साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रेलयात्रा

मन त हुन्छ कि भनिदिऊ, ‘ओए चुपचाप सुत् न ! किन डिस्टर्ब गर्छस् ?’ तर भन्दिनँ किनभने त्यो पनि भारतीय रेलको यात्री हो र भारतकै भूमिमा यात्रा गर्दै छ । ऊ त यति बेला भारतीय रेलले कति प्रगति गर्‍यो भन्ने मात्र जान्न चाहन्छ ।

Nepal Telecom ad

शरद जोशी :

व्यङ्ग्यानुवाद :: रमेश समर्थन

रेलविभागका मन्त्री भन्छन्, ‘भारतीय रेलले तीव्र गतिमा प्रगति गरिरहेको छ ।’ ठिकै भन्छन् । रेलहरूले त सधै प्रगति गरेकै हुन्छन् । ती मुम्बईबाट प्रगति गर्दै दिल्लीसम्म जान्छन् अनि यहाँबाट प्रगति गर्दै मुम्बईसम्म आइपुग्छन् । अब बिचमा कहीँ पनि रोकिने र ढिलो पुग्ने कुरो भने छुट्टै हो । तपाईंलाई यदि रेलको प्रगति हेर्नु छ भने कुनै डिब्बा (बोगी)भित्र पस्नुस् । गहिराइमा नपसिकन तपाईंले वास्तविकताको अनुभव गर्न पाउनुहुन्न ।

जब रेलहरू चलेकै थिएनन् त्यति वेला यात्रा कति कष्टप्रद थियो ? आज रेलहरू चलेका छन् र पनि यात्राहरू यति कष्टप्रद छन् ! प्रगतिका कारणले हामीले हाम्रो इतिहासलाई छोडेका छैनौँ । यो पनि त खुसीको कुरो हो नि ! त्यति बेला पनि दुर्दशा थियो र आज पनि दुर्दशा छ । यी रेलहरू र यी हवाईजहाजहरू सबै विदेशी हुन् । यिनले न त हाम्रो चरित्र फेर्न सक्छन् न भाग्य नै ।

भारतीय रेलहरू चिन्तनको विकासमा ठुलो योगदान गर्छन् । प्राचीन मनीषीहरूले भनेका छन्, ‘जीवनको अन्तिम यात्रामा मनुष्यको हात रित्तै रहन्छ ।’ किन भाइ ? पृथ्वीदेखि स्वर्गसम्म वा नर्कसम्म पनि रेलहरू चल्छन् । जानेहरूको भिड निकै बढी छ । भारतीय रेलहरूले हामीलाई सिकाउने कुरो यही हो । सामान राख्यौ भने बस्छौ कहाँ ? बसिहाल्यौ भने सामान कहाँ राख्छौ ? दुबै गर्‍यौ भने अर्को कहाँ बस्छ ? ऊ बस्यो भने तिमी कहाँ उभिन्छौ ? उभियौ भने सामान कहाँ रहन्छ ? त्यसैले असली यात्री त्यही हो जो रित्तोहात हुन्छ । जसलाई टिकटको भारी बोक्नु पनि स्वीकार्य हुँदैन । प्राचीन ऋषिमुनिहरूका अनुसार यो मृत्युपछिको अवस्था हो । भारतीय रेलहरू के चाहन्छन् भने त्यो अवस्था जिउँदै आइपुगोस् । चरम स्थिति, परम हलुको अवस्था, रित्तो हात, विना बिछौना जा बाबु अनन्तमा मिल्न जा । अन्ततः सबै रेलहरूलाई माथि जानु नै छ ।

