चिरञ्जीवी दाहालकुत्ता र जुत्ता
जुन जातको कुत्तालाई पनि मजाले साबुन स्याम्पु लगाएर नुहाइदिन सकिन्छ । यता जुत्ताको भने जात हेरेर नुहाइदिने चलन छ । कुन जातको जुत्ताले पानी सहन्छ कुन जातकोले सहँदैन अधिकांश जुत्ता धनीलाई थाहा हुन्छ ।

चिरञ्जीवी दाहाल :
झ्वाट्ट हेर्दा कुत्ता र जुत्ता एकदम विपरीत वस्तुहरू हुन् जस्तै लाग्छ । किनभने कुत्ता, स्वतन्त्रता र वफादारीको प्रतीक हो भने, जुत्ता, नियन्त्रण र बन्धनको प्रतीक हो । मालिकप्रति वफादार हुने भएकोले कुत्ताले घरको रखवारी गर्छ । कुत्ताले चोर, डाँका र चोर जस्तै देखिने अपरिचित व्यक्तिलाई घरमा टेक्न पनि दिँदैन । यो स्वतन्त्रताको प्रतीक किन हो भने कुत्ता घरको वफादरीसँगै निर्धक्कसँग लखरलखर डुल्न रुचाउँछ । यसैले होला लखरलखर डुलिरहने मान्छेलाई पनि कस्तो कुत्ता झैं डुलेको होला भन्ने प्रचलन छ । यसरी लखरलखर डुल्न मनपराउने कुत्तालाई तिनका मालिक मलिक्नीले चौबिसै घन्टा घरभित्र थुनेर राख्दा भने यिनको कुकुराधिकार वास्तवमा हनन भएको देखिन्छ । आखिर जे जस्तो भएपनि कुत्ता र जुत्ता दुवैले मालिकको इशारामा चल्नुपर्छ ।
जुत्ताको कुरा गर्दा जुत्ता पनि वफादार हुन्छन् र सधैँ लामो तुनाले टनटनी कसिएर मालिकको खुट्टाको रखवारी गर्छन् । अर्काको रक्षा खातिर पराइको खुट्टामा कष्टपूर्ण जीवन बिताउनु पर्ने जुत्ताको पनि पीडा भने कम छैन ।
नियमसङ्गत कुरा गर्ने हो र केही वर्षअघिको इतिहास हेर्ने हो भने यी दुवैको स्थान घरको बाहिर हुन्थ्यो । विकासको गतिसँगै यी दुवैलाई यस्तो मौका आयो कि अचेल यिनीहरू घर बाहिर बस्नु पर्दैन । कसैका घरमो बाहिर पुगेर कुत्ता र जुत्ता जति खोजौँ मरिगए पनि पाइँदैनन् । यिनीहरू पनि मान्छे जस्तै निर्धक्क घरभित्र रहन्छन् ।
केही वर्ष अघिसम्म कतै गएर आएको मान्छेले जुत्ता आँगनमा फुकाल्थे । जुत्ता घरभित्र हुले सह जान्छ भनिन्थ्यो । अहिले यिनलाई बाहिर राखे जुत्ता र कुत्ता दुवैको सह जाने मात्र होइन यिनीहरू सधैँका लागि हराउन सक्छन् । किनभने देशमा हराउने र चोरी हुने क्रम अत्याधिक वृद्धि हुँदै गएको छ । छोरी हराउने, छोरा हराउने, बारीको केरा हराउने मात्र होइन देशमा अनुशासनको घेरा समेत हराउन थालेको देखिन्छ ।
