डा.कुसुमाकर शर्मा गाैतमभ्यूटावर
घरघरमा चर्पी त छन्, तर गाउँले लालटिन बालेर अझैँ डाँडातिर जङ्गल बस्न जान छाडेका छैनन् । त्यै दूरबिन लाएर जङ्गल पसेको मान्छे चिन्ने, अनि जरिवाना गर्ने ।

डा. कुसुमाकर शर्मा गौतम :

गाउँलाई चुनावले राम्रै गाँजिसकेको थियो । गाउँ भरिकै अग्लो र दुब्लो ‘लिखुरे साहिँलो’ पाँच वर्षको कार्यकाल पछि टावरे साहिँलोमा परिणत भएको थियो । चुनावका लागि गरिएको बैठकमा हाम्रा ठूलाबाले टावरे साहिँलाले सोध्नु भयो, ‘ए साहिँला ! तैँले पाँच वर्ष स्थानीय तह चलाइस् अब फेरि पनि चुनिने हो भने के के गरिस् गाउँका लागि ? ल भन् ।’
टावरे साहिँलो उठ्यो र भन्यो, ‘म स्थानीय प्रतिनिधि भए पछि गाउँमा विकास ल्याएँ । डोजर कुदाएर बाटाघाटा बनाएँ । मेरै पालामा शौचालय बनाउने अभियान चल्यो । त्यसपछि गाउँलाई नै ‘खुल्ला दिसा मुक्त गाउँ’ भनी घोषणा गर्न लगाएँ । पर्यटकलाई देखाउन गाउँको डाँडामा भ्यूटावर बनाएँ । गाउँमा समृद्धि नै ल्याई दिएँ ।’
ठूलाबाले गाउँलेतिर हेर्दै भन्नुभयो, ‘हो स्थानीय प्रतिनिधि भएको साहिँलालाई फापेको छ । त्यो भ्यूटावर हेर्न त कोही पर्यटक आएनन् । तर अबको पालीमा एउटा दूरबिन किनेर भ्यूटावरमा जोड्दे साहिँला । घरघरमा चर्पी त छन्, तर गाउँले लालटिन बालेर अझैँ डाँडातिर जङ्गल बस्न जान छाडेका छैनन् । त्यै दूरबिन लाएर जङ्गल पसेको मान्छे चिन्ने, अनि जरिवाना गर्ने । त्यसबाट स्थानिय तहलाई पनि आम्दानी हुन्छ । कि कसो ?’
उपस्थित सबैले ताली बजाए ।
०००
रुकुमकोट, रुकुम पूर्व, हाल- एडमन्टन, क्यानाडा
Subscribe
Login
0 Comments
Oldest







































