रामप्रसाद अर्याल ‘अविराम’शुद्ध खसीको मम
खसीको शुद्धता मापन गर्न, विशुद्ध आयोगको शुद्धिबुद्धि हराएको छ । पार्टी दल र ठगबन्धनको सरकार कति प्रतिशत शुद्ध छ ? चोर, डाँका, घुस्याहा दलाल, हत्यारा, बलात्कारीहरू सुकिलो आवरणमा अत्तर घसेर बसाएका छन् ।

रामप्रसाद अर्याल ‘अविराम’ :
अचेल सचेत मानिसको चेत अचेत विचेत हुन थालेको छ । त्यसैले म, तपाई, हाम्रो हंस-मंस भनेपछि रमाउँछ । त्यसमा पनि खसीको मासुको त कुरै अर्कै । पास्नी पर्यो मासु, बिहा पर्यो मासु, मान्छे जन्मियो मासु, स्वर्गतिर अन्भियो मासु, सिद्ध पुरुष बन्नुपर्ने मान्छे, गिद्ध पुरुष बन्न हतारिँदै छ ।
मासु खानु ठिक या बेठिक, शाकाहारी कि मांसाहारी यो अहिलेको विषय होइन । त्यसैले खसीकै चर्चा गर्नु सान्दर्भिक ठहर्छ । मम भन्ने बित्तिकै मासुको एक प्रकार, एक परिकार भन्ने बोध हुन्छ । यो परिकार कुन देशबाट आयो रुस कि चिन, म चिन्दिनँ । मेरो विचारमा होटलबाट आयो भट्टी पसलमा रमायो ।
हिजोको सन्तु नेपालीको आन्द्राको तन्तु मासु पचाउने जन्तुमा परिणत भइसकेको छ । शक्ति सम्पन्नले गरिब भनेर हेपून्, बलिया बाङ्गाले खलिया नाङ्गालाई निर्दो भनेर चेपून् तर कुनै पर्वाह छैन । बरू चितुवा बनेर बेपर्वाह दौडेर मासु खाने होडमा छिमेकीलाई पछि पारेको छ, मान्छेले । दक्षिण एसियाली मुलुकमा गरिएको अनुसन्धानको एक सन्धान अनुसार एक भारतेली नागरिकले वर्ष दिनमा पाँच किलो मासु खान्छ भने एक नेपालीको भुँडीमा दश किलो मासु जान्छ । शहरदेखि गाउँसम्म शाकाहारी होस् या मांसाहारी भोज या भतेर मिट ममले आफ्नो उपस्थिति खाद्य परिकार जगत्मा बनाइसकेको छ । स्वादिष्ट व्यञ्जन जनाइसकेको छ ।
यो परिकार अचेल शाकाहारीलाई समेत चल्छ । सेतो पिठाको डल्लो । कसको पेटभित्र को पस्न सक्छ र ? पेटभित्र के छ के छ ? सुकिलो आवरणमा त हो भित्र सडेको वस्तु छिपाउने । अदुवा, लसुन, प्याज, टिमुर आदि मरमसलाले झान्ने एक बटुको सुपसित तान्ने । तब त पेट गम्म फुल्छ । भ्रष्टाचारीको बैङ्क खाता फुले झैँ ।
यो दुनियामा शुद्ध वस्तु के छ ? केही पनि छैन र कोही पनि छैन । अर्को कुरा मानेदेखि सबै वस्तु शुद्ध । मन चङ्गा छ भने कठौतीमा गङ्गा भन्ने चलन छ । हामी सबैलाई शुद्ध पार्ने नदी बागमती, विष्णुमती हुन् । तर ती यति शुद्ध छन् कि तपाईं हामी त्यहाँ नुहाएर चोखो हुन सक्दैनौँ, फोहरी हुन्छौँ । भारतमा गङ्गा, यमुनाको हालत यस्तै छ । गङ्गाको जल ढल निकासको उचित स्थल भइरहेको छ । नेपालका पशुपतिनाथ, काशीका विश्वनाथले यही ढल मिस्सिएको जलले नुहाउँछन् । उनीहरूलाई एलर्जी हुँदैन । विष सेवन गर्ने महादेवसँग इख गर्ने कुरा भएन ।
शिवरात्रिको दिन पारेर नुहाउने मनुवालाई एलर्जी हुन्छ । शुद्ध भनेको के ? कुनै कुराको मिसावट नभएको, मिलावट नभएको वस्तु भन्ने बुझिन्छ । अहिलेको जमानामा आमाको दुध, आमाको माया चोखो छ कि छैन ? मलाई त शङ्कै लाग्छ । खसी शुद्ध हुनु भनेको उसको आमा (बुढी बाखी) पनि शुद्ध हुनु हो । यदि ऊ शुद्ध छैन भने उसले जन्माएको पाठो कसरी शुद्ध हुन सक्छ ? उमेरमा बुढी बाखी पनि घोर्ले हुँदी हो वनमा घाँस चरेर फर्किँदा क्षतविक्षत् भइन होला भन्न सकिन्छ ? सकिदैन । किनभने एउटा कुरा तपाईंको कानमा मात्र सुटुक्क भन्छु- यहाँ दिदी बहिनीहरूले दाजु भाइलाई देखे त कुखुराले जमलकाठे देखे जस्तो तर्सिनुपर्छ भने वनमा डुल्ने बाख्रीको के कुरा ! ठुला घरका साँढा, वनमा छाडा छन् । उनीहरूसँग कुमारी पठेत्रीहरूले अस्तित्व जोगाएर बस्नु भनेको दिउँसै तारा खस्नु हो । रोगाएर बाँच्न सकिन्छ तर अक्षत योनी जोगाएर बाँच्न सकिन्न ।
