नगिता लेप्चा राईम पनि ओभरै छु नि त
आखिर म मैँ हुँ ठान्छु आफूलाई । तर मेरो यो घटिया आदतले मलाई कुन दिन बाघकै मुखमा हाल्नेछ... त्यति बेला मेरो के गति हुनेछ भन्ने पनि सोँच्छु । तर लागेको बानी फेरि उही त हो नि ।

नगिता लेप्चा राई :
मलाई चिन्नुहुन्छ कि चिन्नुहुन्न कुनि ! मलाई कुनै वास्ता छैन । तर म आफूलाई अरुभन्दा बेग्लै ठान्छु । यसको अर्थ मेरो फुर्केपनाको विज्ञापन पनि गरेकी होइन । म मैँ हुँ । किनभने म गाउँको हरेक मान्छेको कुरा लिएर अन्तै वमन गर्ने हुँ । मलाई पोल लाउन मनपर्छ । समाजका हर प्रकारका व्यक्तिसित उठबस् भएकोले कसको के गुप्ति कुरा छ, कसको के कमजोर छ त्यसको आन्द्राभुँडी थाहा छ । मसित गाउँका प्रायः सबै नै सतर्क हुन्छन् । मदेखि पर… पर हुन्छन् । किनभने म पोल हाल्न छिटो एक नम्बरको छु । पोल मात्र होइन ड्रिङ्क्समा स्न्याक्स जस्तो मेरो पोलमा पच्चीस प्रतिशत बनावटी कुरा हुन्छ जुन कुराले मेरो पोल सुन्नेहरूको रिसको आगोमा पोलिन्छन् । यस्तो काम किन गर्नु हई… म पनि ओभरै छु नि त…
को कहाँ जाँदैछ, कसले के गर्दैछ, को कोसित कार्यक्रममा सँगै थियो । ती सामान्य कुराहरू हुन् । तर त्यसमा मसला हालेर वा आगोमा घिउ थपेजस्तै जस्तै म पनि त्यस्ता मनगढन्ते कुरा थपेर गण्डागोल मच्चाउन सक्छु । यो मेरो खूबी हो, ट्यालेण्ट हो । यसैले म मैँ हुँ । फेरि मलाई कुरा बिगार्नु जति आउँछ त्यसभन्दा बढी कुरा बनाउनु आउँछ । पोल हाल्दा कतै कुरा बिग्रियो भने एक छिनमै कुरा बनाएर पोल पोल होइन एउटा सामान्य कुरा मात्र हो भनी प्रमाणित गर्नमा पनि मलाई कसैले भेट्दैन । यस्तो काम किन गर्नु हई… म पनि ओभरै छु नि त… ।
मलाई मान्छेले दिने बानी गरेको छ । जुन घरमा जान्छ त्यस घरबाट मलाई केही देवोस् भन्ने विचार लिएरै त्यहाँ पुग्छु । दिए ती घरकाहरू अति नै माई डियर नदिए तिनको भएभरको पोल खोलेर मेरो पाल लाउने कलामा धार लाउँछु । फेरि अर्को कुरो, म मान्छे मज्जाको छु नि । उदाहरणको लागि, सम्झिनुहोस्, म तपाईंको घरमा केही पाउने आशामा उपस्थित भएकी छु । यसो घरको छाँटकाँट हर्दै मेरो सिक्स सेन्सले मलाई सङ्केत गर्छ… यस घरबाट केही कुराको आशा नगर् । यस्तो काम किन गर्नु हई… म पनि ओभरै छु नि त… ।
मेरो गिदी सन्किन्छ त्यस घरका मान्छेको वेउरा देख्दा । किसिम कुरा हाँकेर भन्छु, सुन्नुभयो हजुर ! हिजो फलानो घरमा गएको थियो कि आमामामा… सुके पोखरीबाट डुकु, इस्कुस, गट्टा, गुन्द्रुक, च्याउ, सिमरायो, दुङ्दुङ्, रायोको साग, इस्कुसको मुन्टा, मूला ल्याएको रहेछ कि मलाई एक भारी दियो अन्त भन्नुहोस् न ! होस भन्दा पनि जबरजस्ती यत्रो झोलामा हालिदियो नि । थेत ! त्यति मात्रै कहाँ हो र हजूर ! विचारा अमृत भाइले पाँच सय रुपियाँ पनि दिनुभयो । मैले पर्दैन भन्दा पनि बुहारीले जबरजस्ती मेरो ब्यागमा घुसारिदिइन् । कम्ति अपठेरो लागेको होइन । यसो भन्नुको खास मतलब चाहिँ के हो भने, त्यस घरबाट पनि केही न केही पाउनु का साथै केही पैसा पाइन्छ कि भनेर । कतिले यो कुरा सुनेर दिइ पनि हाल्छन् तर धेरैलाई मेरो इन्डाइरेक्टली मगन्ते बानी थाहा भइसकेको हुनाले उनीहरू मेरो कुरालाई वास्तै नगरी नसुनेको जस्तो गर्छन् । यतिबेला पनि तिनको घरको पोल गाउँमा कतै सुनाइन्छ छ नि बाह्र मसाला हालेर । यस्तो काम किन गर्नु हई… म पनि ओभरै छु नि त… ।
