साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुद्धी हराएपछि

मानव बेचबिखन काण्ड, विभिन्न हत्याकाण्ड, राजनीतिक काण्ड, सामाजिक काण्ड, सांस्कृतिक काण्ड, धार्मिक काण्ड, साहित्यिक काण्ड तथा आर्थिक काण्ड पनि सुद्धी हराएरै घट्ने काण्डहरू हुन् ।

Nepal Telecom ad

रेहित सैजु :

सुद्धी हराउनुको सोझो अर्थ होस गुमाउनु हो । होस गुम्दा गरेको कामको नतिजा भनिसाध्य हुन्न । कतिपय त भयानक पनि हुन पुग्दछ । अचेल मान्छेले आफ्ना गतिविधि तथा क्रियाकलापहरूमा होस गुम्ने गुमाउने गजबको ट्रेण्ड चलेको छ । स्नायु प्रणालीले सही सूचना प्रदान गर्न नसकेपछि मस्तिष्क अचेत हुन्छ । फेरि यो सुद्धी हराउने काम अचानक हुन्छ । त्यतिखेर हाम्रो कामकारवाही नियन्त्रण भन्दा बाहिर पुग्दछन् । त्यसैले सुद्धी हराएपछि मान्छे कतिखेर बाङ्गिने, कतिखेर नाङ्गिने कुनै अत्तो पत्तो हुँदैन ।

म गुइँठेले जति होस अरु कसले पो गुमायो होला… । एकपटक खरिदारको अन्तर्वार्ता दिँदै गर्दा एकजना सरले नेपालको राष्ट्रिय गान गाउनु भने । मैले उठेर आफ्नो सुर, लय नभए पनि गाउनतिर लागेँ । फेरि बीचैमा एकजना सरले भने, ‘बसेर गाए पनि हुन्छ’ । लु हेर न, म कस्तो हुस्सु ! राष्ट्रिय गान कसले मेचमा बसेर गाउँछ… ! मेरो लाजको फरिया त्यहीँ खुस्किहाल्यो । रातोपिरो बनाएर फर्काए मलाई ती सरहरूले । त्यो घटना सम्झेर ल्याउँदा अहिले पनि यो फोकटको टाउको भित्तामा लगेर कुच्चिने गरी ठोक्काइदिउँ कि जस्तो लाग्छ । तर के गर्नु मिलेन… ।

अस्ति भर्खर बासँग फोनमा कुरा गर्दै थिएँ । कोठामा तरकारीको लागि आलु, काउली, स्कुस हुँदाहुँदै पखाल्न काट्न झ्याउ लागेर मासुको तरकारी खाइ टोपलेको । यी नापिस्, फोनमा बोल्दै पकाएको मिटमसला भनेर चियापत्ती पो हालेछु । म अल्छीको महाराज परेँ बल्छीमा । म प्रष्ट अवगत थिएँ कि यो मसला नभएर चियापत्ती हो भनेर । बाले तरकारी मिल्काइदे साने भन्दाभन्दै खुब अटेरी बनेर, बल्ल कति दिनपछि भान्छामा मासु पाकेको भनेर त्यस्तै खाइदिएँ । पछि घाँटीमा चियापत्ती अड्केर हप्तादिनसम्म खोकीको बिरामी । विचरा ! बाले कत्तिदिनसम्म भनिराख्नु भयो, ‘ठिक्क पर्‍यो मङ्गले, आफ्नै ढङ्गले’ ।

सुद्धी हराउँदा मैले थुप्रै काम बिगारेको छु । गते, बार बिर्सेको छु । बिदाको दिन स्कुल गएको छु । जाँचको दिन आज होइन भोलि होला भनेर परीक्षा दिन छुटाएको छु । आफूले पैसा राखेको ठाउँ बिर्सेको छु । भान्छामा खानेकुरा डढाएको छु । कहिले चुल्हो नबाली भात बसालेको छु । पछि निकैबेर कुकरको सिट्टी नलागेपछि ए ! चुल्हो नै पो बालेको रैनछु भनेर झसङ्ग भएको छु । बोली चिप्लाएको छु । परिवार, श्रीमतीको अनाहकमा चित्त दुखाएको छु । भन्न नहुने कुरा पनि भनेको छु । कतिजनासँग निकैदिनसम्म बोली बारेको छु । पछि अनेक बनावटी कुरा वाहनाले सम्बन्धलाई जिउँदो पनि पारेको छु । कहिलेकाहीँ लुगा उल्टो, अगाडि, पछाडि लगाएर हिँडेको छु । कतिलाई भेट्छु भनेर समय दिँदा बिर्सेर घण्टौँसम्म कुराएको छु । जेहोस् सुद्धी हराइरहने बानीले कैयौँ ठाउँमा म लज्जितको पात्र बनेको छु । सुद्धी हराइराख्ने मेरो बानीले एकपटक होइन पटकपटक घुच्चुकमा हानेर थुचुक्क पारेको छ । अत्तो न पत्तोको लाइनमा गएर घण्टौँ उभिएको छु । यस्तै घटनाको चाङले मलाई यो आङ थिचेर थचक्कै पारेको छ ।