त्यसैले अचेल बाध्य भएर कुत्ता र जुत्तालाई घरभित्र राखिएको हुनसक्छ । यो हराउने प्रचलन यति व्यापक भएको छ कि, एकताका प्रधानमन्त्री निवास नजिकैको घडेरी हराएको हल्लाले निकै खैलाबैला मच्चाएको थियो । सहकारीमा लगेर सुरक्षित राखिएको धन रातारात हराउने गरेको छ । एअरपोर्टमा सयौँ कर्मचारीको बीचबाट कुइन्टलका कुइन्टल सुन हराउँछ । यतिले मात्र हराउने सिलसिला रोकिँदैन । अरु त के कुरा भगवान पशुपतिनाथले नित्य स्नान गर्ने जलारीको तौल समेत हराउन थालेको चर्चा चल्छ । उनै पशुपतिनाथको दान दक्षिणा हराउँछ । कहिले हिजो साँझसम्म आफ्नै दलमा सर्वेसर्वा भएका नेता भोलिपल्ट अचानक गायव हुन्छन् र आफ्नै खाइपाइ आएको पद रातारात हराइदिन्छ । बाटो, धारा बनाउँदा अलकत्रा, सिमेन्ट, रड हराउने कुरा त मामुली कुरा हुन् । मन्त्रालयदेखि गाउँपालिकातिर समेत बजेट हराउने, एअरपोर्टबाट जेट हराउने भएपछि, घर बाहिर छोड्दा जुत्ता र कुत्ता हरायो भने के ठूलो आश्चर्य भयो ? त्यसैले कुत्ता र जुत्तालाई पनि घरभित्र राख्नु परेको हो । एकदिन बुहारीले मलाई वास्तविकता बताउँदै लगभग पैँतालिस मिनेटको एउटा कक्षा लिएकी थिइन् । जब मलाई बुहारीले त्यस कुराको ज्ञान दिइन्, अनि म कुनै प्रतिक्रिया नदिइकन कुत्तासँगै ब्रेकफास्ट गर्न थालेको हुँ ।
उबेला आँगनको डिलमा कुत्ता बाँध्ने ठाउँ हुन्थ्यो । अचेल न जुत्ता आँगनमा फुकाल्नु पर्छ न कुत्तालाई बाहिर कतै बाँध्नु पर्छ ! आफ्नै आँखाले देखेको मात्र होइन, आफैले भोगेको यथार्थ हो यो । अघिनै भनिसकेँ, बिहान सबेरै स्नान र पूजापाठ सकेर आराम गर्ने गरेको सोफामा अचेल ढुक्कले बस्न पाइँदैन । बुहारीले माइतीबाट दाइजो लिएर आएको “टाइगर” नामको टाटेपाटे कुत्ता म भन्दा अघि उठेर सोफामा विराजमान हुने गरेको छ । टाइगरले ब्रेकफास्टको रुपमा दुध चाट्ने र मैले कालो चिया घुट्क्याउने समय एउटै हो । बुहारीले हामी दुवैको लागि सँगै दुध चिया ल्याउने गरेकी छन् । दुधसँगै टाइगरले एक प्लेट बिस्कुट पनि पाउँछ भने मैले अलिनो चिनी भएको कालो चिया मुख बटार्दै कुत्तासँगै बसेर पिउने गरेको छु । भाग्ने कोशिस गरेर थाकेपछि अचेल त्यही कुुत्ता र म एकदमै नजिकका साथी भएका छौँ ।
त्यसैगरी एकदिन बैठककोठामा रहेको बुक रैकमा एउटा पुस्तक खोज्न जाँदा थाहा पाएँ मेरा पुस्तकहरू र्याकबाट भर्याङमुनिको बोरामा सरुवा भइसकेका रहेछन् । र्याकमा त छोरा बुहारी र नाति नातिनीका अनगिन्ती र थरिथरिका जुत्ताहरू सजाएर राखिएका थिए । त्यसपछि मलाई लाग्यो सबैका घरमा यस्तै त होला ! मैले मनमनै चित्त बुझाएँ । बोरा खोलेर हेर्दा मेरा पुस्तकहरू धमिराको क्रीडास्थल बनिसकेका रहेछन् । मैले धमिराले अक्षर चाटिसकेका जालिदार कागतका ठेली मात्र फेला पारेँ । हुनसक्छ छोराले बाबुले पढिरह्यो भने आराम गर्न पनि नभ्याउला भनेर मेरो मायाले ती पुराना पुस्तकहरू थन्क्याएर राखेको हुनुपर्छ । धेरै माया गर्ने छोराबुहारी नभएको मान्छेले यस्तो कुरा हतपती बुझ्दैनन् ।
