दिप मंग्रातीवेटलेस
होइन सर, वेटलेस पेपरमा निकाल्नोस, अचेल पनि सेतो पेपरमा कसैले निकाल्छ, वेटलेस पेपरमा निस्केको किताबको इज्जत नै अलग हुन्छ, फेरि हजार भन्दा मुनि निकाल्दा त खिसी गर्छन् क्या सर... !

दिप मंग्राती :
“सर… ! हजुर पनि एउटा किताब निकाल्नोस हौ अब त… ! छापाखानाका साहुजिले व्यापारीक छिर्के लगाउन खोज्दै भने । ओठमा शालिन मुस्कान, शब्दमा शहद, सोचमा छिर्केदाऊ । छिर्के लागे लडिहाल्छ, नलागे हा…हा…हा… ! हाइनाको हाँसो… ! भाव हीन… ! पूणर् व्यापारिक ।
लागे मोहनी लागि हाल्छ, नलागे हाँसेर पचाइदिने… !
“हो नि… ! हजुर जस्तो व्यक्तिले निकाल्नु त पर्ने हो… !
“जति राम्रो, जतिनै धेरै लेखे पनि एउटा किताब ननिकालेसम्म साहित्यकारको दर्जा नपाइने अनि… ! हजुर भन्दा जुनियरहरूले किताब निकालिसके… ! अर्को ले थपे…!”
“हजुरले किताब निकाल्नु भयो भने त, तहल्कै मचिन्छ । हजुर जतिको खारिएको साहित्य बिरलै साहित्यकारमा पाइन्छ ।” अर्को माहासयले थपे ।
मलाई थाहा छ यिनीहरूले उकासी रहेका छन् भनेर । लाग्थ्यो हाट, बजार, मेलाहरूमा स्ट्राइकर खेलाउनेको समूह हुन यिनिहरू । घुमाइ घुमाई, उकासी उकासी खेल्न लगाउनेहरूको जत्था जस्तो ।
मैले झोला बाट मेरो लघुकथाको पुलिन्दा निकाले… ! “ल साहुजी यसलाई किताब निकाल्नु छ, कति जति खर्च आउला…?”
“अब हजुर जस्तो व्यक्तिले निकाली सकेपछि, वेटलेस पेपरमै निकाल्ने होला । हजार प्रति भन्दा तल के निकाल्नु । कि कसो सर… ?”
“होइन… ! सेतो पेपरमै निकाल्ने… ! तिनसय प्रति मात्रै ….!”
“होइन सर, वेटलेस पेपरमा निकाल्नोस, अचेल पनि सेतो पेपरमा कसैले निकाल्छ, वेटलेस पेपरमा निस्केको किताबको इज्जत नै अलग हुन्छ, फेरि हजार भन्दा मुनि निकाल्दा त खिसी गर्छन् क्या सर… !”
उसको छिर्केदाउ म बुझ्दै थिएँ ।
“हैन … ! म त सेतै पेपरमा निकाल्ने हो, अनि तीनसय प्रती मात्रै ।”
“आखिर फ्री मै त बाँड्ने हो क्यारे… !”
०००
मोरङ
Subscribe
Login
0 Comments
Oldest






































