साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुत्ता र जुत्ता

जुन जातको कुत्तालाई पनि मजाले साबुन स्याम्पु लगाएर नुहाइदिन सकिन्छ । यता जुत्ताको भने जात हेरेर नुहाइदिने चलन छ । कुन जातको जुत्ताले पानी सहन्छ कुन जातकोले सहँदैन अधिकांश जुत्ता धनीलाई थाहा हुन्छ ।

Nepal Telecom ad

चिरञ्जीवी दाहाल :

झ्वाट्ट हेर्दा कुत्ता र जुत्ता एकदम विपरीत वस्तुहरू हुन् जस्तै लाग्छ । किनभने कुत्ता, स्वतन्त्रता र वफादारीको प्रतीक हो भने, जुत्ता, नियन्त्रण र बन्धनको प्रतीक हो । मालिकप्रति वफादार हुने भएकोले कुत्ताले घरको रखवारी गर्छ । कुत्ताले चोर, डाँका र चोर जस्तै देखिने अपरिचित व्यक्तिलाई घरमा टेक्न पनि दिँदैन । यो स्वतन्त्रताको प्रतीक किन हो भने कुत्ता घरको वफादरीसँगै निर्धक्कसँग लखरलखर डुल्न रुचाउँछ । यसैले होला लखरलखर डुलिरहने मान्छेलाई पनि कस्तो कुत्ता झैं डुलेको होला भन्ने प्रचलन छ । यसरी लखरलखर डुल्न मनपराउने कुत्तालाई तिनका मालिक मलिक्नीले चौबिसै घन्टा घरभित्र थुनेर राख्दा भने यिनको कुकुराधिकार वास्तवमा हनन भएको देखिन्छ । आखिर जे जस्तो भएपनि कुत्ता र जुत्ता दुवैले मालिकको इशारामा चल्नुपर्छ ।

जुत्ताको कुरा गर्दा जुत्ता पनि वफादार हुन्छन् र सधैँ लामो तुनाले टनटनी कसिएर मालिकको खुट्टाको रखवारी गर्छन् । अर्काको रक्षा खातिर पराइको खुट्टामा कष्टपूर्ण जीवन बिताउनु पर्ने जुत्ताको पनि पीडा भने कम छैन ।

नियमसङ्गत कुरा गर्ने हो र केही वर्षअघिको इतिहास हेर्ने हो भने यी दुवैको स्थान घरको बाहिर हुन्थ्यो । विकासको गतिसँगै यी दुवैलाई यस्तो मौका आयो कि अचेल यिनीहरू घर बाहिर बस्नु पर्दैन । कसैका घरमो बाहिर पुगेर कुत्ता र जुत्ता जति खोजौँ मरिगए पनि पाइँदैनन् । यिनीहरू पनि मान्छे जस्तै निर्धक्क घरभित्र रहन्छन् ।

केही वर्ष अघिसम्म कतै गएर आएको मान्छेले जुत्ता आँगनमा फुकाल्थे । जुत्ता घरभित्र हुले सह जान्छ भनिन्थ्यो । अहिले यिनलाई बाहिर राखे जुत्ता र कुत्ता दुवैको सह जाने मात्र होइन यिनीहरू सधैँका लागि हराउन सक्छन् । किनभने देशमा हराउने र चोरी हुने क्रम अत्याधिक वृद्धि हुँदै गएको छ । छोरी हराउने, छोरा हराउने, बारीको केरा हराउने मात्र होइन देशमा अनुशासनको घेरा समेत हराउन थालेको देखिन्छ ।

