भाउपन्थीसिँढीको पछिपछि
अरु सांस्कृतिक क्षेत्र पनि हुन सक्छन् विचलनका । जस्तै भन्नुस् गठबन्धनको संस्कृतिको अपचलन । तपाईं यो भन्न सक्नुहुन्छ, जसले मन्त्री-प्रधानमन्त्री बनाउँछु भन्छ उतैतिर लाग्नु राजनीतिको धर्म हो ।

भाउपन्थी :
कुरा झिक्नुपर्यो भने छिमेकका पूर्वनेता मालिकरामको सम्झना हुन्छ । मालिकरामले एक पटक भनेका थिए, ‘पूर्वनेता वा पूर्वप्राज्ञ हुँदैन ।’ तर कुरो अर्कातिर नदागोस् भनेर विषयकेन्द्रित हुनुपर्दा नाम उनको मालिकराम सानैदेखिको हो । राजनीतिमा उनको भनाइ यो थियो, मालिकराम नामकै कारण असफल भएको हुँ । मालिक भनेर भनिसकेपछि अहिले नामैले मालिक छ भने राजनीतिमा सफल भएर माथि गयो भने यो झन् के होला ? उसै त बुहारी भटमास खाएकी । उनको भनाइमा मालिकराम नाम राख्नुमा उनको दोष थिएन । गाउँभरि उनी यसै नामले पुकारिन्थे । निर्वाचन जितेको भए देशैभरिकाले ‘मालिकराम जिन्दावाद ! मालिकराम जिन्दावाद !!’ भनेर नारा लगाउँदै उनको जयजयकार गर्ने थिए । त्यो एउटा अपूर्व आनन्दको विषय हुने थियो उनका लागि, किनभने उनी पूरै मुलुकको मालिकराम हुने थिए । तर दुर्भाग्यले त्यसो भएन ।
उनी राजनीतिमा कहिल्यै सफल भएनन् । तर उनले मालिकराम सफल नभएपछि आफूलाई ‘किङ मेकर’ भन्न थाले । जस्तै गठबन्धनमा सराकारमा दुईसिटे पार्टीले सरकारमा गएर शीर्ष पद खान सकेजस्तो । गाउँमा उनले चाहेको व्यक्तिलाई प्रमुख उपप्रमुख र सदस्य समेत बनाइदिन्थे । त्यसैले पछिपछि उनले समानुपातिकमा आफ्नै श्रीमतीलाई निर्लज्जतासाथ सांसद पद उपलब्ध गराइदिएका थिए ।
तर उनको मनमा एउटा क्लेश रहिरह्यो, मालिकराम राजनीतिमा सफल हुनै सकेन । दुर्भाग्यको कुरो हो । त्यो क्लेश उनले भनेअनुसार चितामा गएपछि मेटिने छ । उनको विचारमा तैँले चिता म पुर्याउँछु भन्नुमा विधाताको लुकेको आशय छ, जसले पूरा नहुने कुरा चिताउँछ उसलाई विधाताले भनेकै हुन्छन्— तँ चिता म पुर्याउँछु । मानिस चितामा गइसकेपछि त्यो सही साबित हुन्छ । विधाताको कथन पनि त्यही हो— तँ चितामा गएपछि तेरो मनोकामना पूरा भएको मान्नुपर्छ ।
जे होस्, मानिसहरू मालिकरामलाई त्यो नामले बोलाउन होइन नेताजी भन्न रुचाउँथे । नेताजी भनेरै गाउँटोलमा सम्बोधित हुन्थे् । पब्लिकको धारणामा मालिकराम भन्नु नै नेता वा नेता भन्नु नै मालिकराम । यसमा फरक थिएन । उनी लागेको पार्टीका नेताले पनि उनलाई नेताजी भनेरै पुकारा गर्थे । पार्टीभित्र उनका विरोधी पनि थिए । पार्टीभित्रै विरोधी गुट नभएको पार्टी पनि के पार्टी भन्थे मालिकराम । विरोधीहरू यस कारण हाँस्थे— ‘यस्तालाई पनि नेताजी भनेर बोलाउने’ भनेर । कारण उनी नेताजी भनेर सम्बोधित हुने ल्याकतका छैनन् रे । यो कुरो उनी जान्दथे, उनको विरोध गर्ने गुटको त्यो हल्ला थियो ।
