साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेतृत्वको तागत

यो मेरो छवि धमिल्याउने प्रयत्न हो ।’ तर जसको ‘ता’ गएको हुन्छ उसको सुन्छ पो कसले र ? सी.आई.डी. लगाइयो । सी.बी.आई.ले जाँच गर्‍यो । रअको सहयोग लिइयो । तर ‘ता’ भेटिएन ।

Nepal Telecom ad

शरद जोशी :

व्यङ्ग्यानुवाद :: रमेश समर्थन

(जाेशीकाे  यो निबन्ध ‘यथासम्भव’बाट लिइएको हो । १९८५मा प्रकाशित जोशीको पुस्तक भारतीय ज्ञानपीठले प्रकाशित गरेको थियो । आफ्नो रचनामा जाेशीले नेताहरूमाथि मज्जाको व्यङ्ग्य गरेका छन् । नयाँ पुस्ताले यो अवश्य पढ्नुपर्छ ।- अनुवादक)

नेता शब्द दुईवटा अक्षरले बनेको छ । ‘ने’ अनि ‘ता’ । यिनमा एउटा अक्षरको कमी भयो भने पनि कोही नेता बन्न सक्दैन । तर हाम्रो सहरका एउटा नेतासित भने एउटा अचम्मैको ट्र्याजडी भयो । उनी निकै दौडादौडीमा रहन्थे । दिन गेस्ट हाउसमा बिताउँथे भने रात डाक बङ्गलामा । लन्च अफिसरसँगै लिन्थे भने डिनर साहूसँगै । यस बिचमा जति समय बच्थ्यो त्यसमा उनी भाषण दिन्थे । कार्यकर्ताहरूलाई सम्बोधित गर्थे । कहिलेकाहीँ आफैं पनि सम्बोधित हुन्थे । तात्पर्य के भने निकै व्यस्त रहन्थे । ‘ने’ अनि ‘ता’ दुई अक्षरबाट बनेका थिए नि त ! एक दिन के भयो भने उनको ‘ता’ हराएर ‘ने’ मात्र बाँकी रह्यो ।

यति ठुला नेता र ‘ता’ गायब । सुरुमा त उनले चालै पाएनन् । पछि सचिवले भने, ‘सर, हजुरको ‘ता’ भेटिएन । अहिले हजुरले केवल ‘ने’बाट काम चलाइसिँदै छ ।

नेता निकै दिक्दारिए । नेताको अर्थ हुन्छ, नेतृत्वको तागत । उनको तागत गयो, केवल नेतृत्व रह्यो । ‘ता’सँगै तागत पनि गयो । ‘ता’का कारणले बज्ने ताली पनि सकियो । ताजापन रहेन । नेता निकै कराए, ‘यो मेरो विपक्षी दलहरूले मेरा विरुद्ध गरेको षड्यन्त्र हो । यसमा विदेशी शक्तिको हात छ । यो मेरो छवि धमिल्याउने प्रयत्न हो ।’ तर जसको ‘ता’ गएको हुन्छ उसको सुन्छ पो कसले र ? सी.आई.डी. लगाइयो । सी.बी.आई.ले जाँच गर्‍यो । रअको सहयोग लिइयो । तर ‘ता’ भेटिएन ।

नेताले एकजना साहूलाई भने, ‘यार, मेरो ‘ता’ हराएको छ । आफ्नो तालाको ‘ता’ मलाई देऊ न ।’
साहूले केही बेर त सोच्यो । अनि भन्यो, ‘सही हो, मलाई ‘ले’को त खाँचो परिरहन्छ किनभने ‘दे’सित मेरो कामै पर्दैन तर तालाको ‘ता’ नै गएपछि लिएर राख्ने पो कहाँ ? आयकरवालाले सबै लगिदिन्छन् । त्यसैले तिमी नेता रहे पनि नरहे पनि म मेरो तालाको ‘ता’ त तिमीलाई दिँदै दिन्नँ । ‘ता’ मलाई अत्यन्त जरुरी छ । कुनै बेला तालाबन्दी गर्नुपर्‍यो भने ? त्यस बेला त तिमीे मजदुरकै पक्षमा हुनेछौ, मेरो ‘ता’ मलाई थोरै दिनेछौ र ?’