त्यसैले अचेल बाध्य भएर कुत्ता र जुत्तालाई घरभित्र राखिएको हुनसक्छ । यो हराउने प्रचलन यति व्यापक भएको छ कि, एकताका प्रधानमन्त्री निवास नजिकैको घडेरी हराएको हल्लाले निकै खैलाबैला मच्चाएको थियो । सहकारीमा लगेर सुरक्षित राखिएको धन रातारात हराउने गरेको छ । एअरपोर्टमा सयौँ कर्मचारीको बीचबाट कुइन्टलका कुइन्टल सुन हराउँछ । यतिले मात्र हराउने सिलसिला रोकिँदैन । अरु त के कुरा भगवान पशुपतिनाथले नित्य स्नान गर्ने जलारीको तौल समेत हराउन थालेको चर्चा चल्छ । उनै पशुपतिनाथको दान दक्षिणा हराउँछ । कहिले हिजो साँझसम्म आफ्नै दलमा सर्वेसर्वा भएका नेता भोलिपल्ट अचानक गायव हुन्छन् र आफ्नै खाइपाइ आएको पद रातारात हराइदिन्छ । बाटो, धारा बनाउँदा अलकत्रा, सिमेन्ट, रड हराउने कुरा त मामुली कुरा हुन् । मन्त्रालयदेखि गाउँपालिकातिर समेत बजेट हराउने, एअरपोर्टबाट जेट हराउने भएपछि, घर बाहिर छोड्दा जुत्ता र कुत्ता हरायो भने के ठूलो आश्चर्य भयो ? त्यसैले कुत्ता र जुत्तालाई पनि घरभित्र राख्नु परेको हो । एकदिन बुहारीले मलाई वास्तविकता बताउँदै लगभग पैँतालिस मिनेटको एउटा कक्षा लिएकी थिइन् । जब मलाई बुहारीले त्यस कुराको ज्ञान दिइन्, अनि म कुनै प्रतिक्रिया नदिइकन कुत्तासँगै ब्रेकफास्ट गर्न थालेको हुँ ।

उबेला आँगनको डिलमा कुत्ता बाँध्ने ठाउँ हुन्थ्यो । अचेल न जुत्ता आँगनमा फुकाल्नु पर्छ न कुत्तालाई बाहिर कतै बाँध्नु पर्छ ! आफ्नै आँखाले देखेको मात्र होइन, आफैले भोगेको यथार्थ हो यो । अघिनै भनिसकेँ, बिहान सबेरै स्नान र पूजापाठ सकेर आराम गर्ने गरेको सोफामा अचेल ढुक्कले बस्न पाइँदैन । बुहारीले माइतीबाट दाइजो लिएर आएको “टाइगर” नामको टाटेपाटे कुत्ता म भन्दा अघि उठेर सोफामा विराजमान हुने गरेको छ । टाइगरले ब्रेकफास्टको रुपमा दुध चाट्ने र मैले कालो चिया घुट्क्याउने समय एउटै हो । बुहारीले हामी दुवैको लागि सँगै दुध चिया ल्याउने गरेकी छन् । दुधसँगै टाइगरले एक प्लेट बिस्कुट पनि पाउँछ भने मैले अलिनो चिनी भएको कालो चिया मुख बटार्दै कुत्तासँगै बसेर पिउने गरेको छु । भाग्ने कोशिस गरेर थाकेपछि अचेल त्यही कुुत्ता र म एकदमै नजिकका साथी भएका छौँ ।

त्यसैगरी एकदिन बैठककोठामा रहेको बुक रैकमा एउटा पुस्तक खोज्न जाँदा थाहा पाएँ मेरा पुस्तकहरू र्‍याकबाट भर्‍याङमुनिको बोरामा सरुवा भइसकेका रहेछन् । र्‍याकमा त छोरा बुहारी र नाति नातिनीका अनगिन्ती र थरिथरिका जुत्ताहरू सजाएर राखिएका थिए । त्यसपछि मलाई लाग्यो सबैका घरमा यस्तै त होला ! मैले मनमनै चित्त बुझाएँ । बोरा खोलेर हेर्दा मेरा पुस्तकहरू धमिराको क्रीडास्थल बनिसकेका रहेछन् । मैले धमिराले अक्षर चाटिसकेका जालिदार कागतका ठेली मात्र फेला पारेँ । हुनसक्छ छोराले बाबुले पढिरह्यो भने आराम गर्न पनि नभ्याउला भनेर मेरो मायाले ती पुराना पुस्तकहरू थन्क्याएर राखेको हुनुपर्छ । धेरै माया गर्ने छोराबुहारी नभएको मान्छेले यस्तो कुरा हतपती बुझ्दैनन् ।

