हरिशंकर परसाईंढपोलशंख मास्टर भए !
यस्ता प्रश्न सुनेर जब ती योग्य उम्मेदवारहरू सकसमा पर्थे अनि पोंचुरामले सदस्यहरूसित भन्थे - साह्रै कमजोर छ यो केटो त । सामान्य ज्ञानका सामान्य कुरा पनि जान्दो रहेनछ । हटाइदिऊँ ।

हरिशंकर परसाईं :
व्यङ्ग्यfनुवाद :: रमेश समर्थन
कुरो ‘आदर्श शिक्षा समिति’को हो ।
समितिका सदस्य साहू घोंचुमलले अध्यक्ष श्री पोंचुरामलाई पत्र लेखे –
अध्यक्ष महोदय,
मेरा साला चि. ढपोलशंखले यसै वर्ष बी. ए. पास गरे भन्ने कुरो विदित होस् । विगत चार वर्षदेखि उनी फेल भइरहेका थिए तर यसपालि मैले प्रोफेसर चोंगाप्रसादबाट नम्बर बढाउन लगाएर उनलाई पास गराइदिएँ । यद्यपि उनी मूर्ख छन् तथापि तपाईंका सालाभन्दा त कमै छन् । अनि यहाँलाई अवगतै होला कि सालाहरू मूर्ख भएकै जाती हुन्छ । अब कुनै पद रिक्त गरेर भए पनि यिनलाई हाई स्कुलको मास्टरसास्टर बनाइदिनुहोस् ।
तपाईंको
—साहू घोंचुमल ।
अध्यक्षको पत्र खरिदारको नाममा –
खरिदार साब,
साहू घोंचुमलको सालाले बी. ए. पास गरेछ । हाई स्कुलमा एउटा शिक्षकको दरबन्दीको विज्ञापन समाचारपत्रहरूमा छपाइदिनुस् ।
— पोंचुराम,
खरिदारको पत्र अध्यक्षको नाममा –
सर,
हाई स्कुलमा यस्तो कुनै स्थान रिक्त छैन । हालसालै बाबु पोंगारामका पुत्र तथा दाजु घोंघारामका भतिजलाई स्थान दिइएको छ । अहिले त हाई स्कुलमा चारजना शिक्षक दरबन्दीभन्दा बढी छन् । आदेशको प्रतीक्षामा ………….
— खरिदार ।
अध्यक्षको पत्र खरिदारको नाममा –
खरिदार,
ढपोलशंखलाई नोकरी त दिनु नै छ । ऊ अब्वल दर्जाको मूर्ख हो । यदि यहाँ पनि उसले ठाउँ पाएन भने संसारमा कहीँ पनि ठाउँ पाउने छैन । यदि सदस्यका छोरा र सालाहरूले नै यहाँ जागिर पाएनन् भने उनीहरू सदस्यका छोरा वा साला भएको के फाइदा ? के उनीहरू कुनै खरिदार या मास्टर या पत्रकारका छोरा वा साला भएनन् त ? म छँदासम्म यस्तो अन्याय हुँदैन । नयाँ पद सिर्जना गरियोस् ।
— पोंचुराम ।
विज्ञापन छापियो अनि हाई स्कुलको मास्टरको पदका लागि एक सय पचास आवेदनपत्र आए । यीमध्ये पन्ध्र जनालाई अन्तर्वार्ताका निम्ति बोलाइयो ।
अन्तर्वार्ता समितिमा अध्यक्ष पोंचुराम तथा तीन अन्य व्यक्ति थिए । पन्ध्र उम्मेदवारमध्ये चौध त योग्य थिए अनि एक जना आफ्ना यिनै ढपोलशंख बी. ए. थिए ।
चौधमध्ये एकपछि एक उम्मेदवार आइरहे र उनीहरूलाई सोधिने प्रश्नहरू यस्ता थिए –
‘तपाईं ‘कामायनी’ र ‘साकेत’को अङ्ग्रेजीमा अनुवाद गर्न सक्नुहुन्छ ?’
‘तुलसीदासजीकी पत्नी रत्नावतीले कुन कुन गहना लगाउँथिन् ?’
यस्ता प्रश्न सुनेर जब ती योग्य उम्मेदवारहरू सकसमा पर्थे अनि पोंचुरामले सदस्यहरूसित भन्थे – साह्रै कमजोर छ यो केटो त । सामान्य ज्ञानका सामान्य कुरा पनि जान्दो रहेनछ । हटाइदिऊँ ।
अनि आए ढपोलशंख ।
कुराकानीको क्रम यसरी चल्यो –
पोंचुराम – आऊ बाबु ढपोलशंख, ठिक त छ नि ?
ढ.- ठिक छु ।
पोंचुराम – आमा त आनन्दमा छिन् नि ?
ढ. – उहाँ त बित्नुभयो नि !
पों. – कहिले ? ढाँट्छ बदमासले !
ढ.- तपाईंले त भन्नुभएको हो नि !
पों. – ओ, त्यो त मेरी आमा पो बित्नुभएको थियो । म त तिम्री आमाको पो कुरो गर्दै छु ।
ढ. – मैले बुझें । तपाईं आफ्नी आमाका बारेमा सोध्दै हुनुहुन्छ । मेरी आमा त आनन्दमा हुनुहुन्छ ।
पों. – धेरै राम्रो कुरो । साँच्चै आज बिहान तिमीले के खायौ ?
ढ. – दालभात र सागरोटी ।
पों. – स्याबास !
अनि पोंचुरामका सदस्यहरूले भने, ‘केटो कति चलाख रहेछ !’ पुग्यो, ढपोलशंख मास्टर भए ।
०००
(हिन्दी साहित्यका प्रसिद्ध व्यङ्ग्यकार हरिशंकर परसाईको व्यङ्ग्यसङ्ग्रह ‘परसाई रचनावली भाग- २ बाट ‘ढपोलशंख मास्टर हो गए’ को नेपाली अनुवाद ।)
Subscribe
Login
0 Comments
Oldest







































