हरिशंकर परसाईंजाँच आयोग : सरकारको कुल्ला
उनीहरू दुवै जनाले भने - हेर्नुस् हजुर, हामी दुवै जनता पार्टीमा छौँ । हामी आफ्नो सरकारको आदर्शबमोजिम नै यस समस्याको समाधान पनि चाहन्छौँ। नाला त यहीँ रहन्छ, तर तपाईंको अध्यक्षतामा एउटा आयोग बन्नुपर्छ ।

हरिशंकर परसाई :
व्यङ्ग्यानुवाद :: रमेश समर्थन
यी आयोगहरू यति तीव्रताका साथ बनिरहेका छन् कि अब मलाई डर लाग्न लागेको छ । कुनै पनि दिन मेरै बारेमा कुनै आयोग बन्ने वा मलाई नै कुनै आयोगको सदस्यमा नामाङ्कित गरिने दुर्घटना हुन सक्ने सम्भावना छ ।
कसैले सरकारसित सिकायत गरेर या कुनै अखबारमा हरिशंकर परसाईको हालत खराब छ भन्ने हल्ला चलाइदिएर कुनै दिन हरिशंकरको हालतका बारेमा बुझ्न जाँच आयोग बनाइएको छ भन्ने पनि सुन्न पर्न सक्छ ।
अथवा कुनै दिन यस्तो पनि सुुन्न पर्न सक्छ कि हरिशंकर परसाई बेकार छ र यति बेला कुनै पनि न्यायाधीश खाली पनि छैनन्, त्यसैले परसाईलाई नै फलानो जाँच आयोगको सदस्य नियुक्त गरिन्छ ।
जबसम्म न्यायाधीश खोसला यस काममा लागेका थिए, निश्चिन्तता थियो । उनी नेताजी सुभासचन्द्र बोसको मृत्युदेखि लिएर एकेडेमीसम्मको जाँच गर्थे । तर अहिले त दिनमा चारवटाको दरले आयोग बन्दछन् ।
अहिले कुनै मानिस सुरक्षित छैन । एक दिन यस्तो आउने छ जब आधा मानिसका बारेमा जाँच आयोगहरू बन्ने छन् र आधा मानिस जाँच आयोगमा हुने छन् ।
जाँच हुनुपर्ने समस्या कति छन् ! कुकुरले छुट्टै तरिकाले पिसाब किन गर्छ ? जहाँ न रुख हुन्छन् र न खम्बा हुन्छन् त्यस्तो मरुमूमिमा के कुकुरहरू पिसाबै नगरी बस्छन् ? त्यसको जाँचको कुनै स्थायी व्यवस्था हुन्छ कि हुँदैन ?
गधा किन यसरी दार्शनिक चिन्तनमा डुबिरहन्छ ? त्यसको चिन्तनको आधारमा वेदान्तको व्याख्याको प्रकाशनको कस्तो व्यवस्था गरिँदै छ ?
सरकारले कुल्ला गरेझैं गरी आयोग बनाइरहन्छ । जाँच आयोग सरकारको कुल्ला नै हो । मुखको सफाइका निम्ति कुल्ला गर्यो अनि नक्कली दाँत लगायो ।
प्रधानमन्त्री दक्षिण भारतको भ्रमणमा गए । त्यहाँ पार्टीका सदस्यहरूले भने, ‘यहाँ हरिजन (दलित) आदिवासीहरूलाई समस्या छ । यिनको भोट पनि धेरै छ । केही गर्नुस् ।’
प्रधानमन्त्रीले घोषणा गरे- हामी हरिजन आदिवासीहरूको वास्तविक हालतको जाँचका निम्ति एउटा आयोग बनाउँदै छौँ ।
इन्दिरा गान्धीले यसो पनि भन्न सक्थिन् – हामीले त दशवटा आयोग बनाएका थियौँ । तपाईंहरू एउटा आयोगलाई भोट दिनुहुन्छ कि दशवटा आयोगलाई ?
हरिजन आदिवासीको अवस्थामाथि आयोग त अशोकले पनि बनाएका थिए तर त्यसको प्रतिवेदन अहिलेसम्म आएको छैन ।
अकबरले पनि टोडरमलको अध्यक्षतामा गरिबी उन्मूलनका निम्ति एउटा आयोग बनाएका थिए । इतिहासकारहरूले त्यसको प्रतिवेदन कहाँ छ भन्ने कुराको खोजी गरून् ।
कौरव र पाण्डवको विवाद सल्टाउन पनि आयोग बनेको थियो तर आयोगमा बयान दिँदा दिँदा दुवै पक्ष बोर भएका थिए ।
वीरहरूको काम लड्ने हो कि गवाही दिने हो ? यदि यसै गरी आयोगको कारबाही चल्न थाल्यो भने कलियुगको अन्तिम चरणको सरकारको पालामा मात्र यसको प्रतिवेदन बन्ने छ । त्यसैले योभन्दा राम्रो त लडेर नै समस्या समाधान गरिहालौँ ।
न्यायी जहाँगिरले पनि आयोग बनाउँथ्यो । भोकाहरूको खानाको समस्याका बारेमा उसले आयोग बनाएको थियो । तर जब आयोगको प्रतिवेदन आयो तबसम्म गुनासो गर्नेहरू भोकले मरिसके भन्ने समाचार आयो । अनि प्रतिवेदन फाइलबन्द भयो ।
सरकारले हरिजन र आदिवासीको समस्यामाथि यसै गरी एउटा आयोग बनायो मानौं देशमा हरिजन र आदिवासी भनिने प्राणी पनि छन् भन्ने कुरो सरकारलाई अहिले मात्र थाहा भएको हो । प्राणीशास्त्रीहरूले भर्खर मात्र यी जीवधारीहरूलाई खोजेका हुन् । यी हिन्द महासागरको कुनै सुदूर द्वीपमा वा पहाडी कन्दरामा बस्छन् भन्ने कुराको निर्क्याैल गर्नु छ । यी पानी बस्छन् कि हावामा ? यी सबै कुरा थाहा भएपछि यिनको समस्यामाथि विचार गरिने छ ।
अनि यदि यिनलाई जिउँदै भुटिन्छ भने के पत्ता लगाउनुपर्ने हुन्छ भने ‘चिकेन रोस्ट’ स्वादिष्ट हुन्छ कि ‘हरिजन रोस्ट’ बढी स्वादिष्ट हुन्छ ? तन्दुरी कुखुराको अपेक्षा तन्दुरी हरिजनको बिक्रीको सम्भावना कति छ ?
