राजेन्द्रप्रसाद अधिकारीकाग, सारु र ढाडे बिरालाहरू
गाउँबाट कामको खोजीमा राजधानी छिरेको म वैदेशिक रोजगारीका एजेन्सीहरू सम्झन्छु मिटरब्याजी साहुका अनुहारहरू सम्झन्छु श्रम तथा रोजगार मन्त्रालय, मन्त्री र कर्मचारीहरू सम्झन्छु ।

राजेन्द्रप्रसाद अधिकारी :
सुकेको जीर्ण रुखको हाँगामा बसेर
फगत् कर्कश आवाजमा
कराइरहेछन् र विष्ट्याइरहेछन्
रुख तलको सुन्दर पोखरीमा कागहरू
ठ्याक्कै मेरै देशको सरकार जस्तो
यसो टोलाएर हेर्छु-
मन्त्री र प्रधानमन्त्री जस्ता लाग्छन् ।
अलि परको झ्याम्म परेको रुखमा
निरर्थक झगडा गरिरहेका सारुका बथान
ठ्याक्कै मेरै देशको संसद जस्तो
यसो सोच्छु-
राजनैतिक दलका सरम पचेका नेता र
अन्धभक्त कार्यकर्ताहरू जस्तो लाग्छ ।
दुबै रुखको मध्यभागतिर
पर्खाल हुनुको ओज र गरिमा सकिएर
विचार, सिद्धान्त र आदर्श स्खलित भएका दलहरू जस्तै
खुट्टाले टेकेरै नाघ्न त सकिने उचाई मात्र बाँकी रहेको
पर्खालको आडमा ढाडे बिरालो
कुनै मुसासँग मस्त खेलिरहेको देखिन्छ ।
गाउँबाट कामको खोजीमा राजधानी छिरेको म
वैदेशिक रोजगारीका एजेन्सीहरू सम्झन्छु
मिटरब्याजी साहुका अनुहारहरू सम्झन्छु
श्रम तथा रोजगार मन्त्रालय, मन्त्री र कर्मचारीहरू सम्झन्छु
अनि
बाँदरले कब्जा जमाएका बारी र बाँझा खेतहरू सम्झन्छु
अनि फेरि देख्छु-
उही काग, सारुङ् र ढाडे बिरालाहरू ।
फेरि सोच्छु र आफैँलाई प्रश्न गर्छु-
वास्तवमा काग, सारु र ढाडे बिरालाहरूको
निर्मम व्यवस्थापन गर्न ढिलो भएको हैन र ?
०००
काठमाडौं
२०८० जेठ ८
Subscribe
Login
0 Comments
Oldest






































