साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हामी यहाँ छौँ

हामी यहाँ छौँ, जनता हो सत्तामा छौँ, रहने छौँ निरन्तर सत्ताका लागि सङ्घर्ष, सत्ताका लागि गठबन्धन सत्ताबाहिर हामी छैनौ हामी यहीँ छौँ, विश्वास गर्नोस् जनता हामी यहाँ छौँ सत्तामा छौँ तपाईंका लागि केही गर्दै छौँ ।

Nepal Telecom ad

भाउपन्थी :

बसवालाले बस रोकेन । यात्रीले चिच्च्याएर भनेको थियो— ‘ए-ए ‘कन्डक्टर भाइ, हामी यहाँ छौँ के यहाँ ! त्यतै जाने । कति बेर भो बस पर्खेको । नेताले जनतातिर नहेरेझैँ गरी पो गयो ए बस त । कत्ति चिच्च्याउनु, सुनेको होइन । अरू यात्रीहरू पनि थिए, हिस्स परे । जमाना कस्तो आइसक्यो भने को कहाँ छ, सुखमा छ कि दुःखमा, कसको आवश्यकता के छ, कसैले वास्ता गर्दैन । राजनीति बिग्रेपछि मुलुकै बिग्रियो । बसभित्र रोकिहाले पनि भित्र स्पेस नै हुँदेन । आँटै आउँदेन बसभित्र पसून् भनेर । पहिलेदेखि नै घच्चमघच्चा हुन्छ, । मुलुक सधैँ कोकोहोलामै हुन्छ । हुलमुलमा जीउ जोगाउनु भनेझैँ आफ्नो जीउ जोगाऊ । यही हो अहिलेको दर्शन । तर जब एक पटक नेताहरू नै हामी यहाँ छौँ भनेर प्लेकार्ड बोकेर सडकमा बसे जनतामा पनि स्वतः यो फुर्‍यो, सङ्कट निवारणको प्रभावशाली तरिका यही रहेछ । आफू जहाँ भए पनि सकसमा रहिन्छ भने भन्नु पर्ने यही रहेछ— ‘हामी यहाँ छौँ ।’

नेताहरूले सत्ताबाहिर बसेर सत्तालाई चुनौती दिन हामी यहाँ छौँ भने— समात्न सके समात । हाक्काहाक्की हामी यहाँ छौँ भने पनि पावरमा बसेका बाले वास्ता गरेको होइन । आरमदायी कुर्सीमा बसेर हैकम चलाएका नेता सडकमा हुनु थिएन । सधेँ अलकत्रे सडकमा बस्ने हो कब्जियत हुन सक्ने देख । पाइल्स पनि उम्रिन सक्थ्यो । भोलिपल्ट तुरुन्तै सत्ता गठबन्धत्र गरे र आआफ्ना गद्दावाल कुर्सीमा पुगिहाले । तर नेताहरूको मनमा यो आयो, सडकमा धेरै बेर बस्न नसकिने रहेछ । बूढो हड्डी बिझाउने रहेछ । मासु पनि सुकिसक्यो, आसन कस्नै नसकिने । कुर्सी आजीवन छाड्न नहुने रहेछ । कुर्सीमै पुस्तान्तरण गर्दा राम्रो हुने रहेछ । चितामा पनि कुर्सीमै बसालेर डढाए भन्ने पो हो कि ?

सत्तरीपार भइयो । पार्टीभित्र दोस्रो पुस्ताले ठाउँ छाड्न भनिरहेछ । दोसे पुस्ता पनि साठी वरिपरिको भइसक्यो । उसले पनि चिच्चयाएर भनिरहेछ— ‘हामी यहाँ छौँ, हाम्रो पालो खै ?’ तर बुढेसकालमा कुर्सी छोडेर नपाउनु दुख पाउनु छ र ? ती सङ्घर्षका दिन गए । नत्र सडक त के काँडेदार तारमाथि पनि बसेर पनि आन्दोलन गरियो । प्रहरीको लाठी पनि खाइयो । बन्दुकको राजनीति पनि गरियाे । तर त्यसको फल ‘हामी यहाँ छौँ’ भनेर तातो वा चिसो सडकमा बस्नका लागि होइन । सत्ताको राहुकेतु लागेपछि कसैको केही चलेन । कुर्सीबाट अरूको खेत चर्न पसेको चोर पशुझैँ धपाइयो । स्वयम् नाङ्गो सडकको अलकत्रामा आसन जमाएर बस्नु पर्‍यो । अलकत्राले पोल्न पनि थालेको थियो । सन्तति बीउ संवाहक थैलो पनि सडकको तातोले रन्केर हार्ड ब्वाइल हुन लागेको थियो । तर ‘हामी यहाँ छौँ’ भनेर भनिसकेपछि कममा पनि प्रहरी वाहन पठाएर लगे पनि त राहत हुने थियो । सत्ता चलाख थियो, त्यसो पनि गरेन ।

