भाउपन्थीगधागिरी
भन्नुको आशय यो थियो— गधागिरीमा लाग्नु । यही नै गधा प्रवृत्ति रहेछ । नेतारूपी एक किसिमको दिमागी सनक चढेको मानिसको पछि लागेर सोचविचार नगरी नाराजुलुस गर्दै हिँड्नु पनि गधागिरी नै रहेछ ।

भाउपन्थी :
गधाचिन्तनका लागि दिनरात खटियो तर सिफलता पाइएन । गधा हुनु नै लेखेको रहेनछ भनेर चिन्तन छाडूँनै लागेको त्यसै बेला गधा फुर्यो । गधाहरू आफ्नै ढबका हुन्छन् । फुर्नु के थियो, गधाले लात्तले हानेको अनुभव भयो । भनियो— चिन्तनमा गधा जातिको अपमान नहोस् । तर चिन्तमा दत्तचित्त बनेर लाग्दाखेरि पहिलो पक्तिपछि अर्को फुरेन । गधा चिन्तनमा गधाले सङ्कट पैदा गरिरहेको छ । सङ्कट फुकाउन गधा खोज्न कता जानु । गधा भेटियो भने उसको मानसम्मान गरेपछि उसले चिन्तनमा आइलागेको सङ्कट फुकाइदिन्थ्यो होला । ठ्याक्कै चोरबाटोबाट यो सोच आयो— छेवैमा एक नेता छन् उनैलाई समात्ने हो कि ? यसो भन्दा नेताहरू सबैलाई गधा मान्यो यसले भनेर नेता जाति जङ्गिने पो हुन् कि ?
यस्तो आतङ्कित पार्ने विचार आइहाले पनि नेतालाई छाडिहाल्ने विचार गरिएन । त्यसो गर्दा यो सामान्य व्यङ्ग्य ठहरिन जान सक्थ्यो— अचेलका नेता व्यङ्ग्य उत्पादक छन् भने नेतामाथि प्रहार नगरेको व्यङ्ग्य पनि के व्यङ्ग्य भनेर । नेतालाई जसले पनि गधा भनेर व्यङ्ग्य गर्छ भन्ने स्थापना हुने थियो । तर आश्चर्यको कुरो यो थियो— आफूलाई अनेक किसिमले टाढाका र नजिकका छिमेकीहरूले गधा बनाएको पीडा नेताहरूमा देखिएको छैन । तथापि तिनलाई ठाडै गधा नभनेर अरू थोकै भन्नलाई पनि उपयुक्त उदाहरण देखिएन । तिनको कामै त्यस्तो देखियो ।
तर नेताको प्रसङ्ग छाडौँ, गधालाई गधा भन्नुमा कुनै चमत्कार छैन । तर गधा चिन्तन बढाउनलाई एक न एक दिन गधा सामग्री कसो नभेटिएला भनेर पर्खिरहियो । समय बित्न दिनु थिएन । खोजिपस्दा वास्तवमा गधाहरू वरपर धेरै थिए । पहेँलोजति सुन हो भने्र भन्न नसकिएझैँ भेटिएका जति गधै हुनु भन्न सकिन्नथ्यो । अप्ठेरो यो थियो, तिनलाई गधै भनेर टिक्न ती दुई खुट्टामा उभिएका हुन्थे । दुईखुट्टे गधा ! सम्झनामा यत्ति थियो— आफैँ गधा भएको । बाउले काम बिराएर झोँक जाग्यो भने भनिहाल्थे— ‘तँ गधाको छोरालाई !’ उनमा सन्तान सुखी र बुद्धिमान् होऊन् भन्ने वात्सल्य भावना ओतप्रोत थियो त्यसैले आफू पनि ‘तँलाई गधाको छोरो !’ भनेर निर्लज्जतापूर्वक गधा भइटोपल्थे । ‘बा तपाईं पनि गधा हुनुभो’ भन्ने साहस हुँदैनथ्यो तर मुसुमुसु हाँसेको देखेर अझ ‘हाँस्छस् गधा !’ भनेर उनले पिट्न तर्खरिएको भावमा हात उज्याउँथे । तर अहिले त बा पनि छैनन् बाको समात्ने लौरो पनि छैन तर गधाहरू छन् । बाका गधाहरू विलुप्त भएका छैनन् ।
