बालमुकुन्द देव पाण्डेभल्डाँडे कविसँग बच्न खोज्दा
मानिसको त्यो सागरमा के फेला पार्न सक्थे मलाई । आफ्नो जुक्ति यति सजिलैसँग सफल भएकोमा मैले आफूलाई स्यावासी दिएँ- हुलमुलमा ज्यान पनि जोगियो, खल्तीमा भएका अलिकति रुपियाँ पनि बच्यो ।

बालमुकुन्ददेव पाण्डे :
म आज तपाईंहरूलाई एक कविको परिचय गराउँदै छु । तिनको वास्तविक नाम त मलाई पनि थाहा छैन उनको उपनाम हो “भाल्डाँडे” । उनको जन्मथलो भालुडाँडा होला जुन पछि गएर भाल्डाँडा बन्न पुग्यो र हाम्रा कविले पनि आफ्नो नाम भल्डाँडे राख्न रुचाए होलान् । तिनको परिचय मैले सोह्रखुट्टेको एउटा भट्टीमा साँझपख पाएको हुँ । उनको गाउँ भल्डाँडा नुवाकोट नजिकै पर्छ रे ।
बाबुका छ भाइ छोरामा हाम्रा कविजी पाँचौँ आर्थात् ठाइँला रहेछन् । साँवा अक्षर घरमै खारेपछि र भानुभक्तीय रामायण कण्ठस्थ गरेपछि काम गर्ना गाह्राले शहर पसेका रहेछन् । घरबाट ल्याएको रकम सकिँदा पनि कुनै काम नपाएपछि आर्थत् उनले गर्न सक्ने पिउनको जागीरसम्म नपाएपछि यी क्रान्तिकारी कवि बन्न पुगे । तर उनका कविता कतै छापिएनन् त कुनै कवि सम्मेलनमा नै निम्त्याइए । उनी आफूलाई नेपालको मात्रै होइन विश्वकै महान् कवि ठान्थे । उनको शरीर नै कवितामय थियो । अग्ला, सिखुटे । कैयौँ दिनदेखि नकोरिएको कपाल र नखौरिएको दारी जुँगा । मयलको पत्र जमेको कमीज र कोट । अनि त्यस्तै तलको सुरुवाल कुनै पल्टनेले थोत्रो भएर फ्याँकेको जस्तो जुत्ता लाएका । त्यस बेला उनी मसँग कुरा गर्दै पनि थिए र राँगोको छोप्लासँग लोकल रक्सी पनि पिउँदै थिए । कुरा गर्दा मुखबाट थुकका फोहर फ्याँक्दा रहेछन् हाम्रा कवि ।
“बुझ्नुभो, शर्माजी नेपालमा पर्तिभाको कदर हुँदैन । हामी हिलोमा फुलेका कमल हौँ तर मानिसहरू हामीलाई तितेपातीको झार भन्दा केही ठान्दैनन् । म अम्रिकामा जन्मेका भए मेरो हालत यस्तो दयनीय हुन्थेन । हेर्नोस् मेरा गोजीहरू सबै कविताका बिटाले भरिएका छन् तर त्यो कसैले पढिदिँदैनन् । यति भनेर उनले एउटा खल्तीबाट गुजुल्टिएका कागतका पोकाहरू झिकेर टेबलमा ढ्याक्क राखे । कच्याककुचुक्क परेका ती कागतहरूलाई सम्याउन के थालेका थिए मलाई डर लाग्न थाल्यो, यिनले कविता सुन भन्न थाले भने यो साँझ बेकारमा बित्ने छ । म त्यहाँबाट भाग्ने दाउ हेर्न थाले । उनले च्याप्प मेरो पाखुरा समातेर बेन्चीमा थचारे ।
“काँ जान लाग्नुभाको ? दुई चारोटा कविता सुन्नु पर्छ तपाईंले, त्यसपछि मैले खाको पैसा पनि तपाईंले नै तिर्नु पर्छ ।” यति सुन्नु के थियो म छाँगोबाट खसेझैँ भएँ, कविता सुन्ने सजायँ पनि भोग्न पर्ने र भल्डाँडे कविले खाएका रक्सी र मासुको पैसा पनि तिर्नु पर्ने रे । मलाई भाउन्न छुटेर आयो । पिसाब फेर्ने निहुँले त्यहाँबाट छार्ताेस ठोकेँ, उल्टो आफ्नो पैसा पनि तिर्न बिर्सेछु । भोलिपल्ट बिहान आफ्नो पैसा तिर्न म त्यहीँ होटलमा पुग्छु त हाम्रा कविजी त्यहीँ बेन्चमा कोटको सिरानी हालेर मस्त सुतिरहेका ।
“धोक्नसम्म रक्सी धोक्यो, पैसा पनि तिरेको होइन, जा भनेको पनि मान्या होइन । कस्तो हरामी रहेछ, मोरो, पैसा- माग्दा एउटा खोसेल्टो जस्तो कागत दियो,- यहीँ बेचेर पैसा उपर गर पो भन्छ । कसले किन्छ यस्तो कागत ?” साहुनी बूढी एकोहोरो फत्फताउँदै थिइन् । अनि मतिर फर्केर “हिजो किन पैसा नतिरी भाग्या नि”- भनेर सोधिन् “मैले इशाराले साहुनीलाई चूप लाग्ने अनुरोध गर्दै पैसा तिरेर त्यहाँबाट निस्केँ, कतै कविजीको निद्रा भङ्ग होला र उनका हात मेरा कठालामा पर्लान् भन्ने डर थियो मलाई ।