पुस्तक जेसुकै होस्, मैले जुत्ता र कुत्ताको कुरा गर्दै थिएँ । यिनीहरूमा केही समानता पाइन्छन् भने अनगिन्ती भिन्नता पनि छन् । कुत्ताले जुत्ता फेला पार्यो भने लिएर कुदेको त देखिएको छ तर जुत्ताले कुत्ता बोकेर लगेको भने आजसम्म देखिएको छैन । बरू मालिक रिसायो भने कुत्ताले जुत्ता खाएको भने यदाकदा देखिने गर्छ । तर जुत्ताले कुत्ता खाएको भने आजसम्म देखिएको छैन ।
कुत्ताले जिब्रो निकालेर मज्जाले सास फेर्छ भने जुत्ताले यदाकदा बास मात्र फेर्ने गर्छ । यी जुत्तालाई मालिकले वास बस्न कहिले कता कहिले कता लिएर जान्छन् ! जब मालिक घर फर्कन्छ, जुत्ताले बास फेर्न पाएको खुशियालीमा घरभरि बास्ना छरिदिन्छ । अनि कुत्ताले जस्तै जुत्ताले पनि जिब्रो निकाल्न थाल्यो भने त त्यसको अस्तित्व नै समाप्त हुनसक्छ । त्यसैले कुत्ताले जसरी जुत्ताले जिब्रो निकाल्न थाल्दा बेलैमा सचेत हुनुपर्छ ।
कुत्तालाई मासु भात चाहिन्छ । जुत्तालाई लिटो भए पनि हुन्छ । कालो, खैरो र रातो रङको बट्टाको बुट पोलिस नामको लिटो मुख, कान र सारा शरीरभरि दलिदिए भयो बस् । यहाँनिर विचार गर्नुपर्ने कुरा के भने सबै जुत्ताले लिटो खाँदैनन् ।
यिनको एउटा समानता के थियो भने जुत्ता र कुत्ता दुवैको सङ्गत मानव बिष्टससँग हुन्थ्यो । केही वर्ष अघिसम्म कसैका घरमा शौचालय नहुँदा बारीका कुनाकाप्चामा, बाटो, गल्लीहरूमा मान्छेले विष्टा विसर्जन गर्थे । कुत्ताहरू मानव विष्टा भनेपछि हुरुक्कै हुन्थे भने जुत्ताले पनि बाटोमा विष्टा देखे लुसुक्क आफ्नो सोलमा टाँस्न भ्याइ हाल्थे । जब घरघरमा शौचालय बन्न थाले अचेल कुत्ता र जुत्ता दुवैले विष्टाको सङ्गत गर्न चटक्कै छोडिदिए । यो चाँही यिनीहरूलाई समयले दिएको दनक हो जस्तो लाग्छ ।
यिनलाई स्याहार सम्भार भने दुवैलाई चाहिन्छ । जुन जातको कुत्तालाई पनि मजाले साबुन स्याम्पु लगाएर नुहाइदिन सकिन्छ । यता जुत्ताको भने जात हेरेर नुहाइदिने चलन छ । कुन जातको जुत्ताले पानी सहन्छ कुन जातकोले सहँदैन अधिकांश जुत्ता धनीलाई थाहा हुन्छ । थाहा नभए टाठाबाठा र अगुवाहरूसँग सरसल्लाह लिए पनि हुन्छ । केही वर्ष अघिसम्म सामान्य भाउ भएका यी जुत्ता र कुत्ताहरूको अचेल भाउ बढेर छोइनसक्नु भएका छन् । सायद बिनसित्तिका मान्छेको पनि भाउ बढेको देखेर यिनले पनि आफ्नो भाउ बढाएको हुनुपर्छ ।
०००
चितवन ।
Subscribe
Login
0 Comments
Oldest






































