चिरञ्जीवी दाहालनिकम्मा हाकिम र दास प्रवृत्ति
जब हामी दास बन्यौँ, मनभित्रको बोझ लुकाएर भएपनि हाँस्ने गर्छौँ, ताली बजाउने गर्छौं । उही पुरानो ठट्टामा निकम्मा हाकिमका अधिकांश कारिन्दाले जस्तै ।

चिरञ्जीवी दाहाल :
निकै अघि सुनेको एउटा ठट्टाले बेला बेलामा झस्काइ रहने गरेको छ । त्यसैले त्यही पुरानो ठट्टालाई यहाँ पनि उध्द्रित गर्न मनासिव ठानेँ ।
एउटा कार्यालयको हाकिमले हरेकदिन आफ्नो मातहतका कर्मचारीलाई भेला गरेर एउटा चुट्किला सुनाउने गरेका थिए । गजबको कुरा, उनको चुट्किला भने सधैँ एउटै हुन्थ्यो । जब हाकिम चुट्किला सुनाउन थाल्थे, कर्मचारीहरू मन नलागे पनि बल गरेर हाँसिदिनु पर्थ्यो । नहाँसौँ हाकिम रिसाउलान् भन्ने डर ! हाँसौँ, सधैँ एउटै चुट्किला सुनेर कति हाँस्नु ? तर सबैलाई बानी पर्यो, कारिन्दाहरूको रगतमा दासत्वको मात्रा बढ्दै गयो, उनीहरू सुनिसकेको चुट्किला सुनेर पनि मजाले हाँस्न थाले ।
हाकिम साँच्चै निकम्मा थिए । उनीसँग नयाँ चुट्किला सुनाउने सिप र सोच थिएन । उनले कर्मचारीलाई आफ्नो वशमा राख्न मात्र त्यही एउटै चुट्किलाको प्रयोग गरिरहेका हुन्थे । नयाँ नयाँ कुरा गर्न उर्जावान मस्तिष्क हुनुपर्छ । ताजा विचार प्रवाह गर्ने क्षमता हुनुपर्छ । जुन उनीसँग थिएन । निकम्मा भएपनि अधिकांश कर्मचारीलाई दास बनाउन भने उनी सफल भए । प्रायः निकम्माहरू अरुलाई दास बनाउने कलामा माहिर मानिन्छन् ।
एकदिन तिनै हाकिमले त्यही जीणर् र पुरानो क्यासेट बजाएझैँ आफ्नो थोत्रो चुट्किला सुनाउन थाले । सबै कर्मचारीहरू सधैँझैँ चर्को स्वरले हाँस्न लागे तर एक जना कर्मचारी निकै शान्त देखिए । सधैँ जस्तै आज उनी हाँसेनन् । हाकिमलाई आश्चर्य लाग्यो, उनले सम्झिए, “सायद यो मेरो विद्रोहमा उत्रियो । यसले अब टेरपुच्छर लगाउन छोड्यो ।” उनलाई लाग्यो कर्मचारीलाई वशमा राख्ने यो सुत्र पुरानो भयो कि के हो ?
