सञ्जय साह मित्रउब्रेको भाषण
मैले भाषणको तालमा ताली बजाउनु पर्छ, खुसी भएको अनुहार बनाउनु पर्छ । तपाईँको हौसला बुलन्द पार्ने जीवन्त अभिनय गर्नुपर्छ । कम्ता गारो छ, भाषण सुन्न ?”

सञ्जय साह मित्र :
अस्ति भाषण गर्दागर्दै अलिकति उब्रियो । मान्छे त के चरो, मुसो केही पनि थिएन । सबै हिँडेपछि माइक पनि हिँड्यो मेरो बाइक छोडेर । माइक मात्रै भए पनि एक्लै डटेर मच्चिई मच्चिई थर्काएर गाउँलेको कान पाक्ने गरी भाषण खोक्थें ।
उब्रेको भाषण र मृतकलाई खुवाउन निकालिएको अन्न लिएर घर फर्किनु हुँदैन भन्ने मान्यता छ । कुनै अनिष्ट नहोस् भन्ने वैज्ञानिक सोचको मान्छे म । भाषण कतै नबिसाई कसरी घर फर्कूँ !
सुटबुट लाएको मान्छेले जहाँ पनि छाद्न पाउँछ रे । अर्थ न बर्थको भाषण ठोक्नु यही खोक्नु र छाद्नु हो । आएको छादलाई रोक्न सकिँदैन ।
चिनेको मान्छेकहाँ छिरें । “मेरो भाषण सुन्नु हुन्छ ? राम्रै ज्याला दिन्छु” मैले आग्रह गरें ।
“एक घन्टा भाषण सुनेको तीन दिन बराबरको ज्याला लिन्छु, त्यो पनि अधिकृतस्तरको” कडा रेट सुनायो उसले । “होइन, अलिकति मात्र भाषण छ, उब्रेको” मैले अलिकति नम्र स्वरमा सम्झाउने प्रयास गरें ।
व्यावसायिक प्रत्युत्तर आयो, “जुन जोगी आए पनि कानै चिरेका भने झैँ जुन नेताको भाषण उब्रियो, छन् मैकहाँ छिरेका । प्राक्टिस गर्नेको भाषण सुन्नको लागि मात्र हो अघि मैले भनेको मूल्य । उब्रेको भाषण सुन्ने रेट दोब्बर छ । तपाईँ चिनेजानेको जस्तो मान्छे, जम्मा पाँच दिनको ज्याला लिन्छु । मैले भाषणको तालमा ताली बजाउनु पर्छ, खुसी भएको अनुहार बनाउनु पर्छ । तपाईँको हौसला बुलन्द पार्ने जीवन्त अभिनय गर्नुपर्छ । कम्ता गारो छ, भाषण सुन्न ?”
उसले पहिले पैसा लियो अनि उब्रेको भाषण मज्जाले सुन्यो । धेरै पैसा तिरेको पीडा र धेरै राम्रोसित भाषण गरेको आनन्द एकसाथ भरियो ममा । बाँकी सबै रित्तियो । भाषण रित्तिएपछि औडाहा शान्त भएजस्तो गज्जबको सन्तोष पाइँदो रहेछ मनमा ।
बाहिर निस्कें र घरमा झुन्ड्याइएको बोर्ड हेरें जसमा पहिले नजर परेको थिएन – यहाँ सस्तोमा भाषण सुनिन्छ ।
०००
रौतहट
Subscribe
Login
0 Comments
Oldest






































