नकच्चरा
जन्म दिन सक्ने कर्म दिन नसक्ने भनौँ वा आफ्ना सन्तानमाथि बेवास्ता गर्नेहरू नै “खाने पिउँने रामे, चोट पाउने श्यामे” भनेझैँ सन्तानको दोष आफ्नो थाप्लोमा बज्रिन आएपछि झसङ्ग हुन्छन् ।
आर. सी. रिजाल :
“नकच्चरा ! नकच्चरी !” यो नाम सुन्दा कुनै चराको जस्तो लाग्छ । चरा त हो तर यसको पखेटा हुँदैन । यसले फुल पार्दैन-कोरल्दैन । पछिल्लो अक्षर “रा” आएकोले होला यसको केही स्वभाव चमेरासँग मिल्छ । नकच्चरा स्तनधारी जन्तु हो । तर यसको पुख्र्यौली भने चमेरो नभै बाँदर हुनुपर्ने राय अन्वेषणकर्ताहरूको छ । किनभने नकच्चरा नकच्चरीहरूको धेरै स्वभाव बाँदरको सिको गरेझैँ छ । चमेराका गुँडमा नाकको प्वाल र बाँदरको चैँ चेप्टे नाक हुन्छ । तर नकच्चराको चैँ नाकै हुँदैन । सायद नाक नभएको कारणले यिनका नाम नकच्चरा/नकच्चरी रहन गएको होला । तपाईंहरूलाई खुल्दुली लाग्यो होला यस्तो अचम्मको जन्तु कहाँ पाइन्छ । यो संसारको जनुसुकै भागमा पनि पाइन्छ । तिनीहरू हाम्रै सेरोफेरो लगाइरहेका हुन्छन् । नकच्चरा/नकच्चरीको छोटकरी परिभाषा दिने हो भने “मानवले पालन गर्नुपर्ने आचारसंहिताको घेरा लाजघीनै नमानी मेट्नेहरू नै नकच्चरा/नकच्चरी हुन् ।” तसर्थ त्यो चरा तपाईं हामी पनि हुन सक्छौँ । सुकर्म र कुकर्म अनि सुगन्ध र दुर्गन्ध छुट्याउन नसक्ने भएकाले यिनको नाक हुनु र नहुनुमा खासै फरक पर्दैन । यस्ता नकच्चरा राजनैतिक, सामाजिक हरेक क्षेत्रमा देखा परेका छन् र पर्दैछन् पनि । यिनीहरू आफू के हुँ ? त्यो वास्तै गर्दैनन् ।
नकच्चरा/नकच्चरी हुन ज्यादै सजिलो छ । कठिन परिश्रम र मेहनत गर्नु पर्दैन । यो उपमाको लागि कुनै विश्वविद्यालयको प्रमाण-पत्र आवश्यक पर्दैन । आफ्नो बुद्धिलाई कुबाटोमा लगाउने हो भने एक्लैले पनि यो पदवी प्राप्त गर्न सकिन्छ । हुन त कतिपयले राजनैतिक पार्टीहरू खोलेर, कतिपयले भ्रष्टाचार गरेर, कसैले सामाजिक मर्यादा उल्लङ्घन गरेर र कसैले त मानवताको हत्या नै गरेर यस्ता उपाधि हासिल गरेका छन् ।
तपाईं हामी आफ्नो नाक समातेर “ए । म त नकच्चरा/नकच्चरी हैन रहेछु” भन्ने भ्रममा नपर्नु नै वेश होला । नाक भएर मात्र हुँदैन नाकको हैँसियत जोगाउन कर्म पनि गर्नु सक्नु पर्छ । नकच्चरालाई खतरनाक रोग भनेको पनि सुनिन्छ । सकेसम्म नकच्चराहरूबाट टाढै रहनु नै वेश हुन्छ । यो रोग लाग्ने कुनै निश्चित तिथि, मिति र समय हुँदैन । यो रोग लागेपछि मान्छेले जीवनभर कमाएको मान-प्रतिष्ठा एकै मिनेटमा स्वाहा हुन्छ । त्यसै भएर होला हाम्रा पुर्खाहरूले “सबैको औषधी हुन्छ तर नकच्चराको हुँदैन” भनेका । नकच्चराको उपाधि प्राप्त गरे पछि त्यसबाट उम्कनु उही भालूको कमपट समात्ने कथा जस्तै हो । जानजान गल्ती गरेर नकच्चरा भएपछि धेरै पश्चाताप र आत्मालोचना गरेर मात्र त्यो चरा हुन सक्छ तर चरा भएको घोषणा नकच्चराले गरेर हुदैन समाजले गर्नु पर्छ । यस्ता चराहरू धेरै पाइने स्थान अहिले राजनैतिक क्षेत्रले ओगटेको छ । चुनावताका यिनले छाडेको गोली जस्तो बोली पुर्याउन नसक्दा भोलि नेता त हैन उल्टै जनता जनार्दन जिल्लिन्छन् भत्भती पेट पोली ।
कहिलेकाहीँ सदाचार नत्याग्नेहरू पनि यो पद्वीबाट विभुषित हुन पुग्छन् । आफ्नो सन्तान र साथीहरूको कुकर्म वा कुकृत्यबाट “अब आफ्नो नाक यो समाजमा कसरी ठाडो पारेर हिँडौँ । यो नाक कहाँ लगेर बिसाऊँ ? भन्दै नाक हत्केलामा राखेर थन्क्याउने स्थानको खोजीमा दौडनेहरू पनि छन् । वर्तमान समाजमा झाङ्गिँदै गएको नैतिक ह्रासलाई दृष्टिगोचर गर्ने हो भने अब सबैले आफ्नो नाक बेला मौकामा छाम्दै गर्नु पर्ने स्थिति आइसक्यो । यसो गर्दा कुकर्म नगर्न नाकले सचेत गराउँछ कि ?
अब नकच्चरा नकच्चरीको बाबु आमाको कुरा गरौँ । जन्म दिन सक्ने कर्म दिन नसक्ने भनौँ वा आफ्ना सन्तानमाथि बेवास्ता गर्नेहरू नै “खाने पिउँने रामे, चोट पाउने श्यामे” भनेझैँ सन्तानको दोष आफ्नो थाप्लोमा बज्रिन आएपछि झसङ्ग हुन्छन् । सन्तानको कुकर्मले गर्दा यिनीहरूलाई समाजले “कठैबरा ! कठैबरी ! आफ्नो सन्तानको कारणले नाक ठड्याएर हिँड्न नसक्ने भए” भन्दै कुरा काट्छन् । आफ्नो कर्तव्यबोध नहुनेहरूले यस्तो परिणाम भोग्नै पर्छ । यसो विचार गर्दा मलाई त उल्टै उही “मैले सिकाएर बा जन्म्या” भने झै कठैबरा ! कठैबरीको बाबु नकच्चरा र आमा नकच्चरी हुन् कि जस्तो लाग्छ ।
०००
‘कण्ठ लँगोटी’ (२०५७)
Subscribe
Login
0 Comments
Oldest