छाँटले सत्तालाई यो थाहा थियो, सडकमा बस्न सक्ने होइनन् यिनीहरू । यिनलाई कसले खोजेको छ र हामी यहाँ छौँ भनिरहेका छन् । खानु खाएका छन् । केही घण्टा नै सही तातो सडकले बोसो त पगाल्ला ।अनि आफैँ उठेर भाग्ने सुरमा लौ त हामी कहीँ छैनौँ भनेर चिच्च्याउलान् र घरतिर लाग्लान् । पार्टी कार्यकर्ताले नेताहरूको आसन उचालिने थेचारिन गरेको देखेर सडक तातेको बुझेछन् र सोधेछन्— एकदुई बाल्टी फ्रिजको चिसो पानी सडकमा खन्याइदिऊँ कि ? यस्तै कार्यकर्ताको नेताभक्तिले आउनुपर्ने जति भोट आएनन् र सिट सङ्ख्या कम जितियो । अर्को गठबन्धन गरेको पार्टीले भने तिनकै भोट कुम्ल्याएर सिट बढाएको थियो । अहिले त्यो पार्टीको नेता लोकप्रियतामा मलाई कसैले उछिन्न सक्र्तैन भनेर पार्टीको बा बनेर च्याँठ्ठिँदै हिँडिरहेछन् ।

समयको फेर हो । नेताहरूको ‘हामी यहाँ छौँ’ भन्ने फलाको सुनेर जनतामा हर्षको अस्थायी लहर दौडियो । जनतालाई यो थाहा थियो नेताहरूको ‘हामी यहाँ छौँ’ भन्ने हारगुहार केही समयका लागि हो । पछि त यिनै हुन् कुर्सीमा बसेकालाई हटाउने । आपूm बस्ने । ती कुर्सीबाट हटेकाहरू नै भोलि भन्दै हिँड्ने छन्— ‘हामी यहाँ छाैँ । हामीसित हात मिलाउनोस् । अपवित्र गठबन्धनमा नलाग्नोस् । भेडा भेडाको बथानमा बाख्रा बाख्राको बथानमा । केही गल्ती हाम्रा केही गल्ती तपाईंहरूका, लेनदेन गरेर फच्चे गरौँ ।’

जनता यस्तै गठबन्धनदेखि डराउँथ्यो । भन्नेले तारतम्य मिलाएर भनेकै थियो— ‘काले काले मिलेर खाऊँ भाले ।’ काले-काले यस अर्थमा, गाउँमा नुहाउने धुवाउने कमै हुन्थ्यो । त्यसैले मयलले कालै पारेको हुन्थ्यो । तिनै काले सहर पसे । अहिले त गोरासेता छुँदा पनि मयल लाग्ने भइसके । भन्न थाले सुकिलामुकिला मिलेर खाऊँ भाले । तर भाले खान भने छाडेका छ्रैनन् । उही गीत रमेर र गाउने चलन कायम छ— ‘मिलेर खाऊँ भाले, मिलेर खाऊँ भाले ।’ मुलुक भाले भएछ ।

तर एउटा अनिष्ट जस्तो भइदियो ‘हामी यहाँ छौँ भन्ने फलाकोले ।’ भयो के भने, जनताले यदाकदा सङ्कट पर्दा त्यै नारा दिन थाले— ‘हामी यहाँ छौँ ।’ देखिइराखेकै थियो जनता जताततै छन् । खाल्डामा छन्, अभावमा छन्, महँगीले कुप्रिएका छन्, भोका छन् नाङ्गा छन् । तर जनता सङ्कटमा परेको नदेख्ने नेताहरूको कानेगुजी झार्न र आँखामा लागेको सत्ताको फुलो हटाउन उनीहरूले यो ‘हामी यहाँ छौँ’ भन्न सुरु गरेका थिए ।