साहूजीलाई नेताले धेरै सम्झाए, ‘जबसम्म नेता रहने छु मेरो ‘ता’ले तिम्रो तालाको समर्थन र रक्षा गर्नेछ । तपाईं आफ्नो ‘ता’ मलाई दिनुस्, त्यसको शुल्क ‘ला’ तपाईंको भयो । लिइरहनुहोला, मैले केही भन्ने छैनँ ।’ तर साहूजीले मानेनन् र नेता उठेर रिसाउँदै गए ।

विरोधीहरूले उल्याउन थाले । अखबारमा खबर उफारियो, कैयौं दिनदेखि नेताको ‘ता’ छैन, अब यदि ‘ने’ पनि गयो भने उनी कहीँका पनि नरहने भए भनेर । स्वयम् नेताकै दलका मानिसहरूले पनि दिल्ली पुगेर गुनासो गरे, तपाईंले हाम्रो टाउकामाथि एउटा यस्तो नेता थोपरिदिनुभएको छ जससँग ‘ता’ नै छैन ।

नेता दःुखी त थिए तर उनमा जनतासमक्ष गएर आपूmसँग ‘ता’ नभएको स्वीकार गर्ने साहस थिएन । यदि उनले त्यसो गर्न सकेको भए सायद जनताले उनलाई उनको ‘ता’ फिर्ता दिन्थे । तर उनलाई त जनताका सामु पोल खुल्यो भने के गर्ने भन्ने डर थियो ।

एक दिन उनले अचम्मको काम गरे । कोठा थुनेर जुत्ताको ‘ता’ झिकेर ‘ने’सित टाँसे अनि फेरि ‘नेता’ बने । यद्यपि उनको व्यक्तित्वको दुर्गन्ध आइरहेको थियो तर जे होस्, नेता त भएँ भन्ने कुरामा प्रसन्न थिए । केन्द्रले पनि उनलाई समर्थन गर्‍यो । पार्टीले पनि भन्यो जो नेता भए पनि ठिकै छ । हाललाई हामी कुनै परिवर्तनको पक्षमा छैनौं ।

समस्या त के मात्र थियो भने आजको स्थितिमा यो कुरो सबैले चाल पाइसके र मानिसहरूले नेतालाई देख्नासाथ जुत्ता हातमा लिन थाले किनभने उनीहरूलाई उनीहरूको जुत्ताको ‘ता’ चोरिने पो हो कि भन्ने डर लागिरहन्छ ।

पत्रकारहरूले पनि प्रायः यस्तो प्रश्न गर्थे्, ‘बितेका दिनमा तपाईंको ‘ता’ हरायो भन्ने सुनिन्छ नि ?’ उनले बिस्तारै भन्थे, ‘हराएको त थिएन । कुरो के भएको थियो भने त्यसको खाँचो माताजीलाई परेको हुँदा मैले उहाँलाई टक्र्‍याएको थिएँ । तपाईंहरूलाई त थाहै छ म उहाँलाई कति मान्छु भन्ने कुरो । आज म जे छु र जस्तो छु त्यो उहाँकै कारणले त छु । उहाँले मेरो ‘ता’ त के, ‘ने’ पनि लिनुभयो भने पनि मैले नाइँ भन्दिनँ ।’

यस्तो बेलामा नेताको नम्रता हेररहूँजस्तो लाग्छ । तर मेरो के विश्वास छ भने साथीहरू, जब नेतामाथि सङ्कट आएर उसको. ‘ता’ नरहने अवस्था आउने छ तब मानिसहरूले पक्कै पनि जुत्ता हातमा लिएर प्रजातन्त्रको प्रगतिमा आफ्नो योगदान गर्न अग्रसर हुनेछन् ।

०००
जोशीको ‘यथासम्भव’ (१९८५) कृतिमा सङ्कलित  ‘नेतृत्व के ताकत’ बाट नेपाली अनुवाद ।

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Ramesh Bang,achari
Ramesh Bang,achari
2 years ago

नेपालको यथास्थितिमा पनि यहि ता हराएको जस्तो ।
राम्रो लाग्यो यसरी नै पढ्न पाइयोस् कामना।

Nepal Telecom ad
गुडबाई वासुदेव दाइ !

गुडबाई वासुदेव दाइ !

राजेन्द्र सुवेदी
वर्ल्डकप

वर्ल्डकप

ईश्वर पाेखरेल
मन्त्री बिलौना

मन्त्री बिलौना

ध्रुव नेपाल
पर्दाभित्रको बुढ्यौली

पर्दाभित्रको बुढ्यौली

वासुदेव गुरागाईं
1
0
Would love your thoughts, please comment.x
()
x