गाेपेन्द्रप्रसाद रिजालब्रह्माजीको विश्व भ्रमण
झन् यमराजको वाहनको कुहिएको मास डल्ला, फोहोरको थुप्रोबाट उम्कन पाएको भाग्यमानी बन्दाकोबी, सुनापङ्खीको आन्द्राको सुकुटी ढड्याएजस्तो चाउमिन के के हो के के बयान गरि साध्य छैन । अनि बबुरा भोकै तिर्खै छोरो च्यापेर ब्रह्मलोक हुँइकिएछन् ।

गोपेन्द्रप्रसाद रिजाल :
आफैँले रचना गरेको सृष्टिको दृष्टिगोचर गर्ने मनशायले ब्रह्माजीले मर्त्य लोकको भ्रमण गर्ने विचार गरेछन् । हुन पनि उनको आयु नै सातकरोड बिसलाख चतुर्युग छ । चार युगको सबै आयु जोडेर सात करोड बीस लाख पुर्याउन त क्यालकुलेटरको हजुरबाको पनि दाल गल्दैन होला । भन्नाले ब्रह्मा अजम्बरी हुने नै भए ।
आफ्ना मनले खाएका सुपुत्र मनुसँग सुटुक्क सल्लाह गरेर शिव र विष्णु पनि पार्वती र लक्ष्मीसँग भ्यालेण्टाइनको रौनकमा रुमलिएको मौका छोपी आफ्नु बाहन सेतो हाँसको पछाडी मनुलाइ राखेर यात्रा तय गरेछन् बुढाले । मर्त्यलोक र पाताल लोकमा उनले सृष्टि गरेका जिवातको फेहरिस्त तयार गर्न भैरव दाइको बुताले त भ्याएन । त्यै सुलि र खरानीबाट बनेको मान्छे सुटुक्क चियाउन मात्र भ्याएका थिए । हुन पनि मान्छे उत्पादन गर्ने फ्याक्ट्री सजमुलै हेर्न चानचुने कुरा कहाँ हो र ? यो त ब्रह्माको आशीर्वादबाट मात्र सम्भव छ ।
जे होस् कोरोना भाइरसदेखि हात्तीसम्म ती सबै ब्रह्माकै प्रयोगशालामा उत्पादित सामान हुन । बेलुनमा हावा भरेझैँ कतिलाइ फुक्न भ्याए ती सबै गद्दिमा बसेर हिसाब गर्ने बेहिसावका मनुवा परे । अरु चैँ चाउरीका मरिच र दाउरीका उडुस जस्तै छन् । अमेरिका, अफ्रिका, युरोपतिरका मान्छे ब्रह्माका फ्याक्टका होइनन् नत्र त आफ्ना जीवनदातालाई ॐ ब्रह्मणे नमः भनेर भित्तामा चतुर्मुखीको फोटो तुर्लुङ्ग पारी हाल्थे नि । यहाँ एक घण्टा प्रधानमन्त्री हुँदा त देशभरिका हाकिमका टाउका माथि भित्तामा अहिले नै सातो टिप्लान् जस्ता फोटो झुण्डिन्छन् । अझैँ ब्वासाहरूको रजाइँ हुने सिंहदरबामा त उहिले भिमसेन थापादेखि आजसम्मका सबै झुण्डिएकै छन् । साँच्चै कति डरलाग्दा नाम हँ, भिमसेन- प्रचण्ड । तर नामले मात्र हुने भए त सीताहरू सिध्याउने सबैले रावण नाम राख्थे होला ।
अँ, हातमा कमलको फूल र पछाडि मनु राखेर ओर्लिएका बाजे भारततिर हान्निएछन् । तर कुनै ठाउँको भेउ नपाएकोले बिलखबन्दमा परेछन् पनि । उ बेला मान्छे बनाएछन् तर भाषा बनाउन बिर्सेछन् । हाम्रा मन्त्री चिन गए जस्तै भएछ उनलाई । मान्छे हुन, ट्याउँ ट्याउँ गर्छन् तर बुझ्नु केही छैन ।
धन्न तिनवटा टाउका चैँ लुकाउन भ्याएछन् कछुवाले जस्तै । जसोतसो भारत छिरे ब्रह्मा । आफ्नु बाहुनलाई गंगामा जल विहारको लागि छोडेर छोरालाई पछि पछि लाएर चहार्न थाले । यसो हेर्छन् । एउटा दुई चक्के बाहनमा माउमल्लासँगै सातजना हुइँएको देख्दा आफुले गरेको मान्छेको सृष्टिदेखि मख्ख परेछन् ।