अन्ततः ती नहाँस्ने कर्मचारीलाई हाकिमले सोधे, “मेरो चुट्किला सुनेर सबै हाँसिरहेका छन् तिमी किन हाँसेनौ ?” तिनले जवाफ दिए, “मैले आज राजीनामा दिएँ । मेरो यो जागिरको अन्तिम दिन हो । म भोलिबाट कार्यालयमा आउँदिनँ । जागिरको अन्तिम दिन भएकोले बल गरेर हाँस्न जरुरी ठानिनँ ।” उनले अझै थपे “यसरी बलजफ्ती हाँस्दै दास बनेर जीवनभर ठेस खानु भन्दा जागिर नखाएर भोकै मर्नु बेस । सके केही गरेर खाउँला, नसके कलकत्ता जाउँला !” मैले निकै पहिले सुनेको ठट्टा यही हो ।
निकै पुरानो र पटकपटक सुनिसकेको यो ठट्टालाई कसरी ठट्टा मात्र भन्नु ? यो त वर्तमानको यथार्थ चित्र जस्तै लाग्छ । यो हामी सबैले सधैँ व्यहोरी रहेको वास्तविकता हो । हामीले अहिले पनि यही सिद्धान्तलाई पछ्याउँदै आइरहेका छौँ । मालिकहरू ताल न बेतालका चुट्किला सुनाइरहेका हुन्छन् । हामी हाँसिरहेका हुन्छौँ । मनभरि पीडा र व्यथाहरू छन् । हरेक क्षेत्रमा वेथिती व्याप्त छ । महङ्गीको मारले थिचेको छ । भ्रष्टाचारका नरोकिने श्रृङ्खला चलेको चल्यै छ । कतै पनि आशा गर्ने ठाउँ बाँकी छैन । नेतृत्व तहमा पुग्नेहरूको चालामाला हेरि नसक्नु छ । कामकाज त कुरै छोडौँ, यिनको बोली र व्यवहार पनि सुनि सक्नु र हेरि सक्नु छैन ! यिनले थोत्रा चुट्किला सुनाउन छोडेका पनि छैनन्, यी बाँउठिन्छन् कि भनी हामी हाँस्न छोडेका पनि छैनौँ ।
तर जेसुकै होस् हामीले पुर्खाले मानिआएको परम्परा भने छोडेका छैनौँ । त्यसैले हामी पनि जब मालिकहरूले केही पुराना र काइते चुट्किला सुनाउन लाग्छन्, खित्का छोडेर हाँस्ने गरेका हौँ । हामी इमान्दार छौँ, आज्ञाकारी छौँ । त्यसैले, आफू रोएर पनि मालिकहरूलाई खुशी पार्ने कर्ममा तल्लीन छौँ ।
हजुरबाले राणाहरूले ठट्टा गर्दा ताली पड्काएर हाँसे । बाले राजा र पञ्चहरूले ठट्टा गर्दा हाँस्ने गरेका थिए । वर्तमानमा हामी केही निकम्माहरूलाई खुशी बनाउन हाँस्ने गरेका छौँ । जब यिनले ठट्टा गर्न थाल्छन् हामी आफ्नो मनको खुशीमा डढेलो लगाएरै भएपनि, मन अमिलो बनाएर भए पनि हाँसिदिने गरेका छौँ, ताली बजाउने गरेका छौँ । हामी ताली बजाएको हातको तातो स्पर्शलाई न्यानो सम्झिएर पुष माघको चिसो छलिरहेका छौँ । किनकि हामीभित्र दास प्रवृत्ति हुर्किरहेको छ ।
जसरी मुख छोड्दा सुगर रोगीको रगतमा चिनीको मात्रा बढिरहेको हुन्छ, त्यसरी नै गति छोड्दा हामी दास रोगीको रगतमा दासत्व नामको रसायनको मात्रा बढेको बढ्यै छ । दासत्वको मात्रा परीक्षण गर्ने कतै ल्याव भइदिएको भए र जाँच्ने गरेको भए हजुरबाको भन्दा बाको रगतमा र बाको भन्दा हाम्रो रगतमा दासत्वको मात्रा बढ्दै गएको प्रमाण फेला पर्न सक्थ्यो । मालिकहरू चुट्किला सुनाइरहेका हुन्छन् हामी हाँसिरहेका हुन्छौं । फरक यतिमात्र हो, उ बेला हाँस्दा हाँस्दा दिक्क भएर जागिर छोडेर कलकत्ता जाने चलन थियो भने अहिले निकै पर सात समुन्द्र पारी जान थालिएको छ । नपत्याए जानेहरूलाई सोधे हुन्छ, उनीहरूले भनिदिन्छन्, “यता बस्ने वातावरण नै छैन” ।
