ह्यारी- ८०चम्चे पुराण
चम्चा मितेरी पुल हो जसले नबनेका कामलाई बनाइदिन्छ । सक्तिनँ भनेका काम पनि उत्तोलक बनेर चम्चा बडो वैज्ञानिक तरिकाले काम गर्न सक्षम भएकैले होला आधुनिक युगको दाहिने हात बनेको छ ।

ह्यारी- ८० :
यताका कुरा उता र उताका कुरा यता ओसार्ने अनैतिक गुप्तचर, झोसाहा, पोलाहा, चुक्ली लाउने मान्छे नै चम्चा हो । चमस नै चम्चा हो । चम्चालाई चिम्चा पनि भनिन्छ । चाकरी, स्वार्थपूर्ण सेवाकार्य गर्नु चम्चागिरी हो । कसैको स्तुति गर्ने खुसामदहरूको समूहलाई चेलाचम्चा भनिन्छ । चम्चासँग काँटा पनि समावेश गरिएको छ भने काँटाचम्चा भनिन्छ । काँटाचम्चा भनेकै आधुनिक चलनमा खानेकुरो खाँदा सँगसँगै प्रयोग गरिने काँटा र चम्चा काँटीचम्चा हो । उहिले चम्चाको पनि हजुरबाका पालामा चम्चा काठको वा धातुको मात्र हुन्थ्यो । अहिले प्रचलनमा रहेका चम्चा प्लास्टिक, स्टिल, सिल्भर, पित्तल, सिसा, काठ आदि जे जेले मन लाग्यो त्यही त्यहीले बनेका हुन्छन् । माटाका वा सेरामिक्सका चम्चा पनि निकै चलेका छन् । चम्चाका आकार प्रकार अनि कामको प्रकृति नियाल्दा माान्छेसँग ठ्याक्कै मिल्छ । कतै दलअनुसारको चम्चाको सङ्गत तपाईंले पनि गर्नुभएको छ कि !
सबैभन्दा तितादेखि मिठा खानेकुरासम्मकै स्वाद लिने चम्चाले राजामहाराजादेखि भिखारीसम्म, बाबुसाहेबदेखि मैयाँसाहेबनीसम्मका हात हातमा र मुख मुखमा नाच्न पाउनु सौभाग्यकै कुरा मान्नुपर्छ । कलियुगका चम्चाको बिगबिगी पनि यति हुन्छ कि विनाचम्चा केही काम हुन्न । डाडुदेखि थुर्पीसम्मको काम गर्ने चम्चा नभई पनि हुन्न अनि भएर पनि काम तमाम भएपछि आफू डकारेपछि चम्चा फाल्ने गरिन्छ । तैपनि चम्चाले चम्चागिरी गर्न छोडेको छैन । देख्ता चम्चा सानो र अलिकति उबाउने त हो नि भन्ने लाग्छ तर पटक पटकको प्रयोगले चम्चाले कयौँको भागै सिध्यादिन्छ । भगवान्लाई जल चढाउने काममा होस् वा पञ्चामृत निकाल्ने काममा आच्मानी प्रयोग गरिन्छ जुन चम्चाकै जिरिगान्टे स्वरूप हो । यसको प्रयोगले मान्छेले आफ्नो कर्मको स्वरूप नै बदल्यो । हात धुन परेन, मुख चुठ्न परेन, एक दुई चम्चा त हो नि भन्दै भागै रित्याउन मिल्ने साधन भनेकै चम्चा हो । मर्ने बेला एक चम्चा पानी पिलाइदिएको वा एक चम्चा पानी नि खुवाउन पाइनँ भन्नेलाई चम्चाको महत्त्व कति छ भन्ने कुरा प्रयोगबाटै थाहा हुन्छ ।