यो सुद्धी हराएपछि आफूले के गरेँ, के गर्दै छु भन्ने कुनै हेक्का नहुने रहेछ । घर, परिवार, साथीभाइले ‘सुद्धी पुर्‍याएर काम गर्’ भन्ने झटारो म फल नै नभएको वृक्षमा पनि पटकपटक झटारो आउन थालेपछि मैले पनि आफ्ना कमजोरीमाथि विचरण गर्न थालेँ । ठूलो सङ्घर्षपश्चात् मैले कुरोको चुरो फेला पारेँ । मैले आफ्नो सुद्धीको लगाम लगाउन नजान्नुको कारण मोबाइलमा इन्टरनेट चलाइरहने आदतले पो रहेछ । घरपरिवार मबाट रुष्ट हुनु, साथीभाइ दुष्ट हुनु आफ्नै पनि सुद्धी हराइरहनुको कारण यही मोबाइल, इन्टरनेट हो भन्ने जानेपछि यसको निवारणतर्फ लागेँ । आफूले मानेका एकदुइजना आदर्शवान् व्यक्तिकहाँ परामर्श ग्रहण गर्न पुगेँ । उनीहरूले रुटिन बनाएर प्रयोग गर्नु भने । उनीहरूको परामर्शले केही स्पर्श गरेपछि मैले त्यहीअनुरूप काम गर्न थालेँ । मेरो सुद्धी हराउने रोग बीसबाट बाह्र हुँदै आठसम्म पुगेको पनि थियो तर अहिले केके हो नमिलेर आठबाट सत्रतिर लम्केको छ । म अलपत्र छु यतिखेर ।

त्यसो त सुद्धी हराउनु भनेको बुद्धि बिग्रनु हो । बुद्धि बिग्रेपछि गरेको कामको नतिजा हेर्न, सुन्न लायकको हुँदैन । स्याल पनि बुद्धि बिग्रेपछि शहर पस्छ भन्छन् । यदि कसैले सुद्धी नगुमाइ बुद्धिले काम गर्ने हो भने अजिङ्गरले आहार भेट्न लामो दिन कुर्नुपर्ने हुनसक्छ । यस्तै सुद्धी हराएको घटनाहरूको अनुसन्धान गर्दै जाने हो भने मान्छे, जनावर त भइहाले देवी देवता, भगवान पनि यस कार्यबाट अछुतो नरहेको भेटिन्छ । अलिकति भिक्षा दिने सानो बुद्धि नपुराएकै कारण सात वर्षीय गोमाले सत्तरी वर्षको शिवप्रसाद ब्राह्मणसँग विवाह गर्नुपर्‍यो । त्यसको केही वर्षमै विधवा बन्नुपर्‍यो । सुद्धी बिग्रेरै भगवान महादेवकी श्रीमती सतिदेवी बलिरहेको आगोमा हाम फालिन् । सुद्धी बिग्रेर भगवान महादेवले पनि किसानसँग हार्न पुगेका थिए । यहाँभन्दा बढी मेरो कुरा के गर्नु… !

बुझ्दै जाँदा लोभ, मोह, रिस, अहङ्कार, अभिमान, अनावश्यक प्राप्ति चाहना राख्नाले सुद्धी हराउँदो रहेछ । रावणले घमण्ड प्रदर्शन गर्दा आफ्नो राज्य मात्र गुमाउन पुगेन मृत्युवरणसम्म गर्नुपर्‍यो । लङ्का जल्नु, पाण्डव र कौरवहरूको अठार दिने लामो महाभारत युद्ध हुनु सुद्धी हराउनुकै उपज हुन् । लेण्डुपले लोभ नराखेको भए सिक्किम भारतमा विलय हुने थिएनन् । पहिलो दोस्रो विश्वयुद्ध, अनेक अनेक जातीय, वर्गीय युद्ध पनि सुद्धी हराएरै घटेका घटनाहरू हुन् । नागासिकी, हिरोसिमाले आफ्नो रूप नै बदल्नु पर्‍यो । अनाहकमा असङ्ख्य मानिसहरूको देहान्त भयो । घरबार बिग्रिए, उजाड भए । पशु, चौपाया, चराचुरूङ्गी, रुखबिरुवा, महिला, बालबालिकाहरूले यसबाट चरम् प्रभावित हुन पुगेका थिए । कति मरे, कति अपाङ्ग भए यी सबै एकदुई जनाको सुद्धी बिग्रेपछि निस्केका प्रतिफल हुन् ।

