, पोखरा, कास्की
Subscribe
Login
0 Comments
Oldest







































