चिरञ्जीवी दाहालरङ नम्बर
एकहप्तासम्म बिना कारण कसैको जार बन्नु पर्दाको पीडा भुल्न नसक्ने खालको थियो । जब सिमकार्ड फालेँ तबमात्र टाउकोमा राखेको पचास किलोको जाँतो झिकेर फाले जस्तै मन हलुका भएको थियो।

चिरञ्जीवी दाहाल :
म काठमाडौंबाट चितवन फर्कदै थिएँ । नागढुङ्गाबाट ओरालो लाग्नासाथ मोबाइलमा बजेको घण्टीले मेरो ध्यानाकर्षण गर्यो । फोन कुनै चिरपरिचित नम्बरबाट आएको थिएन, नयाँ नम्बरबाट आएको थियो । मैले हत्तपत्त फोन उठाएँ । उताबाट एउटा कर्कश आवाज आयो –
“हेलो ! यो कहाँ पर्यो होला ? ”
मैले जवाफ दिएँ । “अहिले नागढुङ्गामा पर्यो । केही बेरमा फोन गर्नु भयो भने गजुरीतिर पर्छ । होइन साँझपख फोन गर्नु भयो भने चितवन पर्छ ।”
कसैले ल्याण्डलाईनमा फोन गरेर कहाँ पर्यो भन्यो भने उसँग ठट्टा गर्नु त्यति उचित हुँदैन । किनकि ल्याण्डलाईन सँधै एकै ठाउँमा हुन्छ । कहाँ पर्यो भन्दा फ्याट्टै उत्तर दिन सकिन्छ, यो फलानो ठाउँमा पर्यो भनेर । मोबाइलमा फोन गरेर कसैले कहाँ पर्यो भन्यो भने मलाई अल्लि असहज लाग्छ । यो कसको नम्बर पर्यो होला ? भनेको भए म सोझै उत्तर दिनसक्ने थिएँ । मैले पनि सामान्य ठट्टा गर्ने हिसाबले जे त पर्ला भन्दै यस्तो टेढोमेढो उत्तर दिएँ । वास्तवमा यो ठट्टा मात्र पनि होइन वास्तविकता पनि यही हो । मेरो नित्य कार्यतालिका यस्तै भएपछि कहाँ पर्यो भन्नु ! हुन त सबैका मोवाईल कलहरू एकै ठाउँमा मात्र आउँदैनन् ।
एकैछिन अघि गोङ्गबुमा भएको म फोनको घण्टी बज्दाबज्दै कलङ्की पुगिसकेको हुन्छु । मलेखुमा बजेको फोनको घन्टी बेनीघाट पुगेर उठाउन सक्छु । मैले नागढुङ्गा र गजुरीको कुरा गर्दा केही नबिराएको भए पनि सामान्यतया यस्तो उत्तर भने धेरै मान्छेहरूलाई मन नपर्न सक्छ ।
ठट्टा गर्न पनि समय चाहिने रहेछ। सायद त्यो समय त्यति उचित थिएन क्यारे, मेरो जवाफ सुनेर फोन गर्ने मान्छे निकै च्याँठ्ठिएर प्रस्तुत भयो ।
“नचाँहिने कुरा नबोल् । त्यस्तो पनि हुन्छ ?” उसले मलाइ सिधै तँ तँ गर्दै थर्कायो । मैले भनेँ – “किन हुँदैन ? म सधैँ गाडीमा हिँड्नुपर्छ ! तपाइँ पनि मैले जस्तै गाडीमा हिँड्ने गर्नुस् त ! यस्तो हुन्छ कि हुँदैन आफै थाहा पाउनुहुन्छ । मेरो त हरेक दिन यस्तै हो । मैले पनि ढिला नगरी भनिदिएँ ।
“ए, सधैं गाडीमा हिंड्ने भए तँ नेता पो होस् ? । शङ्का त मलाई पहिल्यै लागेको थियो । तँलाई अर्काकी स्वास्नी उडाउन लाज लागेन ? ”
अब भने म जिल्ल परेँ, उसले मलाई अचानक गम्भीर प्रकृतिको आरोप लगाउँदै थियो । दायाँ बायाँ विचारै नगरी मलाई, उसैकी श्रीमती उडाएको अभियोग लगायो। अर्काकी श्रीमती उडाएको अभियोग लागेपछि म झसङ्ग भएँ । यस्तो नचाहिँदो दोष पाएपछि होस हराउन पनि के बेर ! तर पनि संयमित भएर मैले त्यसको स्पष्टीकरण दिनै पर्ने भयो । मैले अलि नरम भएर भने- “ नचाँहिने कुरा नबोल्नुस् है, पहिलो कुरा म नेता होइन । दोस्रो, मैले कसकाी श्रीमती उडाएँ ? अनि तपाईंकी श्रीमतीको पँखेटा थियो र उडाउनलाई ?”