मानिसहरू कराइरहे – हजुर, दर्जनौं आयोगहरू बनिसकेका छन् र सयौँ प्रतिवेदनहरू छन् । यिनको समस्या सबैले बुझेका छन् । किताबहरूमा छापिन्छन्, अखबारहरूमा छापिन्छन् । हरेक मान्छेले बुझेको छ त के सरकारले बुझेको छैन ? सरकालाई रेडिमेड जानकारीसित सरोकार छैन । उसलाई त उसको आयोगका माध्यमबाट जानकारी चाहिन्छ ।
सरकारलाई कुनै समस्याको समाधान गर्नु नै छैन । यो उसको वशको कुरो पनि हैन । अनि यदि समस्या समाधान गर्नु छैन भने या त्यो समाधान हुँदैन भने आयोग बनाइदेऊ । भोकाले खाना मागेको छ भने उसलाई भन – आँ गर् । अनि उसले आँ गर्यो भने उसको मुखमा आयोग कोच्याइदेऊ र भन – ला, अब जीवभरि उग्राएर बस् ।
यदि सडकमा हुलहुज्जत भएको छ भने चतुर व्यक्ति गल्लीबाट निस्किन्छ । आयोग त्यो गल्ली हो जहाँबाट लुकेर भाग्छ सरकार किनभने सार्वजनिक सडकमा त समस्याहरूको जमघट हुन्छ ।
चतुर सरकार मुखमा कपडा बेरेर लच्किँदै र मस्किँदै फुर्तिसाथ आयोगको गल्लीबाट निस्किन्छ अनि उता समस्याहरूले होहल्ला गरिरहन्छन् ।
अब त सर्वसाधारण मानिस पनि आयोगी बनिसकेको छ । आयोग उसको जीवनमा पसिसकेको छ । उसले आयाृेगको तरिकामाथि विचार गर्छ र बुझ्छ । यदि त्यसको समाधान गर्न झ्याउ लाग्छ भने त्यसलाई त्यहीँ रहिरहन देऊ, अनि आयोग बनाइदेऊ । छिमेकीले झगडाको कारणको जाँच गरिरहन्छ अनि यता लोग्नेस्वास्नी लडिरहन्छन् ।
यस सरकारले मानिसहरूलाई आयोगप्रेमी बनाइदिएको छ । हरेक मान्छेले आयोगको लाइनका विषयमा विचार गर्न थालेको छ ।
यता टोलमा एकजना चोपडासाहेबको घर छ । उनले फोहर पानीको नाला कस्तो बनाइदिएका छन् भने छिमेकका खन्नासाहेको आँगनमा पानी जान्छ ।
हिजो खन्नासाहेबले मसित यसको गुनासो गरे । यत्तिकैमा चोपडासाहेब पनि आइपुगे । उनले भने – हजुर, नाला त यहीँबाट निस्किन्छ । खन्नासाहेबले भने – नाला यहाँबाट निस्किन्न । मैले भनेँ – यस समस्याको समाधान त के हो भने कि त चोपडासाहेबले नाला उता फर्कानुपर्यो, नत्र भने खन्नासाहेबले जबरदस्ती फर्काउनुपर्यो ।
उनीहरू दुवै जनाले भने – हेर्नुस् हजुर, हामी दुवै जनता पार्टीमा छौँ । हामी आफ्नो सरकारको आदर्शबमोजिम नै यस समस्याको समाधान पनि चाहन्छौँ। नाला त यहीँ रहन्छ, तर तपाईंको अध्यक्षतामा एउटा आयोग बन्नुपर्छ ।
म त बँचेर निस्कें तर यो आपत कसको टाउकामा आइपर्यो भन्ने थाहा भएन ।
०००
हरिशंकर परसाईको कृति ‘परसाई रचनावली (भाग- ४) काे जाँच आयोग… बाट अनुवाद गरिएको हो ।
Subscribe
Login
0 Comments
Oldest







