मालिकराम अर्थात् नेताजी हेर्नमा ठिकठाक नै थिए । राम्रो भए म हिरो हुने थिएँ भन्थे । हिरोका लागि एक पटक अफर आएको हो पनि भन्थे तर राजनीतिमै जन्मेँ, राजनीतिमै हुर्केँ र राजनीति खाएँ पचाएँ र राजनीतिमै झन्डा गाड्ने हुँ गाडेकै छु र झन्डा ओढेरै चितामा सुत्नेछु भनेर फिल्म लाइनमा गइनँ भन्थे ।
जान्नेहरूका अनुसार उनलाई हिरोको होइन भिलेनको रोलका लागि अफर आएको थियो । मुख्य भिलेनको पार्टका लागि होइन तर भिलेनका पछिपछि लागेर धुप हालिरहने एउटा उपभिलेन हुन्छ नि हो त्यसैको रोलका लागि अफर आएको थियो भन्थे । तर मालिकरामका अगाडि त्यस्तो दोस्रो दर्जाको भिलेनको अफर आएकोबारे कसैले मुख खोलेर आँसम्म गर्न सक्तैनथे । हिरो होइन भिलेनको धुपौरेको रोलको अफर आएको भनेर ठोकुवा गर्ने भनाइ त परै रह्यो । मालिकरामकै हातमा गाउँ थियो । गाउँभरिकालाई ऋणसापट दिन्थ्यो मालिकराम, बिहेब्रतबन्धका लागि खर्च चाहियो नगद दिन्थ्यो मालिकराम, घरमा कोही आफन्त जन बिरामी छ उपचारका लागि रकम चाहियो मालिकराम, बर्खामा हिउँदमा लगाइने बालीको बिउ किन्नुपर्यो नगद देऊ मालिकराम ! दशैँतिहारमा मासु खानु पर्यो, लुगाफाटो किन्नु पर्यो नगद रिन दिने मालिकराम ! तर मालिकराम तमसुक लेख्थ्यो दसको सय, सयको हजार र हजारको लाख र त्यसैमा दायाँबायाँ औँठाको सहीछाप नदिएसम्म हातमा नगद रकम राखिदिँदैनथ्यो मालिकराम ।
दिन बित्दै गए, दिन महिना, महिना वर्ष र वर्ष दशक अनि दशक शताब्दीमा, यी सबै बिते तर मुलुकमा मालिकराम कायम रह्यो । आन्दोलन भए, अभियान चले, द्वन्द्व चले, सशस्त्रका भोटका तर मालिकरामको आवश्यकता र हैकम गएन । एक मालिकरामबाट अनेक मालिकराम जन्मे । मालिकराम सहकारीमा बदलियो । मालिकराम पार्टीमा रूपान्तरण भयो, तिनका अनेक किसिमका झन्डा थिए, अनेक नारा थिए, अनेक नेता थिए, कोही दिवङ्गत भए कोही जीवितै छन् तर मालिकराम दिवङ्गत भएन, ऊ जीवित रह्यो, जीवितै छ । मालिकराम झन्झन् संख्यामा बढेर गएको छ भन्थे उत्पीडित जनता । ती सहकारीमा थिए, ती मिटरब्याजी थिए, ती सहरमा थिए गाउँमा थिए र अझै कायम छन् । मालिकरामको नाम अचेल परिवर्तन भएर सामान्यतः ‘नेता’ भएर पुकारिने गरेको छ । मालिकराम पनि खुस छ, ऊ नेतामा परिणत भएकोले । नेता सर्वव्यापी छ ।
मालिकराम जताततै छ । धोतीकुर्तामा छ, मयलपोस सुरुवालमा छ, कुर्तापायजामामा छ, टाइसुटबुटमा छ । नररूपमा छ, नारीरूपमा छ । पोसाक फेरिए पनि वा नफेरिए पनि, लिङ्ग फेरिए पनि नफेरिए पनि, पुरानै पोसाकमा भए पनि वा नयाँ ठाँटिने पोसाक फेरे पनि मालिकराम अचेल पनि हाँसेरै हिँडिरहेको छ । रेमिन्ट्यान्स खाएर मोटाएकै छ, सरकारी रकम बेरूजु गरेर हसुरैकै छ, काण्ड, घोटाला र प्रकरण गरेर भुइँमा न भाँडामा भएकै छ, सहकारी धोकेर अदृश्य भएको छ । मालिकराम रक्तबीजझैँ मुलुकैभरि ढाकिने भएको छ । कसैमा छेक्न-रोक्न सक्ने ताकत भएको दखिएन । विडम्बना के भने मालिकरामले नै भाषणमा भन्छ, ‘मालिकरामहरूका दिन गए । युगले पल्टा खाएको छ । नयाँ जुगजमाना आएको छ ।’ नयाँ जुगजमाना आएको छ र त खाने हसुर्ने उपाय-तरिका फेरिएका छन् । मालिकरामजति सबै सधैँ खानमै मस्त छन् ।
