गायत्री परिरोशनीविकासको मूल फुटेकै हो त ?
सभ्य ठाउँमा समेत कसैको मुख फुट्छ, कसैको हात फुट्छ, कसैको टाउको फुट्छ । सबैले सबै कुरा फुटाउन जानेको हुनाले नै विकासको मूल फुटेको हो । यसैको लागि हामी सबै जुटेको हो ।

गायत्री परिरोशनी :
बेरोजगारीको समस्या त जादुको छडी जस्तै एकाएक गायब भएछ भन्या । यताउता जताततै हेर्दा पनि अँ- हँ फिटिक्कै कतै देखिदैँन त । हरेक व्यक्तिलाई अरुसँग बोल्ने फुर्सद मात्र होइन कि खाना खाएको बेलामा समेत एउटा हात मुखमा अनि एउटा हातमा रोजगारी दिने यन्त्र भएपछि बेरोजगार छ भनेर ढाँट्ने हिम्मत कसले गर्ने ? नेपालीले पाए गर्छ भनेको त सुनकै हो तर नपाए पनि गरिछाड्छ भन्ने कुरा हाम्रै आँखाले देखिपछि किन नपत्याउनु ? कति बिजी हौँ हामी । पोहोर साल सम्म त असार लागेपछि विकासको मूल फुटेर यत्रतत्र सर्वत्र डुबाउँथ्यो । अहिले त असार लाउन पनि ठ्याक्कै एक बीस दिन बाँकी छ । विकास भन्ने कुरो त थापिनसक्नु नै भो भन्या ।
घरमा विकास, वनमा विकास, गाउँमा विकास, सहरमा विकास, हिमालमा विकास, पहाडमा विकास, तराईमा विकास यत्तिमात्र कहाँ हो र हजुर ? संसद भवनमा विकास, सदनमा विकास, सडकमा विकास, रहरमा विकास, डहरमा विकास, नागरिकतामा विकास, पासपोर्टमा विकास, खेलमा विकास, झेलमा विकास, फेलमा विकास । गर्न मात्र जान्नुपर्छ यो विकास भन्ने कुरो जहाँ पनि गर्न मिल्छ । जताततै छर्न मिल्छ । अरुले भनेको सुनेको थिएँ, विकास निरन्तर हुने प्रक्रिया हो । हो रहेछ, निरन्तर मात्र होइन सबैले चाहेभने त एकैदिनमा सगरमाथा भन्दा निकै माथि समेत पुग्दोरहेछ ।
सबैलाई विकासको पोको पार्ने धोको भएपछि एउटै व्यक्तिका दुईचार वटा नागरिकता लिनेहरूको विकास, त्यस्तो कुरो दिनेहरूको विकास, दुई चारवटा पासपोर्ट लिनेहरूको विकास, दुई चारवटी श्रीमती पाल्नेहरूको विकास, आफ्नै आँखामा छारो हाल्नेहरूको विकास, विनासित्तैमा रिस उठेपछि भएभरको रिसको पारो सोसल मिडियामा हाल्नेहरूको विकास, कति मज्जाका विकास हुन् । चुनावमा भोट गन्दा एक पटक एउटो जित्छ अनि फेरि केही बहाना झिक्यो पुन गन्यो अर्कोपटक अर्कोले जित्छ ।
यही त हाम्रो आधुनिक विकास । अन्याय गर्यो भनेर एउटा अदालतमा मुद्दा हाल्यो त्यसले एउटालाई न्याय दिन्छ । अनि पुन अर्को अदालतमा गयो उसले अर्कोलाई न्याय दिन्छ । होइन यो न्याय भन्ने कुरोमा समेत विकासले छलाङ् नै मार्यो भन्या । मुलुकमा विकासको मूल फुट्न नसकेको बेलासम्म त न्याय भन्ने कुरो पीडितले पाउने भन्ने थियो । अहिले त विकासको गतिले यति धेरै फड्को मारिसक्यो कि यसमा समेत उपयोगिता र्हास नियम लागु भयो । जो पीडित छ उसले पीडा पाउने अनि जो पिडक छ उसले न्याय पाउने । त्यो भन्दा पनि अझ बढी अचम्मको विकास त यो भयो कि न्यायालयले फैसला सुनेर हामी सबै एक अर्कोको पक्ष र विपक्ष भएर रातदिन सोसल मिडियामा रोइलो गाउने ।
विकास मच्चाउने गज्जबको फरमूला । एउटाको गल्ती भन्ने कुरो खुल्यो भने त्यसलाई जोगाउन अर्कोको गल्ती प्याच्चै भन्दिने । विकास गर्ने सवालमा हाम्रा आँखा निकै पावरफुल भएकै हो त ? नत्रभने आफूले अरुको भैँसी मारेको पटक्कै नदेख्ने तर अरुले आफ्नो जुम्रा मार्यो भने समेत अन दी स्पोर्ट देखिहाल्ने । कति बलिया हुन् हाम्रा आँखा । कुन भिटामिनले यस्तो बनायो हँ ? आफूले खाएको कुरोको फोटो कसैले हाल्दैनन्, अरुले यो खाए भनेर नै हाल्ने हुन् सोसल मिडियामा । तै पनि आँखा सबैका पावरफुल छन् । कसैका आँखाले अहिलेसम्म आफ्नो गल्ति नदेख्ने, आफ्नो कमजोरी नदेख्ने त्यसै त पक्कै होइन । अरुका गल्ती र कमजोरी कति भेट्याउन सक्छौँ हामी । आफूलाई केही फाइदा नभए तापनि अरुको खेदो खन्न कति सकेका हाैँ हामी ?
जे-होस्, जस्तो-होस्, जहाँ-होस्, जहिले-होस् फुटेको कुरो पक्कै राम्रो हो । त्यही भएर नै हामी कहाँ सधैँभरी सबै कुरा फुटिरहन्छ । दल फुट्छ, सिद्धान्त फुट्छ, इमान्दारिता फुट्छ, नैतिकता फुट्छ, सदाचार फुट्छ, विधि-विधान फुट्छ, नीति फुट्छ, न्याय फुट्छ, यत्तिमात्र होइन हजुर म्युजिकल रेसमा राखेको चियर फुट्छ, पैसा राखेर खेल्ने हाँडीफोर खेलमा त्यो पनि फुट्छ । यस्तै-यस्तै सबै कुरा फुट्नु भनेको विकासको मूल फुट्ने उत्तम अवसर जुट्नु हो । यही विकासको करामत केही विषय हुनै पर्दैन निकै सभ्य ठाउँमा समेत कसैको मुख फुट्छ, कसैको हात फुट्छ, कसैको टाउको फुट्छ । सबैले सबै कुरा फुटाउन जानेको हुनाले नै विकासको मूल फुटेको हो । यसैको लागि हामी सबै जुटेको हो । जय होस् ।
०००
स्याङ्जा
Subscribe
Login
0 Comments
Oldest









