शिव- पार्वती, राम- सीता, विष्णु- लक्ष्मी आदिको पूजामा चढाएको भेटी देख्दा अरु सबै देवताले स्वर्ग लोकनै किन्न पुग्ने पैसो पारेको महसुस पनि गरे । फोन गरेर माथिका सबैलाई सोधे तर सुकिदाम हात नपरेको उत्तर पाउँदा थुचुक्क बसेछन् । एकछिनमा मर्त्यलोकमा पनि शिव, विष्णुको दर्शन गर्नु पर्यो भन्ने सोचेर लाइन लागेछन् – त्यहाँ त “सौ रुप्पे दे दो, पहले दर्शन करो“ भन्नेहरुनै दर्शनार्थी भन्दा धेरै देखेछन् ।
साँझमा कहाँ वास बस्ने भन्ने कुराले पिरोलिरहेको बेला एक जना पान चपाउने नारी रूपधारीले बाबा जी इधर इधर भन्ने हातको इशारा हेर्दा इन्द्रले स्वर्गबाट अप्सरा नै पो पठाएछन् कि के हो भन्ने भान परेछ । तर त्यहा त ब्रह्मचारी ब्रह्माको काम होइन कामदेवको धाम भएको कुरा बुझेर त्यहाँबाट कुलेलम ठोकेछन् । तै भएन अब नेपाल छिर्छु भनेर गाडी चढेछन् । जोगीजस्ता जटाधारीलाइ खलाँसीले जदौ गरेछ तर पैसो मागेनछ । आफ्नै सृष्टिकाले दृष्टि राख्लान् भनेर स्वर्गका लेखापाल कुबेरलाई थाहै नदिइ टिए. डिए. पनि नलिइ झरेका थिएछन् बुढा ।
नेपाल छिर्ने बित्तिकै फुलीवालाको फेला परेछन् बबुरा । उस्ले सोझै भन्सारमा हुलेछ । भन्सारीले यसो अन्सार काट्दा यस्तो त छद्म भेषी रूपमा सुन बूढो हुनुपर्छ भन्ने लख काटेछ । केही फेला पर्दैन भाषा पनि बुझ्दैन तैपनि चिम्टा र कमण्डलुको रसिद थमाएछ । केही नपाएर रिसले चुर भएको भन्सारीले त्यही चिम्टा र कमण्डलु लिएर घर गएर चिम्टाले च्याप्दै सेकुवा र कमण्डलुबाट सोमरस तान्न थालेछ । त्यसैको विकशित रूप त हो काँटा र ग्लास । हुन पनि भन्सारीले नेदेख्ने भनेको सुन, हिरा, मोती, डलर, पाउण्ड मात्रै त हो । भन्सारीको एउटा गतिलो काम भनेकै बिहान बेत बस्या बाख्रो जस्तो गोजी लिएर कुर्सीमा बसेको गोजी बेलुका घर फिर्दा अघाएको उडुसजस्तो पुटुस्स परेर फर्किनु हो ।
अब, ध्यान दृष्टिले हेर्दा- देवालययमा भेटी, शयनालयमा पेटी, लजालयमा केटी, नेतालयमा पलेँटी, जनतालयको ओठ कलेटी आदि आदि दृष्टिगोचर भएछ । हिँड्दा हिँड्दा पाँसुलाका कैँडा मेट्न सोमरस विचार्दा त्यो पनि फाटेका चप्पल, टायर, उर्वशीहरूले महिनै पिच्छेको रक्त प्रवाहमा च्यापेको सुप्लोको गन्ध ह्वास्स नाकमा छिरेछ ।
लौ भएन अब भुँडी पूजा गर्नु पर्यो भनेर होटल छिरेछन् । त्यहाँ त झन् यमराजको वाहनको कुहिएको मास डल्ला, फोहोरको थुप्रोबाट उम्कन पाएको भाग्यमानी बन्दाकोबी, सुनापङ्खीको आन्द्राको सुकुटी ढड्याएजस्तो चाउमिन के के हो के के बयान गरि साध्य छैन । अनि बबुरा भोकै तिर्खै छोरो च्यापेर ब्रह्मलोक हुँइकिएछन् । त्यहा पुगेर शिवलाइ फोन गरेर भनेछन् – “मर्त्यलोकमा तिम्रो लिङ्ग होस प्राण नहोस् ।” यमराजलाइ मेसेज पठाएछन् – “अब मर्त्यलोकबाट आउने नेता, कर्मचारी, पूजारी, व्यापारी सबैलाई केही नहेरी कुम्भिपाकमा हुल्नु । आफू चैँ फेरि पृथ्वीलोकमा नझर्ने वाचा गर्दै ध्यान मग्न भएछन् ।”
०००
मैतीदेवी, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































