साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्यागुताको धार्नी !

साह्राे गाह्रोमा भ्यागुताको पूजा गर्ने, भोक लागेपछि भुजा गर्ने जस्ता मनुख्खेको बानीप्रति फतुरे काकाको पनि दुःखेसो छ । मनुख्खेलाई पानी नपरे, पैसा कमाउनु परे, औषधी चाहिए यिनै भ्यागुता चाहिन्छ ।

Nepal Telecom ad

ह्यारी ८० :

माछो माछो भ्यागुतो ! जुन तन्त्र आए पनि भ्यागुतालाई पनि माछो माछो भ्यागुतो भएको देखिन्छ । भनिन्छ, भ्यागुताको धार्नी कहिल्यै पुग्दैन । भ्यागुतो जसले कहिल्यै केही भनेको छैन, उसलाई धार्नी नै किन पुर्‍याउनुपर्‍या छ र ? होइन उखान पनि त्यही भ्यागुताको किन बनाएका होलान् लोकका लोकलले ? मानहानी भएन र भन्या ? बडेमाका भुँडी पल्टाउने साँढेहरूले भन्न पाएँ भन्दैमा अरूको भुँडीको किन ईर्ष्या गर्नु ? पानीमा बसोस् कि जमिनमा, आकाशमा उडोस् कि पातालमा भासियोस्, धार्नी पुगोस् कि बिसौली, पाउ होस् कि छटाक उसको ज्यानको चर्चा अरूले किन गर्नु ? कुन्नि कल्ले हो कतातिर सत्ता नपाउँदा भत्ता, लत्तादेखि वरपरका जत्थासम्म सबै गुमाएपछि कुरा कटाइ, धुलो चटाइ भएर अन्त्यमा केही नपाएर भ्यागुताको ट्वारट्वारको चर्चा गरेथ्यो रे !

कुनै बेला भ्यागुताहरूले बोल्न पनि पाउँदैनथे रे । पानी चाहिए पनि सानी चाहिए पनि खाना चाहिए पनि छाना चाहिए पनि बोल्यो कि पाखामा पाहा पछारेझैँ पछार्थे रे । कति पाहा पछारे मनुख्खेले त्यसको लेखाजोखा नै छैन । हुन पनि हो त्यसबखत भ्यागुतामाथि राज गरिरहेका मनुख्खे भनाउँदाहरूको बिगबिगी नै थियो । आफूलाई उच्च कोटिका अत्यन्त सभ्य ठान्ने यी मनुख्खेले भ्यागुतामाथि राज गरीगरी सेन्च्युरी नै कटाए । भगवानकै दर्जामा राखेर यिनले दरबारिया जहानियाँ राज चलाइरहे । तर पनि भ्यागुताको कहिल्यै धार्नी पुगेन । भ्यागुताको आहारा यिनले लुटिरहे । कहिले पञ्चभलाद्मीले कहिले यो दले र कहिले त्यो दले भन्दै भ्यागुताका सन्तान दरसन्तानका आहारा झ्वाम पारिरहे सेटिङमा खान पल्केका मनुख्खेहरूले ।

मुखमामण्डलमा विनयशीलता तर कर्ममा संहारका भव्य आभा जगाएर द्वारपाल राखी सुरक्षाका घेराभित्र स्वघोषित देवत्व प्राप्त ग्रहणतन्त्रवादीले समेत भ्यागुतालाई पोषणका नाममा शोषण गरिरहे र त आज पनि त्यो सतीश्रापित पावनभूमिमा यिनले कहिल्यै शान्तसँग आफूले कमाएको आहारासमेत ढुक्कले खाने अवसर पाएनन् ।

भ्यागुताको धार्नी पुगेको कुनै लोकले देख्न पाएको होला त ? यिनका भुँडी यति टङ्चियो कि यिनले कहिल्यै पनि पनि डकार्न पाएनन् । अरूलाई हकारेर आफू डकारेर बस्न पल्केका यी मनुख्खेहरूले ढुङ्गे युगमा ढुङ्गे राज, जङ्गली युगदेखि आजसम्म जङ्गली राज गरिरहे । कुनै बेला पनि कुवाका यी भ्यागुताको कहिल्यै दिन आएन । हजारौँहजार भ्यागुताले बिनाकसुर ज्यान गुमाउनुपर्‍यो । राष्ट्रिय अन्तर्राष्ट्रिय सम्मेलन भए, गोष्ठी भए, भेला र मेला के भएनन् सब भए । बलिवेदीमा चढेका भ्यागुताप्रति श्रद्धाञ्जलि अर्पणसम्म कसैले गरेनन्, न त घाइते भ्यागुतालाई कहिल्यै मलम लगाइयो । युगौँदखि मनुख्खेले कुवाको पानी घटघट पिइरह्योे तर भ्यागुताको कहिल्यै जय सोचिएन धम्काएर तर्साइरह्यो, सताइरह्यो । अनि भ्यागुताको धार्नी कसरी पुगोस् त ?