उसले मलाई अझै चेतावनी दिँदै थियो । निकै जङ्गिएर फेरि भन्यो । “ ओइ फटाहा, नेता नभए तँ को होस् त ? यसरी सजिलै अर्काकी स्वास्नी कसले लैजान सक्छ ? अझै जिस्कन्छस् ? एकपटक हसिनालाई फोन दे त ! होइन भने …. ! ”
“को हसिना ? यहाँ हसिना नामको कोही पनि छैन । अघि नै भनेको होइन ? म त काठमाडौं चितवन चल्ने बसको स्टाफ हुँ ।” मैले स्पष्टिकरण दिँदै भनेँ ।
उसको फोन गराइ र उसले फोनमा प्रयोग गरेका शब्दहरूले के बुझिन्थ्यो भने उसकी श्रीमती पक्कै पनि हराएकी हुनुपर्छ र उसको विचारमा उसलाई मैले नै उडाएको भन्ने लागेको छ । लाग्थ्यो, ऊ आफ्नी स्वास्नी लैजाने जारसँग कुरा गरिरहेको छ ।
उसले फेरि भन्यो “तँ जोसुकै भए पनि मलाई मतलव भएन । तर धेरै नौटङ्की नदेखाए हुन्छ ! खुरुक्क हसिनालाई फोन दे भनेको सुनिनस् ! ”
म सकेसम्म ऊसँग पन्छिने उपाय खोजिरहेको थिएँ तर स्पष्टीकरण पनि त दिनै छ । मैले फेरि भनेँ “गजबको कुरा गर्नुहुन्छ तपाइँ ! हसिनालाई फोन दिन त हसिना पनि त हुनु पर्यो नि ! भनि हालेँ नि, यहाँ कुनै हसिना नामको मान्छे छैन । मैले तपाईंकी श्रीमती उडाएको पनि छैन । विश्वास गर्नुस् , मलाई यस्तो बेतुकको अभियोग नलगाउनुस् । तपाइँले रङ नम्बरमा फोन गर्दै हुनुहुन्छ । तपाइँकी श्रीमती लैजाने मान्छे म होइन । ”
उसले मैले भनेका कुरामा फिटिक्कै ध्यान दिएको छैन । ऊ आफ्नै सुरमा असिना बर्से झैँ ममाथि बर्सिरहेको छ । मैले फोन स्वीच अफ गर्न पनि सकिरहेको छैन । उसले मेरा कुरा बिलकुलै सुन्दैन, म भने स्पष्टीकरण दिने असफल प्रयास गरिरहेको छु ।
उसले गाली दिने सिलसिला रोक्ने छाँटकाँट पटक्कै देख्दिन । त्यस मान्छेले मलाई आफ्नी श्रीमती उडाउने जार नै ठानेको छ । त्यसैले लागातार गालीको वर्षा गरिरहेको छ ।
“अहिले त्यहाँ हसिना नभए ल ठिक छ, आउनासाथ मलाई मिसकल गर् । खासै भन्ने हो भने मैले तँसँग कुरा गर्नु पनि छैन । उसैसँग कुरा गर्छु ।”
“होइन यहाँ हसिना नभएपछि किन मिसकल गर्नु पर्यो ? तपाइँकी श्रीमती हराएको भए कतै गएकी होलिन्, अरु कसैले लग्यो होला, धरोधर्म मैले लगेको छैन । तपाइँ कुरा बुझ्ने प्रयास गर्नुस् न !”