असत्य कुरा, हुँदै नभएको कुरालाई पनि विशाल बनाएर पोल हाल्नमा म गज्जब छु । मौकामा चौका हान्न जान्दछु । कसैलाई चम्काउनु र कसैलाई उचाल्नु मेरो दाहिने हातको काम हो । कथम्काल जिब्रो चिप्लेर कुराले काम बिगार्न बिगार्न आँट्यो भने मोर्चा सम्हाल्न पनि मलाई कसैले भेट्दैन । यस्तो काम किन गर्नु हई… म पनि ओभरै छु नि त… ।
कुरै कुरामा, अस्ति एउटा घरबाट सामान्य पैसा खुस्काउनु थियो । त्यो घरमा गएर एकजनाको पोल खोले- त्यो बहिनीको त बानी नै त्यस्तो छ नि । अस्ति एउटा प्रोग्राममा एकजनाले टिकट दिएर डाँटसितले प्रोग्राम हेरेकी देखेर कम्ति त रिस नउठेको होइन । अर्काको टिकटमा के प्रोग्राम हेर्नु हई । आफ्नै दमले टिकट किनेर प्रोग्राम हेर्नु नि । यस्तो काम किन गर्नु हई… म पनि ओभरै छु नि त… ।
जोशमा के के भनेँ भनेँ थाहै भएन । मेरो पोल सुन्नेले ती बहिनीलाई सुनाइदिएछ । बेलुकी पोल सुन्ने श्रोताले मलाई फोन गरिन्- औ…पोलमिस् । तिमीले भनेकी त्यो बहिनीलाई त उनको म्याजिष्ट्रेट अङ्कलले पो टिकट दिनुभएको अरे । तिमीले कसरी भन्यौ त्यो बहिनीलाई कुने कसले टिकट दियो भनेर । यस्तो हावाको कुरा पनि गर्नुहुन्छ हँ ! तिमीलाई सोध्नु त्यो बहिनी र उनको म्याजिष्ट्रेट अङ्कल आउँछु भन्दैछ है । अलिक विचारेर बोलन हौ… यस्तै पारा हो भने तिमी एकदिन डरलाग्दो दलदलमा फँस्छौँ । सोंच्छु । साँच्चै मैले गल्ती त गरेकी छैन । यस्तो काम किन गर्नु हई… म पनि ओभरै छु नि त… ।
मुटु च्यूँ भयो । मलाई पनि एकजना बत्तीसपुतलीले भनेकी । मैले त केही खुस्काउनलाई यस्तो मसला लाएर पोल खोलेकी । तर यहाँ त माजरा अर्कै भएछ । एकक्षण त थरथरी कामेँ । अचानक पसिना आयो । सोंचेँ, साँच्चै आएर मलाई प्रमाण माग्यो भने त मलाई लाजमर्दो मात्र होइन मेरो जगटा लुछ्न बेर पनि लाउँदैनन् भन्ने डरले रातभरि सुतिनँ । भोलिपल्ट बिहानै त्यस घरमा गएर यस्तो कुरा बनाएँ… आम्बो वकिललाई पनि जिताउने लागिरह्यो । मैले भने, होइन मैले त्यो बहिनीलाई टिकट कसैले दियो भनेकी होइन, त्यो बहिनीले पनि उसलाई टिकट मागेर दिएकी भनेकी । कि मैले भन्नु गलत गरेँ कि तिमीले सुन्नु गल्ती गर्यौ । यस्तो काम किन गर्नु हई… म पनि ओभरै छु नि त… ।
त्यस घरकीले भनी, जे होस् यसैकारण मुख सम्हालेर बुझेर मात्र बोल्नू ! ती बहिनी र उनको म्याजिष्ट्रेट अङ्कल मात्र होइन उसका सात-सातजना डँडाक डँडाक छेमाहरू मेरी छोरीलाई कसले कसरी कहाँ टिकट दियो.. भनेर तिमीलाई न्याँक र झ्याँक पार्यो भने तिमी के गर्छाैँ । लु तेसो नगर्ला, हिन् त्यो केटाकोमा जसले हाम्रो छोरीलाई प्रोग्रामको टिकट दियो… हिन् ऐल्यै हिन्… प्रुफ गर्नुपर्छ भनेर जगटामा तानेर लाग्यो भने तिम्रो गति के हुन्छ ? हो नि हुनु त । कुन दिन चाहिँ म ।
हुन पनि हो । साँच्चै मलाई प्रमाण मागेर दिनु सकिनँ भनी मलाई थाङ्ना बनाउनु बेर लाउँदैनन् भन्ने डरले मरिगएँ । अबदेखि यसरी हावाको कुरामा पोल हाल्दिनँ भने कूल देवतालाई माफ मागेँ । तर लागेको बानी कसले छोड्ने ? फेरि मुख ता चिलाइहाल्छ… पोल वर्षा वर्षिहाल्छ । आखिर म मैँ हुँ ठान्छु आफूलाई । तर मेरो यो घटिया आदतले मलाई कुन दिन बाघकै मुखमा हाल्नेछ… त्यति बेला मेरो के गति हुनेछ भन्ने पनि सोँच्छु । तर लागेको बानी फेरि उही त हो नि । कसैको पोल नहाली कसरी कसैको प्यारो हुनु हई । यस्तो काम किन गर्नु हई… म पनि ओभरै छु नि त….
०००
जलपाईगुडी (भारत)
Subscribe
Login
0 Comments
Oldest





