त्यसको केही दिनपछि लैनचौरको- पेटीमा भल्डाँडे कविसँग मेरो जम्का भेट भयो । मेरो अवस्था त्यस बेला साहू छलेर हिँड्न ऋणी अचानक साहूको अगाडि परेको जस्तै भयो । यताउति छल्ने ठाउँ पनि थिएन । केही कामै नपरीकन म डेरीको पसलभित्र लुक्न पुगेँ । तर उनका तिखा र पारखी आँखाले भुत्रो धोका खान्थ्यो र उनी पनि त्यहीँ टुप्लुक्क आइपुगे । “ओहो, के किन्न लाग्नु भा शर्माजी, मलाई पनि है” भन्न थाले । हिउँद महिनामा पाइँदैन भन्ने थाहा पाउँदा पाउँदै मैले “आइसक्रिम छ ?” भनेर सोधे । काउन्टरमा बसेकी मृगनयनले मलाई पाखे सम्झँदै “छैन” भन्ने रुखो जवाफ दिइन् । त्यस बेला म भित्रभित्रै निकै प्रफुल्ल भएँ, कविजीको अनुहार निचोरिएको निबुवा जस्तै भयो ।
“अस्ति किन भागेको नि ? साहुनीले मेरो कस्तो बेइजत गरी । आज कतै जाउँन, तपाईंसँग धेरै बातचित् मार्नु छ । खल्तीमा अलि अलि पैसा छँदैछ । होला ।” कविजीले सारै सहज पाराले यस्तो उद्गार व्यक्त गर्नु भयो ।
मेरो अवस्था त्यस बेला मन्दिरमा बलि चढाउन घिसारिएको बोकाको जस्तै भयो । कुनै बहानावाजीले त्यस बेला काम गर्न सक्ला जस्तो लागेन । तैपनि एउटा सजिलो बाटो रोजेँ- “ऊ त्यहीँ चौरमा बसौँ न । एकान्त पनि छ, कुराकानी पनि राम्रोसँग हुन पाउँछ ।”
यति भन्नु के थियो पड्कन थलिहाले हाम्रो भल्डाँडे कवि- “तपाईंले के ठान्नुभाको छ मलाई ? चौरको कवि ? ठूला कविका कविता सुन्न मान्छेले कति खर्च गर्छन् तपाईं चाहिँ चालीस-पचास रुप्पे खर्च गर्न पनि कञ्जुसी गर्नुहुन्छ । हिँड्नोस्- अस्तिकै होटेलतिर ।”
आखिर म मात्र कहाँ को कमाई- धमाई भएको व्यक्ति थिएँ र ? मेरा लेख पनि कसले नै छाप्थे र आफूसँग आज पैसा नभएको कुरा गर्दा पनि उनले पत्याएनन् । “आइस क्रिम खान पैसा हुने, यस्तो जाडोमा अलेलि रक्सी पिउन पैसा नहुने, म त मरे पत्याउन्नँ । उनी आफ्नो अडानमा चट्टान – बन्न पुगे । मेरो हालत कर्मचारीको घेराउमा परेका हाकिम अथवा विद्यार्थीको- अन्तिमेत्थम पूरा गर्न नसकेर झोक्राउन पुगेका प्रधानाध्यापकको जस्तै बन्न पुग्यो ।
उनको पारा केही ओल्यो- “पैसा नभए पनि उधारो चल्ने ठाउँ पनि होला नि, त्यतै जाउँ न ।” उनलाई के थाहा कति ठाउँमा उधारो खाएको पैसा तिर्न नसकेर मैले त्यताको बाटै हिँड्न छाडिसकेको छु । यसो भनेर भल्डाँडे कविबाट मुक्ति पाउने आशा थिएन । आखिर केही सीप नलागेर मैले उनलाई त्यौड हुँदै मासँ गल्लीतिर लाने विचार गरेँ । होटलमा पस्न होइन त्यहाँको भीड र गल्लीबाट फाइदा उठाउने सुरले ।
म अघि अघि कविजी पछिपछि लाग्यौँ । असन चोकमा आइपुगेपछि अचानक मेरो भाग्य खुल्यो । त्यहाँ एउटा साँढे ज्यापू दाइको खर्पनमा मुख गाड्दै रहेछ, ज्यापू दाइ त्यसलाई नोलले ठटाउँदै थिए । यत्तिकैमा त्यहाँ हार्रहुर्र भयो । मानिसहरू भागाभाग गर्न लागे । कविजी अन्नपूर्णकाे मन्दिर पुगेछन् । मासँ गल्लीतिर लाग्ने उद्देश्यले म चाहिँ न्हैकन्तलातिर लागें । उनी मलाई धइँघधइँती खोज्दै थिए होलान्, तर मानिसको त्यो सागरमा के फेला पार्न सक्थे मलाई । आफ्नो जुक्ति यति सजिलैसँग सफल भएकोमा मैले आफूलाई स्यावासी दिएँ- हुलमुलमा ज्यान पनि जोगियो, खल्तीमा भएका अलिकति रुपियाँ पनि बच्यो ।
०००
‘मुस्कान’, (मङ्सिर २०४७)
Subscribe
Login
0 Comments
Oldest







