“हेर्, तैँले ढाँट्दै छस् । मलाई सबै थाहा छ । सजिलै उम्कौँला भन्ने सम्झिएको होलास्, सम्झि राख्, बरु कालले छोड्ला मैले छोड्दिन बुझिस् ? ”
म निकै असमानजस्यमा परेँ । त्यसबेला म के गरौँ के नगरौँको स्थितिमा पुगेको थिएँ । फोन बन्द गरौं उसले बेकारमा थप शङ्का गर्न सक्थ्यो । होइन भनौं, मैले बोलेको उसले सुन्दै सुन्दैन । बसका सबै यात्रुहरू मलाई हेर्दै थिए । उनीहरूले मनमनै भनिरहेका होलान्, अर्काकी श्रीमती उडाउने मान्छे पो रहेछ । कस्तो हरामी ! म निकै बिलखबन्दमा परेँ । म कसैको मुखमा हेर्न पनि सकिरहेको छैन । तै पनि उसलाई स्पष्टीकरण भने दिन छोडेको थिइनँ । मैले उसलाई भनेँ-
“ मैले भनेको कुरा एकपटक ध्यान दिएर सुन्नुस् ! सायद तपाईंले रङ नम्बरमा फोन गर्दै हुनुहुन्छ । नम्बर गल्ती भयो होला, राम्रोसँग नम्बर निर्क्यौल गरेर मात्र फोन गरेको भए जात्ती हुन्थ्यो ।”
“गलत नम्बर होइन, तँ अर्काकी स्वास्नी लैजाने मान्छे पो गलत ! तँ गलत छस् भन्ने कुरा मैले बुझिसकेँ । मलाई राम्रोसँग थाहा छ, बुझिस् ? ” ऊ अझै उतर्सिदैं थियो । नखाएको विष लाग्दैन भन्ने सुनेको थिएँ । आज भने मलाई नखाएको विष लागिरहेको छ । उसको विचारमा उसकी श्रीमती उडाउने मै हुनुपर्छ । त्यसैले उसले मलाई केही बाँकी नराखि गाली गरिरहेको छ, म भने बेफ्वाँकमा उसको गाली खाइरहेको छु । उसले मलाई एकनासले स्वास्नी लैजाने जारलाई जसरी हप्काइ रहेको छ ।
मैले फेरि पनि भनेँ “ए भाइ, एकचोटी ठन्डा दिमागले सोच्नुस् त ! म किन ढाँट्थे, यहाँ कुनै हसिना नामको मान्छे छैन । विश्वास गर्नुस् । मरिजाम, तपाइँकी श्रीमती मैले लगेको छैन । तपाईंले कसलाई फोन गर्नु भएको ? ”
“मैले तेरै नम्बरमा तँलाई नै फोन गरेको हो । अहिलेलाई भैगो , म तेरो मोबाइल नम्बर कहाँबाट उठाएको हो, पत्ता लगाएर आउँछु बुझिस् ? भोलिसम्ममा तेरो टुप्पी समाउन आइपुगिनँ भने मलाई मान्छे नभन्नु ।”
कमसेकम एकैछिन भए पनि छुट पाइने भयो । उसलाई पनि दिक्क लागेछ । उसले फोन काट्यो । मैले लामो सास फेरें ।
कुरा गराइको तरिका हेर्दा ऊ सत्ताबाट भर्खर हात धुनु परेको नेताको जस्तै पारा देखाइ रहेको थियो । सायद स्वास्नी पोइल गएको मान्छे र सत्ताबाट चिप्लिएको नेताको पीडा उस्तै हुन्छ क्यारे ! अन्यथा ऊ कसैको कुरा नसुनी यसरी एकोहोरो बर्बराइ नरहनु पर्ने थियो ।
अगाडिको सिटमा बसेको एउटा कालो चस्मा लगाउने जोकर जस्तो मान्छेले भन्यो “के हो साथी , घर्किँदो उमेरमा पनि अर्काकी श्रीमती उडाइएछ त ! उसले छोड्ला जस्तो छैन है ! बेकारमा दु:ख पाइएला ! स्वास्नी ल्याउने बेला अलि विचार पुर्याउनु पर्थ्यो !”