एक चम्चा घिउ, एक चम्चा दही, एक चम्चा औषधी जेसुकैका लागि पनि चम्चा अपरिहार्य छ । हुँदा हुँदा डाक्टर सा’पले समेत एक चम्चा वा आधा चम्चा औषधी सुरुप्प पार्न बिरामीलाई भलै नबुझिने अक्षरमै किन नहोस् हस्तलिखित चिर्कटो थमाउँछन् । चम्चाको रजाइँ यति छ कि आठै दिशामा हुने मनुख्खे सासविना पनि बाँच्ला तर चम्चाविना बाँच्न नसक्ने भएको छ । वडा कार्यालयदेखि बडा कार्यालयसम्म काम तमाम गर्नुपर्छ भन्ने भएपछि चम्चाको खेल सुुरु हुन्छ अनि ढ्याउ गर्दै नडकारेसम्म चम्चा मनुवाको मुखको वरपर र तिनका बडेमाका भाग वरपर घुमेको घुम्यै गरिरहन्छ । मालिकको मुठीमा भए पनि चम्चाले स्वाद लिई लिई मालिकलाई नै मोटाउने काम गर्छ ।
गाँठी कुरो के हो भने जतिसुकै खुवाए पनि अन्तिममा काम सकिएपछि चम्चाले फालिनैपर्छ तर पनि चम्चाले चम्चागिरी गर्न छोडेको देखिँदैन । समय, समाज र संस्कृतिअनुरूप चम्चाको पनि भूमिका बदलिइरहन्छ । काम छउन्जेल भाँडो सकिएपछि ठाँडो भन्ने आहान यही चम्चा हेरेरै बनाएका रहेछन् क्यारे ! ससाना बालबालिकालाई चम्चामा गुच्चा राखेर खेलाएबापत बोर्डिङ स्कुलकाले कति कुम्ल्याए कति तर पनि बिचरो चम्चाले भने खेल खेलाउँदाको आनन्दबाहेक केही पाउने गरेको छैन । केही मगाउनदेखि थाल ठटाएर बोक्सी भगाउनसम्म, क्याबिनमा बसेर लालीमाईलाई पट्याउनदेखि विवाहमा माहुर चटाउनसम्म चम्चा नभई हुँदैन । जे गर्छ चम्चाले गर्छ । जे गरेको छ चम्चाले गरेको छ, जे गर्ने छ चम्चैले गर्ने छ । त्रिकालकै उपयोगी चम्चा राजनैतिक झगडाको चाहिँ मूल कारण बन्ने गरेको छ ।
जुँगाको लडाइँ चम्चाकै तागत त हो । भन्न त जो लगाउँछ चुक्ली उही जान्छ फुक्ली भन्छन् तर चम्चाको उखान नबनेको चाहिँ ल्याइते संस्कृति नभएकाले हुनपर्छ वा मौलिक संस्कृतिमा अथवा अति सर्वसाधारणसँग चम्चा नहुने भएकाले होला हुन पनि हो सोझासाजाकहाँ चम्चा हुन्नन् । चम्चे हुन त कतै न कतै ठुलाबडासँग जोडिएको हुनैपर्छ भन्ने फतुरे काकाको पनि ठम्याइ छ । गिलासमा घोटेर आवाज निकाल्ने, कपमा घोट्ने, थालमा, कचौरामा जेसुकैमा होस् चम्चाले आफ्नो स्वभाव कहिल्यै बिर्सन्न । जोसुकै सत्तामा आरोहण गरे पनि कुरो उही । कार्यालयमा झगडा, घरमा झगडा, विकासदेखि निकाससम्म झगडा हुन्छ, बेमेल हुन्छ अनि काम बन्ने र नबन्ने हुन्छ । अझ भनौँ भने टिकट दिनेदेखि चुनाउ जित्ने वा हार्नेसम्म सबै मैले गर्दा भएको हो भन्ने कुरा चम्चाले काँटालाई भनेको भनी चपस्टिकले सुनेको रे भन्दै सिंहसमेत गर्जँदै गरेको सुन्ने र बुझ्ने जानकार बताउँछन् ।