नेतृत्वको सुद्धी हरायो भने उसका समर्थक तथा अनुयायीहरू पनि गलत गर्न पुग्छन् । कालोलाई सेतो र सेतोलाई कालो भन्न पछि पर्दैनन् । आमाबाबुले सुद्धी गुमाए भने सन्तानले गलत संस्कार सिक्छन् । सन्तानले सुद्धी हराए भने आमाबाबुले दुःखका दिन खेप्नु पर्छन् । जाँचकी, परीक्षकले सुद्धी बिगारे भने राम्रा परीक्षार्थी अनुत्तीर्ण हुन सक्छन्, अनुत्तीर्ण हुने विद्यार्थी उत्तीर्ण हुन सक्छन् । निर्वाचनमा मतदाताले सुद्धी पुर्‍याएन भने गलत प्रतिनिधि चुनिन पुग्छन् । डाक्टरले सुद्धी गुमाए भने बिरामी असरमा पर्न सक्छन् । विक्रेताले सुद्धी बिगारे भने क्रेताले घाटा वेहोर्नु पर्ने हुन सक्छ । राम्रै मान्छेले सुद्धीको बिर्को लगाउन बिर्से भने आत्महत्या जस्तो कुकृत्य गर्न तयार हुन्छन् । र आफूले सुद्धी बिगारे आफैलाई नोक्सान हुने रहेछ । हत्तेरिका, यो सुद्धी हराउने रोग त ज्यादै खतरनाक डरलाग्दो रोग पो रहेछ नि हौ गाँठे ।

यो सुद्धी हराउने चलन ममा मात्र नभएर अन्य व्यक्ति, परिवार, टोल, शहरबजार, देशविदेश, विश्वभरि फैलिएको छ । मानव बेचबिखन काण्ड, विभिन्न हत्याकाण्ड, राजनीतिक काण्ड, सामाजिक काण्ड, सांस्कृतिक काण्ड, शैक्षिक काण्ड, प्रशासनिक काण्ड, व्यापारिक काण्ड, धार्मिक काण्ड, साहित्यिक काण्ड तथा आर्थिक काण्ड पनि सुद्धी हराएरै घटिने काण्डहरू हुन् । यी काण्डहरूले देशको नक्सा खुम्चिएको छ । इज्जत, सद्भाव, सम्बन्ध, नैतिकतामाथि कालो धब्बा परिरहेको छ । तर विडम्बना यी काण्डहरूको वितण्डा मच्चाउने पाजीहरू माथिल्लो तप्का, ओहदामा रहेका हुन्छन् । यिनै पाजीहरूले पद र पैसाको पछि दौडिँदा सुद्धी हराएर व्यैक्तिक तथा सामाजिक दायित्व धमिलो पानीमा मिसाइरहेका छन् ।

हामी अहिले बढ्दो विज्ञान प्रविधिसँग मितेरी गाँस्दै खेलिरहेका छौँ । हामी यसमा यति व्यस्त भएका छौँ कि हामीले हाम्रो गतिविधि, दैनिकीलाई सरलताबाट स्थान्तरण गर्दै जटिलतातर्फ धकेलिरहेका छौँ । हामीले बिर्सेका छौँ, यो सबै क्षणिक हो । आफ्नो अस्तित्व कर्तव्य बिर्सिएर यो सुद्धी बिराउने रोगलाई संस्कृति बनाएका छौँ । यो रोगलाई झाङ्गिन दिइरहेका छौँ । अचेतमा दौडिरहेका छौँ । आफू, परिवार, समाज र देशको अस्तित्व नै धरापमा राखेका छौँ । सुद्धी हराउने रोगको दीर्घकालीन उपचार गर्न हामीले तन्द्राबाट व्युँझिएर सचेत हुनुपर्नेछ । इज्जत, सद्भाव, भाइचारी सम्बन्धलाई स्थायित्व कायम राख्न आफूले गर्न लागेका कार्यहरूमा धैर्य नगुमाइ गम्भीर रूपमा सोच्न जरुरी छ । लु है त, साथी हो । सुद्धी नबिराउनु, सियोमा धागो छिराउनु ।

०००
रामेछाप

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
मान्छे महान्

मान्छे महान्

रेहित सैजु
क्रान्ति

क्रान्ति

रेहित सैजु
चटकवाद

चटकवाद

रेहित सैजु
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
‘बाउ पर्ने पनि हिं थे नि;’ ए ! 

‘बाउ पर्ने पनि हिं...

सुरेशकुमार भट्ट
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x