साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वर्तमान

धुम्मिएको तुवाँलो चिर्न नसक्ने घामजूनको उपस्थिति के काम ? भूपि शेरचनको घुम्ने मेचमा बसेको अन्धो विगतले जीवन नदेखेजस्तै वर्तमानले कर्तव्य देख्दैन । श्रमलाई सम्मान गर्न जान्दैन, बालकलाई आदर गर्दैन, जेष्ठनागरिकको उपेक्षा गर्छ ।

Nepal Telecom ad

डा. छायादत्त न्यौपाने :

रहर छ संसार जित्ने ! काम गर्छ टिकटक हेर्ने । ढिलो सुत्छ अबेर उठ्छ । काम विपरीत गर्छ परिणाम जनमुखी खोज्छ । वर्तमान पूरै छोपिएको छ विडम्बनाको बादलले । मैमत्त चेतना चुलिँदा घप्लक्कै घोप्टिएको छ नैतिकता । जीवनभर अर्जेको विवेकले अनुशासन चिन्दैन । बेइमानी बटुको थापेर खान पल्केको आजबाट भोलिले के सिक्ने ? के पाउने ? अन्योलको पिङमा मच्चिरहनु बाहेक ?

यो रहर रहरमा डुबेर कर्तव्य छाडेका मान्छेको डोरीले डोरिन पाउँदा मख्ख पर्ने बानी कहिलेसम्म पछ्याइरहने ? सुन खाएर घुन बाँड्ने अभ्यासका लागि निर्देशित अगुवाबाट समाज परिवर्तन हुन्छ, देश आत्मनिर्भर बन्छ भनेर पत्याउनु भनेको बत्ती निभाएर उज्यालो खोजेजस्तै हो । यसलाई कोठामा हराएको सियो खोज्न सडकको बत्तीमुनि भनभनिएको संज्ञा किन नदिने ? के यो उस्तै होइन र ? पत्याउन पर्दैन ?

आज काम गरेर खानेहरूको अनिकाल बेहोरेको वर्तमान हो । समयको गति र समाजको दसा नचिन्दा दुख पाइन्छ भनेर थाहा नपाको वर्तमान । नियम विपरीत सुखको लोभ गर्दा दुखले हाँगा हाल्यो । मान्छे आफूलाई खुब विद्वान्, विवेकी, नैतिकवान्, दूरदर्शी ठान्छ तर आफैले भविष्यमा डढेलो झोसेको दृश्य देख्दैन । हेरौँ न बालभविष्यसित खेलेर ठट्टा गरेको ! वातावरण विनाशमा पुरुषार्थ देखेको; जथाभावी जमिन भत्काएको, रुख काटेको । विषादीको भरमार प्रयोग गरेको जेसुकै गर्न लाज नमानेको ! बरु लाजले मुख छोप्छ ।

मनमानी गर्न खोज्छ, नीतिनियम मान्न तयार छैन वर्तमान । आफै जान्ने सुन्ने बन्छ तर केही जान्दैन, जान्न खोज्दैन । व्यवसायप्रति इमानदार छैन । ढाँट, छल, घुस, कमिसनको सहारा लिएर शकुनि पारा देखाउँछ । अनधिकृत खान्की नखाई नअघाउने बानी बसेको छ यसको। कुरा परिवर्तनका गर्छ व्यवहारमा दरिद्र छ । सत्य थाहा पाउँछ नपाएको अभिनय गरी भ्रम छरेर खुसी हुन्छ । श्रम गर्नेलाई हेप्छ । यी र यस्तै बेथितिको वाहन बनेको छ वर्तमान जसले भन्छ समय खराब छ विचलित भो !