बाध्य भएर यतै बस्नेहरू भने थोत्रा क्यासेट बज्नासाथ हाँस्ने गर्नुपर्छ । त्यसैले उनीहरूले बढी बोले भन्न सकिन्न । हामीले शहरको सिंहदरबारमा क्यासेट बजेपनि हाँस्नुपर्छ । गाउँको सिँहदरबारमा क्यासेट बजेपनि हाँस्नुपर्छ । समय निकै बदलिएको भनिन्छ । तर पनि लाग्छ, राणाकालका जङ्गबहादुरहरू र पञ्चायतकालका अञ्चलाधीशका भुत हाम्रै वरिपरि घुमिरहेका छन् । तिनका थोत्रा चुट्किला किन नहोस् , सुनेर पनि हाँसेनौं भने हामी अनुशासनहीन बन्न सक्छौं । हामीलाई त्यस्तै लाग्छ ।
उहिले राणाकालमा टुँडिखेलमा मुत्र बिसर्जन गर्न नपाइने सूचना टाँस भएछ । सूचना टाँस भएको भोलिपल्ट एकजना युवा, सिपाहीबाट रङ्गेहात समातिए । “सूचना देखिनस् ? यहाँ मुत्र विसर्जन गर्न मनाही छ ।” सिपाहीको त्यस प्रश्नको उत्तरमा युवाको उत्तर थियो “यो सूचना कस्ले टाँस्न पठायो ? यो त सर्वसाधारण मान्छेको लागि हो । म को हो चिनेको छस् ? म दरवारीया हुँ ।” सिपाही अक्कनबक्क पर्यो । अचेल पनि टुँडिखेलमा मुत्र बिसर्जन गर्ने दरवारीयाहरू छ्यापछ्याप्ती भेटिन्छन् । रत्तिभर घटेका छैनन् । उल्टै बढीरहेका छन् । तर तिनको उत्तर भने त्यही हुने गरेको छ । “हामी दरवारीया हौँ ।”
अचम्मको कुरा आजसम्म पनि तिनै अञ्चलाधीश र जङ्गबहादुरहरूका भुतहरूले तर्साइरहेका छन् । त्यसबेला र अहिलेको परम्परामा कत्ति परिवर्तन भएको छैन । फरक यतिमात्र हो, त्यतिबेला मालिकलाई दाम राखेर दर्शन गर्नुपर्थ्यो, अहिले खाम राखेर दर्शन गर्नुपर्छ ।
जब मानव तस्कर, सुन तस्करका चुटकिलाका श्रृङ्खलाहरू सुरु हुन्छन्, हामी हाँस्ने गर्छौँ । हुन त हाँस्न भन्दा बाहेक हामी के नै गर्न सक्छौँ र ? किनकि हामी दास हौँ, नादानी हौँ । यिनले मान्छे र खसी बोकाको भेद पनि छुट्याउन सक्दैनन्, त्यो पनि देखिएकै छ । तर पनि यिनले जब कतै थोत्रो क्यासेट बजाउन सुरु गर्छन्, हामी तँछाड र मछाड गर्दै हाँस्न र ताली बजाउन बिर्सन्नौँ । किनकि यी हाम्रा स्वघोषित मालिक हुन्, हामी दास हौँ । मालिक बाङ्गिए मार पाइन्छ, मालिक रिझाए टार पाइन्छ, चर्कै रिसाए नाङ्गेझार बनिन्छ ।