पुस्तक जेसुकै होस्, मैले जुत्ता र कुत्ताको कुरा गर्दै थिएँ । यिनीहरूमा केही समानता पाइन्छन् भने अनगिन्ती भिन्नता पनि छन् । कुत्ताले जुत्ता फेला पार्‍यो भने लिएर कुदेको त देखिएको छ तर जुत्ताले कुत्ता बोकेर लगेको भने आजसम्म देखिएको छैन । बरू मालिक रिसायो भने कुत्ताले जुत्ता खाएको भने यदाकदा देखिने गर्छ । तर जुत्ताले कुत्ता खाएको भने आजसम्म देखिएको छैन ।

कुत्ताले जिब्रो निकालेर मज्जाले सास फेर्छ भने जुत्ताले यदाकदा बास मात्र फेर्ने गर्छ । यी जुत्तालाई मालिकले वास बस्न कहिले कता कहिले कता लिएर जान्छन् ! जब मालिक घर फर्कन्छ, जुत्ताले बास फेर्न पाएको खुशियालीमा घरभरि बास्ना छरिदिन्छ । अनि कुत्ताले जस्तै जुत्ताले पनि जिब्रो निकाल्न थाल्यो भने त त्यसको अस्तित्व नै समाप्त हुनसक्छ । त्यसैले कुत्ताले जसरी जुत्ताले जिब्रो निकाल्न थाल्दा बेलैमा सचेत हुनुपर्छ ।

कुत्तालाई मासु भात चाहिन्छ । जुत्तालाई लिटो भए पनि हुन्छ । कालो, खैरो र रातो रङको बट्टाको बुट पोलिस नामको लिटो मुख, कान र सारा शरीरभरि दलिदिए भयो बस् । यहाँनिर विचार गर्नुपर्ने कुरा के भने सबै जुत्ताले लिटो खाँदैनन् ।

यिनको एउटा समानता के थियो भने जुत्ता र कुत्ता दुवैको सङ्गत मानव बिष्टससँग हुन्थ्यो । केही वर्ष अघिसम्म कसैका घरमा शौचालय नहुँदा बारीका कुनाकाप्चामा, बाटो, गल्लीहरूमा मान्छेले विष्टा विसर्जन गर्थे । कुत्ताहरू मानव विष्टा भनेपछि हुरुक्कै हुन्थे भने जुत्ताले पनि बाटोमा विष्टा देखे लुसुक्क आफ्नो सोलमा टाँस्न भ्याइ हाल्थे । जब घरघरमा शौचालय बन्न थाले अचेल कुत्ता र जुत्ता दुवैले विष्टाको सङ्गत गर्न चटक्कै छोडिदिए । यो चाँही यिनीहरूलाई समयले दिएको दनक हो जस्तो लाग्छ ।

यिनलाई स्याहार सम्भार भने दुवैलाई चाहिन्छ । जुन जातको कुत्तालाई पनि मजाले साबुन स्याम्पु लगाएर नुहाइदिन सकिन्छ । यता जुत्ताको भने जात हेरेर नुहाइदिने चलन छ । कुन जातको जुत्ताले पानी सहन्छ कुन जातकोले सहँदैन अधिकांश जुत्ता धनीलाई थाहा हुन्छ । थाहा नभए टाठाबाठा र अगुवाहरूसँग सरसल्लाह लिए पनि हुन्छ । केही वर्ष अघिसम्म सामान्य भाउ भएका यी जुत्ता र कुत्ताहरूको अचेल भाउ बढेर छोइनसक्नु भएका छन् । सायद बिनसित्तिका मान्छेको पनि भाउ बढेको देखेर यिनले पनि आफ्नो भाउ बढाएको हुनुपर्छ ।

०००
चितवन ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
जिब्रो

जिब्रो

चिरञ्जीवी दाहाल
ताली पर्व सधैँ आइरहोस्

ताली पर्व सधैँ आइरहोस्

चिरञ्जीवी दाहाल
धूपको धुवाँ र चुरोटको धुवाँ

धूपको धुवाँ र चुरोटको...

चिरञ्जीवी दाहाल
ज्ञानको उल्टी

ज्ञानको उल्टी

चिरञ्जीवी दाहाल
सिको

सिको

दिप मंग्राती
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
0
Would love your thoughts, please comment.x
()
x