नसा छिनेको सन्तानगेडी हिनेको खसी देवीदेउतालाई चढ्दैन । अशुद्ध मानिन्छ । निर्भक्क कालो, सेतो वा छिर्केमिर्के काँठे, ब्याठे राखेको डुङडुङती गन्हाउने बोका शुद्ध हुन्छ, शुद्ध मानिन्छ । गाउँघरमा ढलीमली गरे पनि देवी र भैरामबाबालाई बलि चढ्छ । हिन्दु, मुस्लिम, इसाई, कसाइ, मङ्गोल, डङ्गोल मिलेर एकछत्र भइसकेको युगमा शुद्धताको कुरा गरेर रूढिवादको जरो समाउनु कत्तिको उचित हो ? विचारणीय छ ।
हामी आफैँ कति शुद्ध छौँ । एउटा भनाइ छ- ती तिम्री आमा हुन् परम सत्य हो, तर बाबु हुन् विश्वास गर । आमा जोर जुलुममा परेको भए बा खुसीसाथ रासलिला गरेको भए के शुद्ध भइन्छ ? भइँदैन । आमा बाहिर मुखले यो छोरो हजुरको पो त । हजुरको जस्तो नाक, हजुरको जस्तो मुख । भित्र मनमनै हुन्छ तेरो छोरो ? मेरो बिहेअघिको केटा साथीको पो हो त यसो भन्नेहरू कति छन् कति । मम बन्ने होटलमा पस्दा सँगीसाथीसँग बस्दा मम बनाइएका खसी लोकल कि विकासे । जमुनापारे कि सिँगारे भनेर कसैले सोधेको मलाई थाहा छैन । मटन भनेपछि मटन नै हो । मटन खाएपछि गफाडीहरूको गफको बटन खुल्छ । बफ खाए पप जम्छ । भेजको भाउ छैन । चिकेन चर्को छ । बस, हामी होटलमा जाऔँ मम खाऔँ, शुद्धताको कुरा नउठाऔँ यसमा नै सबैको भलाइ छ ।
शुद्धताको निम्ति काशी नुहाउनेहरू पनि बासी भइसके । जुन देशमा सरकार शुद्ध छैन त्यो देशमा पाइने वस्तु, बन्ने र बनाइने परिकार शुद्ध हुन्छ ? अहँ मलाई विश्वास छैन । त्यसो त यो देश कति प्रतिशत शुद्ध छ ? नक्साअनुसार भूभाग छ कि छैन ? नेताहरूले प्राप्त गरेको मत शुद्ध हो कि होइन ? भन्ने प्रश्न पनि हरुवाहरूले नउठाउलान् भन्न सकिन्न । अनुसन्धान आयोग र अध्यागमन विभागले कुनै खसीलाई शुद्धताको प्रमाणपत्र दिएको छ ? थाहा छैन । खसी बोका, खसी-बुढी बाखी, खसी पठेत्री, बेत-बसेकी, सुत्केरी हुने अवस्थाकी, मासु एकै, काटे रगत रातै । पहिलेका र अहिलेका नेता जस्तो । शुद्ध खसीको मम देखाउने साइनबोर्ड मात्र ।
गाउँघरमा पाडी जन्मिनै छाडे । नारी पुरुष बराबरी भनेपछि कुन पाडी कुन पाडो एकै हुने भैगयो । दिँदासम्म दुध, मर्ने बेलामा मासु । खसी भनेपछि ठुलो खसी, ठुलो खसी भनेको राँगो, राँगोसँग भैंसीको मासुको सहजै मिलन हुने भइहाल्यो । मासु भनेपछि जिउँदो प्राणीको कुरै भएन यहाँ त काल गतिले स्वर्गे भइसकेकाले पनि भुटुवा, सेकुवा आदि बन्ने सौभाग्य पाउँछन् र पो त । देशभरि ममको महोत्सव चलिरहेछ खान जाने होइन त ?
यहाँ दस्युराज सभामा राज हुन्छन्, कुस्तीवाज सभासद् हुन्छन् भने खसीको मासु भनेर कुकुरकै मासु बेचे पनि कारवाही हुने कुरै भएन । कमिसन घट्छ । के कति शुद्ध ? को कति शुद्ध ? घटबढ मात्राको । भ्रष्टाचारले संस्थागत मान्यता पाएको अवस्थामा यो सरकार, मन्त्री, सभासद्, शिक्षक, निरीक्षक, विद्यार्थी, परीक्षक कति प्रतिशत शुद्ध छन् खोज गर्ने फुर्सद कसलाई ? हुँदै नभएको स्कुलको नाममा निकासा जान्छ । बन्दै नबनेको पुलको मर्मत गरिन्छ भने शुद्ध खसीको मम भनेर सफाइ किन दिइरहन पो ? आफू शुद्ध बनेर अरुलाई बिटुलो देखाउने सामन्तवादी चिन्तन । व्यवस्था बदलिए पनि संस्कार बदलिएन ।
खसीको शुद्धता मापन गर्न, विशुद्ध आयोगको शुद्धिबुद्धि हराएको छ । पार्टी दल र ठगबन्धनको सरकार कति प्रतिशत शुद्ध छ ? चोर, डाँका, घुस्याहा दलाल, हत्यारा, बलात्कारीहरू सुकिलो आवरणमा अत्तर घसेर बसाएका छन् । यिनलाई जिताउने यिनको भलो चिताउने हामीभन्दा बोसोले भरिएको बोधो खसी शुद्ध छ । मम शुद्ध छ । टन्न लेध्रोले तानुन्जेल पेटले धानुन्जेल खाऔँ । बङ्गुर झैँ मोटाऔँ । हुन्न र ?
०००
‘घुस्सा’ (२०८०)
Subscribe
Login
0 Comments
Oldest







