बालाई गधाको सन्दर्भमा सम्झनु उचित छैन तर गधाको सन्तति चलिरहेछ । यसमा बाको दोष छैन । उनले ठानेका थिए गधा सन्तति टुटुयो । किनभने उनलाई गधाहरूलाई ‘गधा’ भनीभनी गाली गरेर सुधारेँ भन्ने भ्रम थियो । कारण यो थिया, उनी पनि ‘साग र सिस्नु खाएको सोझो मनले’ भन्ने पुर्खाका सन्तान थिए । अहिले आएर पो मुलुकका खोलानाला बेच्ने जन्मिए । ती नै नेता भए । अरू त अरू गनाउने टुकुचा समेत नदीनाला बेचिएपछि मुलुकमा एउटा आशङ्का प्रबल रूपमा जन्मियो, अब आफ्नै खोलानालाको पानी पनि किनेर खान पर्ने पो हो कि ? त्यस्तो भय जागेपछि पब्लिकले मुलुकका शासक-प्रशासक, मन्त्री-प्रधानमन्त्रीहरूलाई हेर्न थाले । तर यहाँ पनि उनै थिए— गधाहरू ।
तिनलाई स्पष्ट रूपमा गधा भनिनहाले पनि मनले गधा नै गधा देख्यो । दृष्टिदोष हो यो भनेर आँखा अस्पताल गयो आँखा जँचाउन । त्यहाँ भनियो— यो एउटा दृष्टिभ्रम रोग हो । मानिस चार खुट्टा टेक्ने गधा हुन सब्तैन यद्यपि ऊ गधागिरी गर्ने एक प्रकारको दुईखुट्टे जीव हुन सक्छ । यिनलाई जोजो उच्च शासक प्रशासक बनेका छन् मन्त्रीप्रधानमन्त्री भएका छन् तिनलाई उच्च नस्लका गधा पनि भन्न सकिन्छ । आँखा जाँच्ने डाक्टर पनि अलि दार्शनिक रहेछ । दर्शन उसको प्रिय विषय रहेछ र त दर्शन शक्तिको उपचारमा लागेको रहेछ । डाक्टरले भन्यो— ‘नआत्तिनुस्, गधा देख्ने प्रवृत्तिले मुलुकलाई ढाकेको छ । यसलाई गधा प्रवृत्ति भन्नु उपयुक्त हुन्छ । आपूm बाहेक अरू सबैलाई गधा देख्ने शासकीय परम्परा छ । समाजमा यो प्रवृत्ति पनि व्याप्त छ ।’ दृष्टि उपचारकले दिएको यो बोध मूल्यवान् नै थियो तापनि चित्त नबुझेपछि गधा प्रवृत्ति के रहेछ भनेर खोसलखातल गर्न उद्यत भइयो । किनभने आँखाको डाक्टरले गधा प्रवृत्ति भनेर जिज्ञासा जगाइदिएको थियो ।
गधा प्रवृत्ति भन्नु खासै अनौठोको रहेनछ । गधा नभएर त्यसको प्रवृत्ति अपनाउनु मात्र रहेछ । भन्नुको आशय यो थियो— गधागिरीमा लाग्नु । यही नै गधा प्रवृत्ति रहेछ । नेतारूपी एक किसिमको दिमागी सनक चढेको मानिसको पछि लागेर सोचविचार नगरी नाराजुलुस गर्दै हिँड्नु पनि गधागिरी नै रहेछ । जनतादले पछि गएर पछुताउनु पनि पर्ने रहेछ त्यो गधागिरीले । कारण यो रहेछ— चप्पल फट्कारेर हिँड्ने मानिस नेताको रूपमा परिचित भएपछि र सत्तामा स्थापित भएपछि उसले अनेक गरेर गधा प्रवृत्ति झन् उग्र रूपमा देखाउँदो रहेछ । ढोकामा उसले म भ्रष्टाचार गर्दिनँ भन्ने वाक्य लेखेर झुन्ड्याइएको भए पनि भित्र उसको कोठामा भ्रष्टाचारले कमाएको अकूत सम्पत्ति थुप्रिएको हुने रहेछ । उसका नातागोता मात्र पदमा बस्ने रहेछन् । समानुपातिक समावेशी भनिने जालोमा पारेर नेताले करोडौँको व्यापार गर्ने रहेछ । खोलानाला पहाडटाकुरा सबै सस्तोमा बेचेर ऊ आफू चाहिँ राष्ट्रभक्तिको नारा घन्काउने रहेछ ।
(यस्तो थियो गधागिरीको उच्च नमुना । मुलुक सम्पूर्ण दुखेर चिच्च्याइरहेको हुन्छ, आर्तनाद गरिरहेको हुन्छ तर…। अब यसपछि थप्नु पर्ने कुरो केही छैन । जसजसलाई दुखेको छ उनीहरू बहुसंख्यामा छन् । तर कानमा तेल हालेर सुतिरहनेहरूको निद्रा अझ प्रगाढ हुँदो छ ।)
०००
घट्टेकुलो, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