चम्चेले भाउ वृद्धि गरेको, चम्चेले सिमाना मिचेको, चम्चेले दल फुटाएको, चम्चेले सरकार गिराउने र बनाउने गरेको, चम्चेले मन्त्री बनाएको, चम्चेले खड्कौँलाको बजेट सबैका कचौरामा भाग लगाई बाँकी सबै हजम पारिदिएको, डाडु र पन्युँलाई आराम गर भन्दै भान्छामा रजाइँ गरेको हुँदा चम्चे पुराण रच्नुपरेको हो । चम्चे पुराणका धेरै अध्याय भए पनि हिजोसम्मका चम्चेका चिनाटिपोट सबै भूत चम्चा र आज र भोलिका चम्चाका कहानी सबै अभूत चम्चामा समेटिएको छ । एकातिर चम्चेले भटाभट उसकै पेवा सम्झेर नागरिकता बाँड्न पनि लगाएछ र त अहिले चम्चा रहने भाँडा पनि खोज्दै छन् चम्चेहरू । चम्चाले सरकारी ढुकुटीको जतिसुकै बिर्को कसिएको भए पनि बिर्को खोल्छ, प्वाल पार्छ, पेच कस्छ, हुन पनि हो अप्ठ्यारो पर्दा चम्चा नभई हुन्न । चम्चा मितेरी पुल हो जसले नबनेका कामलाई बनाइदिन्छ । सक्तिनँ भनेका काम पनि उत्तोलक बनेर चम्चा बडो वैज्ञानिक तरिकाले काम गर्न सक्षम भएकैले होला आधुनिक युगको दाहिने हात बनेको छ ।
चम्चा भएकैले त हातै नधोई खान, जुत्तै नफुकाली खान, जहाँ गएर जे पनि खान सक्ने संस्कार सिकाएको छ चम्चाले । चम्चा परिवर्तनको संवाहक हो । फास्ट फुडदेखि लास्ट फुडसम्म चम्चाले नेपाली समाजमा प्रभाव जमाउँदै गएको वेत्ताहरू बताउँछन् । लोकहितका निम्ति यति धेरै काम गर्ने चम्चाको प्रयोग गर्ने चम्चेको कुरा गर्दा तपाईलाई रिस उठ्छ भने त्यो चम्चैको दोष हो । चम्चा नभइदिएको भए चम्चेहरूले डाडु वा पनिउँ प्रयोग गरी ग्वाँम ग्वाँम खान पाउँथे ? चुबुर चुबुर खाँदा चम्चेहरूलाई चमच रिस उठेको छैन होला र ? एकथरी खँड्कौलै घेप्ट्याहाल्थे नि पनि भन्छन् तर चम्चा गर्नुको मजा र नमजा कति छ भन्ने चम्चागिरीलाई नै ज्ञात छ । उनीहरू डाडुमा पानी तताएर डुबेर मर्थे वा तैरन्थे होलान्, अहिल धेरैले चम्चामा अल्मलिनु परेको छ । एक जना ठुलै संस्थाकी महोदयाले पढाउने बेला खाजाघरबाट चम्चा चोरेर लगेको देखी कारबाही गरिएको थियो भन्ने पनि सुन्नमा आएको छ । अब त त्यो ठुलो संस्थामा हुने गरेका चम्चाराज वणर्न गर्नु पर्ला र ? आफ्नै हात जगन्नाथ कि कसो ?
राम्रो राम्री, चाम्रो चाम्री, हाम्रो हाम्री सबैमा चम्चाले कतै न कतै प्रभुत्व जमाए तापनि कहाँ र कुन ठाउँमा कतिसम्म उपयोग गर्ने भन्ने सुझबुझ राख्ने खालको चम्चा भएमा देशले काँचुली फेर्छ कि त ? डाडु गतिलो नभएकैले चम्चाको हावी भएको हो भन्नेको मत पनि भ्रष्टाचारी मतैक्य राख्छन् । डाडु र पनिउँले आँटे चम्चाको राज चल्ने थिएन कि । जे भए पनि हाम्रो जस्तो देशमा चम्चा चाहिन्छ नै नत्र खँड्कौलाले सधैँ डाडु र पनिउँको घनचोट सहनुपर्ने हुन्छ । जे जे भए पनि चम्चे पुराण वर्णन गर्न वेदव्यासले त सकेनन् हाम्रो के ल्याकत छ र ? लास्टाँ मेरो तर्फबाट पनि सबैलाई चम्चे पुराणको श्रीगणेशाय नमस्कार !
०००
गोकर्णेश्वर- ५, काठमाडौँ
२०८१ साल जेठ १२ गते शनिबार
Subscribe
Login
0 Comments
Oldest












