हिजो भ्यागुता जहाँ थिए आज तिनको स्थिति अझै खस्केको छ र भोलि झन् नाजुक हुँदै जाने अवश्यम्भावी छ । कान्लामुनिको भ्यागुतो कान्लामुनिको कान्लामुनि नै हुँदो रहेछ । यी भ्यागुताहरू यतिसम्म निरीह छन् कि कुवाबाट बाहिर निस्केर आहारा खोज्न जान खोजे भने मनुख्खेकै निसाना बन्छन् । सभ्य मनुख्खेहरू यिनकै नाम भजेर कुवा हालिमुहाली गरिरहेछन् । मनुख्खेकै कारण कठै बनेका भ्यागुताहरूले अहिले पनि संसार देख्न होस् वा अघि बढ्न, खाडीमा सड्न होस् कुवाबाट निस्कन, सङ्घर्ष गर्न तम्तयार हुन्छन् तर दिए पो । यिनले ट्वारट्वार नगरे मानिसले त के देवताले समेत पानी पिउन नपाउने अवस्था बोध हुँदाहुँदै पनि अर्काको आशीवर्चनले राज गरिरहेका मनुख्खेले भ्यागुताको दर्द बुझेनन् र बुझ्न खोजेजस्तो गरेर बुझ पचाइरहे । यसैले त आजसम्म पनि भ्यागुताको कहिल्यै धार्नी पुगेको छैन ।

कतिपय विकसित मुलुकले त भ्यागुतालाई पिँधेर, भुटेर, कुटेर, साँधेर यिनकै सुकुटी बनाई खाइरहेका छन् । भ्यागुतालाई पाखामा पछार्नु र लछार्नु यहाँ नियति भइसकेको छ । परिवारवादमा आफू लिप्त भएकाहरू आफूविरुद्ध अलिकति मात्र बाधा देखेमा भावविह्वल बनेर पापको प्रायश्चित्त गरेको नौटङ्की रच्दछन् । घुस खाई खाई मनुख्खेले मिलोमतोमा उन्मत्त बलले भ्यागुतामाथि न्यायका नाममा अन्याय गरिरहेका छन् । कुनै भ्यागुताको हृष्टुपुष्ट शरीर देख्ता मनुख्खेहरू मुर्मुरिन्छन् अनि चेलीबेटी बेपार गर्ने दले मनुख्खे भ्यागुतालाई पनि शरणार्थी बनाउँछन् । थाहा पाएदेखि आजसम्म भ्यागुताको अवस्था झन् गएगुज्रेको देखिन्छ । कन्दमूल, भ्याकुर, जरा खाएर अनि बोक्रा वा पात लगाएर बसेको मनुख्खे विस्तारै चप्पल पडकाउँदै आज रातो कार्पेटमा हिँड्ने भए । गाली गरेर होस् वा ताली पिटेर होस् यिनले भ्यागुताका बच्चा चेपागाँडालाई पनि आफ्नो मुठीमा यिनले पारिसकेका छन् । बिस्तारै केही चेपागाँडा त बग्दै समुद्रपार पुग्दै छन् । वरपरका सर्पले भ्यागुता निल्दा पनि अरू भ्यागुता चुप लागेर बस्नुपर्ने, मनुख्खेले साँपको प्रवेशलाई देखेर पनि नदेखी बसिदिनु कुवाभित्रको भ्यागुताका वर्तमानको पीडा हो ।

भ्यागुतालाई पूजा गर्ने भोज खुवाउने पर्व मनाइएको पनि छ । दोष निवारण गर्न र पापमोचन गर्न यिनको पूजा हुने गरेकै । घण्टाकर्ण जस्तो राक्षसलाई मार्ने बहादुर भ्यागुतोको किन धार्नी पुगेन भनेर खिसी पनि गर्छन् । साह्राे गाह्रोमा भ्यागुताको पूजा गर्ने, भोक लागेपछि भुजा गर्ने जस्ता मनुख्खेको बानीप्रति फतुरे काकाको पनि दुःखेसो छ । मनुख्खेलाई पानी नपरे, पैसा कमाउनु परे, औषधी चाहिए यिनै भ्यागुता चाहिन्छ । भ्यागुताको बिहे गरिदिएर इन्द्रदेव खुसी पारी पानी पार्ने तर मनुख्खेले यी भ्यागुताको धार्नी पुगेको कहिल्यै देख्न नचाहेको किन हो ? भ्यागुताको धार्नी पुगेका दिन कुवामा कुनै पनि भ्यागुताले भोकै मर्न पर्दैनथ्यो । जहिले मनुख्खेको चपरीमुनिको बास हुन्छ, तहिले देशभरिका भ्यागुताले स्वतन्त्र रूपमा धार्नी पुग्ने गरी मोटाउन पाउने छन् । साँच्चै अनि पो कुवाको मुहार फेरिने छ । भ्यागुताले मन लागेका ठाउँमा उफ्रन, चाहेका कुवामा जान, खान र बाँच्न पाउने छन् । सबका सब भ्यागुताको धार्नी पुग्ने छ । त्यस बेला सारा भ्यागुता ट्वारट्वार गर्ने छन् : भ्यागुतेतन्त्र जिन्दावाद !!

०००
गोकर्णेश्वर ५, काठमाडौँ
२०८० पौष २१ गते शनिबार

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
0
Would love your thoughts, please comment.x
()
x