डा. गोविन्दराज भट्टराईनीलडाम कम्पनीमा एक रात
उसले भन्यो- तपाईंहरू घाम झुल्किनुभन्दा पहिल्यै अस्पतालको इमर्जेन्सी बेडमा पुगिसक्नोस्, पुलिसठानामा, मानवअधिकारवादीकोमा, आआफ्ना दलका नेताकोमा, सञ्चारमाध्यममा सर्वत्र समाचार पुगोस् ‘जनआन्दोलनका घाइते सिकिस्त’ ।

डा.गोविन्दराज भट्टराई :
इतिहासले कोल्टे फेर्ने अघिल्लो दिनसम्म हामी एउटा निष्ठा लिएर लडिरहेका थियौँ । उनीहरू सडकपारि थिए, हामी वारि थियौँ । उनीहरू पर्खाल बाहिर थिए, हामी भित्र थियौँ । कुरो मध्यदिनको घामजस्तै छर्लङ्ग थियो । यो बर्लिनको पर्खाल कहिल्यै ढल्ने छैन- हाम्रो अटल विश्वास थियो । शताब्दीयाँदेखि हामी त्यस्तै भ्रम गोडमेल गरिरहेका थियौँ । हामी बोलिरहेका थियौँ, लेखिरहेका थियौँ- बहुदलीय व्यवस्था सर्वोत्तम व्यवस्था हो, यसबेला यो देशको अमनचयन भत्काउनेलाई सरकारले बाँकी राख्नेछैन ।
नभन्दै बाँकी राखेको पनि थिएन । सडक रक्ताम्मे भइसकेका थिए । आँसु, रोदन, क्रन्दन छिचोलेर साइरन हुँइकिएका, ट्याङ्कर बत्तिएका । आकाश कुडरीमण्डल, धर्ती लाभाको मुस्लो । अस्पताल भरिएका । आन्दोलनकारीहरू झन् जोसिएका, झन् तात्तिएका । उनीहरूले जे जति गरे पनि हामीलाई विश्वास थियो- यो बर्लिनको पर्खाल कतै चर्किने छैन । कहिल्यै हल्लिने छैन ।
दृढ मनोबल लिएर त्यो रमिता हेदहिर्दै- ट्याङ्करबाट, एम्बुलेन्सबाट, माथि आकाशमा हेलिकोप्टरबाट डाँडाको टुप्पातिर पहेंला घाम ओर्लिए । अब त्यो अस्ताउँछ भन्ने भयो- त्यो तापिरहेका हामी अनायास जरर्याकजुरूक उठ्यौँ, भित्र पस्यौँ र टिभी खोलेर हेर्न बस्यौँ । घाम अलिअलि थियो तर पर्दा तानेर हामीले कोठा अँध्यारो पार्यौँ । समाचार आइरहेको थियो ।
त्यसैबेला माथि डाँडामा एउटा फ्याउरो करायो । त्यसैको स्वर टिपेर, तल खोल्सामा, पारि गाउँमा र यता सहरका बीचैमा, घरका आडमा पनि अरू फ्याउरा कराउन थाले । मान्छेले भने- छ्या कस्तो अपशकुन, कसरी साँझै नपरी, घामै नअस्ताई, यी फ्याउरा कराएका, यस्तो कहिल्यै हुँदैनथ्यो । यो अपशकुन हो, बर्लिनको पर्खाल पो चर्किने हो कि ? हामीले हत्तपत्त सुकेका खोर्सानी डढायौँ, त्यसको पीरो खार फैलियो । यो अपशकुन यसरी छल्न चाहन्थ्यौँ । टिभीमा त्यसबेला समाचार आइरहेको थियो- प्रजातन्त्रवादी हुँ भन्नेहरूले प्रजातन्त्रमा विश्वास गर्नुपर्यो, हाम्रो गौरवशाली इतिहासको परम्परामा विश्वास गर्नुपर्यो, आतङ्कवादीसँग सम्झौता गर्नेलाई आतङ्ककारी सरह व्यवहार गरिनेछ । देशको शान्ति, सुव्यवस्था र अमनचयन खल्बल्याउनेहरू माथि कठोर व्यवहार गरिनेछ ।
हाम्रो पनि त्यही आवाज थियो तर उनीहरू भन्दै थिए- हामी प्रजातन्त्रवादी होइनौँ, अब यो शब्द हाम्रो जीउबाट फुकाल्न चाहन्छाँै, हामीसँग भएको अतीत गौरवमय छैन, अब गौरवमय नयाँ इतिहास बनाउनेछौँ । सडकमा भीड झन् उर्लिंदै थियो, जुलुस सल्बलाउँथ्यो, छिनछिनमा साइरन हुइँकिन्थे, गोली पड्केको सुनिन्थ्यो, धूवाँले आकाश ढाकेर कतै केही देखिँंदैनथ्यो । त्यसैबेला निडर भएर फ्याउरा कराइरहेका थिए, हामी आनन्दले आन्दोलनको टिभी हेर्दै थियौँ ।