यिनले हिमालयको चुचुरोमा पानी जहाज चलाउने कुरा गरेपनि, देशलाई स्वीटजरल्याण्ड बनाउने कुरा गरेपनि हामी ताली बजाउँदै हाँस्न सुरु गरिहाल्छौँ । देशलाई दुबइ र सिङ्गापुर बनाउने हावादारी कुरा गरेपनि पत्याइदिने गर्छौँ । यिनले राल चुहाए पनि हामी खुशी भएर हाँस्छौँ । एअरपोर्टबाट माल चुहाए पनि हाँस्छौँ । साधुको खाल ओढेर हाम्रै काल बनेपनि खित्का छोडेर हाँस्ने गर्छौँ । जनतालाई भेडासरी विक्री गरे पनि हाँस्छौँ । तोरीका गेडासरी पेलेपनि हाँस्छौँ । क्विन्टल सुन तस्करी गरे पनि हामी खुशी भइदिन्छौँ । यिनका हरेक क्रियाकलापमा आँखा चिम्लिएर ताली ठोक्छौँ, हाँसीदिने गर्छौँ । त्यसैले हामी कुनै न कुनै रूपमा यिनीहरूको मतियार हुने गरेका छौँ । फटाहाको भरिया हुने गरेका छौँ । तस्करको समर्थक बन्ने गरेका छौँ । भ्रष्टाचारीका चम्चा बन्ने गरेका छौँ । किनकि हामी दास हौँ । यदि हामी दास नभइदिएको भए यिनीहरूलाई देखेपनि आत्मग्लानी हुनु पर्ने थियो । सायद यिनले चुट्किला सुनाउन पनि लाज मान्थे होला । जब हामी दास बन्यौँ, मनभित्रको बोझ लुकाएर भएपनि हाँस्ने गर्छौँ, ताली बजाउने गर्छौं । उही पुरानो ठट्टामा निकम्मा हाकिमका अधिकांश कारिन्दाले जस्तै ।
झ्वाट्ट हेर्दा हामी राजनीतिक दास मात्र देखिए पनि हरेक क्षेत्रमा यही दास प्रवृत्ति हावी छ । कहिलेकाहीँ हामी साहित्यिक दास हुने गरेका छौँ । शैक्षिक दास र विचारका दास हुनेगरेका छौँ । धनसम्पत्ति, सुनचाँदी, पद प्रतिष्ठाका दास बन्दै हामी छिमेकीको पनि दास बनिरहेका छौँ । होइन भने जब थोत्रा क्यासेटहरू बज्न थाल्छन् हामी मरीमरी हाँस्ने थिएनौँ । थपडी बजाएर नाच्ने थिएनौँ ।
मालिकलाई खुसी पार्नका निम्ति हामी दुःखमा पनि हाँस्ने गर्छौँ, पीडामा पनि नाच्ने गर्छौँ र शोकमा पनि गाउने गर्छौँ । संसारका अनगिन्ती मान्छेहरू मध्ये यो गुण हामीमा मात्र विद्यमान छ । यस अर्थमा हामी निकै महान छौं । किनकि संसारमा कसैसँग नभएको योग्यता हामीसँग छ ।
भनिन्छ, जब मालिक वा नेता हाँस्छन्, अरूहरू स्वभाविक रूपमा बढी हाँस्छन् । फेरि कसैलाई पनि हाँस्नु पर्ने कारण चाँहिदैन । तिनका कुरामा हाँस्न न त हास्य रस नै समावेश हुनुपर्छ न व्यङ्ग्यको प्रहार हुनुपर्छ ! यिनले झुक्किएर दाँत देखाए पनि हामी भने समर्थनमा खित्का छाडेर हाँस्ने गरेका छौँ । किनभने हामी अभ्यस्त भइसकेका छौँ । हामी मालिकका स्वघोषित दास हौँ । मालिकलाई जसरी पनि खुशी पार्नुपर्छ ।
सबै निकम्माहरूले आफू योग्य भएको प्रमाणित गर्न अनेक प्रकारका नाटक मञ्चन गर्छन् । नौटङ्की गर्छन् । हामीले यतिमात्र पनि छुट्याउन सक्दैनौँ । यी सबै यथार्थ हुन् या होइनन् ? हामी यति कमजोर भइसकेका छौँ कि, यिनले हामीतिर फर्केर खोक्दा त्यो खोकी वास्तविक हो वा नौटङ्की हो ? हामीसँग त्यो समेत छुट्याउन सक्ने सामर्थ्य छैन । तिनै निकम्मा हाकिमका विद्रोही कारिन्दा जस्तै, सके गरेर खान्छौँ, नसके बलजफ्ति हाँस्नु भन्दा त बरू मरेर जान्छौँ भनेर हामी किन भन्न सक्दैनौँ ?
०००
चितवन
Subscribe
Login
0 Comments
Oldest







































