डा. छायादत्त न्यौपाने ‘बगर’वर्तमान
धुम्मिएको तुवाँलो चिर्न नसक्ने घामजूनको उपस्थिति के काम ? भूपि शेरचनको घुम्ने मेचमा बसेको अन्धो विगतले जीवन नदेखेजस्तै वर्तमानले कर्तव्य देख्दैन । श्रमलाई सम्मान गर्न जान्दैन, बालकलाई आदर गर्दैन, जेष्ठनागरिकको उपेक्षा गर्छ ।
डा. छायादत्त न्यौपाने :
रहर छ संसार जित्ने ! काम गर्छ टिकटक हेर्ने । ढिलो सुत्छ अबेर उठ्छ । काम विपरीत गर्छ परिणाम जनमुखी खोज्छ । वर्तमान पूरै छोपिएको छ विडम्बनाको बादलले । मैमत्त चेतना चुलिँदा घप्लक्कै घोप्टिएको छ नैतिकता । जीवनभर अर्जेको विवेकले अनुशासन चिन्दैन । बेइमानी बटुको थापेर खान पल्केको आजबाट भोलिले के सिक्ने ? के पाउने ? अन्योलको पिङमा मच्चिरहनु बाहेक ?
यो रहर रहरमा डुबेर कर्तव्य छाडेका मान्छेको डोरीले डोरिन पाउँदा मख्ख पर्ने बानी कहिलेसम्म पछ्याइरहने ? सुन खाएर घुन बाँड्ने अभ्यासका लागि निर्देशित अगुवाबाट समाज परिवर्तन हुन्छ, देश आत्मनिर्भर बन्छ भनेर पत्याउनु भनेको बत्ती निभाएर उज्यालो खोजेजस्तै हो । यसलाई कोठामा हराएको सियो खोज्न सडकको बत्तीमुनि भनभनिएको संज्ञा किन नदिने ? के यो उस्तै होइन र ? पत्याउन पर्दैन ?
आज काम गरेर खानेहरूको अनिकाल बेहोरेको वर्तमान हो । समयको गति र समाजको दसा नचिन्दा दुख पाइन्छ भनेर थाहा नपाको वर्तमान । नियम विपरीत सुखको लोभ गर्दा दुखले हाँगा हाल्यो । मान्छे आफूलाई खुब विद्वान्, विवेकी, नैतिकवान्, दूरदर्शी ठान्छ तर आफैले भविष्यमा डढेलो झोसेको दृश्य देख्दैन । हेरौँ न बालभविष्यसित खेलेर ठट्टा गरेको ! वातावरण विनाशमा पुरुषार्थ देखेको; जथाभावी जमिन भत्काएको, रुख काटेको । विषादीको भरमार प्रयोग गरेको जेसुकै गर्न लाज नमानेको ! बरु लाजले मुख छोप्छ ।
मनमानी गर्न खोज्छ, नीतिनियम मान्न तयार छैन वर्तमान । आफै जान्ने सुन्ने बन्छ तर केही जान्दैन, जान्न खोज्दैन । व्यवसायप्रति इमानदार छैन । ढाँट, छल, घुस, कमिसनको सहारा लिएर शकुनि पारा देखाउँछ । अनधिकृत खान्की नखाई नअघाउने बानी बसेको छ यसको। कुरा परिवर्तनका गर्छ व्यवहारमा दरिद्र छ । सत्य थाहा पाउँछ नपाएको अभिनय गरी भ्रम छरेर खुसी हुन्छ । श्रम गर्नेलाई हेप्छ । यी र यस्तै बेथितिको वाहन बनेको छ वर्तमान जसले भन्छ समय खराब छ विचलित भो !
साँच्चै भन्ने हो भने समय प्रकृति दिनरातको क्रम हो । निरन्तर उस्तै हुन्छ एकनास गति । घामपानी बादलका सन्दर्भ मौसमी चाल हो । चन्द्रसूर्यको गति त प्राणीको जीवनरथ गुडाउने शैली हो । तारा आफ्नो काम छाडेर विश्राम गर्दैनन् । प्रकृतिजन्य नियममा डुल्न छाडेर वैयक्तिक सुखमा लिप्त हुने वर्तमान समयलाई दोष दिएर पानीमाथि ओभानो रहेको अभिनय गर्छ । यसैबाट उठ्न नसक्ने गरी थिलथिलिएको छ वर्तमान ।
हेरौँ न, शिक्षा, स्वास्थ्य, उद्योग, कृषि, राजनीति, संस्कृति, पत्रकनरिता, कानुन, सुरक्षा निकाय, समाजसेवा कुनै पाटो छ सुरक्षित र व्यवस्थित ? सबैतिर व्याप्त छ विसङ्गति । मानवसमाजको सान्निध्यमा बस्ने इमान, जमान, नैतिकता, विवेकको सातुमा स्वाद लिएर जीवन हिँडाउँने अभ्यासै टुटेको छ । छलकै सहाराले बाँचेको छ लोभी वर्तमान । लोभमुक्त चरित्र चामलको बियाँसरि छ । गोहीले जनावर, लाटोकोसेरोले माछा, बाघले मृग ढुकेझैँ झुक्याएर सरल मान्छेलाई भँड्खालो पठाउने दाउमा पुरुषार्थ देख्ने दुष्ट दृष्टिको हैकम चलाएको चलायै छ वर्तमान ।
वर्तमान खै किन यति विघ्न विचलित छ ? मानवीय संवेदना घाइते पार्ने होड पाल्छ, आत्मीय व्यवहार गर्नै दिँदैन । वर्तमानले निजी स्वार्थभन्दा माथि पनि केही छ, कोही छन् भन्ने भेउ पाएकै छैन । घर छाडेर भौँतारिएको बेरोजगार पतिको पीडामा नुनखुर्सानी दल्न बल गर्ने वर्तमानले युवाको भविष्य अन्योलपूर्ण भुमरीमा धकेल्दै छ । यो वर्तमान असाध्य रोगग्रस्त छ । उपचार गर्न चाहेर पनि स्वस्थ हुन सकिरहेको छैन रोगी । खुट्टा तान्ने र व्यवहार छल्नेको सिकार भएको छ वर्तमान । यसलाई बचाउने सचेत नागरिक, इमानदार चरित्रको धनी विवेकी कारिन्दा खै कहाँ पाउनू वर्तमानले ?
धुम्मिएको तुवाँलो चिर्न नसक्ने घामजूनको उपस्थिति के काम ? भूपि शेरचनको घुम्ने मेचमा बसेको अन्धो विगतले जीवन नदेखेजस्तै वर्तमानले कर्तव्य देख्दैन । श्रमलाई सम्मान गर्न जान्दैन, बालकलाई आदर गर्दैन, जेष्ठनागरिकको उपेक्षा गर्छ । यस्तो धमिलो वर्तमान उजिल्याउने गरी राँको बाल्न बिउँझनुपर्दैन यो वर्तमान ? यसै गरी छिन्नभिन्न लथालिङ्ग सुनामीझै मडारिएर जीवन भत्काइरहने हो यसले ?
वर्तमानले खै कहिले खोल्छ बुद्धिको बिर्को ? उसले कुरा दोचारे मात्र पुग्छ र ! कति पर्खिनुपर्ने हो जाँगर झिकेर कर्तव्यसित रमाउने संस्कारी कर्मयोग फेला पार्न वर्तमानले ? लौ, जे भो भो वर्तमान ! अब भने यी प्रश्नहरूको ओइरोले चलाएको पहिरोमा अविलम्ब रोपिऊन् है फलफूलका बिरुवा । अस्तु ।
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