भोलिपल्ट ब्यूँझदा हामीलाई झट्का लाग्यो- बिजुलीको नाङ्गो तार छोएजस्तै । बर्लिनको पर्खालमा धेरै ठाउँमा चिरिएको देख्यौं- तियानमेन चोकमा रक्ताम्मे भएर लडेकाहरू उठिसकेका थिए । मैले गहिरो पीडा व्यक्त गरेँ- साथीहरू अब हाम्रो हारको निश्चय भयो । ती फ्याउराहरू यही अपशकुन डाक्न कराएका रहेछन् ।
मेरा सहयोद्धाहरू वरिपरि थिए- गोपी, वज्र, हुर्मत, कृपा, हरेश र अरू धेरै । हामीले चिथोरेका, भुत्ल्याएका, नङ्ग्याएका, पछारेका रहे सहे भएर हिँड्दै थिए- कैदखानाका पनि पाखै भए, मरेका पनि जीवितै देखिए । साँच्चै समसाँझै फ्याउरा कराएको अपशकुन थियो ।
तीनदिन तीनरात हामी झोक्र्याएर बस्यौँ । बर्लिनको पर्खाल चिराचिरा थियो, हामी मण्डले, भिजिलान्ते, सिआइडी यस्ता अनेक भूमिका निर्वाह गर्दै जीवनभरि त्यही पर्खालमा अडेसिएर बाँचिरहेका थियाँै । अब हामी पखेटा फुस्केका चमेरा भएर भुईंमा भ्वाकभ्वाक पछारियौँ- म, गोपी वज्र, हुर्मत, कृपा, हरेश र अरू धेरै साथी ।
म यसरी झोक्राइरहेको बेला पत्रिका पल्टाउँदै हुर्मत बोल्यो- ‘यार अब फेरि नयाँ खुसीका दिन आएछन् ।’ ’कसरी ?’ हरेश उचालियो ।
’डेढ दर्जन राजदूत ।’
‘एक दर्जन प्राज्ञ ।’
‘दर्जनौ संवैधानिक पद ।’
‘दर्जनौ राजनीतिक नियुक्ति ।’
‘आधा दर्जन विश्वविद्यालय ।’
‘दर्जनौँ प्रशासक र अरू पद ।’
खुसीले गोपी गाउन थाल्यो, हुर्मत र वज्र नाच्न थाले, हामी सार मिलाउन थाल्यौँ । यो एकैचोटि पोखिएर छताछुल्ल भएको आनन्द थियो । एकैचोटि सयौं पद रिक्त भएको सुन्दा हामी अतालियौँ, निसासियौँ र सोच्न थाल्यौँ- अब कता जाने ? राजदूत, कुलपति, प्रबन्धक, डाइरेक्टर, म्यानेजर, कोअर्डिनेटर ।
ती पाकेर भुईभरि झरेका मालदह आँप अथवा बोटमा लटरम्मै मगमगाइरहेका स्याउ र अम्बा, काश्मिरी अङ्गुरका झुप्पा । टिपेर खान तयार । हामी हाँस्यौँ, नाच्यौँ, मुस्कुरायौँ, खुसीले बल्यौँ- क्रान्ति होस् त यस्तो । तर हरेशले अलिकति शङ्का व्यक्त गर्यो- हामी बाटावारिबाट लड्याँै, उनीहरू पारिबाट धेरै वर्षदेखि हामी ओडारभित्र थियौँ, उनीहरू नाङ्गा डाँडामा । यी पद हामीले फेरि खान पाऔँला ?
त्यो सुनेर वज्र उठ्यो- हामी पनि लडाइँमै थियौँ, सङ्घर्षमै थियौँ । हामी प्रतिरोधी शक्ति थियौँ । हाम्रै कारणले यो आन्दोलन यत्रो भएको हो । हामीले भ्रष्टाचार नगरेका भए, उनीहरूको आँखा कसरी खुल्थ्यो, हामीले निरङ्कुश भएर अत्याचार, छलछाम र कपट नदेखाएको भए ती सोझाहरू किन उर्लिन्थे ? यसरी यो क्रान्ति मच्चाउनमा हाम्रो पनि भूमिका छ । लोकतन्त्र भनेको यो देश सबैको बराबर हो ।
हुर्मतले फेरि शङ्का गर्यो- ‘हामी कहिल्यै सडकमा गएनौँ, भीडमा मिसिएनौँ, झन्डा उचालेनाँै, नारा लगाएनौँ, हामीले ओडारमा लुकेर पर्खालको आडैमा ढुकेर अत्याचार उमालिरह्यौँ । आज यो पर्खाल चिरियो, ढल्यो । अब कसरी हामीले प्रमाणित गर्ने हामी जनआंन्दोलनमा थियौँ ? कसरी मेट्ने विगतका दिनमा गरेका हस्ताक्षरहरू, बाचाहरू, समर्थनहरू, प्रतिरोध, भजन-कीर्तन, प्रशस्ति, मुढ्याईं र गुप्तचरी ? हाम्रो दल कुन हो ? विचार कुन ?