साँच्चै भन्ने हो भने समय प्रकृति दिनरातको क्रम हो । निरन्तर उस्तै हुन्छ एकनास गति । घामपानी बादलका सन्दर्भ मौसमी चाल हो । चन्द्रसूर्यको गति त प्राणीको जीवनरथ गुडाउने शैली हो । तारा आफ्नो काम छाडेर विश्राम गर्दैनन् । प्रकृतिजन्य नियममा डुल्न छाडेर वैयक्तिक सुखमा लिप्त हुने वर्तमान समयलाई दोष दिएर पानीमाथि ओभानो रहेको अभिनय गर्छ । यसैबाट उठ्न नसक्ने गरी थिलथिलिएको छ वर्तमान ।

हेरौँ न, शिक्षा, स्वास्थ्य, उद्योग, कृषि, राजनीति, संस्कृति, पत्रकनरिता, कानुन, सुरक्षा निकाय, समाजसेवा कुनै पाटो छ सुरक्षित र व्यवस्थित ? सबैतिर व्याप्त छ विसङ्गति । मानवसमाजको सान्निध्यमा बस्ने इमान, जमान, नैतिकता, विवेकको सातुमा स्वाद लिएर जीवन हिँडाउँने अभ्यासै टुटेको छ । छलकै सहाराले बाँचेको छ लोभी वर्तमान । लोभमुक्त चरित्र चामलको बियाँसरि छ । गोहीले जनावर, लाटोकोसेरोले माछा, बाघले मृग ढुकेझैँ झुक्याएर सरल मान्छेलाई भँड्खालो पठाउने दाउमा पुरुषार्थ देख्ने दुष्ट दृष्टिको हैकम चलाएको चलायै छ वर्तमान ।

वर्तमान खै किन यति विघ्न विचलित छ ? मानवीय संवेदना घाइते पार्ने होड पाल्छ, आत्मीय व्यवहार गर्नै दिँदैन । वर्तमानले निजी स्वार्थभन्दा माथि पनि केही छ, कोही छन् भन्ने भेउ पाएकै छैन । घर छाडेर भौँतारिएको बेरोजगार पतिको पीडामा नुनखुर्सानी दल्न बल गर्ने वर्तमानले युवाको भविष्य अन्योलपूर्ण भुमरीमा धकेल्दै छ । यो वर्तमान असाध्य रोगग्रस्त छ । उपचार गर्न चाहेर पनि स्वस्थ हुन सकिरहेको छैन रोगी । खुट्टा तान्ने र व्यवहार छल्नेको सिकार भएको छ वर्तमान । यसलाई बचाउने सचेत नागरिक, इमानदार चरित्रको धनी विवेकी कारिन्दा खै कहाँ पाउनू वर्तमानले ?

धुम्मिएको तुवाँलो चिर्न नसक्ने घामजूनको उपस्थिति के काम ? भूपि शेरचनको घुम्ने मेचमा बसेको अन्धो विगतले जीवन नदेखेजस्तै वर्तमानले कर्तव्य देख्दैन । श्रमलाई सम्मान गर्न जान्दैन, बालकलाई आदर गर्दैन, जेष्ठनागरिकको उपेक्षा गर्छ । यस्तो धमिलो वर्तमान उजिल्याउने गरी राँको बाल्न बिउँझनुपर्दैन यो वर्तमान ? यसै गरी छिन्नभिन्न लथालिङ्ग सुनामीझै मडारिएर जीवन भत्काइरहने हो यसले ?

वर्तमानले खै कहिले खोल्छ बुद्धिको बिर्को ? उसले कुरा दोचारे मात्र पुग्छ र ! कति पर्खिनुपर्ने हो जाँगर झिकेर कर्तव्यसित रमाउने संस्कारी कर्मयोग फेला पार्न वर्तमानले ? लौ, जे भो भो वर्तमान ! अब भने यी प्रश्नहरूको ओइरोले चलाएको पहिरोमा अविलम्ब रोपिऊन् है फलफूलका बिरुवा । अस्तु ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तिमी मेरो साथी

तिमी मेरो साथी

डा. छायादत्त न्यौपाने ‘बगर’
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बासी बेथाकाे उपचार

बासी बेथाकाे उपचार

डा. छायादत्त न्यौपाने ‘बगर’
बजाउँछ एकतारे

बजाउँछ एकतारे

डा. छायादत्त न्यौपाने ‘बगर’
साँढेजुधाइ

साँढेजुधाइ

डा. छायादत्त न्यौपाने ‘बगर’
खर्क

खर्क

डा. छायादत्त न्यौपाने ‘बगर’
0
Would love your thoughts, please comment.x
()
x