जहाँ स्वास्थ्य सेवा पुगेको थिएन त्यहाँकाले डाँडै ढाक्ने अक्षरमा लेखेर फ्लेक्स झुन्ड्याए— ‘हामी यहाँ छौँ स्वास्थ्य पीडित ।’
अर्का थरी जो दुर्गमका थिए तिनले भने— ‘हामी यहाँ छौँ अँध्यारो पीडित । खै कहिले हुने हो उज्यालो ?’
खानेपानीको अभधाव सन्तान दरसन्तान भोग्नेले भने हामी प्यासैतिर्खै छौैँ । शताब्दैदेखि हामी यहाँ छौँ ।
शिक्षाको उज्यालो देख्न नपाएकाहरूले थर्काउँदै आवाज गुन्जाए— हामी यहाँ छोँ अशिक्षाले पीडित ’
किसानहरू मल पीडित थिए । उनीहरूले बाँझा खेतबारीमा उभिएर भने— ‘हामी यहाँ छौँ । खै्र मल खै खाद !’
किसानहरूको मलका बारे यसो भन्न सकिन्थ्यो— नेताहरू थोरै खाई बल धेरै खाई मल भन्नेमा विश्वास गर्थे र धेरै खाएर मल बढाउनतिर लागेको थिए । मोटाघाटा र आलस्यले घेरेका । सरकारी गाडी चढीचढी खुट्टा कुँजिन लागेका । हात कम चलाउने । हातले मात्र फाइलमा दस्तखत गर्ने काम गर्थे । जनताका पीरमर्का सोच्ने शक्ति कम हुँदै गएकाले मस्तिष्कभित्रको गिदी चाउरिएर सानो चिया चम्चाको एक चम्चाजति बाँकी रहेको थियो ।

जनताले हामी यहाँ छौँ हामी यहाँ छौँ भनेर आवाज घन्काएपछि तिनको होस घरी फर्कन्थ्यो घरी हराउँथ्यो । उनीहरू डराउन थालेका थिए । उनीहरूले पनि होस फिरेका बेला भन्न थाले— ‘हामी कहाँ छौँ ? समीक्षा जरुरी भयो ।’ कुर्सी बचाउन गहन समीक्षा गरियो । पार्टीको कार्यसमितिको बैठक बस्यो । जसको प्रधानमन्त्रित्व थियो उसले मन्त्रिपरिषद्को बैठक बोलायो । सबैको निष्कर्ष यो निस्क्यो— ‘हामी कुर्सीमाथि नै छौँ । कुर्सी छाड्ने कुरै भएन । रातभरि करायो दच्छिना हरायो गर्न सकिन्न । तर कुर्सी जान सक्छ है साथी हो, जनतामा भ्रम छ र । हामी केही गर्छौं भन्ने नारा लैजाऊ । कार्यकर्तालाई पैसा देऊ, उसलार्य गाउँगाउँ खटाऊ । नत्र कुर्सी जान बेर छैन ।’ त्यसैले उनीहरूले गठबन्धन बनाएर एकै स्वरमा भन्न लागे—
हामी यहाँ छौँ, जनता हो
सत्तामा छौँ, रहने छौँ
निरन्तर
सत्ताका लागि सङ्घर्ष,
सत्ताका लागि गठबन्धन
सत्ताबाहिर हामी छैनौ
हामी यहीँ छौँ, विश्वास गर्नोस् जनता
हामी यहाँ छौँ सत्तामा छौँ
तपाईंका लागि केही गर्दै छौँ ।
यो गायन सुनेर सबै दलका कार्यकर्ताहरूले जयजयकार गरेर । नेताहरूलाई फूलका मालाले पुरे । सय किलोको माला तयार गरेर नेतालाई पहिराए । तर जनताका लागि खासै केही गरेको देखिएन ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
को शक्तिशाली ?

को शक्तिशाली ?

प्रमोद अमात्य
भ्यूटावर

भ्यूटावर

दिव्य गिरी
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
0
Would love your thoughts, please comment.x
()
x