“तपाइँ पनि बुझ्दै नबुझी बोल्नु हुन्छ सर ! मैले कसैको श्रीमती उडाएको छैन । सायद उसलाई भ्रम भयो होला ।” त्यत्रो बेर फोकटमा विवाद गरेर दिक्क भइरहेको बेला बसको यात्रुले समेत ताइ न तुइको कुरा गरेपछि मलाई उठ्नसम्म रिस उठेको थियो । तत्काल मैले रिस थामथुम पारेँ । अन्यथा आफ्नै बसको यात्रुसँग मेरो झगडा हुन सक्थ्यो । जब म साँझ घर पुगेँ, उसले फेरि फोन गर्यो । अब कार्वाही गरेर देखाउने धम्की उसले होइन मैले दिएँ ।
मेरो धम्कीले ऊ डराएन । उसले फेरि भन्यो “जो चोर उसकै ठूलो स्वर भनेको यही हो । अर्काकी स्वास्नी उडाउनु पनि छ । उल्टै मलाई पो तर्साउन खोज्दो रहेछ, कहाँको बेइमान !”
उसको फोन आउने सिलसिला रोकिएन । जब मेरो मोबाईलमा घण्टी बज्थ्यो, उसले सधैँ यस्तै कुराहरू मात्र गर्थ्यो । चितवनबाट जाँदा होस् वा काठमाडौंबाट आउँदा होस्, भान्सामा खाना खाँदा होस् वा जेसुकै गर्दा होस्, उसको यस प्रकारको फोनका कारण म आजित भइसकेको थिएँ । गजबको कुरा के थियो भने उसले हरेक पटक फोन गर्दा नम्बर परिवर्तन गरेर गर्थ्यो । उसले कुनै पटक पनि एउटै नम्बरबाट दोहोर्याएर फोन गरेन । त्यसैले नचाहँदा नचाहँदै पनि मैले उसले गरेका सबै कल उठाउनै पर्थ्यो । जब फोन उठाउँथे, गाली खानै पर्थ्यो । उसकी स्वास्नी उडाएको भए पनि लौ केही थिएन सहन हुन्थ्यो । बित्थामा कसैको जार बन्नु पर्दा मेरो दिमाग अचार बनेको थिएँ ।
लगातार हप्ता दिनसम्म उसको गाली खाएपछि अब मसँग थप गाली खान सक्ने शक्ति थिएन । सुरुका दिनहरूमा जस्तै न म कडारुपमा प्रस्तुत भएर सवाल जवाफ नै गर्न सकेँ न उसले गाली गर्न छोड्यो । अन्ततः मैले बाध्य भएर एकदिन मोबाइलको सिमकार्ड झिकेर मिल्काई दिएँ । एकहप्तासम्म बिना कारण कसैको जार बन्नु पर्दाको पीडा भुल्न नसक्ने खालको थियो । जब सिमकार्ड फालेँ तबमात्र टाउकोमा राखेको पचास किलोको जाँतो झिकेर फाले जस्तै मन हलुका भएको थियो।
यसै बीच मेरी अर्धाङ्गिनी भित्र पसिन् र भनिन् – ”अस्ति हराएको मेरो सिमकार्ड पाएँ नि, आँगनको छेउमा रहेछ । ”
उनले मोबाइल खोलेर सिमकार्ड राखिन र भान्सातिर लागिन । तुरुन्तै मोबाइलमा घण्टी बज्यो । मैले फोन उठाएँ र भनेँ हेलो !
आवाज उसैको थियो । उनले हराएको सिमकार्ड भनेर मैले मिल्काएको सिमकार्ड फेला पारेकी रहिछन्। म झसङ्ग भएँ ।
उताबाट आवाज आयो ” ओ दाजु, नरिसाउनुस् ल, रङ नम्बर परेछ । मेरो स्वास्नी उडाउने मान्छेको फोन नम्बर अर्कै रहेछ !” यति भनेर उसले फोन काट्यो । म जिल्ल परेँ !
०००
चितवन ।
Subscribe
Login
0 Comments
Oldest







































