अशोककुमार शिवाऐना ! धेरै भाउ खोज्ने होइन
दायाँबायाँ कतै गाडी आउछ र साइड दिन सजिलो हुन्छ भनेर ऐना राखेको ऊ भने जताजता स्कुटी छ उतै उतै साइड हान्न थाल्छ । फकाई फुल्याई सोज्यायो फेरी कतापट्टिको ऐनाले देख्छ उतै बटारिन्छ ।

अशोककुमार सिवा :
आफूले ऐना हेरेर नक्कल पार्न जाने देखि कहिल्यै ऐना हेर्न छोडेको छैन । यसोउसो गर्यो ऐना, यतउता लाग्यो ऐना हेर्नै पर्ने कम्ताको नक्कले छु र म । बिहान उठेबाट राति नसुतेसम्म कुनै न कुनै बेला ऐना सामू पुगेर आँखा जुधाएकै हुन्छु ।
मलाई के लाग्छ भने अहिले सम्म ऐनाले मेरो आन्द्रा कति लामो छ ? बोसो कति छ ? कतिवटा करङ्ग छ ? के खान्छ ? के लगाउँछ । के के हरकतहरू गर्छ ? सबै थाहा पाएको हुनुपर्छ । यति सम्म घनिष्टतम् मित्र बेला बेला त बिचित्र नै रिस उठाउँछ भनेको । हैन, मैले मात्रै उस्लाई लाटाले पापा हेरेजसरी हेर्नु पर्ने । बेला बेला त पापाले लाटा नियाले पनि हुन्छ है । के सारो भाउ खानु पर्ने ? बेला बेला हाई हेलो गर्नु, तिम्रो यो भएछ, तिम्रो उ भएछ, मिलाउ पनि भने त हुन्छ नि ।
ऐना पनि एउटा हो र ? भर्याङै पिच्छे सकारात्मक ऊर्जा आउछ ऐना राख्यो भनेर कसैले गफ लगाएकोले तीन तीन वटा ऐना तलैपिच्छे झुण्डाएको छु । बिहान उठेर ढुसी परेको अनुहार देखाउने गरेको वाथरुमको ऐना बरू जहिल्यै मुसुमुसु हास्छ । खै के छ रहस्य । सोध्दा कहिल्यै बोल्दैन । जहिले हाँस्न छोड्दैन । गिजाको छाला एकपत्र जाने गरी ब्रस घोटुन्जेल हेरेको हेर्यै गरिन्छ । ऊ पनि अलि लजाएझैँ गरी कता कता अफ्ठ्यारो अफ्ठ्यारो मान्दै हास्छ । नित्यकर्म सकेर बाहिर आयो फेरी अर्को पल्ट छिर्दा पनि उही मुद्रामा मुस्कान । मुस्कुराउँदा मुस्कुराउँदा हाम्रो गाला चाउरी परेझैँ ऐनाको पछाडिपट्टी रहेको टल्किने उप्केर थोते बुढा जस्तो भइसक्या छ ।
तलैपिच्छे राखेको ऐनाले कुनै दिन मलाई सम्झाएको छैन कि मैले ताला लगाउन बिर्सिए भनेर । हतारमा बाहिर निस्किदा कहिले त दुईखुट्टामा दुईरङको मोजा भिरेर जुत्ता लगाइँदो रहेछु, मरिगए भन्दैन । कहिले त मोटरबाइकको टाउको (हेल्मेट) नलगाई निस्किँदासम्म केही भन्दैन । अब यस्तो निर्दयी निर्मोही ऐनाको के काम ? भन्यो घरी घरी हेर्न मन लाग्छ के गर्नु । हेरेको बेला आफै मुस्कुराउँदा पनि कतिनै ऐनै मुस्कुराए जस्तो लाग्छ त्यसै दङ्ग । त्यस्तो बेला त उस्को बेवास्ता समेत भुलेर मख्ख पर्ने गर्छु बेफ्वाँकमा ।
यो त भयो घर भित्रको ऐनाको कुरा । मेरो मोटरसाइकलमा समेत दायाँबायाँ दुईवटा ऐना ठाडो कान लगाएर बसेको छ । दायाँबायाँ कतै गाडी आउछ र साइड दिन सजिलो हुन्छ भनेर ऐना राखेको ऊ भने जताजता स्कुटी छ उतै उतै साइड हान्न थाल्छ । फकाई फुल्याई सोज्यायो फेरी कतापट्टिको ऐनाले देख्छ उतै बटारिन्छ । एकपल्ट त जमल नजिक झण्डै लठारिनै खोज्यो भन्या, क्या आपद ।
खै, दिवारको पनि कान हुन्छ रे भन्छन् खुसुक्क कुरा लगाएर ऐना बटारियो भने आफ्नो अनुहार कस्तो देखिने हो भन्ने चिन्ता पनि साग्छ । एक मन सम्झिन्छु बालै फररर के मतलब, कस्तो कस्तो आशा गरेकाले त केही नाप्दैनन् ऐनासँग के को आशा । ऐनाले चाहिने भन्दा बढी नै भाउ खोजे बिकल्प हेरौँला । के को डर । जति सुम्सुम्यायो उति… बटारिने ।
०००
गल्कोपाखा, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