भाषाले सम्पन्न, तर्कले चतुर, पोसाकले सुकिलो र कहिल्यै अनिकाल भोग्न नपर्ने मालिकरामको नारा छ— गरिबी हटाओ ! तर गरिबी हटाउनुको साटो मुलुकलाई गरिब बनाउने काम उसैले तन्मय भएर गरिरहेको छ । ऊ हँसिलो छ र मोटो पनि छ । मानिस मोटाएपछि हँसिलो हुनु स्वाभाविक छ तर ऊ धूर्त छ । मुखले एउटा कुरो भन्छ कामले अर्को कुरो गर्छ । काम उसको कहिल्यै पनि मुलुक उकास्ने खालको हुँदैन । कुरो भने मुलुकलाई माथिमाथि लैजाने भन्छ । भन्नमा के लाग्छ र ? एक ठाम तरकारी किनिरहेको व्यक्तिले यसो भनेको सुनियो, ‘मुलुकको ढुकुटीमा पैसा छैन । मालिकरामहरूसँग थुप्रिएको छ बोराका बोरा नगद । मुलुकको अर्थमन्त्रीले सय खर्बको बजेट प्रस्तुत गरे पनि कसैले किन भनेर सोध्ने होइन । मुलुक रित्तिएको छ, । खर्च गर्न पैसै छैन । जति खर्वको बजेट पेस गरे पनि भो । दिमाग र आँखामा छारो हाल्नु त हो ।’
‘मुलुक भासिएको कुरा गरेर तरकारी व्यापारमा रुकावट नहाल्नुस् ग्राहक महोदय । अर्को पसलतिर जानुस् । नेताको भाषणले वाक्कदिक्क भइएको बेलामा तपाईंका गनगनले दिमाग खराब गराउनु छैन ।’ तरकारी पसलेको गुनासो थियो यो । ग्राहक अगि बढ्यो तर भन्यो, ‘तपाईंको तरकारी बिक्न सक्दैन किनभने तपाईं एकदम मालिकराम हुनुहुन्छ ।’ ग्राहकको गुनासोमा कुनै तारतम्य थिएन । पसलेले भन्यो, ‘जानोस् अन्यत्र, तपाईंलाई कुहिएको आलु परोस् ।’ यो नयाँ तरिका रहेछ तरकारी पसलेले सराप्ने । अरुअरु कसैको कुरो कसैले सुनेर गुनासोप्रति चाख राख्ने गरेको पाइएन । जो सुखी थिए ती मालिकरामको स्वभावका थिए र जो दुखी थिए ती दुखीराम स्वभावका थिए । यसरी मुलुकमा दुई वर्ग मात्र देखिए— दुखीराम र मालिकराम ।
बलजफती यहाँ एउटा यहाँ एउटा ज्ञानको कुरो छिराउन सकिन्छ । मालिकरामहरूका कारण सांस्कृतिक विचलन पनि आएको छ । यहाँ सानो तर सटिक उदाहरण दिएर यसको बिट मार्न सकिन्छ । त्यो हो तिहारहुँदो खेलिने द्यौसीभैलोमा एउटा राम्रै परिवर्तन आएको । भट्ट्याउनेले भट्ट्याइसकेपछि भैलीरामको साटो यस्तो सही थापेको पाइयो— ‘मालिकराम !’ अध्ययन गर्दै जाँदा सबै ठाउँ ‘मालिकराम’ भनेर सही थापेको पाइएन तर कतैकतै ‘नेताराम’ भन्ने भेद पनि पाइयो । अरु सांस्कृतिक क्षेत्र पनि हुन सक्छन् विचलनका । जस्तै भन्नुस् गठबन्धनको संस्कृतिको अपचलन । तपाईं यो भन्न सक्नुहुन्छ, जसले मन्त्री-प्रधानमन्त्री बनाउँछु भन्छ उतैतिर लाग्नु राजनीतिको धर्म हो । प्रश्न यही छ— गठबन्धनको सांस्कृतिक विचलनमा, जससँग सत्ताको शिखरमा जाने सिँढी छ उसैको पछिपछि लाग्ने, मुलुक भड्खालैमा गए पनि ?
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