टिकट के हो ? शरीरधारीका लागि सजाय हो । मुम्बईको लोकल ट्रेनमा भिडले थिचिएर कुनामा कुर्चा खाइरहेको यात्रीलाई जब आफ्नो शरीर पनि गह्रौं लाग्न थाल्छ अनि उसले सोच्छ, यो शरीर नभएर आत्मा मात्र हुँदो हो त कति सजिलोसित यात्रा गर्दो हो । रेलयात्रा गर्दा प्रायः विचारहरूमा डुबिन्छ । विचारलाई छोडेर डुब्नका लागि त्यहाँ अरु केही हुँदा पनि हुँदैन नि ! रेल कहीँ पनि अडिदिन्छ । मानौं कुनै प्रेयसी प्रियको प्रतीक्षामा उभिएकी होऊन् । उता प्लेटफर्ममा यात्रीहरू यसको प्रतीक्षा गरेर उभिइरहेका हुन्छन् । यो भने जङ्गलमा अडिएर खै कुन्नि कसको बाटो हेरिरहन्छ । म झ्यालमा चिउँडो अड्याएर सोचिरहन्छु । छेवैमा बसेको यात्री सोध्छ, ‘भन्नुस् त हजुर, यो देशको कुनै भविष्य छ कि छैन ? यस विषयमा तपाईंको के विचार छ ?’ ‘थाहा छैन… ।’ तपाई भन्नुहुन्छ, ‘…अहिले त कति मात्र सोच्नुस् भने यो ट्रेनको कुनै फ्युचर छ कि छैन ?’

फेरि एक्कासि रेलको मुड बन्दछ र हिँडिदिन्छ । तपाईं हल्लिँदाहल्लिँदै कुनै राम्री महिलाको अनुहार हेर्दै हिँड्नुहुन्छ । फेरि कुनै स्टेसनमा ती महिला पनि ओर्लिन्छिन् । अनि एक्कासि लाग्छ, रेल नै रित्तियो । मन हुन्छ म पनि ओर्लियूँ कि ? तर भारतीय रेलहरूमा मान्छे आफ्नो टिकटका कारण पनि बाध्य हुन्छ । जसको जहाँको टिकट छ त्यहीँ त ओर्लिने हो नि । ती राम्री महिलाको टिकट यहीँसम्मको थियो त यहीँ ओर्लिइन् । मेरो टिकट अगाडिसम्मको छ त म त्यहीँ ओर्लिन्छु । भारतीय रेलहरूले कता कता हाम्रो मनलाई छुन्छन् । त्यसले मनुष्यलाई मनुष्यको निकट ल्याउँछ । एउटा उँघिरहेको मानिसले अर्को उँघिरहेको मान्छेको काँधमा टाउको अड्याइदिन्छ । भन्नुस् त भारतीय रेलमा भन्दा बाहिर यस्तो निकटता कहाँ देखिन्छ र ? आधा रातमा माथिको बर्थमा सुतेको मानिसले तलको बर्थमा सुतेको मान्छेसित सोध्छ, ‘यो कुनचाहिँ स्टेसन हो ?’ मन त हुन्छ कि भनिदिऊ, ‘ओए चुपचाप सुत् न ! किन डिस्टर्ब गर्छस् ?’ तर भन्दिनँ किनभने त्यो पनि भारतीय रेलको यात्री हो र भारतकै भूमिमा यात्रा गर्दै छ । ऊ त यति बेला भारतीय रेलले कति प्रगति गर्‍यो भन्ने मात्र जान्न चाहन्छ ।

आधा रातको चुकजस्तो अँध्यारामा म भारतको भूमि पहिल्याउने प्रयत्न गर्छु । थाहा नै हुँदैन कुनचाहिँ अपरिचित स्टेसनको नचाहिँदो सिग्नलमा भाग्यको रेल रोकिएको छ । माथिको बर्थवालाले आफ्नो प्रश्न दोहोर्‍याउँछ । म पनि आफ्नै मौनतालाई दोहोर्‍यादिन्छु । भारतीय रेलहरूले हामीलाई सहिष्णु बनाउँछन् । उत्तेजनाको क्षणमा पनि शान्त हुन सिकाउँछन् । मानिसको यही प्रगति हो ।

०००

जाेशीकाे  शनिवार, २१ जुन २०१४ प्रकाशित व्यङ्ग्य निबन्ध  रेलयात्राबाट नेपाली अनुवाद

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पाकेटमार

पाकेटमार

कृष्ण प्रधान
पर्यटकको परिहास

पर्यटकको परिहास

रामकुमार पाँडे
भू-शासन

भू-शासन

माधव पोखरेल गोज्याङ्ग्रे
आधुनिक सीता

आधुनिक सीता

रमेन्द्र काेइराला
जता मल्कु त्यतै ढल्कु

जता मल्कु त्यतै ढल्कु

रामप्रसाद अर्याल ‘अविराम’
फटा नीति सकियो

फटा नीति सकियो

वलदेव थापा
0
Would love your thoughts, please comment.x
()
x