वज्रलाई सबै थाहा थियो । ऊ दृढ मनोबल भएको हाम्रो नेता थियो । २०४६ सालको आन्दोलनपछि उसले अपनाएको जुक्तिमा लागेरै आजसम्म हाम्रो निम्ति पनि पद र प्रतिष्ठा ओढीओछ्याइ भएको थियो ।
त्यसपछि वज्रको पछि लागेर एउटा अँध्यारो रातमा हामी सहरको भित्री गल्लीमा छिर्यौँ । छेउछाउका दोकानहरू बन्द थिए । एउटा कालो छिंडी नाघेर भित्री चोकमा पुग्यौँ । चोकमा गलेर लडेका भोका कुकुर थिए । देब्रेतिरको होचो काठको भर्याङ चढेर दुईतला उक्लियौँ । बाहिरपट्टि पाँचसात जना मान्छे जुत्ता लगाउँदै थिए, कोठाभित्र निहुरेर हेर्दै वज्रले भन्यो ‘यही हो, भित्रै पसौँ ं।’
कोठा सुनसान थियो । भित्तामा ससानो नोटिसबोर्ड थियो- “नीलडाम कम्पनी ।”
अलि मुन्तिर नीला अक्षरमा सूचना थियो- “एकैरातमा भाग्य बदल्नुहोस् ।”
वज्रको नेतृत्वमा कम्पनीसँग बार्ता भयो । “एउटा नीलडामको कति ?” हामीले सोध्यौँ । म्यानेजर बोल्यो- तपाईं केमा जाने ? राजदूतमा, भीसीमा, महाप्रबन्धकमा, अन्य ससाना रिक्त पदमा ? स्वदेशमा, विदेशमा, त्यहीअनुसार नीलडामको चार्ज लाग्छ । नीलडाम केवल नीलडाम होइन- तपाईं लट्ठीले चुटेको देखाउने कि ? बुटले गोदेको कि ? गोलीले छेडेको कि ? हात भाँचिएको, टाउको फुटेको कि ? तपाईंले झन्डा हातमा बोकेर युद्धमैदानतिर लम्केको ? हामी जे पनि देखाउन सक्छौँ, तपाईंतिर गोली ताकेको, तपाईं लडेको, तपाईंले पुलिसलाई ढुङ्गा हानेको, लोकतन्त्रको पक्षमा समर्थन गर्दै उत्तेजक विज्ञप्ति निकालेको, व्यानर उचालेर मुठ्ठी कस्तै कराएको भाग्दा भाग्दै चप्पल चुँडिएर पछारिएको, तपार्इं हस्पिटलमा लडेको- भन्नोस् जे पनि, जस्तो पनि गरिदिन्छौँ । तपाईंले चाहेको पदअनुसार नीलडामको चार्ज लाग्छ ।
मैले भनें- मेरो छातीमा ब्लेडले चिरेर लोकतन्त्र लेखिदिनू । गोपीले भन्यो- मेरो ढाडबाट बन्दुकको गोलीभित्र पसेको
बनाइदिनू ।
हरेसले भन्यो- मेरो गर्धन एकपल्ट छिनेर फेरि जोडिएको जस्तो बनाइदिनू ।
हामीले खान चाहेका पदहरू उसको खातामा लेख्यौ, रेटअनुसार रकम बुझायौँ अनि उसले भन्यो- अब कपडा फुकाल्नुहोस् ।
हामी कपडा खोल्दै किलामा झुन्ड्याएर आआफ्ना कोठामा पस्यौँ ं। त्यसपछि नीलडाम कम्पनीका सिपालु कार्यकर्ताले अर्डर बमोजिमको काम गर्न थाले ।
रिमरिम उज्यालो खस्ता बल्ल काम सकियो । कोही फ्याङ्ग्रा, कोही रक्ताम्ये, कोही मूच्र्छा, कोही अर्धबेहोस् । अघिल्तिर एम्बुलेन्स तयार थिए । उसले भन्यो- तपाईंहरू घाम झुल्किनुभन्दा पहिल्यै अस्पतालको इमर्जेन्सी बेडमा पुगिसक्नोस्, पुलिसठानामा, मानवअधिकारवादीकोमा, आआफ्ना दलका नेताकोमा, सञ्चारमाध्यममा सर्वत्र समाचार पुगोस् ‘जनआन्दोलनका घाइते सिकिस्त’ । नभन्दै हामी फिअनुसारका घाइते भएर स्ट्रेचरमा पल्टियौँ । एम्बुलेन्सले साइरन लगायो ।
०००
‘गोधूलिमा दस पाइला’ (२०६६)
Subscribe
Login
0 Comments
Oldest








































